स्वस्थ रहने सञ्चिताका सूत्र
होलिस्टिक संवाददाता
चर्चित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको फिल्म ‘अप्सरा’ बाट नेपाली चलचित्रजगतमा ‘डेब्यु’ गरेकी अभिनेतृ हुन् सञ्चिता लुइँटेल । पहिलो चलचित्रमा अभिनय गरेयता सञ्चिताले ‘राधा’, ‘सम्झना’, ‘सरगम’, ‘दाग’, ‘विजयपथ’ लगायतका दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी छन् ।
अभिनेता निखिल उप्रेतीसँग बाह्र वर्षअघि विवाह–बन्धनमा बा“धिएकी सञ्चिता अहिले पनि चलचित्र र म्युजिक भिडियोहरूमा अभिनय गर्न सक्रिय छिन् । उनै अभिनेतृसँग होलिस्टिककर्मी भोला अधिकारीले गरेको स्वास्थ्य–संवाद–
के–कस्तो छ अहिलेको दिनचर्या ?
पहिलेजस्ता कडा र सबैतिर निषेध नभए पनि निषेधाज्ञा अझै कायमै छ । नर्मल समयमा जसरी चलचित्र छायाङ्कनमा निस्कने समय होइन अहिले । घरमै बस्यो, किताब पढ्यो । बेलाबखत विज्ञापनहरूको छायाङ्कन हुन्छ, त्यतै व्यस्त भइन्छ ।
बिहान कति बजे उठ्नुहुन्छ ?
पौने पाँच बजे नै उठिसक्छु । म उठेपछि बच्चाहरू पनि त्यही बेला उठ्छन् । हात–मुख धोएर बालबच्चासहित केही समय ध्यान गर्छौं । पूजापाठ, यताउता गर्छौं । त्यसपछि हल्का खाजा खाएर आ–आफ्नो काममा लाग्छौं ।
कुन–कुन समयमा के–के खाने गर्नुभएको छ ?
बिहान चाहिँ रेगुलर नै हल्काफुल्का खाने कुराहरू खाने गरेका छौं । परिवारका कसैले पनि हेभी खाने कुरा खाँदैनौं । फलफूललगायत नै खाने हो । एघार बजेतिर खाना खाने गरेका छौं । साउनभर चाहिँ हामी भात खाँदैनौं, रोटी मात्र खाने गरेका छौं । साउने ब्रत बस्ने भएकाले प्रायः रोटी नै खान्छौं । साउनभर हामीले लसुन–प्याज पनि खाने गरेका छैनौं ।
दिउँसो पनि हल्काफुल्का खाने कुरा नै खान्छौं । सुटिङमा हिँडेपछि त जे पाइन्छ त्यही नै खाने हो । यति बेला र यही नै खाने भन्ने हुँदैन । घरमै हुँदाचाहिँ दिउँसो फापरको रोटी, भुटेको मकै, पास्ता, दही–चिउरालगायत खाने गरेका छौं । हप्ता–पन्ध्र दिनमा नानी–बाबुलाई लिएर खाना खान बाहिर जान्छौं ।
स्वस्थ रहन केही खाने कुरा बार्ने गर्नुभएको पनि छ ?
शरीरलाई हानि हुने खालका खाने कुराहरू हामी प्रायः खाँदैनौ । चिसो पेय पदार्थ, चाउचाउजस्ता खाने कुराहरू कहिल्यै खाँदिनँ । यस्ता खाने कुराहरूबाट टाढै रहने गरेकी छु । बाध्यतावस, सुटिङमा खानुपर्ने हुन्छ । त्यस्तो बेला त खाजा भनेकै प्रायः चाउचाउ नै हुन्छ; खान्नँ भनेर पनि धर पाइँदैन ।
नेपाली फिल्म क्षेत्रकै विशेष र छिटो खाजा नै चाउचाउ भएजस्तो स्थिति छ । त्यहाँ म एक्लै पनि हुँदिनँ, धेरै मान्छे भेला भइएको हुन्छ । त्यसबेला त खानैपर्यो । आफू मात्र घरमा बस्दा या बाहिर निस्कँदा चाहिँ जङ्कफुड कहिल्यै खाँदिन र बच्चाहरूलाई पनि खुवाउँदिनँ ।
भनेपछि, ममः–चाउमिन पनि पटक्कै खाइँदैन ?
ममः–चाउमिन पनि खाँदै नखाइने होइन, कहिलेकहीं खाइन्छ । बाहिर साथीहरूसँग भेटघाट गर्दा के खाने त भन्दा सबैको रोजाइमा ममः–चाउमिन नै पर्ने भएकाले त्यस्तो बेला खान्छु । मेरो छोरो ६ वर्षको हुँदासम्म मैले कोक खानै दिएकी थिइनँ । एक पटक अचम्मको घटना भयो । भएछ के भने हामी पार्टीमा गएका थियौं, छोराले कोक खान मन गरेछ र त्यहाँका पाले दाइले दिनुभएछ । उसले त टेबलमुनि लुकेर सरासर ४–५ वटा नै पो कोक खाइसकेछ । पाले दाइले ‘तपाईंको छोराले कति मिठो मानी–मानी कोक खाएको’ भन्नुभयो । कोक धेरै खाएकैले होला, उसलाई निकै ज्वरो नै आयो । यस्ता खाने कुरा शरीरका निम्ति राम्रो होइन । खान त उसले खायो तर शरीरले सहन सकेन ।
उसोभए, चिसो पेय पनि खानुहुन्न ?
