‘भोकल क्वीन’ कुन्ती मोक्तान: जीवनसङ्घर्ष र प्रेमकथा
केदार/शङ्कर/बीएनस्कुल–कलेजका कार्यक्रम होऊन् या दसैं–तिहारका नाचगान नै किन नहोऊन्, सबैतिर बज्ने पहिलो गीत हुन्छ– ‘चोली राम्रो पाल्पाली ढाकाको… ।’ नेपाली सङ्गीताकाशमा ‘भोकल क्वीन’ का रूपमा स्थापित कुन्ती मोक्तानको स्वरलहरीले सजिएको गीत हो यो । सयौं कालजयी गीतमा आवाज भरिसकेकी कुन्तीलाई यही गीतमार्फत अधिकाङ्शले दर्शक–श्रोताले चिन्ने गरेका छन् यतिबेला । जब ‘चोली राम्रो…’ घन्कन थाल्दछ, सबैका दिल दिमाग र आँखामा कुन्ती मोक्तानकै मुहारको छविचित्र झल्कन्छ ।
दार्जिलिङको एउटा सामान्य परिवारमा जन्मिएकी कुन्तीले यहाँसम्म आइपुग्न धेरै कठिन अनेकौं खुड्किला पार गरेकी छन् । गाउँघरमै छँदा स्कुलले जीवनदेखि नै गीत गाउन थालेकी कुन्तीको बाल्यकाल पढाइका साथसाथै घाँस दाउरा र मेलापातमा बुबाआमालाई सघाँउदै बित्यो । दुःखैदुःखमा बितेको हो उनको बाल्यकाल । ‘अहिलेजत्तिको सम्पन्न थिएन हाम्रो परिवार,’ आफ्नो बाल्यकाल सम्झँदै होलिस्टिकसँग कुन्तीले भनिन्– ‘दुर्गम गाउँमा जन्मिएकी थिएँ; एउटा गाउँले नेपालीको जीवन जस्तो हुन्छ, त्यस्तैमा हुर्किएकी हुँ ।’
पढाइसँगसँगै गीत गाइरहने गरेकी कुन्तीलाई विद्यालयका शिक्षकशिक्षिका तथा आफन्तजनबाट निकै राम्रो हौसला मिल्यो । उनको आवाजमा पहिलो पटक ‘अल इन्डिया रेडियो’ मा रेकर्ड गरिएको लोकगीत नै कुन्तीको पहिलो रेकर्डेड गायन हो । र, उनको औपचारिक गायनयात्रा पनि यसै गीतबाट सुरु भयो ।
कुन्ती मोक्तान बाल्यकालदेखि नै एकदमै भलाद्मी स्वभावकी थिइन् । ‘सानैदेखिको मेरो बानी अहिले पनि उस्तै नै छ जस्तो लाग्छ, त्यही बानी अहिलेसम्म आइपुग्दा हल्का विकसित भएको मात्र हो,’ उनले सुनाइन्– ‘कुनै काममा हात हालिसकेपछि सकेसम्म राम्रो गरौं, मेहनत गरौं भन्ने लाग्दथ्यो उहीबेलादेखि । स्कुल पढ्दा शिक्षकशिक्षिकाहरूको प्रिय बनूँ भन्ने नै लाग्थ्यो । अहिले पनि जुनसुकै गीत गाउनुपर्दा निकै अभ्यास गरेर मात्रै गाउने गरेकी छु । एउटा गीत गाउनका लागि धेरै नै मेहनत गर्छु ।’
बाल्यकालमा रेडियोमा गीतहरू सुनेपछि सुर–ताल टिप्ने प्रयास गर्दै गुनगुनाउँथिन् । त्यसबेला उनी मीरा राणा, नारायणगोपाल, अरुणा लामा, कुमार सुब्बालगायतका चर्चित गायकगायिकाहरूका गीत सुन्थिन् र गुनगुनाउँथिन् ।
दैनिकी र जीवनशैली
कुन्ती बिहान सबेरै उठ्छिन् । नित्यकर्म सकेपछि योगा गर्छिन् । त्यसपछि रियाज गर्न थाल्छिन् । त्यसपछि सरसफाइलगायतका काम गर्दै खाना बनाउन थाल्छिन् । प्रसिद्ध सङ्गीतकार शिलाबहादुर मोक्तान उनका श्रीमान् हुन् ।
शिलाबहादुरले पनि घरायसी काममा कुन्तीलाई सघाउँछन् । मोक्तान परिवारले नौ बजेतिर बिहानको खाना खाइसक्छ ।
