पोस्ट कोभिडले हैरान: न जोस न जाँगर !

डा. शेरबहादुर पुन

पछिल्लो समय नेपालमा पनि विश्वका अरु विभिन्न राष्ट्रमा जस्तै पोस्ट कोभिडको समस्या क्रमशः बढिरहेको देखिन्छ । पोस्ट कोभिडको अवस्थामा शारीरिक एवम् मानसिकरूपमा शिथिल हुने भएकाले कतिपय पीडितहरू चिन्ताग्रस्त भएर भाैंतारिएका देखिन्छन् ।

कोरोनाभाइरस भएर सङ्क्रमणमुक्त भइसकेपछि पोस्ट कोभिडको समस्या देखिन सक्छ । परामर्श लिन आउने पोस्ट कोभिडका प्रायः बिरामीहरूले आफू शारीरिक तथा मानसिकरूपमा शिथिल भएको बताउने गरेका छन् । स्वास्थ्य जाँच गरी उपचार गराए पनि समस्या समाधान नभएको भन्दै उनीहरूले दिक्क मान्ने गरेको पाइन्छ ।

पोस्ट कोभिडको समस्या हुँदा काम गर्न आँट नपुग्ने, ‘मर्छु कि क्या हो’ भनजस्तो लाग्ने, शारीरिक थकानको अनुभूति हुनेजस्ता लक्षण देखिन्छन् । यस्ता बिरामीलाई खाना राम्रैसँग रुचे तापनि शारीरिक एवम् मानसिकरूपमा जोस–जाँगर पटक्कै नहुने गरेको देखिन्छ । पोस्ट कोभिड भएकाहरूमा शारीरिक तथा मानसिकरूपमा कमजोर महसुस हुने, भर्‍याङ चढ्नसम्म पनि कठिनाइ हुने, पिँडुला फर्कने, माङ्शपेशीको कमजोरी महसुस हुने, मन एकाग्र नहुने, डर–त्रास पैदा हुने लगायतका लक्षण देखिएका छन् ।

कसै–कसैमा भने शरीर भारी महसुस हुने, ज्वरो आएजस्तो लाग्ने, सास फेर्न कठिन हुने, मुटु छिटो–छिटो चलेजस्तो लाग्ने, कानमा आवाज सुनिएजस्तो भ्रम हुने लक्षण पनि देखा परेका छन् । यी लक्षणका अतिरिक्त यो समस्या भएका प्रायः बिरामीमा निद्रा नलाग्ने, मन आत्तिने, दिक्क लाग्नेजस्ता समस्या पनि देखिन्छन् ।

बाहिरबाट हेर्दा र बुझ्दा पोस्ट कोभिड भएका धेरैजसोको शारीरिक अवस्था ठीकैजस्तो देखिन्छ तर आन्तरिक हिसाबले बुझ्दा शारीरिक एवम् मानसिक समस्या पाइन्छ । पोस्ट कोभिडको अवस्थामा यस्ता लक्षण देखिनुको खास कारण के हो भन्ने कुरा ठ्याक्कै भन्नचाहिँ गाह्रो छ । यसबारे विश्वभर नै विभिन्न ढङ्गले खोज तथा अनुसन्धान चलिरहेका छन् ।

कोरोनाभाइरसको सङ्क्रमणबाट केही सातामा मुक्त भए तापनि पोस्ट कोभिडका लक्षण भने हप्तौंसम्म कायम रहिरहन सक्छन् । सामान्य भाषामा ‘पोस्ट कोभिड’ भनिए पनि चिकित्सकीय भाषामा भने यो समस्यालाई ‘पोस्ट एक्युट कोभिड˗ १९ सिन्ड्रम’ भनिन्छ ।

सामान्यतया कोरोनाभाइरस सङ्क्रमण भएको ४ हप्तादेखि ६ महिनासम्म पोस्ट कोभिडका लक्षणहरू कायम रहने गरेको पाइएको छ । कोही–कोहीमा त योभन्दा बढी समयसम्म पनि यस्ता लक्षण देखिन सक्छन् ।

पोस्ट कोभिडको समस्याबाट पीडितहरूमध्येको ठूलो सङ्ख्या त चिकित्सकको परामर्श र सामिप्यबाट टाढा नै रहन बाध्य छन् । विशेषतः होम आइसोलेसनमा बसेका सङ्क्रमितहरू चिकित्सकको परामर्शबाट वञ्चित हुने गरेको सहजै अनुमान गर्न सकिन्छ । पोस्ट कोभिडका लक्षण देखिएकाहरूले यथासम्भव चिकित्सकसँग परामर्श लिनु नै उचित हुन्छ ।

पोस्ट कोभिड भएका बिरामीमा कहाँ जाने र कोसँग परामर्श लिने भन्ने पनि अन्योल देखिन्छ । शारीरिक तथा मानसिकरूपमा एकभन्दा बढी समस्या देखिने भएकाले अन्योल हुनु स्वाभाविकै हो । तर, अन्योलमा नपरी स्वास्थ्य जाँच गराउनु र परामर्श लिनु आवश्यक छ ।

पोस्ट कोभिड भएकाहरूलाई सामान्यतः अस्पताल भर्ना गरेरै उपचार गर्नुपर्ने अवस्था हुँदैन । यस्तो अवस्थामा चिकित्सकको परामर्श, प्रेरणा र प्रोत्साहनको भने सहायता आवश्यक हुन्छ । पोस्ट कोभिड भएकाहरूले विशेषज्ञ चिकित्सककहाँ स्वास्थ्य जाँच गराई आफूमा के समस्या छ भन्ने कुरा पत्ता लगाउनुपर्छ । समस्या नदेखिए परामर्श नै पर्याप्त हुन्छ ।

कतिपय पीडितले स्वास्थ्य परीक्षण गराउँदा र परामर्श लिँदा समेत कुनै पनि स्वास्थ्य समस्या नदेखिएको तर आफूलाई गाह्रो भइरहेको बताउने गरेका छन् । यस्तो अवस्थामा फेरि पनि परामर्श नै अन्तिम उपचार हो । हल्का व्यायाम तथा सन्तुलित खानपानले पनि पोस्ट कोभिडको व्यवस्थापनमा निकै ठूलो मद्धत पुर्‍याउँछ ।

डा. पुन ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्