जानिराख्नोस् अमृतमय यी वनस्पतिबारे

होलिस्टिक संवाददाता

काफल

काफल प्राकृतिकरूपमा पाइने जङ्गली फलफूल हो । यो उत्तरी भारत, दक्षिणी भूटान र नेपालका पहाडी जङ्गलमा पाइने रुखमा फल्दछ । काफलको रूख मध्यम आकारको हुन्छ । सामान्यतया पाइन, ओक र लालीगुराँससँगसँगैको जङ्गलमा भेटिन्छ ।

समुद्री सतहबाट एक हजारदेखि दुई हजार दुई सय मिटरसम्मको उचाइमा काफलको बोट रहने गरेको पाइन्छ । यस रुखको खानयोग्य भाग भनेकै फल मात्र हो, जबकि दालचिनीलगायतका कतिपय बोटका फलबाहेक अन्य भागहरू समेत खान योग्य हुन्छन् ।

काफलको स्वाद गुलियो–गुलियो र अमिलो–अमिलो मिश्रित हुन्छ । यो सामान्यतः चैत–वैशाखमा पाक्ने गर्दछ । पूर्वीय शब्दकोशअनुसार ‘का+फल’ शब्दाङ्शको सन्धि भएर ‘काफल’ शब्दको उत्पत्ति भएको मानिन्छ । यसको अर्थ ‘कस्तो स्वादिलो फल’ हो । काफलको वैज्ञानिक नाम ‘मिरिका स्कुलेन्टा’ हो ।

पाइने तत्व र फाइदाहरू

काफलमा रिबोफ्लाभिन, थायमिन, क्यारोटिन, भिटामिन सी, भिटामिन ई, आइरन र एन्टीअक्सिडेन्टजस्ता तत्वहरू पाइन्छन् ।

यसको सेवनले पेटका समस्याहरू ठीक पार्न मद्धत मिल्छ र मानसिक तनावबिरुद्ध लड्न पनि सहयोग पुग्छ । टाउको दुखेको र रक्तअल्पताको उपचारमा यसको प्रयोग प्रभावकारी हुन्छ ।

फोक्सोका समस्याहरूको समाधानका लागि समेत काफल सहयोगी हुन्छ । दम, मधुमेह, ज्वरोजस्ता समस्यामा पनि यसको प्रयोग फलदायी हुन्छ । क्यान्सर पैदा गर्ने ‘फ्री रेडिकल’ विरूद्ध लड्न समेत यसले राम्रो काम गर्दछ भने पाचन प्रणाली मजबुत राख्न पनि यसले सहयोग पु¥याउँछ ।

खाने तरिका

पाकेको काफल सोझै खान सकिन्छ । यसको पाकेको फल रुखबाट टिपेर धेरै समयसम्म भण्डारण गर्नु उपयुक्त हुँदैन । काफलको जुस र प्युरी बनाएर भने पछिसम्म जोगाएर राखी आवश्यक परेका बेला उपभोग गर्न सकिन्छ ।

अलैंची वा ठूलो सुकुमेल

अलैंची एकप्रकारको लोकप्रिय एसियाली मसला हो । यस क्षेत्रका धेरैजसो भान्छाहरूमा मसलाका रूपमा यसको प्रयोग हुन्छ । अलैंचीको स्वाद तिख्खर हुन्छ त्यसैले ‘बोल्ड’ र ‘ठाडो स्वाद’ का लागि यसको प्रयोग गरिन्छ ।

भेनिला र केशरपछिको तेस्रो सबैभन्दा महँगो मसला हो अलैंची । यसको केस्रा र दाना दुबैलाई खानाका परिकार (विशेषतः तरकारी, मासु इत्यादि) मा मिलाएर प्रयोग गर्न सकिन्छ । अलैंची ‘ब्ल्याक गोल्ड’ को नामले समेत चिनिन्छ । यसलाई ‘मसलाको रानी’ पनि भनिन्छ ।

नेपालका पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, इलाम, पाँचथरलगायतमा यसको खेती हुँदै आएको छ । कालो अलैंचीको सबैभन्दा ठूलो उत्पादक नेपाल नै हो । नेपालपछि भने भारत र भूटानमा यसको राम्रै उत्पादन हुने गरेको छ । परम्परागत चिनियाँ चिकित्सा (टीसीएम) विधिमा पेटका विकारहरू र औलोको उपचार गर्न यसको प्रयोग गरिन्थ्यो ।

पाइने तत्वहरू, उपयोग र फाइदा

अलैंचीमा फाइबरको मात्रा धेरै हुन्छ । यसमा आइरन, म्यानगानिज, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, भिटामिन सी, नायसिनजस्ता खनिज तथा भिटामिनहरू पाइन्छ । अलैंचीबाट विभिन्न इसेन्सियल भोलाटाइल आयल समेत उत्पादन गर्ने गरिएको छ । यसमा भएका फाइटोन्युट्रियन्ट्सले रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्न मद्धत पुर्‍याउँदछन् र एन्टिअक्सिडेन्टको काम समेत गर्दछन् । यसले अनेकौं स्वास्थ्यवद्र्धक कार्य गर्दछ ।

अलैंची मुख्यतः ‘फ्लाभोरिङ एजेन्ट’ का रूपमा प्रयोग हुन्छ । स्वादका लागि चिया, कफी, कुल्फीजस्ता विभिन्न परिकारहरूमा पनि यसको प्रयोग हुन्छ । बजारमा अलैंचीका एक्स्ट्राक्ट तथा सप्लिमेन्टहरू पनि पाइन्छन् । अलैंची वा अलैंची समाविष्ट उत्पादन छाला तथा कपालका लागि पनि अन्त्यन्तै लाभदायक हुन्छन् ।

उच्च रक्तचापलाई कम गर्न अलैंचीले राम्रो मद्धत गर्दछ । यसमा क्यान्सरसँग लड्न सहयोग पुर्‍याउने तत्वहरू समेत हुन्छन् । सास गन्हाउने समस्या समाधानका लागि पनि अलैंची निकै लाभदायी छ । दम तथा मुटु रोग कम गर्न पनि यो फाइदाजनक छ । यसमा ‘एन्टिब्याक्टेरियल तथा रोग प्रतिरोधी गुणहरू हुन्छन् ।