मनमोहक एजेलिया फूल
अनिता सुनुवारऐजेलिया अत्यन्तै सुन्दर तथा मनमोहक फूल हो । यो फूल फुलेको समयमा यसले सबैको मन बहलाउँछ । पोथ्रे बोटमा ढकमक्क फुल्ने यो फूल गार्डेनमा फुल्दा फूलकै वरिपरी बसिरहुँ–घुमिरहुँ जस्तो लाग्दछ ।
सामान्यतया एजेलिया डबल र सिङ्गल गरी दुई किसमका हुन्छन् । डबल एजेलियाको थुङ्गा पत्र–पत्र मिलेर बन्दछ भने सिङ्गल एजेलियाको थुङ्गामा एक पत्र मात्रै हुन्छ । डबल एजेलिया बाह्रै महिनाजसो फुल्छ र सिङ्गल एजेलियाचाहिँ वर्षमा एक पटक मात्र फुल्छ । बाह्रै महिना फुलाउन सकिने भएकाले डबल एजेलियालाई घर तथा गार्डेनमा रोपेर सजाउने तथा आनन्द लिने गरिन्छ ।
सामान्यतः (सिङ्गल) एजेलिया फुल्ने मौसम फागुनदेखि वैशाखसम्म हो । डबल एजेलिया पनि यही मौसममा बढी फूल्ने भए तापनि वर्षैभरि फुलिरहन्छ । डबल एजेलिया पनि जाडो मौसममा चाहिँ अलि कम फुल्छ ।
रातो, पिङ्क, सेतो, छिरबिरे, सेतोमा पिङ्कलगायतका दर्जन हाराहारी रङ्गका एजेलियाका नेपालमा पाइने मन पराइन्छन् । सबै रङ्गका एजेलिया गार्डेन ढकमक्क फुल्दा निकै मनोरम देखिन्छ ।
नेपालमा डबल एजेलिया २ सय ५० रुपैयाँभन्दा माथिको मूल्यमा किन्न पाइन्छ भने सिङ्गल चाहिँ केही सस्तो पर्छ । यस फूलको बोटको मूल्य बिरुवाको साइजअनुसार निर्धारित हुन्छ ।
जमिनमा रोप्ने हो भने एजेलियाको बोटको उचाई करिव १० फिटसम्म हुने गरेको देखिन्छ । तर, सानो गमलामा पनि एजेलियालाई ढकमक्क फुलाउन सकिन्छ । सानो गमलामा एजेलियाको बोटलाई बढ्न नदिएर होचो र पोथ्रे बनाई फुलाउन सकिन्छ । होचोमै फूलाउनका लागि कात्तिक महिनातिर बोट काट्ने गरिन्छ । हुन त डबल एजेलियाको बोट होचो र पोथ्रे नै हुन्छ; यो सानो बोटमै ढकमक्क फुल्दछ । सानो गमलामै ढकमक्क फुलाउन सकिने भएकैले यसका शौखिनहरूको सङ्ख्या बढिरहेको छ ।
यस फूलका लागि चिसो तथा ओसिलो वातावरण नै उपयुक्त हुन्छ । एक हजार पाँच सय मिटरभन्दा माथिको हावापानीमा एजेलियालाई राम्ररी फुलाउन सकिन्छ । उपयुक्त हावा–पानी मिलाउन सकिए एजेलियाको एउटा बोटमा करिव बीस वर्षसम्म फूल फुलाउन सकिन्छ । यस फूलका लागि सफा पानी प्रयोग गर्नु उपयुक्त हुन्छ ।
एजेलियाले प्रत्यक्ष घाम सहन नसक्ने भएकाले यसलाई ओसिलो र कमै मात्र घाम लाग्ने ठाउँमा राख्नु आवश्यक हुन्छ । डबल एजेलियाले त प्रत्यक्ष घाम पटक्कै सहँदैन । प्रत्यक्ष घाममा राख्दा बिस्तारै पात डढ्दै जाने र मर्ने जोखिम हुन्छ ।
यस फूललाई पहाडी क्षेत्रमा सुन्दर तथा आकर्षक ढङ्गले फुलाउन सकिन्छ; तराई क्षेत्रमा भने गर्मी वातावरण हुने भएकाले बिरुवा नै मर्ने सम्भावना बढी हुन्छ । तराईमा एजेलियाको बिरुवा बचाएर हुर्काउन र फुलाउन मुस्किल पर्छ । उपत्यका र पहाडमा समेत धेरै घाम लाग्ने ठाउँमा यसलाई राम्ररी फुलाउन मुस्किल पर्छ । करिव दुई घन्टा मात्र दैनिक घाम पर्ने ठाउँमा यस फूललाई राम्रैसँग फुलाउन सकिन्छ ।
यस फूलको बिरुवालाई निरन्तर चिस्यान पारिराख्नुपर्छ; सुख्खा हुन दिनु हुँदैन । माटोमा औंला घुसाउँदा दुई इन्चभन्दा तल सुख्खा भेटिए पानी हाल्नुपर्छ । एजेलियाका लागि माटो पनि हल्का किसिमको हुनुपर्छ । कुहिएको पत्करमा यो फूललाई राम्ररी फुलाउन सकिन्छ । यस फूलको बोटका जरा कम हुने र टाढासम्म नफैलने भएकाले हल्का माटो भएको ठाउँमा रोप्दा मात्र राम्ररी फुलाउन सकिने भएको हो । कुहिएको पत्करको मलमा रोप्दा एकातिर मलिलो हुने र अर्कातिर जरा फैलन पनि सहज हुने त्यस्तै माटोमा रोप्नु राम्रो हुन्छ । यस फूललाई कम्पोस्ट र कुहिएका पत्करको नै मल हाल्नुपर्छ । गाईको गोबरलगायत कडा किसिमको मल हाल्दा बिरुवा नै मर्ने जोखिम हुन्छ ।
एजेलियाको बिरुवालाई नरिवलको जट्टाको धुलो (मधुमास) र बालुवा मिसाएर रोप्नु उचित हुन्छ । एक भाग बालुवा र तीन भाग मधुमास मिसाएर रोप्दा राम्रो हुन्छ । नरिवलका जट्टाको धुलो, बालुवा र कुहिएको पत्कर मिसाएर रोप्नु अझ राम्रो हुन्छ । यसको बिरुवाका लागि नाइट्रोजन, फस्फोरस तथा पोटासियलगायतका तत्व आवश्यक पर्दछन् ।