सुन्दरताले धपक्कै क्यामेलिया फूल

अनिता सुनुवार

क्यामेलिया फुलेको समयमा झट्ट हेर्दा गुलाबजस्तै देखिन्छ । अर्थात् यो लालीगुराँस जस्तो पनि देखिन्छ । गर्मी यामको सुरुआतसँगै फुल्न थाल्छ क्यामेलिया । रङ्गीविरङ्गी क्यामेलिया फुलेका बेला कसको मन पो लोभिँदैन र ! आहा, मनमोहक क्यामेलिया फूल !

क्यामेलिया फुल्दा बगैंचा अर्थात् गार्डेन हराभरा हुन्छ, सुन्दरताले धपक्कै देखिन्छ । यसको सुन्दरताले कसलाई पो मोहित तुल्याउँदैन र ! नर्सरीहरूमा समेत ढपक्कै क्यामेलिया फुलेको देख्न सकिन्छ । यो फूलका शौखिन पनि बढिरहेका छन् ।

यो फूलका आधाभन्दा बढी रङ्गहरू मुख्यरूपमा नेपालमा मन पराइन्छन् । गुलाबी/पिङ्क, रातो, छिरबिरे, सेतोजस्ता रङ्गहरू बढी मन पराइन्छन् । वसन्त ऋतुको आगमनसँगै गार्डेन या बगैंचामा रङ्गीविरङ्गी क्यामेलिया फुल्न थाल्छन् । जमिनमा मात्र होइन, यो फूल गमलामा पनि उत्तिकै राम्ररी फुलाउन सकिन्छ ।

पछिल्लो समय यो फूललाई हाइब्रिड अर्थात् कलमी गरेर स–साना गमलामा पनि ढपक्क फुलाउने गरिएको छ । यो प्रविधिको विकाससँगै काठमाडौं उपत्यकाका नर्सरी तथा बगौंचाहरूमा राखिएका स–साना गमलामा क्यामेलिया ढपक्कै फुलेको देखिन थालेको छ । क्यामेलिया बहुवर्षीय फूल हो । अर्थात्, एक पटक रोपेपछि यो वर्षौंसम्म फुल्छ र यसको बोट सितिमिति मर्दैन । त्यसैले यसलाई निकै ज्याद्रो फूलका रूपमा समेत लिइन्छ । न यसको बोट सजिलै मर्छ, न त कमजोर नै हुन्छ ।

हेर्दा गुलाबजस्तै देखिने भएकाले यस फूललाई ‘चिनिया गुलाब’ का नामले समेत चिनिन्छ । करिब–करिब गुराँस फुल्ने समयमै फुल्ने र झट्ट हेर्दा गुराँसजस्तै पनि देखिने भएकाले यो ‘चिनिया गुराँस’ का नामले पनि चिनिने गरेको छ । रातो रङ्गको क्यामेलिया फुल्दा त्यसले गुराँसकै झल्को मेटाउँछ । यो फूल गार्डेनमा फुल्दा गुराँस फुलेजस्तै पनि देखिन्छ । यसले गुराँसको तृष्णा नै मेटाइदिन्छ ।

क्यामेलिया फुल्दा त्यस बोटका पातहरू छोपिन्छन्, पात नै कहीं–कतै देखिँदैनन् । घर अगाडि या कौसीमा क्यामेलिया फुल्दा घरको शोभा त बढ्ने नै भयो ।

यसका बिरुवा हिङ्गुवा चिया प्रजातिमा पर्दछन् । क्यामेलियाको उद्गमस्थल एसिया क्षेत्र नै मानिन्छ । एसियामा पनि चीनलाई नै यस फूलको उद्गमस्थल मानिन्छ । त्यसैले यस फूललाई ‘चाइनिज रोज’ का नामले समेत चिन्ने गरिन्छ । हाइब्रिड गरेर यसका तीन हजारभन्दा बढ्ता भेराइटी बनाइएको पाइन्छ ।

चीन, जापानजस्ता मुलुकमा यस फूललाई प्रेमको प्रतीकका रूपमा लिने गरिएको पाइन्छ । यो फूल हेर्दा मानिसमा सकारात्मक सोच पैदा हुने विश्वास रहेको पाइन्छ । हुन पनि हो, क्यामेलिया फुल्दाको सुन्दरताले शारीरिक थकान मेटिन्छ र मानसिक तानव समेत कम भएको महसुस हुन्छ । पछिल्लो समय क्यामेलिया फूल संसारभर नै फैलन थालेको छ । अध्ययनअनुसार यस फूलको अर्थ लगाउने र नामकरण गर्ने काम जर्ज जोसेफ क्यामेलियालगायतले बोटानिस्टहरूले गरेका हुन् ।

क्यामेलियाको अर्को पनि निकै राम्रो गुण छ । यसका पात बाह्रै महिना हरिया रहन्छन् । पालुवा फेर्ने समयमा पात झर्ने भए तापनि अन्य समयमा हरियै रहन्छन् । फुलेका बेला फूलको सुन्दरताले ढाक्ने नै भयो, नफुलेका बेला पनि हरियालीपूर्ण देखिनु यसको विशेषता हो । त्यसैले पनि यो फूलका पारखीहरू बढेको मान्न सकिन्छ ।

