प्लस टु पढ्दापढ्दै गायनमा चम्केकी रचना

केदारनाथ गौतम/ शङ्कर क्षेत्री/ बीएन अधिकारी

उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले
जान्दिनँ म एकैचोटि के भो कुन्नि कहिले
यति राम्रो मुहार हजुर पहिले कहाँ थियो ?
बल्ल देखें बलेपछि नजरको दियो…

दिवङ्गत कविवर माधवप्रसाद घिमिरेद्वारा १२ वैशाख, २०२४ (वि.सं.) मा संरचित यिनै शब्दहरूसहितको यो गीत यी पङ्क्ति लेखिँदासम्म इन्टरनेट सञ्जालको भिडियो प्लेटफर्म ‘युट्युब’ मा १ करोड १० लाख १२ हजार ३ सय ६५ पटक हेरिसकिएको छ । सङ्गीतकार नारायण रायमाझीद्वारा सङ्गीतबद्ध र रचना रिमाल तथा प्रविन बेडवालको स्वरलहरीले सजिएको यस गीतको भिडियो १४ सेप्टेम्बर, २०२० मा युट्युबमार्फत ‘प्रिमियर’ भएको देखिन्छ ।

सुरुमा जगदिश समाल र सपनाश्रीको स्वरमा रेकर्ड भई लोकप्रिय भइसकेको यो गीत रिमाल र बेडवालको स्वरमा पछि फेरि रेकर्ड भएको हो । पछिल्लो रेकर्डिङमै समेत यो गीत यति धेरै दर्शक–श्रोता आकर्षित गर्न सफल देखिनुलाई नेपाली गीत–सङ्गीतका क्षेत्रको उल्लेख्य पक्ष मान्न सकिन्छ ।

‘नेपाल आइडल’ नामक ‘रियलिटी सो’ को ‘सिजन– ३’ बाट चर्चामा आएकी हुन् नेपाली साङ्गीतिक क्षेत्रमा पछिल्लो समय चर्चा बटुल्न सफल गायिका रचना रिमाल । उनले गाएका ‘सुन न’, ‘पियारी’, ‘फोटो फिरिममा’, ‘मिनरल वाटर’, ‘पहिलो पल्ट भेट हुँदा लजाएकी थिएँ’ जस्ता गीतहरू पनि निकै चर्चामा छन् । पछिल्लो समय उनको व्यस्तता झन् बढेको छ । ‘अर्ग्यानिक आवाज’ का कारण नै रचना छिटै दर्शक–स्रोतामाझ लोकप्रिय बन्न सफल भएको सङ्गीत–समीक्षकहरूको भनाइ छ ।

दिनमै चार वटासम्म गीत रेकर्ड

रचनाको स्वरलहरीमा सजिएका गीतहरू दिनहुँजसो दिनहुँजसो नै रेकर्ड हुने गरेका छन् । कुनै–कुनै दिन त उनको आवाजमा दुईदेखि चार वटासम्म पनि गीत रेकर्ड हुने गरेका छन् । आफूलाई ‘अफर’ आएसम्म र समयले भ्याएसम्म हरेक सङ्गीतकार तथा लगानीकर्ताका गीत गाउन कन्जुस्याइँ नगर्ने आफ्नो बानी रहेको उनी बताउँछिन् । सेड्युल प्याक भएर समय निकाल्नै नसक्दा बाहेक कसैलाई पनि ‘हुन्न’ भन्ने नगरेको रचनाले सुनाइन् ।

आफ्नो यही बानीकै कारण विभिन्न स्टुडियो पुगेर दिनमा चार वटासम्म गीत आफूले गाएको अनुवभ उनले सेयर गरिन् । ‘मैले एकै दिनमा चार वटासम्म गीतमा आवाज भरेकी छु, समय दिनै नसकेर कति गीत त छाड्नु पनि परेको छ,’ उनी भन्छिन्– ‘राम्रा गीत आउँदा सकेसम्म छाड्दिनँ ।’

गीत गाउने ध्याउन्नमै केन्द्रित हुनुपर्दा पढाइमा अवरोध भएको रचनाको गुनासो छ । वैशाख १६ देखि निषेधाज्ञा जारी भएकाले त्यसपछि चाहिँ पढाइका लागि समय मिलेको उनले बताइन् । निषेधाज्ञाको समयमा भने पढाइमा मनग्गे समय दिएको बताउँछिन् कक्षा १२ मा अध्ययनरत रचना ।

