‘दर्शक हँसाउँदा इँजार खुस्केको पत्तै पाइएन’ : नाटक र चलचित्रमा उत्तमका अनुभूति
होलिस्टिक संवाददाता
राष्ट्रिय नाचघरमा हुने नाटकदेखि लिएर नेपाल टेलिभिजन स्थापना भएपश्चात् बनेका टेलिशृङ्खला हुँदै चलचित्रसम्ममा अभिनय गर्ने कलाकार हुन्, उत्तम केसी । उनी उत्तम केसीभन्दा पनि उनले बोल्ने थेगो ‘चुइँ–चुइँ पारेर’ बाट धेरैले चिन्छन् ।
दर्जनौं टेलिशृङ्खलामा अभिनय गरिसकेका उत्तमले चलचित्रमा पनि उत्तिकै मात्रामा अभिनय गरेका छन् । चलचित्रमा उत्तमलाई ‘चङ्खे’ को भूमिकामा देख्न सकिन्छ । चलचित्र ‘चण्डाल’, ‘नाइँ नभन्नु ल’, ‘चोर’, ‘चमत्कार’, ‘धर्म’, ‘ईश्वर’ लगायतमा अभिनय गरिसकेका उत्तम चलचित्र विकास बोर्डका पूर्वसदस्य समेत हुन् ।
अभिनयका रमाइला पल
२०३८ मा राष्ट्रिय नाचघरमा अभिनय गर्दाको क्षण निकै नै यादगार रहेको सुनाउँछन् उत्तम । ‘कर्मको रेखा’ भन्ने नाटकमा अभिनय गरेर दर्शक हँसाएको क्षण भुल्न नसकिने बताउँछन् उनी । त्यस नाटकमा उनले कमेडियनको भूमिका निभाए । ‘कर्मको रेखामा अभिनय गर्ने मौका पाएको थिएँ, त्यसमा मैले निकै फुर्तिफार्तिका साथ डाइलग बोलेको थिएँ’– उनी सम्झन्छन् ।
‘म जति–जति हौसिएर बोल्छु, दर्शक उति नै धेरै हाँसेको हाँस्यै गर्छन्,’ त्यो क्षण सम्झँदै उत्तमले भने– ‘दर्शक हाँसेको देखेर ममा झन्–झन् जोस बढ्यो । मैले जोस बढाउँदै गएँ, मान्छेहरू झन्–झन् बढी हाँसे । त्यति धेरै किन हाँसेछन् भन्ने त पछि पो थाहा भयो; इँजार चुँडिएर मेरो सुरुवाल घुँडाभन्दा तल झरेछ, मैले पत्तै पाइनँ । त्यो क्षण नै मैले कहिल्यै बिर्सन नसकेको क्षण हो ।’
नेपाल टेलिभिजन स्थापनाको सुरुआतमै प्रशारण हुन थालेको धारावाहिक टेलीशृङ्खला ‘अलिखित’ मा पनि अभिनय गर्ने मौका पाए उत्तमले । कलाकार एवम् चलचित्र निर्देशक रमेश बुढाथोकीले निर्देशन गरेको उक्त शृङ्खलामा खेल्न उत्तमलाई अफर आयो ।
निर्देशक रमेशले उत्तमलाई सोधे– ‘भोजपुरी बोल्न आउँछ त ?’
उनले जवाफ दिए– ‘आउँछ ।’
उत्तमले हौसिएरै ‘आइहाल्छ नि’ भनेपछि रमेश पनि खुसी भए । तर, खासमा उत्तमलाई भोजपुरी भाषा पटक्कै आउँदो रहेनछ, गफ चाहिँ दिइहालेछन् । ‘भोजपुरी आउँछ त भनियो र खेल्न तयार पनि भइयो, पटुवारीको रोल पाइहालें,’ उनले सुनाए– ‘पटुवारीले लगाउने ड्रेस पनि लगाएँ । कपाल खौरिएको, चस्मा लगाएको, टुप्पी ठाडो पारेको, धोती बेरेको अनि हातमा छाता बोकेको भेषमा प्रस्तुत भइयो ।’
उनी भन्दै गए– ‘हिरो मामा गाउँबाट फर्केर आउँदा बाटोमा ढ्याक्क छेकेर अट्याक गर्नुपर्ने सिन थियो, त्यो सिनमा बोल्नुपर्ने डाइलग नै बोल्न सकिनँ किनभने एक त मलाई भोजपुरी भाषा नै नआउने, अर्कातिर आलीको डिलबाट फाल हालेर बाटो छेक्नुपर्ने । यसरी अभिनय गर्न नसकेपछि मैले खुब गाली खाएँ, त्यो पनि मेरो अर्को भुल्नै नसक्ने अनुभव हो ।’
रमाइला नै लाग्छन् सबै अभिनेता
उत्तमले धेरैजसो चलचित्र राजेश हमालसँग खेले । नयाँ–पुराना सबै पुस्ताका अभिनेतासँग उनले काम गरे । सबै आ–आफ्नै ठाउँमा राम्रै रहेको उनी सुनाउँछन् । राजेश हमालसँग उनको भेट चलचित्र ‘चण्डाल’ मा भएको थियो । यो चलचित्रमा राजेशसँग उत्तमको अभिनय राम्रै जमेको थियो ।
त्यसपछि हमालसँगै उत्तमले लगातार ‘चोर’, ‘चमत्कार’ लगायतका दर्जनजति चलचित्रमा काम गरे । ‘चलचित्र–यात्रामा मैले अधिकाङ्श अभिनय राजेश हमालसँगै गरें र अरु थुप्रै अभिनेतासँग पनि काम गरियो,’ उत्तम भन्छन्– ‘तर, अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कासँग भने अभिनय गर्ने मौका पाएको छैन मैले ।’
दैनिकी र खानपान
आम जनताको भन्दा खासै फरक छैन उत्तमको दैनिकी । बिहान ६ बजेतिर उठ्छन् । नित्यकर्म सकेपछि दुई–तीन गिलास तातो पानी पिउँछन् । आफ्नै घरको वरिपरि आधा घन्टाजति घुम्छन् ।
आफन्ै बारीमा उब्जने साग, तरकारी र आलु खाने गरेका छन् । बजारबाट तरकारी खासै किन्नु नपर्ने उनको भनाइ छ ।
बाहिर निस्केका बेला रोटी–तरकारी वा चिउरा–तरकारी दिउँसोको खाजाका रूपमा खान्छन् । खाने कुरामा केही पनि बार्दैनन् । चाउचाउ, मःमः, चाउमिनजस्ता परिकारमा खासै इन्ट्रेस्ट नभए पनि आक्कलझुक्कल खाने गरेका छन् ।
सुटिङका बेला जे पाइन्छ त्यही खानुपर्ने बाध्यता उनी सुनाउँछन् । पछिल्लो समय सुगरको रोगी भएकाले चिल्लो पदार्थ बढी भएका खाने कुरा खाँदैनन् । उनले सुगरको औषधि नियमितरूपमा सेवन गरिरहेका छन् । डाक्टरको सल्लाहबमोजिम नै औषधि खाने गरेको उनले बताए ।