अनौठो ‘जटायु रेस्टुरेन्ट’: एक पटक पुग्ने कि !

कृष्णप्रसाद भुसाल

जटायु रेस्टुरेन्ट ।

झट्ट नाम सुन्दा नै तपाईंले सोचिसक्नु भयो– अनौठो र फरक नामको रेस्टुरेन्ट खुलेछ बजारमा ! अझ आफन्त तथा साथीभाइहरूसँग जमघट गर्ने योजना पो बनाइसक्नु भयो कि ? तर, जटायु रेस्टुरेन्ट मानिसका लागि खाना खान खोलिएको होइन ।

यो त्यस्तो प्रकारको रेस्टुरेन्ट हो, जसका ‘ग्राहक’ हुन् विश्वकै दुर्लभ पछी गिद्ध । त्यसैले त यसको नाम नै जटायु (गिद्ध) रेस्टुरेन्ट राखिएको छ । यसको प्रमुख उद्देश्य लोपोन्मुख अवस्थामा पुगेका गिद्धलाई शुद्ध एवम् विषादीरहित आहार उपलब्ध गराएर संरक्षणमा सहयोग पुर्‍याउनु हो । जीवित जीवजन्तुको शिकार नगरी केवल मरेका जनावरको मासु अर्थात् ‘सिनो’ र मासुजन्य फोहोर पदार्थ मात्रै खाने गिद्धले हाम्रो वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगी बन्न नदिन महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् ।

छोटो समयमै सिनोलाई कुशलतापूर्वक दोहन गरिदिने गिद्धले भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको वृद्धि रोकेर मानिसमा रेविज, प्लेग, हैजा, आऊँ, झाडा–पखाला आदिजस्ता घातक रोग अनि पशु–चौपायाहरूमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोगजस्ता महामारीबाट बचाउँछन् । यसर्थ, गिद्धले परापूर्वकालदेखि नै पर्यावरणीय चक्र र सनातन खाद्यशृङ्खलालाई सन्तुलित र गतिशील बनाउँदै पारिस्थितिकीय स्वस्थताको सूचकका रूपमा काम गरिरहेका छन् ।

पछिल्लो समय गिद्ध क्रमशः लोप हुँदै जान थालेपछि यिनलाई बचाउने उद्देश्यका साथ नै जटायु रेस्टुरेन्ट स्थापना गरिएको हो । गिद्धलाई डाइक्लोफेनेकरहित, शुद्ध र नियमित आहार उपलब्ध गराई संरक्षणमा सघाउने उद्देश्यले सर्वप्रथम सन् २००६ मा स्थानीय समुदाय तथा सामुदायिक वन उपभोक्ताको सक्रियतामा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदायस्तरको जटायु रेस्टुरेन्टको सुरुआत गरिएको थियो । समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएको गिद्ध रेस्टुरेन्टलाई गिद्धका वासस्थान र उच्च घनत्व भएका विभिन्न स्थानहरूमा विस्तार गरिएको छ । पश्चिम नेपालस्थित रूपन्देहीको गैंडहवा ताल, दाङका लालमटिया र बिजौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक अनि पूर्वी नेपालस्थित सुनसरीको कोशी टप्पुमा जटायु रेस्टुरेन्ट विस्तारित छन् ।

जटायु रेस्टुरेन्टमा रहेका ‘पशुहरूको वृद्धाश्रम’ मा किसानहरूकहाँ रहेका वृद्ध, अशक्त र बेकामी गाईवस्तुहरू सङ्कलन गरी पालनपोषण गरिन्छ । तिनीहरूको प्राकृतिक मृत्यु भएपछि गिद्धहरूको आहाराका लागि निश्चित स्थानमा राखिन्छ । त्यसपछि गिद्धहरू आउँछन् र खान्छन् । जटायु रेस्टुरेन्टमै गिद्धको आनीबानी हेर्न चाहने पर्यटकका निम्ति अवलोकन घर समेत छ । आगन्तुकहरूले त्यहाँबाट अति सङ्कटापन्न गिद्धहरूका विभिन्न प्रजाति र तिनका अनेकौं क्रियाकलापको नजिकैबाट अध्ययन र अवलोकन गर्न सक्दछन् ।

जटायु रेस्टुरेन्टले एकातिर वृद्ध र छाडा चौपायाहरूको व्यवस्थापन (रेखदेख र पशु–कल्याणकारी कार्य) गरी त्यसैमार्फत लोपोन्मुख गिद्धलाई बचाउने समेत काम गरेका छन् भने अर्कातिर वातावरण स्वच्छ राख्न मद्धत पुर्‍याउनुका साथै पर्यटन प्रवद्र्धन र स्थानीयवासीलाई जीविकोपार्जनका निम्ति अवसर प्रदान गर्ने काम गरिरहेको छ । यी स्थलहरू वन्यजन्तु अनुसन्धान केन्द्रका रूपमा विकसित हुँदैछन् ।

