‘प्राकृतिक पाठशाला’: रानीबारी सामुदायिक वन
कृष्णप्रसाद भुसालसहरबजारमा हुर्कंदै गरेका नानीबाबुहरूलाई प्रकृतिको सामिप्यताबाट विच्छेद गरी कृत्रिम वातावरणमा मात्र सीमित गरिँदैछ । हाम्रा सहरहरू सिमेन्टेड घरले भरिएका घना वस्तीमा रूपान्तरित भएका छन् । यहाँ पर्याप्त खुला ठाउँ, बगैंचा, सफा नदी र प्रकृतीमैत्री संरचनाहरू छैन्न । त्यसैले बालबालिकाहरू बढीभन्दा बढी समय मोबाइल, ल्यापटप र टीभीमा झुम्मिएर बस्न बाध्य छन् । यो परिवेशले बालबालिकाको चौतर्फी विकास प्रक्रियालाई अवरुद्ध मात्र गराएको छैन, प्रकृतिबाट समेत विमुख बनाउँदै लगिरहेको छ ।
रुख, वन, चरा, पुतली, जनावर, कलकल गरेर सफा पानी बग्ने झरना–नदी केवल स्क्रिनमा मात्र देख्न पाएका छन् अचेलका ‘सहरिया’ बालबालिकाले । बच्चाहरू मात्र होइन, स्वच्छ हावा लिँदै र चराको चिरबिर सुन्दै अन्य उमेरसमूहका मानिसहरूको प्रभातकालीन–सन्ध्याकालीन हिँडाइ समेत असम्भव हुँदै गएको छ । खासमा भन्ने हो भने सहरमा हामीले स्वस्थ र गुणस्तरीय जीवनयापनका न्यूनतम मापदण्ड पनि कायम गर्न सकिरहेका छैनौं । बच्चालाई ‘दूध कहाँबाट आउँछ ?’ भनी सोध्यो भने ‘डेरीबाट’ वा ‘प्याकेटबाट’ भन्छन्; चामलको स्रोत सोध्यो भने ‘पसलबाट’ भनिदिन्छन्, रुख कस्तो हुन्छ भनी सोध्दा सजाउँन राखिएका प्लास्टिकका फूल देखाउँदछन् ।
मूलतः यो अवस्था राजधानी काठमाडौं र यहाँको पनि चक्रपथभित्र बस्नेहरूमा बढी छ । यस्तो अवस्थामा नानीबाबुहरूलाई कहाँ र कसरी प्रकृतिसँग साक्षात्कार गराउन सकिएला त ? यसका निम्ति एउटा राम्रै विकल्प हुन सक्छ– रानीबारी सामुदायिक वन ।
काठमाडौं महानगरपालिका– ३, लाजिम्पाट (सामाखुसीको छेउ) मा करिव सात हेक्टर क्षेत्रफलमा फैलिएको रानीबारी सामुदायिक वन उपत्यकामै चक्रपथभित्रको एक्लो सामुदायिक वन मात्र होइन, घना सहरीकरणबीच अस्तित्वमा रहेको देशकै एक मात्र वन पनि हो । काठमाडौंको बढ्दो जनसङ्ख्यासँगै वन क्षेत्र नासिँदै र मासिँदै गएको अवस्थामा रानीबारी सामुदायिक वन भने ‘नमूना वन’ का रूपमा संरक्षित छ । रानीबारीका ४१ घरधुरीले यसको संरक्षण गर्दै आएका छन् । सानै क्षेत्रफल भए पनि काठमाडौंको मुटुमा अवस्थित यस वनले राजधानीवासीलाई ‘फोक्सो’ को काम गरिरहेको छ ।
रानीबारी सामुदायिक वनभित्र ‘रानीदेवी मन्दिर’ समेत छ, जसलाई ‘पोर्पा अजिमा’ पनि भनिन्छ । सांस्कृतिक महत्व समेत बोकेको यो वन परम्परागत कालदेखि नै राजाहरूको ‘दिवाली’ गर्ने वनका रूपमा संरक्षित थियो । यसलाई १० पुस, २०५७ मा जिल्ला वन कार्यालय काठमाडौंले ‘सामुदायिक वन’ का रूपमा मान्यता दिएको हो । वन संरक्षण र व्यवस्थापनका क्षेत्रमा लामो समय काम गरिसकेका सन्तोषविक्रम शाह यसको अध्यक्ष छन् ।