गीत सङ्गीतका विद्यार्थीलाई पढाउनु पनि उनको नियमित दिनचर्या हो । गत वर्षदेखि लकडाउन, निषेधाज्ञा र फेरि निषेधाज्ञाको क्रम चलिरहेकाले यतिबेला भने उनी अनलाइन माध्यमबाटै पढाइरहेकी छन् । बिहान दस बजेदेखि अपराह्न चार बजेसम्म पढाउने काममै व्यस्त छिन् कुन्ती । धेरै स्कुलका विद्यार्थीलाई पढाउनुपर्ने भएकाले उनी दिनभर त्यसैमा व्यस्त हुन्छिन्; दस–चारको समयमा त फुर्सद नै हुँदैन । चार बजेपछि खाजा खान्छिन् । स्कुल लागेका बेला त कुन्तीको व्यस्तता झन् चर्को हुन्छ । फरक–फरक बार र समय पारेर विभिन्न स्कुलमा सङ्गीत पढाउँछिन् कुन्ती । अहिले घरै बसेर अनलाइनमार्फत पढाइरहँदा समेत पाहुना आउँदा आफैंले पकाएर खुवाउने गरेकी छन् ।
‘फेसबुक’ हेरेपछि पुस्तक पढ्ने
फुर्सद मिल्दा उनी पनि सामाजिक सञ्जालहरू चलाउँछिन् । आफन्त, इष्टमित्र र साथीभाइसँग सहज सम्पर्कका निम्ति अनि कहाँ के भैरहेको छ भन्ने थाहा पाउन आफूले सामाजिक सञ्जाल चलाउने गरेको उनको भनाइ छ । प्रायः बेलुकीको समयमा उनी ‘फेसबुक’ लगायतका सञ्जाल चलाउँछिन् ।
सामाजिक सञ्जालमा सरसर्ती नजर डुलाइसकेपछि उनी विभिन्न खाले किताबहरू पढ्छिन् । विशेषतः धार्मिक किताबहरू पढ्ने गरेको उनले सुनाइन् । खासगरी गतवर्षको लकडाउनका बेला मन हलुका बनाउन धार्मिक किताबहरू पढ्ने समय बढाएको उनको भनाइ छ ।
गायिका कुन्ती धार्मिक किताबहरू मात्रै पढ्दिनन्, विभिन्न मानिसका जीवनी र साहित्यहरू समेत चाखपूर्वक पढ्छिन् । यतिबेला चाहिँ कर्ण शाक्यको कृति सिध्याएर निहारिकाले लेखेको नयाँ उपन्यास पढिरहेको उनले बताइन् । किताब पढ्नमा आफू निकै नै शौखिन रहेको उनको भनाइ छ ।
गायनयात्राको सुरुआत
कुन्तीको गायनयात्रा घरगाउँबाटै सुरु भएको हो । गाउँमा हुने विवाह तथा पूजाआजाहरूमा गीत गाएर रमाइलो गर्थिन् । उमेर चढ्दै गर्दा कुन्तीको गायनयात्राको दायरा बिस्तारै–बिस्तारै फराकिलो हुँदै गयो ।
गाउँमा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुँदै गर्दा उनले ‘अल इन्डिया रेडियो’ मा गीत रेकर्ड गर्ने मौका पाइन् । आफ्नो आवाजमा त्यहाँ पहिलो पटक गीत रेकर्ड गराउँदा उनी चौध वर्षकी थिइन् । ‘कहिलेकहीं मलाई पनि’ बोलको उक्त गीत स्रोतामाझ राम्रै परिचित भयो । सुरुआती चरणमा यही गीतले कुन्तीलाई स्रोतामाझ चिनायो ।
त्यसपछि भने कुन्तीले रेडियो नेपालमा गाउने अवसर पाइन् । ‘त्यो समयमा गीत रेकर्ड गर्न निकै गाह्रो थियो, अहिलेजस्तो जताततै स्टुडियो थिएनन्,’ ती दिन सम्झँदै कुन्तीले भनिन्– ‘मैले भ्वाइस टेस्ट उत्तीर्ण गरेर मात्र अल इन्डिया रेडियोमा गीत रेकर्ड गराउन पाएकी हुँ । त्यसपछि रेडियो नेपालमा पनि फेरि भ्वाइस टेस्ट पास गरेर नै गीत गाउन थालेकी हुँ ।’
कुन्तीले हालसम्म तेह्रवटा एल्बम स्रोतामाझ ल्याइसकेकी छन् । छ सयभन्दा पढी गीतमा उनले आवाज दिइसकेकी छन् । लकडाउन र निषेधाज्ञाका कारण अहिले भने नयाँ गीत रेकर्ड गराउन पाएकी छैनन् ।
सङ्गीत सिक्ने ठाउँमै प्रेम बसेपछि…