बाहिरफेर जाँदा ‘लौ न खाँऊ’ भन्ने हुन्छ । तर, घरमा हामी कहिल्यै ल्याउँदैनौ । घरमा त फलफूल नै अधिकतम खान्छौं ।
खाना आफैं बनाउनुहुन्छ कि अरुले नै ?
घरमा त आफैं पनि बनाउँछु । खाना बनाउन सघाउने मान्छे पनि हुनुहुन्छ । आफैंले मात्र नभ्याइने भएकाले सहयोगीले पनि पकाउनुहुन्छ ।
शारीरिक–मानसिकरूपमा फिट रहन के–के गर्नुहुन्छ ?
स्वस्थ रहन त सबैभन्दा मुख्य कुरा पारिवारिक वातावरण राम्रो हुनुपर्छ । आफूलाई स्वस्थ राख्न पारिवारिक वातारण राम्रो बनाएका छौं । परिवारमा जति धेरै खुसी भएर बसेका हुन्छौं, शारीरिक तथा मानसिकरूपमा हामी उति नै फिट हुन सक्छौं । बाहिरको कामबाट कत्तिको सन्तुष्ट भइन्छ भन्ने कुरामा पनि भर शारीरिक–मानसिक स्वास्थ्य धेरै हदसम्म निर्भर हुन्छ । हाम्रो हकमा यी सबै कुरा ठीकठाक भएकाले हामी शारीरिक–मानसिकरूपमा फिट छौं । जतिसुकै व्यायाम, मेडिटेसन गरे पनि परिवारमा जाँदा र काममा सन्तुष्ट भइएन भने हामी तनावमा हुन्छौं । त्यसैले स्वस्थ रहनका निम्ति सबैभन्दा पहिले पारिवारिक वातावरण ठीक हुनु जरुरी हुन्छ ।
स्वास्थ्य जाँच कत्तिको गराउनुहुन्छ ?
हामीले बेला–बेला पूरा परिवारकै होलबडी चेकअफ गराउने गरेका छौं । छ महिनादेखि बढीमा एक वर्षभित्रमा चेकजाँच गराइरहेकै हुन्छौं । अहिले त झन् कोरोनाको महामारी छ । यसबाट जोगिन पनि बेला–बेला स्वास्थ्य जाँच गराइरहेकै छौं ।
रुघाखोकी लाग्दा, ज्वरो आउँदा के–कस्तोे उपचार विधि अपनाउनु हुन्छ ?
यस्ता समस्या हुँदा घरायसी विधि नै अपनाउने गरेका छौं; डाक्टरको औषधि त निकै पछिको कुरा मात्र हो । निकै दिनसम्म ठीक भएन भने मात्रै जँचाएर डाक्टरको सल्लाह बमोजिम औषधि खाने गरेका छौं । नत्र आयुर्वेदिक औैषधि नै बढी प्रयोग गर्छौं ।
कुनै औषधि नियमित खाइरहनु भएको छ कि ?
अहिलेसम्म त्यस्तो कुनै पनि औषधि खानु परेको छैन ।
स्वास्थ्य समस्या भएर अस्पतालै भर्ना हुनु परेको छ कि छैन ?
मैले अस्पताल भर्ना भएरै बस्नु परेको बच्चा जन्मिएपछि मात्र हो । ब्लिडिङ अलि बढी नै भयो । त्यही बेला (६ वर्ष अघि) करिव १५ दिनजति अस्पताल बसेकी थिएँ । मेरा बच्चा वर्षेनि जन्मिए । अघिल्लो भदौ ४ मा छोरो जन्मियो, दोस्रो भदौ ४ मा छोरी जन्मिई । तौल पनि बढी–बढी नै भएका बच्चा जन्मिएकाले ब्लड बढी जाने समस्या भयो । त्यसैकारण अस्पतालमा बस्नु परेको थियो । त्यसबाहेक कहिल्यै अस्पताल नै भर्ना हुनुपर्ने खालका स्वास्थ्य समस्या भएको छैन ।
सुटिङका बेला स्वास्थ्य समस्याका कारण कुनै नमिठो अनुभूति स“गाल्नुभएको छ कि ?
चलचित्र छायाङ्कनको समयमा मलाई कहिल्यै केही भएन । आफूलाई प्रेसर पारेर चलचित्रको काम पनि मैले कहिल्यै गरिनँ । एउटाको छायाङ्कन सकिएपछि मात्रै अर्कोको छायाङ्कन गर्थें । एउटा चलचित्रको छायाङ्कन गर्दागर्दै अर्को चलचित्रको छायाङ्कन गर्न नकुद्ने भएकाले तनाव हुँदैनथ्यो र समस्या पनि आउँदैनथ्यो ।