रमाइलो ल्हासाको रोमाञ्चक यात्रा

डा. डीबी सुनुवार

नेपालको भूमिमा बसेर खाना खाइरहेका छौं । अब नेपाली भूमि छाडेर पारिपट्टि जाँदैछौं । तातोपानी नाकाबाट मितेरी पुल तरेपछि तिब्बत टेकिन्छ ।

पुलमा सुरक्षा जाँचपासपछि पारि पुगियो । पारि पुग्दा हामीलाई लिन गाइड आएका छन् । देखिन्छ– ठूलठूला गाडीको लाइन छ । सामान बोकेर आवत–जावत गर्नेहरूको पनि उत्तिकै लर्को देखिन्छ मितेरी पुलमा ।

गाइडसँग कारमा यात्रा गर्दा तिब्बतको दृश्य बडो रोमाञ्चक देखिन्छ । बिहानै देखिएको गुजुमुज्जु गाउँले आफ्नै गाउँ सम्झाउँछ । तर, हामी तिब्बती गाउँमा छौं । ओहो ! कति सफा गाउँ । ढुङ्गा–माटो र टायलका घरहरू कति सुन्दर ! मनै भुलाएको छ ।

तिब्बती भाषामा कुकुरलाई न्यालाम भनिँदो रहेछ । घर–घरमा कत्रा–कत्रा कुकुर ! बडे–बडे र झक्कु–झक्कु कुकुरहरू ।

चिसो याममा त मुटु नै काम्ने जाडो । हावाको सिरेटोले ज्यानै हुत्याइदेला जस्तो । करिव ४ हजार ३ सय मिटरको उचाइमा अवस्थित, अहिले हामी हिँडिरहेको यो तिब्बती ठाउँलाई चारैतिरबाट हिमालै–हिमालले घेरेको छ ।

झ्याल–ढोका र अरु सबै ठाउँ सिरेटो नछिर्ने गरी बनाइएका छन् । पर्दा पनि क्या गजबका ! प्लास्टिकको पर्दा, त्यसपछि काठको ढोका र त्यसपछि डसनाजस्तो तिब्बतीयन पर्दा भएको ठूलो कोठामा बसेको छु । मेरो अगाडि चार–चार थर्मस पानी छ । सँगसँगै तातो पानीमा खुट्टा डुबाउने भाँडो पनि छ ।

दुई–दुई वटा सिरक र डसना छन् । तर, ओहो ! कस्तो चिसो !! जाडोका अगाडि यिनीहरू केही पनि होइनन् जस्तो लाग्छ ।

सुकेको ओठ–मुखलाई ब्ल्याक कफीले रसाउने कोसिस गरिरहेको छु । प्राकृतिकरूपमा उत्पादित कफी त आफैंले पनि बोकेको छु ।

होइन, चिसो पनि कतिसाह्रै हो ? माइनस ७ डिग्री पो छ त बा ! गाइडसँग ठट्टा गरें– ‘हैट्, यो ज्यानले त जाडो धान्दैन कि क्या हो; ज्यान फर्कन्छ त नेपालमा ?’

ठट्यौली पारामै ‘फर्किइहाल्छ नि’ भन्दै जाडो छल्ने थप उपायहरूको व्यवस्थापन गरिदिए गाइडले पनि ।

बेलुकी सुप र मःमः खाएँ । आ, केको कपडा फुकाल्नु न मोजा खोल्नु ! त्यत्तिकै ओछ्यानमा गुँडुल्किएँ । जति बाक्ला लुगा लगाए पनि रात कटाउन त चिसोले मुस्किल पर्‍यो ।

मैले सुनेको थिएँ– ‘यस्तो हुँदाहुँदै कतिपय मानिस त सुतेको सुत्यै पनि हुन्छन् ।’ मनमनै डर पनि लागेको छ– भोलि बिहान उठ्नै बिर्सिइयो भने ?!