कुन्ती र शिलाबहादुरबीच शास्त्रीय सङ्गीतका गुरु जेएस्सी राईको सङ्गीत विद्यालयमा भेटघाट भएको हो । सङ्गीत सिक्ने क्रममा यी दुईबीच चिनापर्ची भयो । त्यही सिलसिलामा दुवै जना नजिकिए र एकार्काप्रति आकर्षित भए ।
सङ्गीत सिक्ने ठाउँमा सामान्य चिनजान भएपछि उनीहरूबीच भेटघाट बाक्लिँदै गयो । बिस्तारै प्रेम गहिरिँदै गयो र अन्ततः त्यही प्रेमलाई उनीहरूले विवाहमा परिणत गरे । उनीहरूको विवाहपछि कुन्ती र शिलाबहादुरलाई नेपाली साङ्गीतिक क्षेत्रमा जमेको जोडीका रूपमा लिन थालियो ।
‘दुवैजना साङ्गीतिक क्षेत्रकै भएकाले एकार्कालाई सपोर्ट गर्दै अगाडि बढ्यौं, दुःखसुखमा साथ दियौं,’ कुन्ती भन्छिन्– ‘हामी साङ्गीतिक क्षेत्रमा आउँदा लाभका कुरा केही पनि थिएनन्, खालि सङ्घर्ष मात्रै थियो । हामीसँग पनि केही थिएन तर यस्तो बेलामा हामीले एकार्काको साथ छाडेनौं ।’
‘अहिले त हामीसँग दुई छोरी छन्, दुई ज्वाइँ हुनुहुन्छ । यतिबेला भने मलाई सबै कुरामा सम्पन्न भएकी छु जस्तो लाग्छ,’ आत्मसन्तुष्टि प्रकट गर्दै कुन्ती भन्छिन्– ‘दर्शक–स्रोताहरूले पनि एकदमै माया गर्नुभएकाले आफूहरू सफल भएको महसुस हामीले गरेका छौं ।’
‘दर्शक–स्रोताहरूले हामीलाई यसरी माया गर्नुहुन्छ होलाजस्तो लाग्दैनथ्यो तर उहाँहरूले असाध्यै माया पो गरिरहनुभएको छ । हाम्रा लागि जीवनभरकै सबैभन्दा ठूलो कुरा नै यही हो ।’ स्थापित हुँदै जाँदा कुन्ती चर्चित र लोकप्रिय गायिका बनिन् भने शिलाबहादुर स्थापित सङ्गीतकार बने । नेपाली साङ्गीतिक क्षेत्रकै अगुवा र आदर्श जोडीका रूपमा सुपरिचत एवम् स्थापित बनेको छ कुन्ती–शिलाबहादुरको जोडी ।
‘घरका निम्ति सधैं समय निकाल्छु’
प्रायः ‘सेलिब्रिटी’ र साङ्गीतिक क्षेत्रका स्थापित हस्तीहरू घरधन्दामा त्यतिसाह्रो लाग्दैनन्; परिवारजन र सहयोगीकै भर पर्छन् । तर, सुप्रसिद्ध गायिका कुन्ती मोक्तान भने घरका लागि आफुले नै समय निकाल्ने गरेको बताउँछिन् ।
चाहे राजधानीमा बसेर रेकर्डिङ र शिक्षणमा व्यस्त रहँदा होस् वा साङ्गीतिक कार्यक्रममा सहभागी भएर बाहिरबाट फर्कंदा नै किन नहोस्, आफूले पूर्णरूपमै घरपरिवारका लागि समय दिने गरेको उनको भनाइ छ । विवाहपश्चात् सुरु भएको यो क्रम अहिलेसम्म निरन्तर छ ।
‘हामी कलाकारहरूले घरका लागि समय दिनै सक्दैनौं भन्नेहरू धेरै भेटेकी छु मैले,’ कुन्तीले प्रष्ट्याइन्– ‘तर, मलाई भने त्यस्तो लाग्दैन, किनभने कसैले कसैलाई भेट्नका लागि समय निकाल्छ भने हामी कलाकारले पनि त्यसरी नै घरका लागि समय निकाल्न सक्छौं ।’
‘गीत गाउने पेशामा लागेपछि त्यहींबाट आयआर्जन भैरहेकै छ । त्यसैबाट हाम्रो जीविका राम्रैसँग चल्छ÷चलेको छ । तर, आफ्नो फेमिली लाइफ भनेको अर्को कुरा हो, यो कुरा अझ बढी महत्वपूर्ण छ,’ उदाहरण दिँदै कुन्तीले सुनाइन्– ‘चराहरू जताजता चर्न गए पनि साँझ परेपछि आफ्नै गुँडमा फर्कन्छन्; त्यसैगरी काम सकेर हामी पनि आफ्नै घर फर्कने हो । चराहरू जस्तै गरी मान्छेहरू पनि आफ्नै गुँडमा फर्किए भने चारो पनि जुट्छ र गुँड पनि बच्छ ।’
