भोला रिजाल: डाक्टरी सफलता र कलासाधना

शङ्कर क्षेत्री

स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. भोला रिजाल चिकित्सकका रूपमा मात्रै सुपरिचित छैनन्; कला–साहित्यका क्षेत्रमा समेत उत्तिकै स्थापित छन् । तीन हजारभन्दा बढी गीत लेखिसकेका ७३ वर्षीय डा. रिजालका चार सयजति गीत रेकर्ड भइसकेका छन् भने उनले आठ वटा चलचित्र समेत बनाएका छन् ।

नेपालमा पहिलो पटक टेस्ट ट्युब बेबी जन्माउने प्रविधि भित्राउने श्रेय पाएका डा. रिजाल स्वयम् टेस्ट ट्युब बेबी (आईभीएफ) विशेषज्ञ पनि हुन् । वि.सं. २००४ मा जन्मिएका डा. रिजालको जन्मस्थान सुनसरीको धरान हो । उनका पूर्खा धनकुटाबाट बसाइँ सरेर धरान झरेका हुन् । डा. भोलाका जिजुबुबा धुर्वलाल रिजाल धरान झरेपछि उनको परिवार त्यहाँ मात्रै सीमित भएर बसेनन्; त्यहाँबाट फेरि बिराटनगर बसाइँ सर्‍यो ।

पुस्तौंदेखि नै शिक्षित परिवार रहेका भोलाका बुबा जननीप्रसाद पनि कवि नै थिए । डा. रिजालले वि. सं. २०१९ मा बिराटनगरबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि बनारस (भारत) गएर अध्ययन गरी आईएस्सी पास गरे ।

‘कोलम्बो प्लान’ अन्तर्गतको कोटामा भारतमा डाक्टरी पढ्न प्रतिस्पर्धा गरे पनि त्यो मौका भने उनले पाएनन् । तैपनि उनले जसरी पनि डाक्टरी पढ्ने अठोट कायम राखे अनि पूरा गरेरै छाडे ।

एमबीबीएस पढ्दाको रोचकता

भोला रिजालले बङ्गलादेश गएर एमबीबीएस अध्ययन गरे । वि.सं. २०२९ मा ढाका युनिभर्सिटीबाट एमबीबीएस उत्तीर्ण गरेर नेपाल फर्किए । उनले बङ्गलादेशमा पढ्दाको कहानी बडो रोचक छ । पढ्नका लागि सन् १९६६ मा पाकिस्तान गएका थिए । उनले एमबीबीएस पढ्दापढ्दै पूर्वी पाकिस्तान टुक्रियो र बङ्गलादेश बन्यो ।

एमबीबीएस पढ्दा ताका नेपाली विद्यार्थीले समेत बङ्गलादेशको पक्षमा त्यहाँ योद्धाकै रूपमा भूमिका खेलेको उनी अहिले पनि सम्झन्छन् । त्यस क्रममा आफूले पनि बङ्गलादेशको पक्षमा योद्धाकै भूमिका खेलेको उनले बिर्सने कुरै भएन ।

त्यही क्रममा उनले बङ्गलादेशमा रहेर नेपाली भाषाको रेडियो कार्यक्रम पनि चलाए । कार्यक्रमको नाम थियो– ‘यो हाम्रो देश, कति राम्रो देश !’ त्यसैबेला उनले गीत पनि लेखे– ‘यो हाम्रो देश, यो हो बङ्गलादेश… ।’ उनले लेखेको त्यो गीत त्यसबेला बङ्गलादेशभर अत्यन्तै लोकप्रिय भएर घन्कँदाको रोमाञ्चकता उनले अझै भुलेका छैनन् ।

बङ्गलादेशको पढाइ असाध्यै राम्रो थियो । उनले पनि साह्रै मेहनत गरेर पढे । ‘सार्थक डाक्टरी जीवनको सपना साँचेर पढ्न गएको मान्छे, किन हेलचेक्र्याइँ गर्थें र ! निकै धेरै मेहनतका साथ पढें’– उनले सुनाए ।

डाक्टरी जागिरयात्रा

वि.सं २०२९ मा एमबीबीएस पूरा गरेर स्वदेश फर्किएपछि उनले बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा तीन महिना काम गरे । त्यसपछि स्थायी सरकारी जागिरे भएर डा. भोला कपिलवस्तुस्थित तौलिहवा अस्पतालमा पुगे ।

बिरामीको उपचारका निम्ति त्यसबेला तौलिहवा अस्पतालमा न्यूनतम स्रोत–साधनकै अभाव थियो । बिस्तारै स्रोत–साधन, सुविधा र सेवाको विस्तार गर्दै लगिएको सुनाउँदै डा. भोला भन्छन्– ‘हाम्रै पहलमा केही पछिदेखि नै शल्यक्रिया कक्ष सुचारु गरियो ।’

