जसलाई विद्यार्थी जीवनमै ‘हिरो’ भन्दै बोलाउँथे
बीएन अधिकारी
नेपाली टेलिचलचित्र, फिल्म तथा म्युजिक भिडियोमा चर्चित अभिनेता हुन् सितल केसी । डेढ दशकभन्दा अघिदेखि चलचित्र क्षेत्रमा क्रियाशील केसी ‘नेपाल चलचित्र कलाकार सङ्घ’ का सदस्य समेत हुन् ।
‘गहना’, ‘वङ्श’, ‘तिमी पुरुष’, ‘भाग्य आ–आफ्नो’, ‘शङ्का’, ‘आफन्त’, ‘यात्रा जिन्दगीको’, ‘झड्का’ लगायतमा सितलले अभिनय गरिसकेका छन् । टेलिफिल्म खेल्दाखेल्दै उनलाई ‘झ्याइँ पारौं निरुता सिंह’ बोलको म्युजिक भिडियोमा अफर आयो । यसपछि ‘पानी कुवाको’, ‘मनको सन्देश’ लगायत दुई सयभन्दा बढी म्युजिक भिडियोमा उनले अभिनय गरे ।
चलचित्र ‘जाल’, ‘आफन्तको माया’, ‘द्वन्द्व’, ‘पापी संसार’, ‘दिवानापन’, ‘त्रिदेव’, ‘एक पलको जीवन’, ‘हाम्री चेली’, ‘मेरो राजेश दाइ’, ‘दीपशिखा’, ‘समाली राख है’, ‘वीरबहादुर दङ्ग पर्छ’ लगायतका हिट तथा फ्लप दुवै खालका चलचित्रमा उनले अभिनय गरेका छन् । यिनै चलचित्रको सफलताबाट अवार्डका लागि देश–विदेश घुमिसकेका सितलले आफ्नो कलाकारिताको उचाव–चढावका रमाइला प्रसङ्ग होलिस्टिकलाई सुनाएका छन् ।
कलेज पढ्दा धमाधम फोटो बिक्री
कलेज पढ्न थालेपछि उनको कलाकारिताको यात्रा सुरु भएको हो । अर्घाखाँचीस्थित घरमै रहेका सितल गाउँमा एसएसली सकेपछि बुटवल बहुमुखी कलेज भर्ना भए । सानैदेखि छरितो ज्यान भएका सितललाई कलेजका साथीहरूले उहीबेला ‘हिरो–हिरो’ भनेर बोलाउँथे ।
एक दिन रहर लागेर कलेजकै छेउमा रहेको एउटा स्टुडियोमा फोटो खिचाए । केही स्न्याप फोटो खिचाएका सितलको तस्बिर धमाधम बिक्री हुन थालेको कुरा उनले कलेजमा सुने । तर, आफ्नो फोटो कसले पो किन्छ र भन्ने लागेको थियो सितललाई । उनले विश्वास गरेनन् ।
नभन्दै एक दिन स्टुडियोमा पुग्दा त आफ्नो फोटो किन्नेको लर्को नै लागेको सितलले देखे । मेरो त्यो फोटो मान्छेले किन किन्दैछन् भनेर स्टुडियो मालिकलाई सोधे । नयाँ वर्षको पोस्टकार्डका लागि किन्ने गरेको त्यो स्टुडियो मालिकले सुनाए ।
स्थानीय पत्रिकाले समेत त्यो फोटो छापेको थियो । स्थानीय हुँदै राष्ट्रियस्तरका पत्रिकाहरूमा समेत उनका फोटोले राम्रै स्थान पाए । नेपालका एक चर्चित अभिनेतासँग उनको अनुहार मिल्दोजुल्दो भएका कारण पनि त्यसो भएको हुन सक्छ ।
‘मेरो फोटोले राष्ट्रियस्तरका पत्रिकामा स्थान पाएपछि म त ख्याति प्राप्त निर्देशक र प्रोड्युसरहरूको खोजीमा परेछु,’ सितलले सुनाए– ‘उहाँहरूले मलाई भेटेर फिल्म क्षेत्रमा आउन आग्रह गर्नुभयो तर मैले फिल्ममा आउनका लागि आफूसँग त्यसबारे कुनै ज्ञान नभएको तर्क गरें ।’
पढाइ पूरा गरेर अभिनयको ज्ञान लिएपछि मात्रै फिल्म क्षेत्रमा आउँछु भनेर आफूले निर्माता तथा निर्देशकलाई सम्झाएको उनले बताए ।
खाजा खान बस्दा निर्देशकसँग जम्काभेट
‘पढाइको सिलसिलामा म काठमाडौं आउनुपर्ने भयो, यहाँ आएको केही समयपछि खाजा खाने क्रममा एउटा रेस्टुरेन्टमा छिरें,’ उनले सुनाए– ‘भित्र पुगेर कुर्सीमा बसेको मात्र के थिएँ, एक जनाले मलाई हेरिरहनुभयो; चिनेझैं गरेर निकै बेर हेरिसकेपछि उहाँले मलाई एक्कासि ‘टेलिचलचित्रमा खेल्नुहुन्छ’ भनेर सोध्नुभयो ।’ आफू फिल्म–टेलिफिल्म निर्देशन गर्ने मान्छे भएको बताउँदै निर्देशक श्याम भट्टराईले प्रस्ताव राखेको उनले सम्झिए ।
