जान्नैपर्ने गुणकारी वनस्पतिहरू
होलिस्टिक संवाददाताकेसर
केसरलाई अङ्ग्रेजीमा स्याफ्रोन भनिन्छ । यो अत्यन्तै महँगो वनस्पति हो । १ पौण्ड केसरको मूल्य ५ सयदेखि ५ हजार अमेरिकी डलरसम्म पर्दछ । यसको खेती (हार्भेस्टिङ) निकै समवेदनशील एवम् कठिन हुने भएकाले यो यस्तो महँगो भएको हो ।
केसरको उत्पादन औद्योगिक या यान्त्रिक प्रविधिबाट नभई हातैले (मेन्युअल्ली) नै गरिन्छ । केसर भन्ने बिरुवामा फुल्ने फूलको बीचको भागलाई नै सेफ्रोन क्रोकसका रूपमा प्रयोग गरिन्छ । फूलको बीच भागलाई सुकाएर धागोजस्तै आकारमा तयार पारिएको सामग्री नै उपभोग्य केसर हो ।
केसर सर्वप्रथम ग्रीसबाट उत्पत्ति भएको मानिन्छ । यसलाई तातो पानीमा भिजाएर खानामा हाल्दा खाना नै बासनादार बन्दछ । यसलाई साहस, त्याग, देशभक्ति र त्यागको प्रतीकका रूपमा समेत लिइन्छ ।
लाभ या उपयोग
केसरमा पाइने क्रोसिन, क्रोसिटिन, सफ्रानल, क्याम्फेरोलजस्ता एन्टिअक्सिडेन्टले अक्सिडेटिभ स्ट्रेस कम गर्न सहयोग गर्छ । यसको प्रयोग गर्दा डिप्रेसन कम गर्न महत्वपूर्ण सहयोग मिल्ने कुरा अध्ययनहरूले देखाएका छन् ।
केसरको सेवन गर्दा भोक कम लाग्ने र कम भोक लागेपछि खाने कुरा नै कम खाइँदा मोटोपनबाट बच्न सकिने तथ्य समेत अध्ययनहरूले देखाएका छन् । यसको सेवनबाट मुटुरोगको सम्भावना पनि कम हुने तथा रगतमा चिनीको मात्रा घटाउन मद्धत मिल्ने र आँखाको समस्या भएकाहरूलाई लाभ मिल्ने जानकारहरूको भनाइ छ ।
परम्परागत, आयुर्वेदिक एवम् प्राकृतिक चिकित्साका क्षेत्रमा त छँदैछ, आधुनिक औषधि विज्ञानका क्षेत्रमा समेत केसरलाई एक्टिभ एन्टी–म्युटेजेनिक, इम्युन–मोड्युलेटर, एन्टि–डिप्रेसेन्ट, एन्टिअक्सिडेन्ट र यौन उत्तेजक तत्वका रूपमा प्रयोग गर्ने गरिएको छ ।
प्रयोग गर्ने तरिका
केसरलाई खाद्य पदार्थ तथा गैरखाद्य वस्तु दुवै हिसाबले प्रयोग गर्न सकिन्छ । यसलाई मसलाका रूपमा, पहेंलो रङ्गका निम्ति र बासनाका लागि खानामा मिलाएर खान सकिन्छ । वस्त्र रङ्ग्याउन, अत्तरका रूपमा धूप–बासनामा र पूजाआजा तथा शुभकार्यहरूमा टीकाका रूपमा यसको गैरखाद्य प्रयोग पनि गरिन्छ ।
केसरको एक्स्ट्राक्ट झनै महँगो हुन्छ । सामान्यतः कम गुणस्तरको केसरलाई कपडा रङ्ग्याउन प्रयोग गरिन्छ ।
000
स्नेक प्लान्ट
घरको भित्री भागमा विभिन्न बिरुवाहरू गमलामा सजाएर राखिने कुरा त सामान्य नै भयो । गमलाका बिरुवा हेर्नका निम्ति सुन्दर त हुन्छन् नै, तिनका अरू अनेकौं फाइदाहरू समेत हुन्छन् । जात–प्रजातअनुसार विभिन्न बिरुवाहरूका आ–आफ्नै महत्व हुन्छन् ।
यस्तै बिरुवाहरूमध्येको एक हो– स्नेक प्लान्ट । यसको वैज्ञानिक नाम ड्रासिना ट्रिफासिटिया हो । यो बिरुवा देख्दा सुन्दर, हेरचाह गर्न पनि सहज अनि एकदमै कम मात्र पानीको आवश्यकता पर्ने प्रजातिको फूल हो । त्यसैले यसको माग बढी नै हुन्छ र लोकप्रिय पनि उत्तिकै छ ।
स्नेक प्लान्टका पात पातलो र तरबारजस्ता देखिन्छन् । हरियो पत्तामा खैरो वा हल्का पहेंलो धर्सा हुने यो बिरुवालाई हिमाल–पहाड–तराई र उपत्यका– जता पनि हुर्काउन सकिन्छ ।
यसको बोट जम्मा ६ इन्चदेखि ३–४ फिट अग्लोसम्म हुन सक्छ । यसका विभिन्न प्रजातिहरू समेत हुन्छन् ।
