सुन्दरी उषाभित्र लुकेको व्यथा
केदारनाथ गौतम/ शङ्कर क्षेत्रीझट्ट हेर्दा चालीसौं वसन्त काटिसकेजस्तो देखिन्नन् उनी । अहिले पनि उत्तिकै छ, पूर्व ‘मिस नेपाल’ उषा खड्गीको अनुहारको चमक । ६२ किलोग्राम तौल र ५ फिट ५ इञ्च उचाइकी उषा फिट–फाइन देखिन्छिन् ।
सन् २००० मा ‘मिस नेपाल’ को ताज पहिरिएकी उषाले पछिल्लो समय सञ्चारकर्मीको परिचय बनाएकी छन् । अग्र्यानिक तथा हाइजेनिक खानपानमा जोड दिने उनी आफ्नो सुन्दरता कायम राख्न पर्याप्त ध्यान पुर्याउँछिन् । ‘छाला सुन्दर हुन त शरीर स्वस्थ हुनैपर्यो नि,’ उनी भन्छिन्– ‘स्कीन केयरमा अलि बढी नै जोड दिन्छु ।’
सौन्दर्य प्रशाधनका सामग्रीको गुणस्तरप्रति उनी निकै सचेत छिन् । कृत्रिमताभन्दा प्राकृतिक सुन्दरतामै उषाको जोड छ । चिकित्सकको रायअनुसार मात्रै मेकअपका सामग्री प्रयोग गर्ने गरेको उनले सुनाइन् ।
छोराछोरी सम्झँदै जीवनशैली अपनाउँदै
दुई सन्तानकी आमा हुन् उषा । छोरी उगेष्णा १५ वर्षकी भइन् र छोरा उगेण ६ वर्षका । श्रीमान्सँग छोडपत्र भएको पनि वर्षौं बितिसक्यो । स्वच्छ खानपान र स्वस्थ जीवनशैलीमा जोड दिने उनी जुनसुकै काम, क्रियाकलाप तथा खानपान गर्नुअघि छोराछोरीलाई सम्झन्छिन् । ‘मलाई केही भैहाल्यो भने बच्चालाई कसले हेर्ला भन्ने लाग्छ,’ मातृस्नेहमा पग्लँदै उनले सुनाइन्– ‘छोराछोरीकै लागि म सधैं खुसी हुनुपर्छ, सधैं स्वस्थ हुनुपर्छ भन्ने लाग्छ ।’ बोल्दा समेत छोराछोरी नै सम्झिएर नै बोल्ने गरेको उनले बताइन् ।
जिम छाडेर योगा
बिहान सखारै उठ्छिन् । तातो पानी पिउँछिन् र घरमै व्यायाम गर्छिन् । त्यसपछि एक गिलास पानीमा कागती निचोरेर पिउँछिन् । बिहान–बिहान कम्तीमा १० मिनेट योगा गर्छिन् । योगा गरिसकेपछि फेरि मनतातो पानी पिउँछिन् अनि त्यसपछि दूधचिया पिउँछिन् ।
चिया पिइसकेपछि खाना बनाउनतिर लाग्छिन् । छोरा–छोरी स्कुल पठाउन तयार पार्नुपर्छ । ‘छोरा–छोरीलाई स्कुल पठाउने प्रिपरेसनसँगै हल्का एक्सरसाइज पनि गर्छु’– उषाले सुनाइन् ।
उनले एक समय जिम गरेकी थिइन् तर अहिले गर्दिनन् । ‘मिस नेपाल जितिसकेपछि मिस वल्र्डमा जानका लागि जिम गरें,’ उषा भन्छिन्– ‘जिम गरेकै कारण मिस वल्र्डमा सहभागी भएर फर्किएताका निकै दुब्लाएँ, करिब १० किलोग्राम त तौल नै घट्यो । ‘स्वाट्टै दुब्लाकाले डाक्टरकहाँ नै पुग्नुपर्यो, त्यसपछि जिम छाडेर योगा अपनाएँ ।’