‘श्याम सरले नेपाल टेलिभिजनबाट प्रशारित ‘गहना’ टेलिफिल्मको निर्माण–निर्देशन गर्दै हुनुहुँदो रहेछ,’ सितल भन्छन्– ‘अभिनय गर्नका निम्ति मलाई आएको यो अफरलाई मैले लत्याउन सकिनँ । त्यसपछि टेलिचलचित्र खेल्नका लागि अभिनय तथा फाइट सिकें र टेलिफिल्म ‘गहना’ मा अभिनय गर्ने सम्झौता गरेर काममा लागें ।’
‘गहनाको पहिलो भाग नै दर्शकमाझ लोकप्रिय बन्यो,’ उनी सम्झन्छन्– ‘पहिलो पटक अभिनय गरेको टेलिचलचित्र ‘गहना’ ले दर्शकमाझ लोकप्रिय बनाइसकेपछि मलाई अर्को एक टेलिचलचित्रमा पनि अफर आयो । त्यहाँ पनि मुख्य कलाकारको रूपमै अभिनय गर्ने मौका पाएँ । दुवै टेलिचलचित्रमा अभिनय गरेपछि त म दर्शकमाझ राम्रैसँग स्थापित भएँ । त्यसपछि त मैले एकपछि अर्को गर्दै चौध–पन्ध्र वटा टेलिचलचित्रमा अभिनय गरें ।’
म्युजिक भिडियो र फिल्मतिर
टेलिचलचित्रमा गरेका कामको चर्चा–परिचर्चा चल्दै गर्दा उनले म्युजिक भिडियोमा समेत अभिनय गर्ने मौका पाए । त्यसपछि उनले तीन सय हाराहारी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
यसैबेला चलचित्रका लागि पनि अफर आयो । दस वर्षअघि उनले चलचित्र ‘जाल’ मा अभिनय गरे । चलचित्रमा पनि उनको पहिलो अभिनय नै हिट भयो । पहिलो चलचित्र हिट भएपछि उनी ‘एक्सन नायक’ का रूपमा स्थापित भए ।
दर्शकमा देखिएको टेलिफिल्म–क्रेज
ऊ बेला अहिले जस्तो छ्यापछ्याप्ती टेलिभिजन थिएनन् । जसको घरमा टिभी छ, उसैको घर या कोठामा पसेर दर्शकहरूले टेलिफिल्म हेर्दथे । त्यो समयको टेलिफिल्म क्रेज सितलले अहिले पनि सम्झिरहेका छन् ।
त्यो समयमा समसामयिक विषयवस्तुमा बनेका टेलिफिल्मको आफ्नै महत्व थियो । घर–परिवार, सामाजिक विषयवस्तु र माया–प्रेमका विषयवस्तुमा बनेका टेलिफिल्मले दर्शकको मन छुन्थ्यो र कलाकारलाई पनि निकै माया गर्थे । त्यसबेलाका दर्शकको क्रेजमा अहिले भने कमी आएजस्तो लाग्छ उनलाई ।
दैनिकी र जीवनशैली
उनी प्रायः बिहान पाँच बजेसम्म उठिसक्छन् । यो उनको सानैदेखिको बानी हो । स्कुल पढ्दा टाढासम्म हिँड्नुपर्ने भएकाले सबेरै उठ्नुपर्थ्यो, अहिले पनि त्यही बानी नछुटेको उनको भनाइ छ ।
उठेर बाथरुम गई फर्केपछि तातो पानी तताउँछन् र दुई गिलासजति पिउँछन् । त्यसपछि जिम जान्छन् । साढे ७ बजेतिर जिम पुग्ने उनी ८ बजेसम्म त्यहीं रहन्छन् । साढे ८ देखि ९ बजेसम्ममा नास्ता खाइसक्छन् । बिहानको खाजामा अण्डा र ब्रेड तथा सिजनअनुसारका फलफूल खान्छन् । समयअनुसार कफी समेत पिउँछन् ।
दिउँसो १२ देखि १ बजेसम्ममा खाना खान्छन् । खानामा उनी दाल, साग र सलाद पाएसम्म छुटाउँदैनन् । सुटिङ भएका दिन भने सुटिङको सेड्युलअनुसार नै खानपानको समय र परिकार निर्धारित हुन्छ ।
साँझ साढे ५ देखि ७ बजेसम्ममा खाजा खान्छन् । खाजा खाने समयमा साथीभाइ तथा सहकर्मी कोही छन् भने तिनैको चाहनाअनुसार खान्छन् । बेलुकीको खानाचाहिँ उनी प्रायः ९ बजेपछि नै खान्छन् । बेलुकीको खानामा दुई वटा रोटी, सलाद, र सब्जी खाने गरेका छन् ।
