सरल तरिकाले बनाउनोस् यी तीन परिकार

होलिस्टिक संवाददाता

ग्रील्ड चिज स्यान्डविच

चिज स्यान्डविच सरल र सहज स्न्याक्समध्येमा पर्दछ । यो बनाउन पनि सजिलो छ अनि खान पनि ज्यादै स्वादिलो छ । विश्वभर फरक फरक सामग्रीहरू राखेर थुप्रै भेराइटीका चिज स्यान्डविच बनाइन्छन् । निम्न सामग्रीको प्रयोग गरी १० मिनेटभन्दा कम समयमै चिज स्यान्डविच बनाउन सकिन्छ–

आवश्यक सामग्री

मुख्य सामग्रीः ब्रेड– १० पिस (ब्राउन भए राम्रो, नर्मल ब्रेड पनि प्रयोग गर्न सकिन्छ), चिज– ५० ग्राम (मोजेरेल्ला वा चेडार वा मिक्स्ड), बटर– ६० ग्राम (अनसाल्टेड) ।
मसलाः रातो खुर्सानीको फ्लेक्स, मरिच– स्वादअनुसार, जडीबुटी रोजमेरी, थाइम, बेसिल ।

बनाउने तरिका

एउटा प्यानमा दुई (सानो) चम्चा बटर पगाल्ने । प्यानको सबैतिर पर्ने गरी त्यसलाई फैलाउने । अब ब्रेडको स्लाइसलाई पग्लेको बटरमाथि राख्ने । आवश्यकताअनुसार बटर राख्न सकिन्छ ।

त्यसपछि ब्रेडलाई अर्कोतिर पल्टाउने । एउटा ब्रेडलाई उल्टो पार्ने अनि त्यसमाथि भुजा पारेको (ग्रेटेड) वा स्लाइस पारेको चिज राख्ने । त्यसमाथि आफूलाई मन पर्ने मसलाहरू (जस्तै– मरिच, रातो खुर्सानीका टुक्रा आदि) राख्न सकिन्छ ।

अब अर्को ब्रेडको सुलौलोपट्टिको भागलाई यसमाथि राख्ने । त्यसपछि प्यानमा फेरि थोरै बटर राख्ने अनि ब्रेडको दुवै भागलाई चिज नपग्लुञ्जेलसम्म टोस्ट गर्ने । ग्रील्ड चिज स्यान्डविच तयार भयो, यसलाई तात्तातो खान सकिन्छ । यसलाई चिया वा कफीसँग ब्रेकफास्टका रूपमा या टमेटो सुप र सलादहरूसँग खाजाका रूपमा खान सकिन्छ ।

000

बेक्ड चिकेन ड्रमस्टिक

आवश्यक सामग्री

सोयसस– ५० मिलिलिटर, एक्स्ट्रा भर्जिन ओलिव आयल– ५० मिलिलिटर, लसुन– ३ केस्रा (ठूलो) मसिनो गरी काटेको, कागतीको रस– एक दानाको, नुन– एक (ठूलो) चम्चा, मरिच– एक (सानो) चम्चा, रातो खुर्सानी– २ वटा (पिसेको), चिकेन ड्रमस्टिक– ८ वटा ।

बनाउने तरिका

एउटा ठूलो बाटा लिने । सोयसस, ओलिव आयल र कागतीको रस मिसाउने । यसमा नुन, मरिच र खुर्सानी थप्ने । ड्रमस्टिकलाई यसमा राखेर मजाले डुबाउने, ताकि सो मिश्रण सबैतिर परोस् । करिब एक घन्टाजति म्यरिनेट गर्न फ्रिजमा छाडिदिने ।

त्यसपछि ओभनलाई २३० देखि २३५ डिग्री सेल्सियससम्ममा तताउने । तयार पारिएको ड्रमस्टिकलाई बेकिङ सिट/प्लेटमा राखेर ओभनमा राखिदिने । सुनौलो रङ्गको नहोउञ्जेल (२०–२५ मिनेट) सम्म बेक गर्ने । बीचमा एक पटक ड्रमस्टिकलाई पल्टाइदिने ताकि दुवैतिर मजाले पाकोस् । बेक्ड चिकेन ड्रमस्टिक तयार भयो, यसलाई सस वा सुपसँग खान सकिन्छ ।

000

मिक्स्ड भेज ब्वाइल

आवश्यक सामग्री

बन्दागोभी– ४ कप, काउली– ४ कप, नुन– स्वाद अनुसार, सिमी/केराउ/चना (भिजाएको)– ४ कप, भर्जिन ओलिव आयल– ४ (ठूलो) चम्चा, कागतीको रस– ८ (ठूलो) चम्चा ।

बनाउने तरिका

बन्दागोभी, काउली र सिमी/केराउ/चनालाई केलाएर पखाल्ने अनि पानी तर्काएर राख्ने । त्यसपछि तिनलाई स–साना आकार हुने गरी काट्ने । काटेको तरकारीलाई प्रेसर कुकरमा राख्ने । त्यसपछि पानी राख्ने अनि १०–१२ मिनेटसम्म उमाल्ने । करिब दुई सिट्टी लाग्न दिने ।

उम्लेपछि पानी तर्काएर सो तरकारीलाई एउटा ठूलो बटुकामा राख्ने । त्यसमाथि ओलिव आयल खन्याउने र मजाले मिक्स गर्ने । यसको माथि गाजरका टुक्रा राखेर सजाउन सकिन्छ । अब कागतीको रस राख्ने अनि त्यसमाथि नुन छर्कने ।

मिक्स्ड भेज ब्वाइल तयार भयो । यसमा आफूलाई मन पर्ने तरकारी थपेर पनि खान सकिन्छ । यसलाई स्वस्थकर परिकार सलादका रूपमा लिइन्छ । सलादमा चिल्लो नराख्ने हो भने ओलिव आयल नराख्न पनि सकिन्छ ।