वसन्तको ‘ब्रेक’ पछि ‘रियलिटी सो’ को ‘टप– ७’ सम्म

‘नेपाल आइडल’ मा आउनु अघिसम्म उनी स्कुल पढ्दै सानो व्यवसाय चलाउँथिन् । उनको व्यवसाय थियो– चटपटे व्यापार । स्कुलबाट फर्कनासाथ चटपटे व्यापारमै लागिहाल्थिन् ।

आर्थिकरूपले साधारण परिवारमा जन्मिएकी रचना सानैदेखि गायनमा अब्बल थिइन् । ‘नेपाल आइडल– ३’ मा भाग लिएपछि भने उनको गायनयात्रा व्यवस्थिरूपमै अगाडि बढ्यो । सङ्गीतकार वसन्त सापकोटाले गीतमा ‘ब्रेक’ ब्रेक दिएका थिए रचनालाई ।

‘रुमाल चिनो देऊ न कान्छा’ बोलको गीतमा वसन्तले अवसर दिएपछि नै साङ्गीतिकजगत्मा रचनाको चर्चा सुरु भएको हो । ‘रियलिटी सो’ मा आउनुअघि नै गाएको यो गीत निकै चर्चित भएको थियो । ‘नेपाल आइडल– ३’ मा ‘टप– ७’ बाट बाहिरिएपछि थप चर्चित बनेकी थिइन् उनी ।

स्टेज प्रस्तुतिको अविष्मरणीय क्षण

‘नेपाल आइडल– ३’ बाट बाहिरिएसँगै एकाएक निकै व्यस्त बन्न पुगेकी रचनाले दर्जनौ स्टेज कार्यक्रममा समेत प्रस्तुति दिइसकेकी छन् । ती सिमराको एउटा कार्यक्रम उनका लागि अविष्मरणीय बनेको छ । त्यहाँ उनको भव्य स्वागत–सत्कार भयो र केही महिनाको उक्त कार्यक्रममा अविष्मरणीय कुराहरू समेत प्राप्त गरिन् ।

‘सिमराको कार्यक्रम सकिएको धेरै समय पनि भएको छैन, केही महिना मात्रै भयो,’ उनले सुनाइन्– ‘कार्यक्रममा त्यहाँ जाँदा यति धेरै माया गर्नुभयो कि मैले कल्पनासम्म पनि गरेकी थिइँन । दुई–तीन जनाले रोज ल्याएर मलाई दिनुभयो, मैले गीत गाउँदा निकै हुटिङ भइरह्यो र ‘वान्स मोर’ को आवाज घन्किइरह्यो । त्यो मेरा लागि एकदमै खुसीको क्षण थियो, जसलाई मैले कहिल्यै बिर्सन सक्दिनँ ।’

चार कक्षामा पढ्दा पाएको त्यो बीस रूपैयाँ

बाल्यकालमा रचना गाउँघरमा हरेक शनिबार हुने भजन–कीर्तनमा आफैं मादल बजाएर गाउँथिन् । फुर्सद भएका बेला अहिले पनि भजन–कीर्तन गाउन रुचि राख्छिन् । गाउनमै अहिले जस्तो व्यस्त भइएला भन्ने उनले सोचेकी पनि थिइनन् । ‘अहिले जस्तो गीत गाउनमै व्यस्त हुन्छु भन्ने त लागेकै थिएन,’ उनी भन्छिन्– ‘रियालिटी सोमा आएदेखि त नसोचेको व्यस्तता पो सुरु भयो ।’

बाल्यकालतर्फ अहिले फर्केर हेर्दा उनलाई रमाइलो लाग्छ । कक्षा ४ मा पढ्ने बेला सरकारी स्कुल छाडेर प्राइभेटमा भर्ना भइन् । प्राइभेट स्कुलको नियम पहिलेको स्कुलमा भन्दा अलिक फरक रहेछ । हरेक विद्यार्थीले गीत गाउनैपर्ने नियम रहेछ । सबै साथीहरूले गाइसकेपछि रचनाले पनि आफूलाई मन पर्ने ‘साथी हो, तिमी माया गर या नगर..’ बोलको गीत गाइन् । उनको गीत सुनेपछि ‘तिम्रो आवाज मिठो छ, नियमितरूपमा गीत गाउने प्रयास गर’ भन्दै शिक्षकहरूले सल्लाह दिए । त्यही सल्लाहवमोजिम नै आफूले गायनलाई निरन्तरता दिएको उनी बताउँछिन् ।