व्यस्त कलाकार भएकाले आफ्नो स्वास्थप्रति उनी निकै सजग छन् । कतिबेला, कहाँ, कस्तो ठाउँमा उपस्थित हुनुपर्छ– पत्तै हुँदैन । त्यसैले सधैं फिट–फाइन रहनुपर्छ भन्ने उनको मान्यता छ । त्यसकारण सकेसम्म चिल्लो, बढी नुनिलो र गुलियो वस्तु नखाने प्रयास गर्छन् । त्यस्ता खाने कुरा खाँदा रोगको जोखिम हुने उनको ठम्याइ छ ।
घरमा उनी आफैंले पकाएर खाने कुरा खान्छन् । बाहिर हुँदा त आफैंले पकाएर खाने कुरै भएन, अरुले नै पकाएर दिन्छन् ।
जङ्कफुडबाट टाढा
उनलाई जङ्कफुडहरू मन पर्दैनन् । चाउचाउ, चाउमिनलगायतका खाने कुरा उनी सकभर खाँदैनन् । जङ्कफुडले आफ्नो स्वास्थमा निकै ठूलो असर पार्ने उनको बुझाइ छ । व्यस्त जीवनमा छिटो–छरितो हुने र स्वादमा मिठास पाइने भए तापनि जङ्कफुडले दीर्घाकालीन रूपमा कसैको भलाइ नगर्ने भएकाले त्यस्ता खाद्य पदार्थ नखान अरुलाई समेत उनको सल्लाह छ ।
सकारात्मक सोचको जरुरत
शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहन उनले व्यायाम तथा खानपानमा ध्यान दिने गरेका छन् । बिहानको व्यायामले आफूलाई दिनभर फूर्तिलो बनाउने उनको अनुभव छ । प्रायः सिनेमाको काममा व्यस्त हुने भएकाले आफ्नो दैनिकीलाई मध्येनजर गरेर व्यायाम गर्ने गरेको उनले सुनाए । कलाकारिता क्षेत्रको काममा प्रायः राति अबेरसम्म नै खट्नुपर्ने हुन्छ । बेलुकी अबेरसम्म सुटिङ भएमा उनी बिहान जिममा जाँदैनन् । सुटिङको कामले थकित भएका बेला शरीरलाई थप व्यायामको आवश्यकता नपर्ने उनको बुझाइ छ । जिम नगएका बेला उनी मर्निंङवाक जान्छन् ।
नियमित स्वास्थ्य परीक्षण
उनले सामान्यतः नियमित स्वास्थ्य जाँच गराइरहेकै हुन्छन् । परीक्षण गराउँदा उनी प्रायः होलबडी चेकअफ गराउँछन् । छ महिनाको हाराहारीमा चेकअप गराउने गरेको उनले सुनाए ।
‘म त गर्छु नै, मैले मात्र होइन हरेक नागरिकले नियमितरूपमा आफ्नो स्वस्थ्य परीक्षण गराउनु जरुरी छजस्तो लाग्छ,’ उनी भन्छन्– ‘हामी प्रायः एकदमै बिरामी भएपछि मात्रै हस्पिटल जान्छौं र चेकजाँच गर्दछौं, यसो गर्नु मेरो विचारमा ठीक होइन ।’
प्रदूषित वातावरण, विषादीयुक्त खाद्य पदार्थ र व्यस्त दैनिकले कहीं न कहीं शारीरिकरूपमा असर गरिरहेको हुने उनको धारणा छ । ‘स्वस्थ–स्फूर्त नै देखिए पनि कम्तिमा छ महिनाको अन्तरालमा शरीरका महत्वपूर्ण अङ्गको जाँच गर्ने बानी बसाल्नुपर्छ,’ सितल भन्छन्– ‘यसो गर्नाले हामी ठूलठूला रोग लाग्नबाट बच्न सक्दछौं ।’
उनले अहिलेसम्म कुनै पनि दीर्घकालीन रोगहरूको औषधि सेवन गरेका छैनन् । मौसम या वातावरण परिवर्तनका क्रममा लाग्ने रुघा–खोकी, ज्वरोजस्ता समस्यालाई घरेलु र अग्र्यानिक खाने कुराहरूको प्रयोगबाटै ठीक पार्ने गरेका छन् । सामान्य बिरामी हुँदा तातो पानी र सुपजस्ता पदार्थ पिएरै स्वास्थ्यलाभ गर्ने उनी सकेसम्म डाक्टरी औषधिबाट टाढै रहने प्रयास गर्छन् ।
उनी अहिलेसम्म हस्पिटल भर्ना हुनु परेको छैन । दैनिक खानपानमा सन्तुलन मिलाउन सकेमा र राम्ररी निद्रा पुर्याउन पाएमा अनुहारको चमक समेत बचिरहने उनको भनाइ छ । प्रशस्त पानी पिउने उनको बानी छ ।