मनिलाको समुद्री तटमा भ्यागुतोझैँ पछारिँदा
होलिस्टिक संवाददाता
फिलिपिन्सको राजधानी, प्राकृतिक सुन्दरताले भरिपूर्ण मनिला ऐतिहासिक सहर हो । मनिलाको बीच भागबाट माथि सिरानमा ठूलो र कलात्मक बगैंचा छ । यो ऐतिहासिक पार्क पनि उत्तिकै सुन्दर एवम् मनमोहक छ । समुद्र छेउको सडकदेखि अर्काे सहरको छेउसम्म छोएको यो सुन्दर पार्कबाट ‘वाटर फाउन्टेन’ को मनमोहक दृश्य देखिन्छ ।
ऊ बेला देशको स्वतन्त्रताका लागि लडेका सहिदहरूका त्यहाँस्थित सालिक बोल्नै लागेजस्ता देखिन्छन् । पार्कमा खानपान गर्ने, बस्ने, फोटो खिँच्ने, कन्सर्ट गर्ने सबै किसिमका सुविधा उपलब्ध छन् । यो पार्कलाई स्थानीय भाषामा ‘होसे रिजाल पार्क’ भन्ने गरिएको छ । पार्कको दक्षिणी भागमा अवस्थित ‘मनिला बे’ किनारको सडकसँगसँगै अर्को भित्री सडक छ । उक्त भित्री सडकलाई ‘माबिनी रोड’ भनिँदो रहेछ ।
हामी यहाँ आइपुग्दा दिनभर झम–झम पानी परेको थियो । अहिले भने पानी रहेर थामिएर वातावरण ओबाउँदै गएको छ । मनिलाको माटो भिजेको छ, सडकहरू चिसै देखिन्छन् ।
मनिला बे झललल्ल बलेको छ अहिले । निकै गर्मी छ, मेरो निधारमा पसिना चुहिँदैछ । केहीबेर होटलमा आराम गरियो र त्यसपछि नुहाइयो । अब ज्यान अलि हल्का भएको छ । नुहाइसकेपछि खानपान गर्दै छौं ।
‘निन्यो अन्तर्राष्ट्रिय विमानस्थल’ तर्फ जाने तर्खरमा छौं हामी । यहाँको राष्ट्रिय भाषा ‘तागालोग’ हो । यहाँको पैसालाई ‘पेसो’ भनिन्छ । मनिलास्थित हरेक सहर र वस्तीहरूमा रोमन क्याथोलिक चर्चका विशाल भवनहरू भेटिन्छन् ।
हामी बस्ने अपार्टमेन्टभन्दा पश्चिममा मनिलाको बीच सडक पर्दछ । यहाँबाट पूर्वतर्फ चाहिँ ‘रबिन्सन रोड’ छ । माबिनी रोडबाट नजिकैको रबिन्सन रोडमा ठूलठूला भवन, बैंक र रबिन्सन मलहरू छन् । ती भवन र मलका ग्राउण्ड फ्लोरमा हरेक दिन प्रसिद्ध कलाकारहरूले आ– आफ्नो कला प्रदर्शन गर्दारहेछन् ।
फिलिपिन्सस्थित बागियो, बाताङ्गगास, पाङ्गपाङ्गालगायत धेरै स्थानका स्थानीय साथीहरूसँगको रोमाञ्चक यात्रा जारी छ । मनिलाको विशालतामा समुद्रको सुन्दरता छ । मनिला बेको किनारमा बसेर हेर्दा बेगले उर्लंदै आएका छालले किनारका ढुङ्गालाई बेजोडले ठक्कर दिएको देखिन्छ । नुनीलो पानीको फोहरा फुरूरू गर्दै हाम्रै अनुहारमा आइपुग्छ ।
आकाशमा केहीबेर खुुलेको घाम क्रमशः ओइलाएर विशाल समुद्रको पानीमा सिधै चुर्लुम्म डुब्न थालेको देख्दा तन–मन शान्त हुन्छ । र, मनमनै गुनगुनाउँछु त्यहाँकी लोकप्रिय गायिका रेजिना भेलास्केसको यो गीत–
‘पाग्दत्तिङ नाङ पानाहोन्
बाका इकाउ रिन आत आको
साना आइ मलिन मुरिन
पाग्दत्तिङ नाङ पानाहोन्…’
यी पङ्क्तिको भावार्थ ‘एक दिन यस्तो मौसम आउने छ, जुन दिन तिमी र मबीच पुनर्मिलन हुनेछ’ भन्ने सकारात्मक उत्प्रेरणा रहेको बुझेपछि मैले कनीकुथी एक–दुई अन्तरा गुनगुनाएको हुँ ।
झट्ट हेर्दा मनिलावासीहरूको अनुहार नेपालीहरूसँगै मिल्दोजुल्दो देखिन्छ । मनिलावासीहरू पनि हामीजस्तै गहुँगोरा, अनुहारको मोहडा पनि उस्तै–दुरुस्तै !