‘चार कक्षामा पढ्दै गर्दा सरले मलाई पहिलो पटक लाइभ कार्यक्रमका लागि अफर गर्नुभयो । उहाँले नै मलाई  हार्मोनियम र तबला बजाउन समेत सिकाउनुभयो,’ तिनै शिक्षकको प्रेरणाले आफू अगाडि बढेको सम्झँदै उनले भनिन्– ‘त्यही नै मेरो जीवनकै पहिलो लाइभ कार्यक्रम थियो, पहिलो पटक भएकैले डर पनि लागिरहेको थियो ।’

‘त्यो कार्यक्रममा मैले सरबाट २० रूपैयाँ पाएकी थिएँ, त्यो पैसा नचलाइकन मैले अहिलेसम्म पनि राखिरहेकी छु,’ उत्प्रेरणाका अनुभूति शेयर गर्दै रचनाले अगाडि भनिन्– ‘मसँगै गाएका एकजना दादाले पनि त्यति नै पैसा पाउनुभएको थियो तर उहाँले त्यो पैसाबाट बिस्कुटहरू र के–के किनेर खाइदिनु भयो तर मैले भने त्यो पैसा जोगाइराखें किनकि त्यो नै मेरो गायनयात्राको पहिलो खुट्किलो थियो र साँच्चै त्यस्तै भयो पनि ।’

पाँच कक्षामा पुगेपछि उनले फेरि अर्को प्रतिस्पर्धामा भाग लिँदै ‘उकाली ओरालीहरूमा’ बोलको गीत गाइन् । लोकप्रिय गायिका तारादेवीको स्वरमा सजिएको त्यस गीतमा रचनाले प्रथम स्थान हासिल गरिन् । रचनाले उत्कृष्ट गीत गाएकाले गद्गद् भएका शिक्षकले ‘तिमीले साह्रै राम्रो गायौ’ भन्दै उनको हातमा पाँच सय रूपैयाँ थमाइदिए । शिक्षकले दिएको त्यो नोट पनि रचनाले अहिलेसम्म घरमै राखेकी छन् ।

निषेधाज्ञा : ‘असर’ होइन, ‘अवसर’

कोरोना कहरको दोस्रो लहरले सबै क्षेत्रलाई प्रभावित तुल्याइरहेको छ । यही महामारीको नियन्त्रणका निम्ति राजधानीसहित देशका प्रायः सबै भागमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाले सबैजसोलाई निकै ठूलो क्षति र असर पुर्‍याइरहेको छ । तर, गायिका रचनालाई भने यो ‘असर’ पनि ‘अवसर’ भएको छ ।

अरु बेला गायनमै व्यस्त हुनुपर्ने रचनाले यो समयमा भने पढ्ने अवसर पाएकी छन् । बजार, यातायात, कलकारखाना सहित साङ्गीतिक क्षेत्र ठप्प भएका बेला उनले भने पढाइमा ध्यान दिइरहेकी छन् । यसबेला पढाइमा मजाले ध्यान दिइरहेको सुनाउँदै रचनाले भनिन्– ‘अरु बेला गीत–सङ्गीतको रेकर्डिङमै व्यस्त हुन्थें, अहिले भने निषेधाज्ञाका कारण घरमा आएकी छु र कक्षा १२ को परीक्षा समेत नजिकिइरहेकाले पढाइमै केन्द्रित भएर लागेकी छु ।’

दैनिकी र दिनचर्या

रचना बिहान ६ बजेभित्रै उठिसक्छिन् । नित्यकर्म सकेपछि तातो पानी पिउँछिन् र रियाज गर्न थाल्छिन् । घरमा हुँदा प्रायः आमाले पकाएको खाना खान्छिन् । कहिलेकहीं भने आफैं भान्सामा पसेर खाना पनि बनाउँछिन् ।

‘ममी घरमा हुँदा त उहाँले नै पकाउनुहुन्छ, उहाँ नहुँदा र कुनै अप्ठ्यारो पर्दा भने म आफैं पनि पकाउँछु,’ रचना भन्छिन्– ‘काठमाडौंमा त म आफैंले नै पकाउने हो, खाने हो ।’ खाना खाइसकेपछि उनी गीतहरूको रेकर्डिङतिर लाग्छिन् । आजभोलि त रेकर्डिङबाहेक सञ्चार माध्यमहरूलाई अन्तर्वार्ता दिने व्यस्तता समेत थपिएको छ उनमा ।

खानपान सामान्य: मन बसेको अमिलो र चटपटे

खानपानमा यही नै मन पर्ने भन्ने छैन रचनालाई । साधारण दाल–भात र तरकारी नै उनको मुख्य खाना हो । चाउचाउ, चाउमिन, बिस्कुटजस्ता जङ्कफुड उनलाई खासै मन पर्दैनन् । कहिलेकहीं बाध्यता नै पर्दाचाहिँ चाउचाउ, बिस्कुटजस्ता सामग्री खाने गरेको उनले सुनाइन् । सुटिङमा हिँडेको बेला या कुनै कारण खालि पेट हुँदा मात्रै त्यस्ता खाद्य पदार्थ खाने गरेको रचनाको भनाइ छ ।