तर, बिहानसम्म भने मेरो ज्यान ठीकठाकै छ । रातभरि निद्रा त के लाग्थ्यो र ! ओहो ! त्यो जाडो सम्झँदा त अझैसम्म पनि आङ् नै सिरिङ्ग हुन्छ ।

भोलिपल्ट बिहानको खाजापछि हिजो राति सताउने चिसोलाई शक्ति दिने हिमालको अनुहारलाई प्रेमपूर्वक हेर्दै–हेर्दै थुङ्लापासतिर अगाडि बढ्दैछौं । मानसरोबर जान चाहनेहरूलाई ‘हाई अल्टिच्युट परीक्षण’ का निम्ति समेत यही ठाउँ (न्यालाम) मा नै ल्याउँछन् अरे ।

ग्राभेल बाटो । ल्याण्डक्रुजरको गति तीब्र छ । कतै धागो तन्काएर बनाइएको जस्तो सडक छ भने कतै–कतैचाहिँ घुम्ती नै घुम्ती । कारमा निधार त कति पटक ठोकियो–ठोकियो ।

थुङ्लापासको उचाई करिव ५ हजार २ सय मिटर हो । ल्हासा जानेहरूले यो पासलाई सम्पूर्ण बाटोमध्येकै कठिन पासका रूपमा चिन्छन् । ‘हाई सिकनेस’ का कारण कतिपय मानिसहरूको त गाडीमा बस्दाबस्दै प्राण गएको छ अरे ।

हामीले भने बाँच्न विभिन्न उपाय अपनाउने कोसिस गरेका छौं । टोपीसहितका ज्याकेट गुथेर त्यो उचाइमा पनि बाहिर निस्कें । वाह ! कस्तो स्वर्गजस्तो ठाउँ । मलाई यस्तै अनुभूति भयो । चाँदीको सहर भनूँ कि, चाँदीको दरबार भनूँ ? चाँदीका आकर्षक गहनाले सुसज्जित हिमकन्याहरू, राजकुमारहरू ।

नतमस्तक बनाउने हिउँ । हिमालमा चढ्दा हुने आनन्दानुभूति कति अविस्मरणीय ! मैले मेरो सगरमाथा सम्झें, कति मान्छेले त सगरमाथा चढेरै नाम कमाए, कीर्तिमान बनाए ।

थुङ्लापासको चिसो–चिसो हावामा सगरमाथा देखेको मात्र सम्झँदै हिउँको आनन्द लिइरहेको छु । ओहो ! चिसोले हात–गोडा र अनुहार पर्पर् फुटेर रगत निस्केका मान्छे देखिन्छन् ।

हावा पनि त्यत्तिकै बेगिइरहेको । धुलोसँगै मान्छे नै उडाउला जस्तो छ । चालक, गाइडलगायतका केही स्थानीय तिब्बतीयनहरू भेडा काटिरहेका छन् । उनीहरूले भेंडाको फिलामा चक्कु चलाइरहेको मैले परैबाट देखिरहेको छु । मासु काँचै पनि खाने चलन रहेछ यहाँ । चियाका लागि पानी मनतातो मात्र, मन राख्नका लागि मात्र । प्रायः खानाका परिकारहरू काँचै हुँदा रहेछन् । अनौठो लागे मलाई यी सब प्रचलन ।

चो–यु जाने बाटो यहींबाट छुट्छ । हाम्रो हो चो–यु हिमाल । यसको उचाई ८ हजार २ सय १ मिटर छ । यो नेपालका आठवटा सबैभन्दा अग्ला हिमालमध्येमा पर्छ ।

ऊ पर चोमोलुङ्माको आधारशिविर जाने बाटो । यहाँबाट १ सय १ किलोमिटरको दूरीमा छ ।

तिब्बतमा पनि चोमोलुङ्मा नामको निकै चर्चा हुँदो रहेछ । चोमोलुङ्मा भनेको पनि सगरमाथा नै हो ।

धन्य होऊन् नेपाली, धन्य होओस् सगरमाथा, धन्य होओस् नेपाल !

एक रातको बसाइ छ ल्हाक्षेमा हाम्रो । अझै पनि उचाई त त्यति घटेको छैन कि क्या हो ? चिसो त जस्ताको तस्तै छ । स्वारर्र लामो पाटामा फराकिलो सडक, हाम्रो होटल त्यसैको मध्यभागमा पर्छ । हुरुरु बतास चल्छ र सडकलाई बढारेर सफा पार्छ । मान्छेलाई त बढारूँला जस्तो पो गर्छ ।

गाडीबाट ओर्लिएर हामी सिधै कोठामा ठोक्कियौं । ‘ठोक्कियौं’ किनभने, यताको ढोकामा पस्नका लागि तीन तह पार गर्नुपर्छ । एउटालाई उचाल्ने, अर्कोलाई ठेल्ने र अन्तिमकालाई च्यात्ने । अनि परेन त ठोक्किनु !

