हामीले चिन्न नसकेका प्राकृतिक सम्पदा

कृष्णप्रसाद भुसाल

एउटा भनाइ प्रचलित छ– कस्तुरी आफ्नै शरीरबाट निस्कने बासनाको स्रोत खोज्दै जङ्गल– जङ्गल भौतारिइरहेको हुन्छ । अर्थात्, आफ्नै जिउमा रहेको बिना चिन्न नसक्नु कस्तुरीको विडम्बना हो । यो उक्ति हामी नेपालीको वर्तमान अवस्थासँग ठ्याक्कै मेल खान्छ । हाम्रो देशका प्राकृतिक स्रोत–साधनको पहिचान एवम् सदुपयोग गर्न नसकिरहेको हाम्रो वर्तमान अवस्थाले यही उक्ति चरितार्थ गरिरहेको छ ।

सामान्य अर्थमा सम्पूर्ण प्राणी, वनस्पति तथा सूक्ष्म जीवाणु र सृष्टि–चक्रका अजैविक सम्पदाको समिष्टिगत स्वरूप नै प्रकृति हो । जल, जमिन, जङ्गल र जैविक विविधता प्रकृतिका अभिन्न अङ्ग हुन् । फरक वातावरण, फरक शैली र फरक अवस्थामा अस्तित्वमा आएका प्राणहीन प्राकृतिक वस्तु तथा सूक्ष्म जीवाणु, वनस्पति र प्राणीबीचको अन्तर्सम्बन्धले नै प्राकृतिक सन्तुलन कायम राखेको हुन्छ । वातावरणीय सन्तुलन र जीवहरूको सनातन जीवनयापनका दृष्टिले प्राकृतिक सम्पदा महत्वपूर्ण मानिन्छन् । सनातन प्राकृतिक चक्रमा हामीले सिर्जना गर्ने अवरोध वा संरचनागत विच्छेदनका कारण निम्तन सक्ने परिणामका तत्कालीन उदारण हुन्– भाइरसजन्य महामारी, भीषण डढेलो र प्रदूषण । विश्व मानव समुदाय महामारीले आक्रान्त भइरहेको वर्तमान अवस्थामा मान्छेले बिस्तारै सम्झन थालेको छन्– प्रकृति अजेय छ र आफ्नै नियममा गतिशील छ !

क्षेत्रफलका हिसाबले नेपाल संसारका साना देशहरूको सूचीमा परे तापनि प्राकृतिक स्रोत र जैविक विविधताका हिसाबले उत्कृष्ट मुलुकमध्येमा पर्दछ । जैविक विविधताका हिसाबले नेपाल विश्वको २५औं र एशियाको ११औं स्थानमा पर्दछ । नेपालको भू–धरातलीय बनोट तथा छोटो दूरीमै पाइने विविध भौगोलिक संरचना, भीर, पहरा, गल्छी, उपत्यका र हावा–पानीमा यसले पारेको प्रभाव तथा त्यसै अनुकूलका वनस्पति तथा जनावरको विविधता हाम्रा अमूल्य निधि हुन् ।

६० मिटरदेखि ८ हजार ८ सय ४८ दसमलव ८६ मिटरसम्मको उचाईगत भू–दृश्य तथा तराई क्षेत्रमा उष्ण, मध्य पहाडी क्षेत्रमा समशीतोष्ण र उच्च हिमाली क्षेत्रमा शीत हावापानी रहेकाले नै तत्–तत् स्थानमा सोही अनुकूलका विशिष्ट जैविक विविधता कायम छन् । पहाड र हिमालमा उत्तर फर्केका पाखाहरूमा घाम कम पर्ने हुनाले ती क्षेत्र ओसिला हुन्छन् भने दक्षिण फर्केका पाखा र भीरहरू बढी सुख्खा हुने गर्दछन्; फलतः त्यहाँको स्थानीय वातावरण र प्रकृतिमा विविधता छ ।

नेपालमा हालसम्म १ सय १८ किसिमका वन–पर्यावरणीय प्रणाली छन् भने २ सय ८ भन्दा बढी प्रजातिका स्तनधारी, ८ सय ८६ भन्दा बढी प्रजातिका चराहरू, ४३ प्रजातिका उभयचर, सय प्रजातिका सरिसृपहरू र १ सय ८७ भन्दा बढी प्रजातिका माछाहरू पाइने अभिलेख छ । यसका साथै नेपालमा करिव ७ हजार प्रजातिका फूल फुल्ने वनस्पतिहरू, ४ सय ७१ प्रजातिका झ्याउ, १ हजार ८ सय २२ प्रजातिका ढुसी र ३ सय ८३ प्रजातिका उन्यूहरू पाइन्छन् । यीमध्ये करिव हजार प्रजाति त औषधीय गुणयुक्त जडीबुटी रहेको बताइन्छ । अध्यन–अनुसन्धानका क्रममा हरेक वर्ष नयाँ–नयाँ प्रजाति थपिँदै गइराखेको हुँदा प्रभावकारी खोजको जरुरत छ ।

हामी जीवन निर्वाह, आय–आर्जन, औद्योगिक कच्चा पदार्थ, जडीबुटी, वस्तु विनिमय तथा व्यापारका लागि प्रकृति र जैविक विविधतामै भर पर्छौं । हाम्रो जीवनयापनका हरेक प्रक्रिया तथा सामाजिक–सांस्कृतिक, धार्मिक र आध्यात्मिक प्रचलनहरू प्रकृति र जैविक विविधतासँग गाँसिएका छन् । हामीले दैनिक खाने खानाका परिकार र उपयोगका जैविक सबै वस्तुको स्रोत प्रकृति नै हो । प्राकृतिक चक्रहरू (जस्तै– जलचक्र, कार्बनचक्र र नाइटोजनचक्र) ले नै वातावरणीय सन्तुलन हुन्छ र सनातन खाद्यचक्र गतिशील बन्दछ ।