प्रायः गायक–गायिकाहरू चिल्लो–पिरो खाँदैनन् । स्वर बिगार्ने डरले चिल्लो–पिरो बार्ने गरेको बताउँछन् । तर, रचना भने ची पनि बार्दिनन्, अलि–अलि खाने गरेको उनको भनाइ छ । ‘मलाई चिल्लो–पिरोभन्दा पनि अमिलो खान मन पर्छ,’ उनी भन्छिन्– ‘पहिले आफैंले पनि बेचेको हुनाले चटपटेचाहिँ खाइरहन मन लाग्छ ।’

‘रियलिटी सोमा आएर गीत गाउन थालेपछि यतै व्यस्त भएकी छु, अहिले त चटपटे बेच्ने कुरामा मेरो ध्यान नै जाँदैन,’ विगतका स्मृति सम्झँदै उनी भन्छिन्– ‘बरु चटपटे खान भने साह्रै मन लाग्छ, त्यसैले कहिलेकहीं किनेर खान्छु ।’ चटपटे व्यापार गरेको कुरालाई उनी कहिल्यै भुल्न चाहन्नन् । आफूले सङ्घर्ष गरेको धरातल भुल्नु नहुने उनको भनाइ छ ।

आफूलाई अमिलो मोही निकै मन पर्ने रचनाले सुनाइन् । ‘मलाई गाई–भैंसीको मोही निकै मन पर्छ,’ उनी भन्छिन्– ‘काठमाडौंमा हुँदा स्वर बिग्रने डरले कहिल्यै खाँदिन तर घरमा आएपछि मजाले मोही खान्छु ।’

स्वास्थ्यप्रतिको सचेतता

आफ्नो स्वास्थ्यप्रति केही जानकार र निकै सचेत रहेको उनले बताइन् । त्यसैले स्वास्थ्यलाई हानि पुर्‍याउने खाने कुरा नखाने गरेको उनको भनाइ छ । स्कुल पढ्दादेखि नै सरसफाइमा ध्यान दिने गरेकाले अहिलेसम्म आफूलाई कुनै पनि रोग नलागेको रचनाले सुनाइन् ।

बिरामी भएर कहिल्यै अस्पताल भर्ना हुनुपरेको छैन । नियममितरूपमा कुनै औषधि पनि खानु परेको छैन । रुघा–खोकी लाग्दा तातो पानी पिएर र बेसार, अदुवालगायतका घरेलु जडीबुटीजन्य उपचार विधि अपनाएरै निको पार्ने गरेकी छन् ।

‘मैले अहिलेसम्म चिसो पानी नै खाएकी छैन, मलाई त तताएको पानी नै खानुपर्छ,’ रचना भन्छिन्– ‘चिसो पानी खानुपर्‍यो भने पनि तताएर सेलाएको नै खान्छु, यो त मेरो सानैदेखिको बानी हो ।’ निकै गाह्रो भएको खण्डमा मात्रै डाक्टरको सल्लाहवमोजिम औषधि खाने गरेको उनको भनाइ छ ।

स्वास्थ्य समस्याका कारण कार्यक्रम नै गर्न नसकेको अनुभव पनि छैन उनीसँग । केही महिनाअघि सिमराको कार्यक्रममा जाँदा चाहिँ घाँटीमा समस्या आएकाले भनेजस्तो प्रस्तुति दिन नसकेको रचनाले सुनाइन् । ‘सिमराको कार्यक्रममा पुगेपछि स्वर बस्यो, खुलेर गीत गाउनै सकिनँ,’ रचनाले सुनाइन्– ‘निकै गाह्रो पनि भयो तर कार्यक्रम नै छाडेको र गर्नै नसकेको भने कुनै रेकर्ड छैन ।’

मुस्ताङ घुम्ने रहर

गायिका रचनालाई गायनबाहेक घुमघाममा पनि असाध्यै शोख छ । ‘गीत गाउनबाहेक मलाई विभिन्न ठाउँमा पुग्न र घुम्न मन लाग्छ,’ उनी भन्छिन्– ‘आफू नपुगेका र नघुमेका ठाउँमा पुग्न अनि घुम्न निकै मन छ; विशेषगरी मुस्ताङ घुम्ने असाध्यै रहर छ ।’