समुद्रको सतह नजिक बसोवास हुनेहरू राता–काला वर्णका हुँदारहेछन् भने अलि उच्च पहाडी भेगमा बसोवास गर्नेहरूचाहिँ गोरो वर्णका हुँदारहेछन् । रमाइला जोक गर्ने स्वभावका हुन्छन् फिलिपिनोहरू । नाच्न–गाउँन, मीठो खान र नयाँ–नयाँ ठाउँमा घुमिरहन मन पराउँछन् । दुई–चार जना मन मिल्ने साथीहरू भेला भयो कि खाना र गितारका साथ सुरु भइहल्छ रमाइलो ।
००० ०००
मनिलाबाट उत्तरतर्फ हाइल्याण्डतिर उकालो–ओरालो यात्रामा छौं । अबको यात्रा मनिलाबाट बागियो सहरतर्फको छ । नेपालको सिन्धुलीस्थित बीपी राजमार्गको उकालो–ओरालो र घुम्तीजस्तै उकालो उक्लिरहेका छौं बागियो यात्रामा ।
मुटु नै चसक्क हुने उकालो यात्रामै बादलुको घुम्टोले छोपिहाल्यो । बादलको घुम्टो छिचोलेर एक घन्टापछि भने माथि कुइनेटोमा पुग्यौं । चालकलाई ‘पारा’ भन्दै गाडी रोक्न सहचालकले सङ्केत गरेको सुनियो ।
मनिलाबाट करिव अढाई घन्टाको यात्रापछि पुगिँदो रहेछ बागियो । झट्ट हेर्दा त्यहाँका घरहरू पनि नेपालकै पहाडी घरजस्तै देखिए । मानिसको वर्ण र हाउभाउ पनि नेपालीकै जस्तो । तर, उनीहरूले र हामीले बोल्ने भाषा भने फरक छ । हाम्रो इलाम बजार ढाकेजस्तै बागियो सहर पनि कुहिरोले ढपक्कै ढाकेको रहेछ ।
००० ०००
मनिलाको समुद्री तटमा बस्दाको अनुभूति कम्ता रोचक र रमाइलो छैन । समुुद्री तटको ढुङ्गामाथि बडो आनन्दले बसिरहेको थिएँ । समुद्रको छालसँग साक्षात्कार गर्दै करिव डेढ घन्टादेखि आन्दले बसेर मिठा–मिठा र नयाँ–नयाँ परिकारको स्वाद लिइरहेको थिएँ । मलाई पत्तै नदिई मैतर्फ हुत्तियो समुद्रको छाल । ढुङ्गामाथि बसेको मेरो शरीरलाई त त्यो छालले हुत्याएर ऊ पऽऽर… पुर्याइदियो र बालुवामा पछार्यो ।
ढुङ्गामाथिबाट छालले हुत्याएर बालुवामा पछार्दा दुख्न त अवश्यै दुख्यो नि ! तर, त्यो दुखाइ पनि आनन्दको दुखाइ भयो मेरा लागि । बालुवामा पछारिँदाको त्यो क्षण आजसम्म पनि अविष्मरणीय छ । त्यसरी म बालुवामा पछारिँदा एक पटक त साथीहरू पनि अताल्लिए । तर, म उठिहालें । ओहो, क्या शक्तिशाली छाल ! समुद्री तटमा म त भ्यागुतो पछारिएजसरी नै पो पछारिएँ नि !