फाइदा र उपयोग
सर्वप्रथमतः घरभित्रको हावा शुद्धीकरण गर्न यसले राम्रो सहयोग पु¥याउँछ । रातमा पनि कार्बनडाइअक्साइडलाई अक्सिजनमा परिणत गर्न सक्ने सीमित केही बिरुवामध्येमा यो पनि पर्छ । यसको पातमा मसिना छिद्र (पोर्स) हुन्छन्, जसलाई ‘स्टोमाटा’ भनिन्छ; जसले रातमा पनि अक्सिजन प्रवाह गर्न मद्दत गर्दछन् ।
यसैकारण स्नेक प्लान्टलाई सुत्ने कोठामा पनि सजाएर राख्ने गरिन्छ । त्यसो गर्दा राति स्वस्थ हावाको बहाव भइरहन्छ । हावामा हुने विभिन्न किसिमका विकारयुक्त तत्वहरूलाई समेत यसले शोषेर लिने भएकाले वातावरणको शुद्धीकरणका निम्ति महत्वपूर्ण मद्धत मिल्छ । मान्छेको तनाव घटाएर आनन्दित महसुस गराउन समेत यसले मद्धत गर्छ ।
यो बिरुवालाई पानी बढी हाल्नु हुँदैन । पानी बढ्ता भएमा जरा कुहिने सम्भावना हुन्छ । यसलाई सीधै घाम पर्ने ठाउँमा पनि राख्नु हुँदैन; अलि–अलि उज्यालो ठाउँमा राख्नुपर्छ ।
000
गुणकारी गुर्जो
गुर्जो पनि औषधीय गुणयुक्त निकै महत्वपूर्ण वनस्पति हो । यसलाई संस्कृतमा ‘गुडुची’ भनिन्छ । गुर्जो लहरेदार पतझर बिरुवा हो । यसको मोटो र गुदीदार लहरा हुन्छ । यसका आँख्लाहरूबाट जरा निस्केर हावामा लहरिएका हुन्छन् ।
गुर्जोका करिव १० सेन्टिमिटर लामा, मुटु आकारका भेट्नोदार पात हुन्छन् । यसका आँख्लाबाट निस्केका लामा, लहरेदार भागमा केराउका दानाजत्रा अण्डाकार गुदीयुक्त फल फल्दछन् । यी फलहरू पाकेपछि राता हुन्छन् ।
गुर्जो नेपाललगायत उत्तरपूर्वी भारत, श्रीलङ्का, म्यानमार, थाइल्याण्ड, दक्षिणी चीन, मलेसिया आदि राष्ट्रहरूमा पाइन्छ । नेपालको ३ सयदेखि ५ सय मिटरसम्मको उचाईमा अवस्थित भूमिमा पूर्वदेखि पश्चिमसम्म नै गुर्जो पाइन्छ । जस्तोसुकै माटोमा पनि गुर्जो हुर्कन सक्दछ । खासगरी गर्मी ठाउँहरूमा यो राम्ररी हुर्कन्छ ।
गुर्जोका नर्सरीमा तयार पारिएका बेर्नाहरू किनेर रोप्ने प्रचलन समेत सुरु भइसकेको छ । त्यस्ता बेर्नाहरू खासगरी ठूला रुखहरूको फेदमा लगाइन्छ । सोही रुखको सहारामा लहरेदार यो बिरुवा हुर्कन्छ ।
गुर्जोमा पाइने तत्व
गुर्जोका मुख्यतः पात र डाँठ प्रयोगमा आउँछन् । यसको पत्तामा ‘कोर्डिफोलोन’ र ‘हेप्टाकोसानो’ जस्ता तत्व पाइन्छन् । यसको डाँठमा भने कोर्डिफोल, टिनोस्पोरिडाइन, टिनोस्पोराइड, पर्बेरिलिन, हेप्टाकोसानोल, बिटा सिटोस्टेरोलजस्ता तत्व पाइन्छन् ।
आजभोलि त गुर्जोका पाउडर, ट्याब्लेट वा तरल (झोल) समेत बजारमा उपलब्ध हुन थालेका छन् । यसको धुलो (चूर्ण) को त अत्यधिक प्रयोग हुने गरेको पाइन्छ ।
गुर्जोका लाभ
गुर्जोको मुख्य उपयोगी अङ्ग लहरा (डाँठ) नै हो । गुर्जोको डाँठको भाग कमलपित्त, दम, खोकी, मधुमेह, डेङ्गी तथा बाथ आदि रोगहरू निको पार्न प्रयोग गरिन्छ ।
गुर्जोमा इम्युनोप्रोटेक्टिभ र हेपाटोप्रोटेक्टिभ गुण हुने भएकाले पछिल्लो समय कोरोनाविरुद्ध पनि यसको व्यापक प्रयोग भएको पाइन्छ । ‘कोरोनाको औषधि’ भन्दै यसको व्यापक दुरुपयोग समेत हुने गरेका खबरहरू आइरहेका छन् । केही हदसम्म लाभदायी भए तापनि यो ‘कोरोनाको औषधि’ नै चाहिँ होइन भन्ने जनचेतना जागृत गराउनु जरुरी छ ।