अरु हिँडिसकेपछि बल्ल उठ्ने गायक
बीएन अधिकारी
नेपाली साङ्गीतिक दुनियाँका कतिपय गायक–गायिका गुमनामजस्तै छन् । धेरैलाई त साङ्गीतिक क्षेत्रमा लागेको लामो समयसम्म पनि दर्शकमाझ चिनिन मुस्किल नै पर्छ तर उनीहरूका सिर्जना भने दर्शकमाझ लोकप्रिय बनिरहेका हुन्छन् ।
दुई वर्षअघि निकै चर्चामा आएको ‘पछिपछि लागेर..’ बोलको गीत एकदमै हिट भयो । यो गीत नसुन्ने कमै होलान् । यसको भिडियो पनि सार्वजनिक भएको छोटो समयमै ‘करोड क्लब’ मा पुग्न सफल भयो । सो गीतका गायक हुन् पदम राई । उनले गाएको दोस्रो गीत ‘के गुलियो छ र सख्खर–चिनी..’ दर्शकमाझ अहिले लोकप्रिय छ । आफ्नै लगानीमा भिडियो समेत निर्माण गरेर उनले सार्वजजिक गरेका छन् ।
चर्चित सिर्जना
‘के गुलियो छ र सख्खर–चिनी…’ पनि छोटो समयमै अत्यधिक दर्शकको माया पाउन सफल भयो । यसै गीतले राईलाई ‘वुमन्स एरा एण्ड मिडिया ग्रुप नेपाल’ द्वारा हालै राजधानीमा आयोजित समारोहमा ‘हिमालयन इन्टरनेसनल अवार्ड, २०२१’ बाट पुरस्कृत समेत गरायो ।
युवापुस्तामाझ निकै लोकप्रिय बनेको यो गीतमा सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत समेत अत्यधिक प्रयोगकर्ताले भिडियो बनाएर पस्किए । पदम राई र मेलिना राईको आवाजमा सजिएको सो गीत निकै रमाइलो छ र यसका कलात्मक एवम् प्रस्तुतिका सम्पूर्ण पक्ष निकै दमदार र उत्कृष्ट छन् ।
‘पछिपछि लागेर…’ को भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् भने यसमा पुष्प खड्का, वर्षा राउतलगायतले अभिनय गरेका छन् । ‘सख्खर–चिनी…’ को भिडियोमा सरोज अधिकारी, आश्मा विश्वकर्मा र कार्टुन क्र्युका कलाकारको अभिनय देख्न पाइन्छ ।
गायक राईको हालै मात्र सार्वजनिक गीत ‘यसो हेरे पूर्वतिर…’ ले पनि सफलता बटुलिरहेको छ भने ‘जागिर खान्छु सरकारी अड्डामा…’ बोलको गीत सार्वजनिक हुने क्रममा छ ।
दैनिकी र जीवनशैली
पदम बिहान अलिक अबेला (८–९ बजेतिर मात्र) उठ्छन् । सबैजना अफिस वा कामधामतिर हिँडेपछि मात्र उनको उठ्ने समय हुन्छ । उनी गीत–सङ्गीतबाहेक अन्य काम गर्दैनन् । दिनभर नै गीत–सङ्गीतकै काम गर्ने उनी खाने कुरा खासै बार्दैनन् । सकेसम्म चिल्लो नखाऊँ भन्ने लाग्छ उनलाई तर साथीहरूसँग बस्दा छेकबार नहुने बताउँछन् ।
‘गीत–सङ्गीतमा लागेको दशकै नाघ्न लागिसक्यो, यही दौरानमा धेरैसँग सङ्गत गरियो,’ उनी भन्छन्– खाने कुरामा केही बारिँदैनथ्यो तर पछिल्लो समय चिल्लो–पिरो नखाऊँ भन्ने लाग्छ, कतै स्वर बिग्रिने पो हो कि भनेर डर लाग्छ ।’
देशका अधिकाङ्श ठाउँमा भएका साङ्गीतिक कार्यक्रममा पदमले प्रस्तुति दिइसकेका छन् । अहिले पनि निकै कार्यक्रमहरू आइरहेका छन् । कोरोना महामारी फैलिइरहेको अवस्थामा फेरि बन्द पो हुने हो कि भन्ने चिन्ता छ उनलाई ।
गतवर्ष कोरियालगायतका विभिन्न देशमा चारवटा कार्यक्रमका निम्ति सम्झौता भइसकेका थिए तर कोरोना महामारी फैलिएर जताततै लकडाउन भयो । त्यसबखत आफूले करिब तीस लाख आम्दानी गुमाउनु परेको उनले सुनाए ।
‘गतवर्ष मेरा थुप्रै कार्यक्रम थिए, ती कार्यक्रममा जान नपाउँदा चानचुन तीस लाख रूपैयाँ गुमेको छ,’ उनले भने– ‘यतातिरको त कुरै नगरौं, यसपटक पनि कोरोना झन्–झन् फैलिइरहेकाले के हुने हो, थाहै छैन ।’