औसतमा एउटा सिनो व्यवस्थापन गर्न (गाड्न) का लागि करिव एक हजार रुपैयाँ खर्च लाग्छ । तर, जटायु रेस्टुरेन्टले किसानको उक्त खर्च बचाइदिएको छ । बरु यो रेस्टुरेन्टले एउटा मृत गाई दिएवापत सम्बन्धित किसानलाई तीन सय रुपैयाँ उपल्ब्ध गराउँछ । एउटा जटायु रेस्टुरेन्टले किसानहरूको वर्षमा करिव दुई लाख रुपैयाँ खर्च बचाइदिने गरेका छन्, वातावरणीय स्वच्छता र पर्यावरणीय सन्तुलनमा पुर्‍याइरहेको अमूल्य योगदानको भूमिका त बेग्लै छँदै छ । विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्ये नेपाल समेत एक बनिरहँदा यस्ता जटायु रेस्टुरेन्टहरू पनि यहाँका आकर्षक पर्यटकीय क्षेत्र बन्न सक्दछन् ।

नवलपरासीस्थित संसारकै नमूना जटायु रेस्टुरेन्ट चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । रूपन्देहीको गैडहवा तालमा अवस्थित जटायु रेस्टुरेन्ट गौतम बुद्धको जन्मस्थान लुम्बिनीबाट १५ किलोमिटको दूरीमा अवस्थित छ । चितवन घुम्न जाँदा एक पटक त्यता पनि पुग्ने कि ! वनभोज, बर्ड वाचिङ, जङ्गल सफारी र नीलगाई अवलोकनका लागि पनि प्रसिद्ध यस क्षेत्रमा पनि जाने कि ! त्यहाँ पुगेपछि नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजातिका गिद्धका साथै स्थानीय सङ्ग्राहालय, थारु संस्कृति, घरबास (होमस्टे), नमूना घाँसेमैदान, दुर्लभ एकसिङे गैंडा, पाटेबाघ, खरमुजुरको समेत अवलोकन गर्न पाइन्छ । यो स्थान चरा र अन्य जैविक विविधताका लागि पनि महत्वपूर्ण क्षेत्रमा पर्दछ । गैडहवा ताल क्षेत्र हिउँद याममा साइबेरियाबाट बसाइँसराइ गरी आउने आगन्तुक चराहरूको आश्रयस्थल समेत हो । यो ठाउँ सारस, भुँडीफोर गरुडजस्ता विश्वमै दुर्लभ चराहरूको वासस्थान पनि हो ।

पूर्व—पश्चिम राजमार्ग छेउमै रहेको दाङको लालमटियास्थित जटायु रेस्टुरेन्टमा यात्राकै क्रममा केही बेर विश्राम लिन सकिन्छ । दाङको तुलसीपुर नजिकै बिजौरीमा रहेको जटायु रेस्टुरेन्टले नेपालकै पहिलो गिद्ध संरक्षित वन घोषण गरी गिद्ध र अन्य वन्यजन्तुहरूको संरक्षण गरिरहेको छ । खुटिया नदीको तटमा अवस्थित कैलालीको जटायु रेस्टुरेन्टमा भने सिनोमा झुम्मिइरहेका गिद्धहरूको चर्तिकला देख्दा संसारकै उत्कृष्ट प्राकृतिक चिडियाखानामा बसेजस्तो लाग्छ । त्यसैले टीकापुर, घोडाघोडीताल र शुक्लाफाँटा जाँदा त्यहाँ समेत पस्नु उत्तम हुने छ । कास्कीको घाँचोकमा रहेको जटायु रेस्टुरेन्ट पर्यटकीय नगरी पोखरा र माछापुच्छ«ेको आगँनमै अवस्थित छ, जहाँबाट माछापुच्छ्रे हिमश्रृङ्खला र सेती नदीको सुन्दर प्राकृतिक खोंचलाई नजिकैबाट स्पर्श गर्न सकिन्छ । जैविक र सांस्कृतिक विविधताको खानी अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यस रेस्टुरेन्टमा हिमालदेखि तराईसम्मका गिद्धहरूको जमघट हुन्छ । कोशी टप्पु गएको सन्दर्भमा नजिकै रामधुनीस्थित जटायु रेस्टुरेन्टमा पनि छिर्न सकिन्छ ।

फोहरी र ‘अपसगुन’ को प्रतीक मानिने गिद्धलाई मानिसले किन र कसरी दशकौंदेखि जोगाइरहेका छन् ? युवा–विद्यार्थी र अनुसन्धाताहरूका लागि यी क्षेत्र खुला विश्वविद्यालय नै हुन् । गिद्धजस्ता दुर्लभ र अति सङ्कटापन्न प्रजातिको अवलोकन, अध्ययन र संरक्षणमा समुदायस्तरबाट सञ्चालन गरिएका जटायु रेस्टुरेन्टजस्ता नवीनतम प्रयास र प्रभावलाई प्रेरणा र प्रोत्साहन दिनुका साथै संरक्षणमा ऐक्यबद्धता जनाउन हामी पनि एक पटक पुग्ने कि !

लेखक पछीविज्ञ हुन्