एक्सन चलचित्रमा सविनको अभिनय

होलिस्टिक संवाददाता

टेलिचलचित्र हुँदै ठूलो पर्दाका चलचित्रको अभिनयमा जमेका अभिनेता हुन् सविन श्रेष्ठ । टेलिभिजनको पर्दामा ‘क्याट् म्यान् डू’, ‘घरबेटी बा’, ‘कलेज’ बाट अघि बढेको हो उनको अभिनय–यात्रा । उनी म्युजिक भिडियोमा व्यस्त मोडलका रूपमा समेत चिनिए ।

मोडलिङ तथा टेलिचलचित्रमा अभिनय गर्दागर्दै छविराज ओझा र रेखा थापाले बनाउन थालेको ‘अन्दाज’ चलचित्रका लागि नयाँ हिरो खोजी भैरहेको पत्तो पाए । उनले अडिसन दिए । चलचित्रका लागि छनोट भए र काम हात पारे । ‘अन्दाज’ नै उनको पहिलो चलचित्र हुन पुग्यो ।

त्यसपछि सविनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । पहिलो चलचित्र नै हिट भएयता उनले दुई दर्जनजति चलचित्रमा अभिनय गरिसकेका छन् । केही चलचित्र आफैंले समेत निर्माण गरेका छन् ।

फरक दैनिकी, बेग्लै जीवनशैली

सविन बिहान ८ बजे उठ्छन् र लगत्तै डान्स क्लासमा जान्छन् । क्लास सकिएपछि घर फर्केर आमाले पकाएको खाना खान्छन् । बिहान–बेलुका आमाले पकाएको खाने सविन दिउँसो खाजा बनाउन भने भान्सामा आफैं छिर्छन् । दिउँसोको ‘डाइट’ मात्रा मिलाएर खानुपर्ने उनको भनाइ छ । त्यसैले भान्सामा आफैं पसेर मात्रा मिलाउँछन् ।

लामो समयदेखि कलाकारितामा क्रियाशील सविन आफूलाई ‘एक्सन हिरो’ भन्न रुचाउँछन् । त्यसैकारण ‘ज्यान बनाउनका लागि’ जिम जाने र डान्स गर्ने काम गर्छन् । दिउँसो साथीभाइसँग भेटभाट गर्छन् । उनको दैनिकी अरुको भन्दा फरक छ । उनी दिउँसोको ३ बजेपछि मात्रै जिम जान्छन् र करिव तीन घन्टा समय बिताउँछन् ।

पहिचान नै एक्सन हिरो

नेपाली चलचित्रजगत्मा सविन एक्सन हिरोकै रूपमा चिनिन्छन् । उनी अभिनीत चलचित्रमा उनका एक्सन देखिन्छन् । यद्यपि केहीबाहेक सविनले एक्सन गरेका चलचित्रले सोचेअनुसार चर्चा पाउन भने सकेनन् । सविनलाई चलचित्रमा दर्शकले एक्सन र लभ स्टोरीमै मन पराउने गरेका छन् । पहिलो चलचित्र ‘अन्दाज’ मा रेखा थापासँगको अभिनयले उनको चर्चा चुलिएको थियो । उनी त्यसअघि नै चर्चामा नआएका त होइनन् तर सोचेअनुसार चर्चित हुनचाहिँ सकिरहेका थिएनन् ।

पहिलो चलचित्रको अविस्मरणीय अनुभव

टेलिचलचित्रमा अभिनय गरिरहेकै बेला चलचित्र ‘अन्दाज’ मा अभिनय गर्ने मौका पाए सविनले । त्यो नै पहिलो चलचित्र भएका कारण उनी निकै उत्साहित भए । यस चलचित्रको एउटा सिन सिन्धुपाल्चोक हुँदै तातोपानी जाने बाटामा छायाङ्कन भएको थियो ।

चलचित्रको एउटा ‘फाइट सिन’ मा पाइपबाट वारपार गर्नुपर्ने थियो । निकै उचाइमा भएकाले आफूलाई निकै डर लागेको बताउँदै सविन भन्छन्– ‘त्यो पाइपबाट हामी बाइचान्स खसेका भए सायद आज यसरी तपाईंसँग बोल्न पाउने थिएनौं ।’

‘मान्छे त्यहाँबाट खसेपछि त फर्किएर आउने अवस्थै थिएन,’ पुरानो अनुभव सुनाउँदै उनले भने– ‘त्यो सिन मेरा लागि अविस्मरणीय सिन हो र त्यो घटना अहिलेसम्म पनि मेरो मानसपटलमा ताजै छ ।’

स्वास्थ्यप्रति उच्च सचेतता

एक्सन हिरो सविन आफ्नो स्वास्थ्यप्रति निकै सचेत छन् । पछिल्लो समय बाहिरका खाने कुरा खानै छाडिदिएका छन् । चाउमिन, मःम, कोक ,फ्यन्टाजस्ता जङ्कफुड खान लकडाउनदेखि नै छाडिसकेको उनले सुनाए ।

‘लकडाउन अगाडि म खाने कुरा सबैथोक खान्थें, लकडाउनको समयमा कोलेस्टोरेल धेरै बढेका कारण अहिले भने घरबाहिरका खाने कुरा कमै मात्र खान्छु,’ उनी भन्छन्– ‘स्वास्थ्य समस्या नआओस् र शरीर मजबुत बनोस् भनेर दसवटा अण्डा खाँदा एउटाको मात्रै पहेंलो भाग खान्छु, बाँकी नौ वटाको खाँदिनँ ।’

सामान्य रुघा–मर्की लाग्दा र ज्वरो आउँदा उनी घरायसी औषधि नै प्रयोग गर्छन् । रुघा–मर्कीलाई सकेसम्म तातो पानीले नै निको पार्ने गरेका छन् । आफैं बिरामी भएर अहिलेसम्म हस्पिटल बस्नु नपरेको उनले सुनाए । ‘अहिलेसम्म हस्पिटलमा भर्ना भएर उपचार गराउनु परेको छैन, केही समयअघि भने छ महिनासम्म औषधि खानु परेको थियो,’ सविनले भने– ‘कोलेस्टेरोल बढेका कारण डाक्टरको सल्लाहबमोजिम औषधि लिएँ, ठीक भएकाले अहिलेचाहिँ औषधि खानु परेको छैन ।’

उनी समय–समयमा स्वास्थ्य परीक्षण गराइरहन्छन् । आफूले छ–छ महिनामा होलबडी चेकअप गराउँदै आएको उनको भनाइ छ । केही समय अगाडि मात्रै पछिल्लो पटक होलबडी चेकअप गराएको उनले सुनाए । मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलसँग मुटुबारे परामर्श लिँदै र चेकअप गराउँदै आएको सविनले बताए । मोटरसाइकलमा हिँड्दा उनले शरीरमा चिसो नपस्ने खालको ज्याकेट लगाउने गरेका छन् । ‘गाडीमा होस् या बाइकमा हिँड्दा आफ्नो सेफ्टी अपनाएर नै हिँड्छु,’ उनी भन्छन्– ‘किनभने बाहिरी हावाले हान्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।’

सविन अत्यधिक पानी पिउँछन् । ‘पानी सबैभन्दा धेरै पिउँछु, पानी जति धेरै पियो, अनुहार उति नै चम्किलो हुन्छ,’ उनले निष्कर्ष सुनाए– ‘बाहिरी क्रिम लगाएर अनुहारमा खासै चमक आउँदैन, बरु पर्याप्त पानी पिउनु अनुहारको चमक र समग्र स्वास्थका लागि उत्तम हुन्छ ।’