यो सबै बन्दोबस्त सिरेटोबाट सुरक्षाका लागि रहेछ । लगभग न्यालाममा जस्तै होटलको व्यवस्था गरिएको छ, ल्हाक्षेमा पनि । दिनभरिको भोक मेट्नुपर्ने छ अब । भनेजस्तो खाना नै पाइएन । अब थुक्पा–सुक्पा खाएर काट्नपर्ने भयो आजको रात ।

ट्वाइलेट–बाथरुम जाने ठाउँ देखेर हरेस खाइयो । डुँडमा दुईतिर पञ्जाले टेकेर छोड्नुपर्ने, तलतिर सबै खुला छ । त्यस्तै पर्‍यो भने दिसापिसाब नै हावाले उडाएर आफ्नै जिउ र मुखतिर पो पार्ने सम्भावना छ । हैट्, छक्क परें । उत्ताउलो, बैमानी हावा ।

कस्तो शान्त स्वभावका मान्छेहरू । गडिएको, भित्री स्वरमा गुनगुन मात्र छ । ‘ॐ मणि पद्मे हुम्…’ मात्रै पो भन्छन् कि क्या हो ?

रातभरि त्यस्तै ऐंठन छ, सिरक–डस्नाको बीचमा घुस्दा पनि हुँदैन । भाँडामा तातो पानी भरेर खुट्टा डुबाए पनि तातिँदैन जिउ, निद्रा लाग्दैन पटक्कै । ननिदाएको त भर्खर दुई दिन मात्र भएको हो नि । खाना त जसोतसो भेटिएकै छ ।

जसरी पनि पुगिहालिन्छ ल्हासा । त्यहाँ दह्रो व्यवस्था भैहाल्छ, केको खस्खस् भन्ने मनमनै सोच छ । आज बल्ल घामको मुख देख्न पाइयो । सिगात्सेमा आइपुग्दा हामी चढेको गाडी पनि मैलो भैसकेको छ ।

तीन दिनसम्म खर्चेको शक्तिलाई आजचाहिँ फेरि फर्काउनु पर्नेछ । नुहाइधुवाइ गरेर सफासुग्घर भएपछि सिगात्से सहरलाई एक फन्को मारियो । खानपान गरियो । बजारको एक छेउ घुमियो । क्युरियो र मासु पसलमा अचम्मको भीड देखें ।

गाई, च्याङ्ग्रा, भेंडा र बँदेलको छाला मात्र तारिएको छ । म त छक्क परें । तल थिङरीमा पनि छुरीले काट्दै गाइड र चालकले काँचो मासु खाए । मैले त सुकाएर, सुकुटी बनाइएको होला भन्ठानें । तर, होइन रहेछ । यहाँको हावाले काँचो मासुलाई आफैं ‘फ्रोजन’ गरिदिँदो रहेछ । बिग्रँदा पनि नबिग्रने र धुलो पनि नटिप्ने । सबै चोक्टाहरू नाङ्गै देखिन्छन् ।

नेपालका राजा अङ्शुवर्माकी छोरी भृकुटी र तिब्बतका स्रोङचोङ गम्पोबीचको वैवाहिक जीवनले नेपाल र तिब्बतबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको ऐतिहासिक प्रसङ्ग छ । भृकुटीले तिब्बतमा बुद्ध धर्म/शिक्षाको प्रचारप्रसार गरेकाले उनी ‘हरिततारा’ को नामबाट समेत चिनिन्छिन् ।

पोताला दरबारको भ्रमणका लागि पहिले नै तयार भइसकेको छ हाम्रो टिकट । नेपाली परिकारहरूको बीच–बीचमा तिब्बती परिकारहरू पनि घुसेका छन् ।

यहाँ भेंडा–च्याङ्ग्रा काटेर छाला तारेपछि ट्र्याक्टर र गाडामा उदाङ्गैै राखेर काठ–ढुङ्गा ओसारेजसरी लगिन्छ । स्थानीय बजार र होटलमा पनि त्यत्तिकै फिँजाएर राखिन्छ । तिनै नाङ्गा फिला र साँप्रालाई धारिलो–तीखो चुप्पीको सहायताले मसिना टुक्रा पार्दै दाँतले दारेर खाइन्छ । यो तरिका हामीलाई त सुन्दा नै अनौठो र देख्दा पनि वाक्कलाग्दो हुँदो रहेछ ।

यार्सागुम्बा, सर्प, बिच्छी र हिमाली सञ्जीवनी बुटी हालेर बनाएको मदिरा छ । हवाईजहाजै ल्याण्ड गर्न मिल्ने जस्तो गरी बनाएको छ मुख्य सडक । सुन्दर ल्हासा, रोमाञ्चक ल्हासा !!