छोरा–छोरीलाई स्कुल पठाइसकेपछि समय मिल्यो भने फेरि केहीबेर योगा र प्ल्याङ्क गर्छिन् । ‘समय मिल्दा दिउँसोचाहिँ दुई मिनेटजति फेस योगा र प्ल्याङ्क गर्छु’– उनले भनिन् । बिहानको धन्दा र व्यायाम सकेपछि एक गिलास दाल पिउँछिन् । नेपाली खाना दाल–भात र तरकारी नै उनका मुख्य खाना हुन् । भात कम र दाल प्रशस्त खाने गरेको उनले सुनाइन् ।
भुटेको आलु र खसीको पक्कु
दाल–भातसँगै भुटेको आलु खान भरसक छुटाउँदिनन् । ‘मलाई भुटेको आलु असाध्यै मन पर्छ,’ उषा भन्छिन्– ‘आलुबिना त बाँच्दिन जस्तो पो लाग्छ ।’
उषा खड्गी माछा–मासु भने कमै मात्र खान्छिन् । मासुमध्ये मटन नै उनको प्राथमिकतामा पर्छ । सामान्यतः हप्तामा एक पटक मासु खाइने उनले खुलाइन् । ‘सामान्यतः सातामा एक पटक राम्रोसँग बनाएर मासु खान्छु,’ उनले भनिन्– ‘मज्जाले तेल राखेर खसीको मासुको पक्कु बनाएर खान्छु ।’
घरमै खाएर कार्यक्रमतिर
बिहानको सेड्युल पूरा भएपछि कुपण्डोलस्थित ‘उषाज स्टाइलिस्ट कलेक्सन’ मा पुग्छिन् । यो उषाको आफ्नो बुटिक पसल हो । दिनभरजसो उनी त्यहीं व्यस्त रहन्छिन् ।
बाहिरफेर कार्यक्रममा जानुपर्दा भने उनी बुटिकमा जान भ्याउँदिनन् । बुटिकमै बसेका दिन भने दिउँसोको खाजाका रूपमा एक दाना स्याउ खान्छिन् । ‘चार–पाँच वटा नट्स, ओखर, लस्सी खान्छु,’ उनले सुनाइन्– ‘कहिलेकहीं भने रोटी पनि खान्छु ।’
कार्यक्रमका लागि बाहिर हिँड्दा उनी सामान्यतः घरबाटै खाजा–नास्ता बोकेर जान्छिन् । सकभर बजारिया खाजा नखाने उनको बानी छ । बाहिर किनेर खानैपर्यो भने हाइजेनिक तथा सादा खानपानमा जोड दिन्छिन् । ‘नो मःमः, नो बर्गर, नो पिज्जा, नो चाउमिन,’ उनी भन्छिन्– ‘बाहिरका यस्ता खाजा खान्नँ ।’ कतै जाँदा अरु केही नपाएमा बाहेक सकभर चाउचाउ खाँदिनन् ।
चिल्लो पनि भरसक कमै मात्र खान्छिन्, पिरो खाँदिनन् । ‘आन्द्रामा समस्या छ, पिरो त खाँदै खान्नँ’– उषाले सुनाइन् । आक्कल–झुक्कल चटपटे खान्छिन् । अमिलो, पिरो ट्वाक्कटुक्क खान मन पर्ने भए पनि पेट दुख्ने भएकाले कहिलेकहीं मात्रै खाने गरेको उनले सुनाइन् ।
कार्यक्रममा बाहिर जानुपर्दा पनि सकभर घरमै खानपान गरेर मात्र निस्कन्छिन् । बाहिर खाजा खानैपर्दा पनि निकै कम मात्र खाने गरेको उनको भनाइ छ । उनी सामान्यतः कार्यक्रमको निर्णायक (जज) बनेर पुग्छिन् । कार्यक्रम केही घन्टा लामो परेको छ भने ठ्याक्कै सुरु हुने बेलामा मात्रै पुग्छिन्, ताकि घरमै खानपान गरेर जान पाइयोस् ।
कार्यक्रममा होस् वा अन्य कुनै उद्देश्यले बाहिर जाँदा ब्यागमा जुस, चक्लेट, स्याउ इत्यादि बोकेर हिँड्छिन् । खाने कुरा आफैंले बोकेर हिँड्दा जहाँ, जतिबेला भोक लाग्छ, फ्याट्टै निकालेर खान पाइने र निकै सजिलो हुने उनको अनुभव छ ।