स्वच्छ हावा र खुला स्थानका साथै प्राकृतिक सुन्दरताको आनन्द लिन सकिने भएकाले प्रभातकालीन भ्रमण (मर्निङ वाक) गर्नेहरूको यस वनमा भीड नै हुन्छ । हरेक दिन करिव पाँच सयभन्दा बढी नागरिकले यहाँ प्रभातकालीन भ्रमण गर्छन् । मन्दिरमा ‘दर्शन’ गर्ने, फिल्म–म्युजिक भिडियोको छायाङ्कन गर्ने, चरा अवलोकन गर्ने र विद्यालय–कलेजका प्रयोगात्मक कक्षाका निम्ति विद्यार्थीहरू समेत यहाँ आउने गर्दछन् । बिहानैदेखि खुल्ने यस वनमा बिहान ९ः३० सम्म निःशुल्क प्रवेश गर्न पाइन्छ भने त्यसपछिको दिनभरचाहिँ प्रतिव्यक्ति १० रुपैयाँका दरले प्रवेश शुल्क लिइन्छ । यो शुल्कबाट उठेको रकम वन, यहाँका बिरुवा र जनावरको संरक्षणमा खर्च गरिन्छ । यस वनमा बेलुकी ५ बजेपछि भने प्रवेश निषेध छ ।
रानीबारी सामुदायिक वन र नेपाल पन्छी संरक्षण सङ्घको संयुक्त पहलमा पाँच वर्ष अघिदेखि यसै वन परिसरमा नेपालमै पहिलो ‘जैविक विविधता संरक्षण सिकाइ केन्द्र’ सञ्चालन गरिँदै आएको छ । सहरमा व्यस्त जीवन व्यतित गरिरहेकाहरूलाई प्रकृतिको सामिप्यतामा पुग्न उत्प्रेरित गर्नु र मानवका निम्ति प्रकृतिसँगको सामिप्यताको महत्वबारे जागृत गराउँदै त्यसको संरक्षणसम्बन्धी सचेतना प्रवाहित गर्नु यसको उद्देश्य हो । अझ यसको खास लक्ष्य त ‘कङ्क्रिटको जङ्गल’ मा हुर्कंदै गरेका नानीबाबुहरूलाई प्रकृतिसँग साक्षात्कार गराई तिनमा ज्ञानको दायरा फराकिलो बनाउँदै प्रकृतिमैत्री व्यवहारको विकास गराउनु हो ।
यस केन्द्रमा प्रकृति र जैविक विविधतासम्बन्धी जानकारीमूलक सन्दर्भ–सामग्री र सचेतना अभिवृद्धिका लागि यहाँको र अन्य सम्बन्धित क्षेत्रका समेत वृत्तचित्र प्रर्दशन पनि गरिन्छ । कक्षा ६, ७ र ८ का विद्यार्थीलाई लक्षित गरी विज्ञान, गणित र अङ्गे्रजीको अतिरिक्त पाठ्यक्रम पनि यहीं तयार पारिएको छ । यी विषयमा भएका विषयवस्तु र सवाललाई प्रकृतिसँग जोडी प्रयोगात्मक तरिकाले सिकाइन्छ । उदाहरणका लागि, विज्ञानमा व्याख्या गरिने खाद्य–शृङ्खला (फुड चेन) लाई उत्पादक (बिरुवा चिनाउँदै, तिनले कसरी खाना बनाउँछन् भनेर व्याख्या गर्दै), प्रथम उपभोक्ता (बिरुवा खाने कीरा फट्याङ्ग्रा), दोस्रो उपभोक्ता (कीरा खाने चरा), माथिल्लो उपभोक्ता (शिकारी चरा, स्यालहरू) र विच्छेदक (जनावर र बिरुवा मरेपछि कुहाउने कीराहरू) देखाउँदै सिकाइन्छ ।
