यसरी बनाउनोस् यी मिठा परिकार

होलिस्टिक संवाददाता

स्रेडेड चिकेन विथ वेलपेपर

आवश्यक सामग्री

म्यारिनेटका लागि : चिकेन– २०० ग्राम (लाम्चो गरी काटेको), मैदा– ५० ग्राम, मकैको पिठो– ३० ग्राम, अण्डा– एउटा, सेतो मरिच– १० ग्राम, भिनेगर– २० मिलिलिटर, नुन– आवश्यक स्वादअनुसार, तेल– २०० मिलिलिटर, अदुवा–लसुनको पेस्ट– १ (ठूलो) चम्चा ।

ससका लागि : प्याज– एउटा (पिस मसिनो गरी काटेको), अदुवा–लसुन– १ (ठूलो) चम्चा ( मसिनो गरी काटेको), कागतीको रस– २ (ठूलो) चम्चा, सेतो मरिच– ५ ग्राम, कालो मरिच– ५ ग्राम, भेडे खुर्सानी– एउटा रातो र एउटा हरियो (लाम्चो गरी काटेको), टिम्मुर– २ ग्राम, रातो (सुकेको) खुर्सानीको पेस्ट– २ (ठूलो) चम्चा, सोयासस/किकोमन सस– २ (ठूलो) चम्चा, तिलको तेल– ३ (ठूलो) चम्चा, चिकेन स्टक– २०० मिलिलिटर ।

बनाउने तरिका

लाम्चो गरी काटेको चिकेन, सेतो मरिच, कागतीको रस, अण्डा, अदुवा–लसुनको पेस्ट, मैदा, कर्न फ्लोर र नुनलाई एउटा भाँडामा राखेर राम्रोसँग मोल्ने । यसलाई एक घन्टाजति म्यारिनेटका लागि छाड्ने ।

अब मोलेर राखेको चिकेनलाई २०० मिलिलिटर तेलमा मध्यम रापमा सुनौलो रङ्गको नहोउञ्जेलसम्म फ्राई गर्ने । त्यसपछि सस तयार पार्ने । यसका लागि प्यानमा तिलको तेल तताउने । त्यसपछि अदुवा–लसुनको पेस्ट र प्याज राखेर चलाउने ।

यसमा मरिच, टिम्मुरको धुलो, खुर्सानीको पेस्ट, सोयासस/किकोमन सस/ओएस्टर सस, चिकेन स्टक र कागतीको रस राख्ने । त्यसलाई बाक्लो हुने गरी पकाउने ।

अब अर्को प्यानमा थोरै तेल राखेर लाम्चो पारी काटेको प्याज राख्ने अनि हल्का भुट्ने । त्यसपछि लाम्चो पारी राखेको भेडे खुर्सानी राख्ने अनि फ्राई गरी राखेको चिकेन हाल्ने र केही बेर चलाउने । त्यसमा अघि बनाइएको सस हालेर हाई हिटमा उमाल्ने । स्रेडेड चिकेन विथ वेलपेपर तयार भयो । अन्त्यमा हरियो प्याजलाई लाम्चा टुक्राहरूमा काटेर त्यसमाथि हाल्ने ।

000

कोकोनट म्याकारुन्स

आवश्यक सामग्री

नरिवल– २२० ग्राम, अण्डा– ३ वटा (भित्रको सेतो भाग मात्रै छुट्याएर लिने), कन्डेन्स्ड मिल्क– १५० ग्राम, नुन (कोसर साल्ट)– १ ग्राम, भेनिला– १ (सानो) चम्चा ।

बनाउने तरिका

नरिवललाई कोरेसामा कोरेर भुजा पार्ने । तयार पारी राखिएको स्विटेन्ड स्रेडेड कोकोनट पनि प्रयोग गर्न सकिन्छ । एउटा ठूलो भाँडामा भुजा पारिएको नरिवल राख्ने । त्यसमा माथि उल्लेखित सबै सामग्रीहरू राखेर मजाले मिक्स गर्ने ।

ओभनलाई १६३ डिग्री सेल्सियसमा तताउने । एउटा ट्रे लिने, त्यसमा पार्चमेन्ट पेपर राख्ने अनि तयार भएको व्यटरलाई चम्चाले डल्लो डल्लो आकारको बनाएर त्यसमाथि राख्ने । अब यसलाई २५ देखि ३० मिने सम्म बेक गर्ने । सुनौलो/खैरो रङ्गको भएपछि ओभन बन्द गर्ने र सेलाउने दिएपछि खाने ।

(सोल्टी बेकरीमा कार्यरत सेफ इन्जी शाक्यको सुझावअनुसार)

000

मिन्ट एन्ड म्याङ्गो आइस्ड ग्रीन टी

आवश्यक सामग्री

आँप– एउटा (ठीक्क आकारको), चिनी– १०० ग्राम, ग्रीन टीको पत्ता– ४ (सानो) चम्चा, ताजा मिन्टको पत्ता– ६–७ वटा, कागती– एउटा (ठीक्क आकारको), आइस ।

बनाउने तरिका

आँपलाई बोक्रा हटाएर मसिनो पारी काट्ने । त्यसलाई एउटा प्यानमा राखेर चिनी हाल्ने अनि करिव १०० मिलिलिटरजति पानी राख्ने । त्यसपछि ८–१० मिनेटसम्म पकाउने अनि छान्ने जालीबाट छानेर सेलाउन छाडिदिने ।

एउटा सिसाको जगमा करिव ५०० मिलिलिटर उम्लेको पानी राख्ने अनि ग्रीन टीका पत्ताहरू राख्ने । ५ मिनेटजति छाडेर अर्को भाँडामा स्ट्रेन गर्ने । त्यसपछि ३०० मिलिलिटरजति चिसो पानी राख्ने । अब यसलाई चिस्याउन फ्रिजमा राखिदिने ।

सेलाइसकेपछि माथि उल्लेखितवमोजिम तयार पारिएको आँपको सिरप र चिस्याएको चिया मिसाउने । त्यसपछि टुक्रा पारिएको आँपका केही टुक्रा, ताजा मिन्ट र कागतीका टुक्राहरूलाई एउटा गिलासमा राख्ने र माथि उल्लेखित तयारी मिश्रण त्यसैमा हाल्ने । अब त्यसमाथि आइस रखेर हल्का हल्लाई सर्भ गर्ने ।