पहिलो पटक मृत्युको साक्षी बन्दा

होलिस्टिक संवाददाता

केटाकेटी उमेरदेखि नै नर्सिङ पेशामा लाग्ने सपना बुनेकी थिएँ, जो अहिले आएर पूरा भएको छ । केटाकेटी उमेरमा स्कुल जाने क्रममा बाटो, पसल, होटल, हस्पिटल आदि ठाउँमा नर्सहरूलाई देख्दा खुसी लाग्थ्यो ।

वास्तवमा मलाई कसैको सेवा गर्न र दुःखमा परेकाहरूको मलमपट्टी गर्न पाउँदा एकदमै आनन्द लाग्छ । अस्पतालमा काम गर्ने सिलसिलामा धेरै खालका अपरिचित मानिसहरू भेट भए । सबै मान्छे एकै नासका हुँदा रहेनछन् । कोही–कोही त आफूले जतिसुकै राम्रो गरे पनि गाली मात्रै गरिरहने स्वभावका पनि हुँदा रहेछन् । यस्तो देख्दा र भोग्दा भने नराम्रो लाग्छ ।

अस्पतालमा काम गर्ने सिलसिलामै एक दिन निकै नराम्रो घटना आइपर्‍यो । सानैदेखि मृत शरीर हेर्न डराउने मान्छे म । त्यसैले आफ्नै अगाडि कोही मर्न लाग्दा एकदमै डराउने भैहालें । म औषधि खुवाउन पुग्दा त निकै उमेर ढल्किसकेकी एक आमा बेडमै बितिसक्नु भएछ । उहाँलाई रोगले पनि निकै गालिसकेको थियो ।

जब ती आमाका परिवारजन डाँको छाडेर रुन थाले, म पनि असाध्यै भावुक भएँ । मेरा आँखाभरि आँसु टिलपिलाए । त्यस दिनको ड्युटी सकेर फर्किसकेपछि पनि उनका परिवारजनको रुवाइ र ती आमाको अनुहार मेरो मनमस्तिष्कमा झल्झली आइरह्यो । एक–दुई दिनपछिसम्म पनि मलाई उक्त घटना बिर्सन र त्यो वेदनबाट मुक्त हुन गाह्रो भयो ।

अहिले भने त्यस्ता घटनाको सामना गर्नुपर्दा मलाई खासै डर लाग्दैन । जो–कोही पनि जन्मेपछि एक दिन त मर्नैपर्छ भन्ने यथार्थतालाई आत्मसात् गर्न सिकिसकेकी छु ।

मनिता लिम्बू
मनमोहन मेमोरियल हस्पिटल, बिर्तामोड