‘सुपर फुड’ स्पिरुलिना
डा. डीबी सुनुवारसमुद्रमा पाइने विभिन्न खाले लेऊहरूजस्तै स्पिरुलिना पनि एक प्रकारको सामुद्रिक लेऊ नै हो । यो ‘ब्ल्यु ग्रीन आल्गी’ प्रजातिमा पर्दछ । मुख्यतः समुद्रमा नै पाइने भएकाले सामुद्रिक तटीय क्षेत्रमा बसोवास गर्नेहरूले यसको खेती गर्ने गरेको पाइन्छ ।
यो ‘लेऊ’ मूलतः ‘साइनो ब्याक्टेरिया’ वर्गमा पर्छ । हरियो तथा नीलोको सम्मिश्रणबाट यसको सङ्ग सिर्जित भएको देखिन्छ । झट्ट हेर्दा हरियो देखिने स्पिरुलिना स्वास्थ्यका दृष्टिले निकै लाभदायक सामुद्रिक वनस्पति हो ।
स्पिरुलिनालाई समुद्रबाट निकालिसकेपछि प्रशोधनपश्चात् खान सकिन्छ । यसको वासना हल्कारूपमा माछाको जस्तै लाग्दछ र कता–कता माछा खाएजस्तो पनि भान पर्छ । यसको स्वाद हल्का नुनीलो हुन्छ । स्पिरुलिना विशुद्ध शाकाहारी वनस्पतिजन्य खाना हो ।
यसरी हुन्छ उत्पादन
मूलतः प्राकृतिकरूपमा समुद्रबाट लिइने भए तापनि पछिल्लो समय भने विभिन्न मुलुकमा स्पिरुलिनाको व्यावसायिक रूपमा समेत उत्पादन हुन थालेको छ । तालतलैयामा कृत्रिम रूपमै तथा आधुनिकरूपले पोखरी बनाएर समेत यसको उत्पादन हुन थालेको छ ।
नेपालमा पनि स्पिरुलिनाको खेती गर्न सकिन्छ । तुलनात्मकरूपले गर्मी हावापानी भएको ठाउँमा यसको उत्पादन राम्रैसँग गर्न सकिन्छ । यो लेऊ हो तर रोप्न मिल्छ । यसलाई रोपेको दुईदेखि तीन सातामा उत्पादन सङ्कलन गरेर आवश्यकताअनुसार भण्डारण गर्न या लगत्तै प्रशोधन गरेर उपभोग गर्न सकिन्छ ।
यसरी गरिन्छ प्रयोग
स्पिरुलिनालाई परम्परागतरूपमा तरकारी, सुप, सलाद तथा विभिन्न खाद्य एवम् पेय पदार्थहरूमा मिसाएर खाने प्रचलन छ । यसका गुणहरू अर्थात् स्वास्थ्यलाभहरू निकै राम्रा देखिएकाले पछिल्लो समय स्पिरुलिनाको प्रयोग झन् बढ्दै गएको छ ।
विभिन्न अध्ययन–अनुसन्धानबाट स्पिरुलिनाका अनेकौं लाभ देखिएकाले यसलाई व्यावसायिकरूपमा उत्पादन गरेर धुलो, क्याप्सुल वा चक्कीका रूपमा समेत बजारमा उपलब्ध गराउन थालिएको पाइन्छ ।
सामान्यतः कुपोषित बालबालिका तथा पाको उमेरकाहरूका निम्ति स्पिरुलिना निकै लाभदायक सिद्ध भएको देखिन्छ । यद्यपि यो सबै उमेरसमूहका व्यक्तिहरूका निम्ति उत्तिकै लाभदायक छ । भारत, अफ्रिकालगायतका राष्ट्रमा गरिएका प्रयोग तथा अध्ययनअनुसार कुपोषितहरूका निम्ति स्पिरुलिना निकै लाभदायक देखिएको छ । यसलाई ‘बोटानिकल मेडिसिन’ का रूपमा समेत प्रयोग गर्ने गरिएको पाइन्छ ।
स्पिरुलिनालाई वयस्क व्यक्तिले सामान्यतः दैनिक तीनदेखि पाँच ग्र्रामसम्म सेवन गर्न सक्दछन् । यसको सन्तुलित सेवनले कुपोषणबाट बचाउँछ । विशेषगरी बिहान र बेलुकी खालि पेटमा यसको उपभोग गर्नु लाभदायक हुन्छ । तर, स्पिरुलिना यही बेला र यति नै खानुपर्छ भन्नेचाहिँ छैन । यात्रा तथा कुनै काम गर्दा जुनसुकै बेला र जहाँसुकै रहेर पनि यसलाई खान सकिन्छ ।
स्पिरुलिनाबाट मिल्छन् यस्ता लाभ
स्पिरुलिनामा प्रोटिन; भिटामिन बी–वान, बी–टु र बी–थ्री; कपर, आइरनजस्ता तत्व पाइन्छन् । यसबाट विभिन्न किसिमका एमिनो एसिड समेत प्राप्त हुन्छन् । यसमा पाइने ‘जीएलए’ र ‘बेटाक्यारोटिन’ जस्ता तत्वले शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहन र विभिन्न रोगबाट छुटकारा पाउन सहायता मिल्छ ।
मुख्यतः ‘प्लान्ट प्रोटिन’ नै स्पिरुलिनामा पाइने प्रमुख तŒव हो । त्यसैले यो यस्तो सामुद्रिक वनस्पति हो, जसको सही र सन्तुलित प्रयोगले एकातर्फ मोटोपन घटाउन सहयोग मिल्छ भने अर्कातर्फ कुपोषण भएर दुब्लो–पातलो भएकाहरूलाई मोटोघाटो र हृष्टपुष्ट तुल्याउन समेत सहयोग मिल्छ ।
स्पिरुलिनामा पाइने ‘फाइकोसायनिन’ नामक तत्वले एन्टिअक्सिडेन्टका रूपमा काम गर्छ । एन्टिअक्सिडेन्टको सहायताले शरीरभित्रका विभिन्न विकार तत्वलाई बाहिर पठाउन सहयोग पुर्याउँछ । यसको प्रयोगद्वारा शरीरका विकार तत्व बाहिर जाने भएकाले खानपानमा रुचि बढाउनुका साथै शारीरिक तथा मानसिकरूपमा हृष्टपुष्ट रहन सहयोग मिल्छ ।
यसको नियमित तथा सन्तुलित सेवनले अध्ययन तथा सिर्जनात्मक काम गर्न पर्याप्त ऊर्जा मिल्छ । यसले मानसिकरूपमा स्वस्थ रहन सहयोग मिल्ने भएकाले बौद्धिक तीक्ष्णताको अभिवृद्धिमा सहयोग मिल्छ र स्मरणशक्ति समेत बढ्छ । स्मरणशक्ति बढेपछि आफूले विगतमा गरेका कामको समीक्षा गर्न, कमीकमजोरी सच्याउन र भविष्यका निम्ति सही योजना बनाएर अघि बढ्न मद्धत पुग्दछ ।