गाला सुन्दर बनाउने प्राकृतिक व्यायाम

होलिस्टिक संवाददाता

जो–कसैको व्यक्तित्व झल्काउने पहिलो माध्यम नै अनुहार हो । अनुहार सुन्दर छ भने मात्र व्यक्तिमा सुन्दरता झल्कन्छ अर्थात् अनुहारको सुन्दरताले नै व्यक्तित्व झल्काउँछ ।

शारीरिक या मानसिक वा दुवै हिसाबले कोही स्वस्थ छ कि छैन भन्ने कुरा समेत अनुहारले नै झल्काउँछ । शारीरिक एवम् मानसिकरूपमा स्वस्थ व्यक्तिको अनुहारमा चमक देखिन्छ; अनुहार हँसिलो देखिन्छ । शारीरिक या मानसिक वा दुवै हिसाबले अस्वस्थ व्यक्तिको अनुहार चमकहीन र निराश÷उदास देखिन्छ ।

अनुहारमा गाला भन्ने बेग्लै भाग अर्थात् अङ्ग हुन्छ । यसै अङ्ग अर्थात् गालाको माङ्शपेशी अनावश्यकरूपले बढी देखिँदा अनुहारको सुन्दरतामा प्रतिकूल प्रभाव पर्छ । त्यसो हुनबाट बच्न र सुन्दरता बढाउन गालाको समेत व्यायाम गर्न सकिन्छ ।

व्यायामको अभावका कारण गाला मात्र होइन, पूरा शरीर नै भद्दा हुन्छ । अनावश्यकरूपले अनुहारमा बोसो जमेमा अनुहार भद्दा एवम् अमिल्दो देखिन्छ । त्यसैकारण व्यायाममा ध्यान दिनु आवश्यक छ । अनुहार तथा गाला सुन्दर र सन्तुलित राख्नका लागि हल्का किसिमको सामान्य व्यायाम गर्न सकिन्छ ।

गालाको व्यायाम गर्ने केही प्राकृतिक किसिमका टेक्निक छन् । यस्ता व्यायाममध्येको एक हो– मुखको व्यायाम । दायाँ–बायाँ गदै करिव १० पटक ‘आँऽऽ…’ गरेर मुख चलाउँदा गालालाई व्यायाम पुग्छ ।

यस्तो व्यायाम गर्दा गालाका माङ्सपेशी तन्कने तथा खुम्चने प्रक्रिया चल्छ । यसो गर्दा गालामा रहेको अनावश्यक माङ्शपेशी र बोसो घट्न जान्छ र गालाको सुन्दरता बढ्छ ।

बाफ व्यायाम

गालाको व्यायाम गर्ने अर्को टेक्निक हो– स्टिम (बाफ) व्यायाम । तातो पानीको बाफ लिनाले गालामा अनावश्यक रूपमा जमेर रहेको बोसो कम हुन मद्धत मिल्छ; गालामा जमेर रहेको अनावश्यक फोहर बाहिर निस्कन मद्धत मिल्छ । छालामा छिद्र हुन्छन्, स्टिम बाफ लिँदा छालाका त्यस्ता छिद्र खुल्छन् र अनुहारको चमक बढाउन सहजता मिल्छ ।

छाला सुख्खा भएका बेला दुई मिनेटजति र छाला चिल्लो भएका बेला तीन मिनेटजति बाफ लिनु उचित हुन्छ । सामान्यतया महिनामा एक पटक शुद्ध तातो पानी वा तातो पानीमा हर्बल इसेन्स मिसाएर बाफ लिनु लाभदायक हुन्छ । छालाको प्रकृतिअनुसार चिकित्सकको सल्लाहमा बाफ लिनु अझ उत्तम हुन्छ ।

गाला चम्काउने फेसवास

गालास्थित छालाको व्यायाम गर्ने अर्को विधि हो– फेस वास । सामान्यतया बिहान र बेलुका ‘क्लिन्जी फोम’ साबुनले मुख धुनु उचित हुन्छ । प्राकृतिक हर्बल साबुनले मुख धुनुपर्छ । यस्तो साबुनले करिव तीन मिनेटसम्म मााडी–माडी मुख धुनुपर्छ ।

यसरी हर्बल साबुनसहित माड्दा एकातिर औषधिजन्य सहयोग मिल्छ भने अर्कातिर व्यायाम समेत पुग्दछ । यसो गर्दा गालास्थित छालामा रहेका मरेका तन्तु बाहिर निस्कन्छन् र पुनर्उत्पादित हुन थाल्छन् या तिनै मृत तन्तुहरू पुनर्जीवित हुन सक्छन् ।

यो प्रक्रियाबाट छालामा चमक बढाउन पर्याप्त मद्धत मिल्छ । ‘फेसियल’ का रूपमा साबुन तथा क्रिम प्रयोग गर्न सकिन्छ । सुत्नुअघि साबुन–पानीले मुख धोइसकेपछि अनुहारमा मिल्ने किसिमको क्रिम लगाउनुपर्छ । अनुहारको छालामा चाया–पोतो छ भने ‘एन्टिपिग्मेन्ट’ क्रिम प्रयोग गर्नु उचित हुन्छ; डण्डीफोर छ भने ‘एन्टिएक्ने’ क्रिम लगाउनु उचित हुन्छ । कालो छाला भएकाहरूले ‘ह्वाइटनिङ’ क्रिम लगाउनु उचित हुन्छ । बिहान फेसवास गरेपछि मोइस्चराइजिङ क्रिम लाउनु उचित हुन्छ ।

यसखाले व्यायामले छालामा चमक आउनुका साथै छाला नरम गराउन समेत मद्धत मिल्छ । क्रिमहरू प्रयोग गर्ने यो प्रक्रिया पनि प्राकृतिक चिकित्सकको सल्लाहअनुरूप नै अपनाउनु उचित हुन्छ ।

गालाको चमक: दूध र कफी

फेसवास गरेर क्रिम लगाइसकेपछि कफीको खस्रो धुलो दूधमा मिसाएर फिटेको लेदोले मालिस गरिन्छ । यस्तो किसिमको मालिस अर्थात् गालाको व्यायाम गर्दा माङ्शपेशी तथा हड्डी समेतलाई व्यायाम पुग्छ । यो व्यायामबाट सहज रक्तसञ्चारमा समेत मद्धत मिल्छ ।

यसो गर्दा गालास्थित छालामा रहेका मृत कोषिकाहरू बाहिर निस्कँदै र नयाँ कोषिका पुनर्उत्पादित हुन्छन् या तिनै मृत कोषिकाहरू पुनर्जीवित भएर छाला स्वस्थ एवम् चम्किलो हुन्छ । सामान्यतः सय मिलिलिटर दूधमा सय ग्राम कफीको धुलो हालेर तयार पारिएको लेदोसहित दैनिक मालिस गर्नु उचित हुन्छ ।

फेसवास गरिसकेपछि अनुहारमा फिटकिरी वा एन्टिसेप्टिक क्रिम लगाउन सकिन्छ । यसो गर्दा अनुहारको छालालाई सम्भावित सङ्क्रमणबाट बच्न मद्धत मिल्छ ।

गालाको चमकका निम्ति व्यायाम त अत्यावश्यक हुन्छ नै, सन्तुलित एवम् पोषिलो खानपान गर्न र प्रशस्त मात्रामा पानी पिउन समेत त्यत्तिकै ध्यान दिनुपर्छ ।