छोरा–छोरीको स्कुल समयभित्रै सकिने कार्यक्रम रहेछन् भने उनी जान्छिन्; बिहान चाँडै र बेलुकी अबेरसम्म हुने कार्यक्रममा भने सकभर नजाने उनले बताइन् । ‘त्यस्ता कार्यक्रममा पनि पहिले त गइयो, अहिलेचाहिँ बच्चा स्कुल जाने टाइमका प्रोग्राममा मात्रै जान्छु, नत्र जान्नँ’– उनको भनाइ छ । उपत्यकाबाहिर जानुपर्दा उनकी आमाले नाति–नातिनीको हेरचाह गरिदिने गरेकी छन् ।
घर फर्कंदा समोसा र मकै
कामबाट बेलुकी चाँडै फर्कन्छिन् । छोरालाई लिन स्कुलमा जानुपर्छ । कामबाट फर्कंदा दिनहुँजसो छोराका लागि दुईवटा समोसा किनेर बोक्छिन् । छोराले समोसा असाध्यै मन पराउने उनले सुनाइन् ।
बेलुकी घर फर्कंदा मिलेसम्म पोलेको मकै पनि किन्छिन् । ‘घर फर्कंदा पोलेको मकै किन्न छुटाउँदिन,’ उषा भन्छिन्– ‘पोलेको मकै असाध्यै मन पर्छ, यो स्वास्थ्यका लागि राम्रो पनि हो ।’ आवश्यकताअनुसार मौसमी फलफूल त किन्ने नै भइन् ।
चिया जहिल्यै आधा कप मात्रै
बेलुकी घर फर्केपछि पनि उनी दूधचिया पिउँछिन् । ‘म मिल्क टी प्रेमी हुँ,’ उषाले भनिन्– ‘तर तीन कपभन्दा बढी पिउँदिनँ ।’
दूधचिया पिउने पनि उनको अनौठो शैली रहेछ । कप जत्रो भए पनि आधा कप मात्रै पिउँदी रहिछन् । कपमा आधाभन्दा बढी चिया कहिल्यै हाल्दिरहिनछन् । आधा कप मात्रै किन त ? ‘आई डन्ट नो,’ होलिस्टिकको जिज्ञासामा उषाले भनिन्– ‘कपको साइजसँग मलाई मतलब छैन, तर चिया फुल कप देखेपछि आत्तिइहाल्छु ।’
बेलुकीको खाना: रोटी र तरकारी
बेलुकी सामान्यतः रोटी, दही र अण्डा करी, आलुको तरकारीलगायतका सागसब्जी खान्छिन् । कहिलेकहीं भने मन पर्ने तरकारीसँग चिउरा पनि खान्छिन् । छोरा–छोरीलाई भने दाल–भात र तरकारी नै खुवाउँछिन् । आफू भने बेलुकी भात खाँदिनन् ।
दही पनि तयारी किन्दिनन्, प्याकेटको दूध ल्याएर घरैमा जमाउँछिन् । दूध र दही खान प्रायः छुटाउँदिनन् । आठ बजेभित्रै बेलुकीको खानपान गरिसक्छिन् ।
बेलुकीको खानपानपछि अनलाइनहरूमा समाचार पढ्छिन्, सामाजिक सञ्जालहरू चलाउँछिन् । टेलिभिजन भने कमै मात्र हेर्छिन् ।
सुत्नुअघि दुई वटाजति बदाम, ओखर, किसमिस खान्छिन् । कहिलेकहीं राति नै भोक लाग्यो भने सुख्खा (चुरुम–चुरुम गर्ने) पाउरोटी खान्छिन् । सुत्नुअघि एक गिलास तातो पानीमा मह र कागती फिटेर पिउँछिन् । एघार बजेतिर सुतिसक्छिन् ।
शारीरिक तथा मानसिक स्वस्थतामा जोड दिन्छिन् । सकभर तनाव लिन्नन् । आफ्नो गच्छेअनुसार नै आर्थिक व्यवस्थापन गर्ने गरेको उनले सुनाइन् ।
वर्षेनि स्वास्थ्य परीक्षण