यी कक्षा नियमितरूपमा भने सञ्चालन हुँदैनन्, त्यसका लागि विद्यालयले पहिलै नै सामुदायिक वन र पन्छी संरक्षण सङ्घसँग समन्वय गरी कक्षाको समयतालिका तय गर्नुपर्छ । स्थलगत अवलोकन, चरा, पुतली, बिरुवा हेर्न/चिनाउन भने आफ्नो अनुकूलतामा जुनसुकै बेला त्यहाँ जान अथवा बच्चाहरूलाई लैजान सकिन्छ । यस केन्द्रको परिकल्पनाका दिनदेखि नै नजिकबाट सघाइरहेको हुँदा त्यहाँ आउने विद्यार्थीको सिकाइ–उत्साह, लगाव र तिनीहरूले गर्ने रमाइलोबाट म पनि सधैं नै प्रभावित हुने गरेको छु । जिज्ञासाले भरिएका भाइबहिनीहरूका प्रश्न कहिलेकहीं यति जटिल हुन्छन् कि व्याख्या नै गर्न सकिँदैन । कहिलेकहीं भने तिनका जिज्ञासा र प्रश्न अति सामान्य लाग्दछन् र चिन्ता लाग्दछ कि बच्चाहरूलाई हामीले प्रकृतिसम्बन्धी यति सहज र सामान्य ज्ञान पनि सिकाउन सकिरहेका रहेनछौं !
यो वन मध्य–काठमाडौंमा अवस्थित भए पनि जैविक विविधतामा धनी नै छ । यहाँ एक सय दसभन्दा बढी प्रजातिका चराहरू पाइन्छन् । जाडो मौसममा उत्तरी मुलुकहरू रुस, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रहरूबाट बसाइँसराइ गरी नेपालमा आउने हिउँदे आगन्तुक चराहरू पनि यहाँ आइपुग्छन् । गर्मी याममा दक्षिणी मुलुकहरू र अफ्रिकासम्मबाट आउने ग्रीष्मकालीन आगन्तुक चराहरूले पनि यस क्षेत्रमा आएर बच्चा नै कोरल्छन् । त्यसैले यो वन चराहरूका लागि अत्यन्तै महत्वपूर्ण वासस्थान तथा चरन र लुक्ने क्षेत्र समेत हो । यस वनमा विभिन्न समयमा बाहिरबाट ल्याएर रोपिएका करिव एक सय एकतीस प्रजातिका वनस्पतिहरू र दर्जनभन्दा बढी प्रजातिका बिरुवा पनि छन् ।
यहाँ करिव तीस प्रजातिका पुतलीहरू सजिलै देख्न सकिन्छ भने स्याल, वनबिरालो, मालसाँप्रो, न्याउरी मुसा, चमेरा, लोखर्के, बाँदरजस्ता वन्यजन्तु पनि बस्छन् । यस वनले कार्बन र मसिना धुलाका कणहरूलाई शोषेर वायु प्रदूषण घटाउन पनि सघाएको छ । यसले वर्षायामको पानीलाई रिचार्ज र शुद्धीकरण गर्न समेत सहयोग पुर्याइरहेको छ ।
घना सहरमा बसोबास गर्ने हाम्रा लागि प्रकृतिसँग घुलमिल हुन र शान्त वातावरणमा टहलिनका लागि उपयुक्त गन्तव्य हो, यो वन । र, यो वन पछिल्लो समय काठमाडौंको खुला स्थान मासिँदै गइरहेका बेला यहाँका वासिन्दाका लागि खुला सास फेर्ने ठाउँ पनि हो । सहरको भीडभाड र घरहरूबीच हुर्कंदै गरेका नानीबाबुहरूलाई कम्तीमा एक पटक ‘प्राकृतिक पाठशाला’ रानीबारी सामुदायिक वनमा लैजाने कि ? हामीलाई सामान्य लाग्ने स्थान र विषयवस्तुबाट पनि बच्चाहरू धेरै नै प्रभावित हुन सक्छन्, नयाँ कुरा सिक्न सक्दछन् ।