सामान्यतः क्यामेलिया माघदेखि फुल्न सुरु गर्छ र वैशाखसम्म फुलिरहन्छ । क्यामेलिया फूलको थुँगो करिब महिना दिनसम्म टिक्छ । बोट जति ठूलो भयो, त्यति धेरै फुल्ने भएकाले यो झण्डै तीन महिनासम्म फुल्छ । टिकाउका हिसाबले पनि यो फूल राम्रै छ । त्यसैले घर या गार्डेन सजाउन यसको लोकप्रियता बढ्दै गएको छ । थुँगा लामो समयसम्म नओइलाउने भएकाले टिपेर पनि केही दिनसम्म राख्न वा सजाउन सकिन्छ ।

जमिनमा रोपिए यसको बोट करिव २० फिटसम्म अग्लो हुने गरेको देखिन्छ । क्यामेलियाको एउटा बोटको आयु करिब ४० वर्षसम्म हुन्छ । एउटा बोटमा क्यामेलिया ४० वर्षसम्म राम्रैसँग फुल्छ । विशेषतः पहाडी तथा उच्च पहाडी हावापानी मन पराउने फूल हो क्यामेलिया । यस फूलका बिरुवा एक हजार पाँच सयदेखि दुई हजार एक सय मिटरसम्मको उचाइमा अत्यन्तै राम्रोसँग फस्टाउँछन् र सुन्दर ढङ्गले फुल्छन् । काठमाडौं उपत्यका, पोखराजस्ता ठाउँको हावापानी र वातावरणमा क्यामेलिया राम्रोसँग फुल्छ, फुलाउन सकिन्छ ।

चाहे जमिनमा होस् वा गमलामा नै किन नहोस् यस फूलको बिरुवालाई ओसिलो वातावरणमा रोप्नुपर्छ । बढी घाम लाग्ने ठाउँमा रोपेमा पात डढ्ने, फूल नै डढ्ने, चाँडै ओइलाउनेजस्ता समस्या हुन्छन् । यसको अर्थ घाम पर्नै हुँदैन भन्ने पनि होइन । सामान्यतः दैनिक एक घण्टाजति घाम पर्दा केही असर पर्दैन । उच्च पहाडी ठाउँमा भने योभन्दा बढी घाम पर्दा पनि नकारात्मक असर पर्दैन ।

यस फूलको बिरुवा वा बोटमा कडा किसिमको मल हाल्नु हुँदैन । कडा वा धेरै मल प्रयोग गरिए केही महिनापछि बोट मर्ने जोखिम हुन्छ । यद्यपि यसको बिरुवा हुर्काउन निकै सजिलो छ । यसको फेदमा पात–पतिङ्गर हालिदिए पुग्छ । यसका लागि कम्पोस्ट मल नै उचित हुन्छ ।

पानी हाल्न भने अलिक ध्यान दिनुपर्छ । क्यामेलियाको बिरुवालाई सुख्खा हुन दिनै हुँदैन, ओसिलो बनाइरहनु पर्छ । धेरै पानी हाल्नु भने हुँदैन । जमिन या गमलामा जहाँसुकै होस्, सुख्खा हुनुअगाडि नै पानी हाल्नुपर्छ । गमलामा रोपेको बिरुवालाई त झन् सुख्खा हुन दिनै हुँदैन । चिस्यानको अवस्था मापन गर्नका लागि बिरुवा रोपेको माटोमा औंला गाड्दा दुई इन्चभन्दा तल चिसो पाइएन भने पानी हालिहाल्नु पर्छ ।

यो फूल त्यति धेरै महँगो पर्दैन । बिरुवाको आकारअनुसार काठमाडौं उपत्यकाका नर्सरीहरूमा सामान्यतः दुई सय रुपैयाँभन्दा माथिको मूल्यमा किन्न पाइन्छ । आकारअनुसार पाँच–छ फिटको क्यामेलियाको बोटलाई चार–पाँच हजार रुपैयाँसम्म पनि पर्छ । बढीमा पन्ध्र–बीस हजार रुपैयाँसम्ममा खरिद–बिक्री हुने गरेको पाइन्छ ।

क्यामेलियामा प्राकृतिक चिकित्सकीय लाभका गुणहरू पनि छन् । प्राकृतिक उपचार विधिमा यसको प्रयोग गरिन्छ । छालाको सुन्दरता तथा चमक बढाउन क्यामेलिया फूल लाभदायक मानिन्छ । यस फूलको तेल प्रयोग गर्दा छालामा चमक त आउँछ नै, विभिन्न खाले घाउ–खटिराबाट समेत बच्न सकिने प्राकृतिक चिकित्सकहरूको भनाइ छ ।

क्यामेलियाको तेलमा एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटोरी, पोलिफेनोल्स, फ्याट्टी एसिड, भिटामिन तथा मिनरल्सजस्ता तत्व पाइन्छन् ।