नर्सिङ अनुभव: सुत्केरीको मृत्यु देख्दाको पीडानुभूति

होलिस्टिक संवाददाता

सानैदेखि नर्स बन्ने मेरो सपना अन्ततः पूरा भयो । त्यसमाथि पनि आफ्नै ठाउँमा आएर सेवा गर्ने अवसर जुटेकामा निकै खुसी लागेको छ । घरपरिवारले पनि सानैदेखि ‘अरुको सेवा गर्नुपर्छ’ भन्ने ज्ञान दिँदै आएकामा त्यो सुझाव र आशिर्वाद समेत सार्थक तुल्याउन पाएकामा थप गौरवान्वित छु ।

यतिबेला अस्पतालमा काम गर्नु एकदमै डरलाग्दो कुरा छ । कोभिड– १९ को महामारी उत्कर्षमा पुगेको यो बेला देशभरिकै अवस्था कहालीलाग्दो र बिजोग छ ।

मृत शरीर देखेर नडराउने मेरो सानैदेखिको बानी नै हो । छरछिमेकीकहाँ मरिमराउ हुँदा पनि म तत्कालै पुग्ने गर्दथें । अहिले अस्पतालमा काम गर्ने सिलसिलमा त मृत शरीर कति भेटें कति ।

एउटा घटना सम्झँदा भने अहिले पनि रुन मन लाग्छ । सुत्केरी भएर आएकी एउटी महिलाको मेरै अगाडि निधन भयो । उनकी सासूआमा रोएको देख्दा मेरो पनि आँसु थामिएन । मानिसको जीवन न हो, ढिलो–चाँडो सबैले मर्नैपर्छ भन्ने सम्झँदै मन थामें । कसलाई, कहिले र कतिबेला के हुन्छ, भन्नै सकिँदो रहेनछ । बच्चा जन्मेर खुसीयाली मनाउनुपर्ने बेलामा उल्टै आमाको मृत्यु भएको देख्दा साह्रै पीडानुभूति भयो ।

सङ्गीता रावल, जिल्ला अस्पताल, हुम्ला