वर्षमा एक पटक स्वास्थ्य परीक्षण गराउँछिन् । हरेक वर्ष पाठेघर जँचाउँछिन् । बिरामी परेर अस्पतालमा भर्ना हुनु परेका तिता अनुभव पनि धेरै छन् उषासँग । पहिलो सन्तान (छोरी) जन्मिइसकेपछि उषाको पाठेघरमा समस्या आएछ । त्यसैकारण रजश्वला–चक्र नै गडबड हुन थाल्यो ।
‘पाठेघरमा मासु पलाएकाले रजश्वला–चक्रमा समस्या निम्तियो,’ आफ्नो समस्या सुनाउँदै उनले भनिन्– ‘रजश्वला हुँदा रेगुलरभन्दा बढी ब्लड गयो । शरीरमा आइरनको कमी हुन थाल्यो ।’ रजश्वलाको समयमा अहिले पनि आफूलाई समस्या पर्ने गरेको उनले सुनाइन् । ‘रजश्वला भएका बेला ब्लड रोक्ने र पेट नदुख्ने दबाई खानुपर्छ,’ उनले भनिन्– ‘ब्लड रोक्ने दबाई नखाए त अहिले पनि हस्पिटलाइज नै हुनुपर्ने अवस्था हुन्छ ।’
त्यसैले रजश्वला भएका बेला उनी काममा कतै पनि निस्कन्नन् । दोस्रो सन्तान (छोरा) जन्मिएपछि त उनको त्यो समस्या झनै जटिल भएछ । त्यसपछि शरीरमा आइरनको कमी भएकाले अहिलेसम्म पनि हरेक वर्ष स्लाइनमार्फत शरीरमा आइरन हाल्नु (फिल गर्नु) परेको उनले बताइन् । यसरी आइरन फिल गर्न अस्पताल नै भर्ना हुनुपर्छ ।
रजश्वलाका बेला कार्यक्रममा जान नसकेकै कारण उनले केही कार्यक्रमको त लिइसकेकै पैसा पनि फिर्ता गरेकी छन् । रजश्वलाको समस्याकै कारण कार्यक्रममा टिक्नै नसकेर सोल्टी होटलमा आयोजित एउटा कार्यक्रमको बीचैमा उठेर हिँड्नुपर्ने बाध्यता समेत आइलाग्यो उनलाई । ‘दबाई खाएर गएकी थिएँ, तैपनि बस्नै सकिनँ र बीचैमा उठेर हिँड्नुपर्यो,’ तितो अनुभव शेयर गर्दै उनले भनिन्– ‘यस्तो अवस्थामा कतिपय आयोजक त रिसाउँछन् पनि ।’
अहिले उनी नियमितरूपले ‘आइरन सप्लिमेन्ट’ खान्छिन् । यसबाहेक उनलाई रुघा–खोकी लाग्ने, टाउको दुख्नेजस्ता समस्या भने खासै हुँदैनन् । त्यस्ता समस्या आइहाले भने चिकित्सकसँगको परामर्शमा औषधि खान्छिन् ।
स्नातकपछि फेसन डिजाइन
वीरगञ्जको कुमालटोलमा जन्मिएकी उषाले स्थानीय कन्या माविबाट एसएलसी उत्तीर्ण गरिन् । वीरगञ्जकै हरि खेतान क्याम्पसबाट स्नातक उत्तीर्ण गरेकी उनले फेसन डिजाइनमा दुईवर्षे डिप्लोमा कोर्ष पूरा गरेकी छन् । त्यसैले त उनी अहिले पनि फेसन डिजाइनमै केन्द्रित छिन् ।
‘मिस नेपाल’ भएयता आफूलाई समाजले हेर्ने दृष्टिकोणमा निकै फरक आएको उनको अनुभव छ । ‘भित्र कार्यक्रम हुन्थ्यो,’ उनी सम्झन्छिन्– ‘बाहिर हाम्रो फोटो जलाइन्थ्यो ।’ त्यतिखेर कार्यक्रममा सहभागी हुन जाँदा समेत डर लाग्ने गरेको उनले खुलाइन् ।
अहिले भने त्यस्ता समस्या कम हुँदै गएको उनी बताउँछिन् । त्यतिबेर आँखा तर्काएर हिँड्ने साथीहरू पनि अहिले भने घनिष्ठ भएको उनले बताइन् ।