पहिलो पल्ट मृतकसँग जम्काभेट: नर्सिङ अनुभूति
होलिस्टिक संवाददातानर्सिङ पेशामा लाग्नुभन्दा अगाडि हाम्रो जीवनशैली बेग्लै थियो । गाउँघरमा कोही मर्यो भने पनि त्यहाँ जादैनथें । डरका कारण मान्छे मरेको नजिकै परेर हेर्दा पनि हेर्दैनथें । नजिकै पुग्दा पनि बाजेसँग परै बसेर हेर्दथें ।
जब नर्सिङ पेशामा लागियो, त्यसपछि त्यस्तो डर–त्रास केही हुन छाड्यो । एउटा घटनाको मलाई अहिले पनि याद छ । मेडिकल वार्डमा, सायद मर्निङ ड्युटी गरिरहेकी थिएँ । एक जना बिरामीलाई ईसीजी (एक प्रकारको एक्स–रे) गर्न तल लगिएको थियो । उहाँलाई पट्टी लगाइदिने क्रममा नै उहाँको निधन भैसकेको रहेछ, त्यो कुरा मलाई थाहा थिएन ।
स्टाफ दिदीले मलाई ‘भाइटल्स ल्याउ बहिनी’ भन्नुभयो । अनि म भाइटल्स लिन भनेर उहाँको छेउमा गएँ । पल्स लिन खोज्छु त फिल नै हुँदैन । ब्लड प्रेसर लिन्छु, केही थाहै हुँदैन । ती दिदीलाई भनें– ‘खै, केही रेस्पोन्स नै आउँदैन त ।’ अनि ती दिदीले ‘खै छोड त…’ भनेर आफैं हेर्नुभयो अनि भन्नुभयो– ‘बहिनी, यी बिरामी त एक्सपाएर पो भैसक्नु भएछ ।’
जीवनमै कहिल्यै मरेको मान्छेको छेउमै नगएकी म । आफ्नै हातमा पो एक्कासि मरेको मान्छे ! त्यो थाहा पाएपछि चाहिँ साह्रै डर लाग्यो । रुन पनि मन लाग्यो ।
रश्मि गुरूङ
मनमोहन मेमोरियल अस्पताल, झापा