साङ्गीतिक कर्मबाट उब्रिएको समय घरपरिवारलाई नै दिने गरेको उनी बताउँछिन् । यसो गर्न सक्दा आफ्नो घरपरिवार राम्रो हुने उनको बुझाइ छ । काम र परिवारबीच राम्रो तालमेल मिलाउन सकियो भने दुवैतिर सफलता मिल्ने कुन्तीको भनाइ छ ।
म्युजिकल टुरका रमाइला क्षण
कुन्तीले देश–विदेशका थुप्रै कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिइसकेकी छन् । देश–विदेशका साङ्गीतिक टुरको सिलसिलामा हास्यकलाकार हरिवङ्श आचार्यको टिममा पर्न पाउँदा आफूलाई ज्यादै रमाइलो लाग्ने उनी बताउँछिन् ।
‘मैले साङ्गीतिक प्रस्तुतिकै सिलसिलामा थुप्रै देश घुमेकी छु । त्यहाँ पुग्दा नेपाली दाजुभाइ–दिदीबहिनीको माया त छँदैछ, मलाई सबैभन्दा सम्झनलायक कार्यक्रमहरूचाहिँ हरिवङ्शको टिममा हुँदा नै लाग्थ्यो,’ गायिका कुन्तीले खुलाइन्– ‘उहाँहरूसँग साङ्गीतिक प्रस्तुतिकै सन्दर्भमा नेपालका पूर्व पश्चिम हिँडेकी छु । उहाँहरूसँगका हरेक समय रमाइला लाग्थे । सबैलाई माया गर्ने र हँसाइरहने उहाँहरूको शैलीका कारण कार्यक्रममा हिँड्दाको थकान समेत अनुभव नै हुँदैनथ्यो । अब भने त्यस्ता दिन शायद आउँदैनन् होलाजस्तो लाग्छ ।’
‘घरकै खाना खान्छु’
कुन्तीलाई बाहिरका खाने कुरा खासै मन पर्दैनन् । दिनभर काम गरेर थकाइ लागे पनि उनी घरमै पुगेर खाना पकाएर खान्छिन् ।
उनलाई जङ्कफुडजस्ता खाने कुरा मन पर्दैनन् । चाउचाउ, बिस्कुट, चाउमिन उनलाई मन पर्दैनन् । तर, कहिलेकहीं बाध्यता नै आइलाग्यो भने खाँदै नखानेचाहिँ होइन । थाकेर घर आइपुग्दा पनि भात पकाएर नै खाने गरेको उनी बताउँछिन् । सकेसम्म जङ्कफुड नखान अरुलाई पनि उनको सुझाव छ ।
‘जतिसुकै गलेर घरमा आए पनि चाउचाउजस्ता सामग्री नखानू, घरमा भएको चामल एक मुठी हालेर पकाउँदा त पाकिहाल्छ नि,’ उनको सुझाव छ– ‘चाउचाउले शरीरलाई राम्रो गर्ने गर्दैन । बरु तरकारी पकाउन अल्छी लागे अण्डासँग खाँदा पनि हुन्छ ।’
केही छैनन् स्वास्थ्य समस्या
गायिक कुन्ती मोक्तानले अहिलेसम्म कुनै औषधिको नियमित सेवन गर्नु परेको छैन । बाल्यकालदेखि अहिलेसम्म त्यस्ता कुनै पनि औषधि प्रयोग नै नगरेको उनी बताउँछिन् ।
आफूलाई अहिलेसम्म रुघाखोकी र ज्वरोले समेत गम्भीररूपमा नसताएको उल्लेख गर्दै कहिलेकहीं सामान्य स्वास्थ्य समस्या हुँदा घरायसी औषधि गर्ने गरेको उनले बताइन् । कहींकतै कार्यक्रममा जाँदा पनि अहिलेसम्म स्वास्थ्य समस्याले नसताएको उनको भनाइ छ । ‘भगवान्को कृपा’ र स्वस्थ खानपानकै कारण अहिलेसम्म आफूलाई कुनै रोग नलागेको उनको ठम्याइ छ ।
उनी समय–समयमा होलबडी चेकअप गराउँछिन् । यसो गर्दा शरीरमा कुनै रोग लागिहालेमा पनि समयमै थाहा पाइन्छ र उपचार छिटो, सजिलो र सस्तो हुन्छ भन्ने उनको बुझाइ छ ।