नेपाल भित्रने कूल पर्यटकमध्ये करिव ६० प्रतिशत संरक्षित क्षेत्रमा रहेका प्राकृतिक सौन्दर्य र जैविक विविधता हेर्न आउँछन्, जुन पर्यापर्यटनको कडी र संरक्षणमा उत्पेरणा मात्र होइन, अर्थतन्त्रको खम्बा समेत हो । नेपालको हरियो वनले वर्सेनि १.८ देखि ३.६ मिलियन टन कार्बन सुरक्षण गर्दछन् । यसरी बोट–बिरुवाले भण्डारण गरेको कार्बनडाइअक्साइडको कार्बन व्यापारबाट मात्र पनि नेपालले वार्षिक ३ देखि ४ अर्ब रूपैयाँ आर्जन गर्न सक्दछ । यसरी हामीले जोगाएर राखेका वनजङ्गल र जैविक विविधता पर्यावरण सन्तुलनका साथै आयस्रोतका माध्यम समेत हुन् ।

नेपाल प्राकृतिक स्रोत र जैविक विविधताको अपार भण्डार हो । तर, बिडम्वना ! हाम्रा यी स्रोत–साधनहरूको सही पहिचान र दिगो उपयोग गर्न सकिरहेका छैनौं । हाम्रा पूर्वजहरूले पहिचान र आर्जन गरेका यहाँका प्राकृतिक सम्पदाको परम्परागत ज्ञानलाई समेत हामीले पुस्तान्तरण गर्न सकेका छैनौं । हामी केवल ‘विकास’ र तत्कालीन लाभका लागि प्रकृतिको अनियन्त्रित र जथाभावी प्रयोगमै लिप्त छौं । अहिले जताततै ‘डोजरे विकास’ को बिगबिगी नै छ । यसरी प्राकृतिक सम्पदाको विनास र अनियन्त्रित दोहनले प्राकृतिक सन्तुलनको जालो विच्छेदन भई सृष्टिचक्र र स्वयम् हामी मानवजाति नै सङ्कटमा पर्छौं भन्ने कुरा बुझ्न अब ढिलो भइसकेको छ ।

हाम्रा स्थानिक वनस्पति, पशुपक्षी, अन्नबाली, फलफूल र जडीबुटीलाई परिमार्जित तथा आयातीत प्रजातिले विस्थापित गर्दैछन् । फलतः हाम्रा रैथाने प्रजाति हराउँदै गएका छन् । यसका दीर्घकालीन दुष्परिणामबारे अहिले सोच्ने फुर्सद समेत हामीमा देखिँदैन ।

समग्रतामा हेर्दा हामी केन्द्रदेखि स्थानीय तहसम्म प्राकृतिक स्रोतको ध्वङ्स गर्नमै केन्द्रित छौं । प्राकृतिक स्रोत र जैविक विविधताको संरक्षण एवम् दिगो उपयोगमा जनसहभागिता, जनचासो र सरोकारवाला निकायहरूबीचको समन्वय, वैज्ञानिक अध्ययन–अनुसन्धानका नतिजा र सुझावहरूभन्दा पनि विशुद्ध व्यावसायिक हिसाब–किताबमा मात्र केन्द्रित छौं ।

राजनीतिक नेतृत्व, नीति निर्माता र प्रशासनिक नेतृत्वले सोच्नुपर्ने आगामी पुस्ता, दीर्घकालीन उपलब्धि, स्वच्छ वातावरण र सन्तुलित तथा दिगो विकासलाई नै हो । स्थानीय सरकार स्वायत्त र शक्तिसम्पन्न भएको वर्तमान अवस्थामा स्थानीय तहहरूले पर्यावरणमैत्री दीर्घकालीन योजना तर्जुमा गर्नुका साथै केन्द्र सरकारले पनि नेपाल पक्ष राष्ट्र भएका वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, अभिसन्धि तथा सम्झौताहरूको मूलप्रवाहीकरण गरी आत्मसात् गर्नु–गराउनु जरुरी छ ।

दिगो विकास र प्राकृतिक सम्पदाको संरक्षण एक–अर्काका परिपूरक हुन् । यिनलाई सापेक्षरूपमा अघि बढाउनु जरुरी छ । प्रस्ट छ, हाम्रा प्राकृतिक सम्पदा र यहाँका जैविक विविधता समृद्धिका आधार हुन् । केवल यिनको महत्वबोध, संरक्षण तथा व्यवस्थापन र दिगो उपयोगको खाँचो छ । बढ्दो जनसङ्ख्याको चाप, अनियन्त्रित वन फँडानी, खोला तथा खानीको अवैज्ञानिकरूपमा उत्खनन् र प्राकृतिक वातावरणमा पारिएको अत्यधिक चापलाई न्यून गर्दै प्राकृतिक सम्पदा मासेर होइन; संरक्षण, व्यवस्थापन र प्रवद्र्धन गरेर आर्थिक सबलतातर्फ लम्कनु पर्दछ । नजिकैको छिमेकी राष्ट्र भूटानले आफ्नो देशको समृद्धि र खुशीका प्रमुख चार तत्वहरूमा प्राकृतिक स्रोत र तिनको संरक्षणलाई समावेश गरेको छ । हामीले हाम्रो प्राकृतिक सम्पदाको पहिचान, संरक्षण र दिगो उपयोगलाई समृद्धिको आधार कहिले बनाउने ? बेलैमा सोचौं !

लेखक पक्षीविद् हुन्