कपिलवस्तुमा कार्यरत हुँदा उनी आफैंलाई दायाँ मिर्गौलामा पत्थरी भयो । शल्यक्रिया नगरी विभिन्न प्राकृतिक औषधिबाटै उनलाई निको भयो । वि.सं. २०३१ मा उनी सप्तरीस्थित राजविराज अञ्चल अस्पताल सरुवा भए । र, उनले वि.सं. २०३५ सम्म त्यहीं काम गरे ।

श्रीमतीको प्रसव पीडापछि स्त्रीरोगको अध्ययन

डा. भोला राजविराजमै कार्यरत रहेका बेला उनकी श्रीमती सरलालाई प्रसव पीडाले च्याप्यो । राति नै बिराटनगर पुर्‍याएर शल्यक्रिया गराए । आमा र बच्चा दुवैको जीवन बच्यो । अहिले पनि सन्तोष व्यक्त गर्दै डा. भोलाले सुनाए– ‘उनी बाँचिन् ।’ केही समयअघि क्यान्सरले सताएकी सरला अहिले भने स्वस्थ रहेको डा. रिजालले बताए ।

आफ्नै श्रीमतीलाई प्रसव समस्या आइलागेपछि नै हो डा. भोलालाई प्रसूती रोगसम्बन्धी अध्ययन गर्ने विचार पलाएको । त्यसपछि वि.सं. २०३६ मा फेरि बङ्गलादेश (ढाका) पुगे र स्त्री तथा प्रसूती विषयमा एमडी तहको अध्ययन गर्न थाले । ‘इस्टिच्युड अफ पोस्ट ग्र्याजुएट एण्ड मेडिसिन एण्ड रिसर्च सेन्टर’ बाट उनले एमडी अध्ययन पूरा गरे ।

सन् २०३९ मा स्त्री तथा प्रसूती रोगसम्बन्धमा एमडी गरेर डा. रिजाल नेपाल फर्कंदा त किन हो कुन्नि, उनको सरकारी जागिर नै पो गैसकेछ । ‘तीन वर्ष बङ्गलादेशमा पढेर फर्कंदा त मेरो जागिरै गएछ’– उनले सुनाए । दसै वर्ष विदेश बस्नेलाई समेत सरकारी जागिरबाट नहटाइए पनि आफूलाई भने नेपाल फर्कनुभन्दा पच्चीस दिनअघि जागिरबाट हटाइएको पाउँदा उनी अच्चमित भए ।

डाक्टर मान्छे, बिरामीको सेवा त गर्नैपर्‍यो र जागिर पनि खानैपर्‍यो । नेपाल फर्किएको केही समयपछि त्रिवि शिक्षण अस्पतालमा जागिरे भए । करारमा नियुक्ति पाएका उनले टिचिङ हस्पिटलको निर्देशकको भूमिका समेत निर्वाह गरे । वि.सं. २०५० मा उनी टिचिङको जागिर छाड्ने निर्णयमा पुगे ।

टिचिङका कतिपय विषयमा असहमति रहेपछि आफूले जागिर छोडेको डा. रिजालले सुनाए । टिचिङ छाडेपछि उनले ॐ अस्पताल स्थापना गरे र त्यहींबाट बिरामीलाई सेवा दिन थाले ।

गर्भपतन र टेस्ट ट्युब बेबीको श्रेय

नेपालमा पनि गर्भपतनले कानुनी मान्यता पाउनुपर्छ भन्ने पक्षमा उभिँदा कतिपयले आफूलाई फाँसी दिनुपर्छ भनेको उनले बताए । नेपालमा मातृ मृत्युदर उच्च हुनुका विभिन्न कारणमध्ये एउटा प्रमुख कारण असुरक्षित गर्भपतन समेत भएकाले सुरक्षित गर्भपतनको कानुनी बाटो खोल्न आफूहरूले गरेको पहल र प्रयास सम्झँदै डा. रिजालले भने– ‘सुरक्षित गर्भपतनका पक्षमा कानुनी व्यवस्था गर्न हामीले धेरै नै सङ्घर्ष गर्नुपर्‍यो ।’ आफूसहित डा. अरुणा उप्रेती, कानुनविद् सपना मल्ल, डा. सुनील भण्डारी, लक्ष्मीराज पाठकलगायतले निकै प्रयास र पहल गरेपछि नेपालमा सुरक्षित गर्भपतनको कानुनी बाटो खुलेको डा. रिजालले बताए ।

अर्कातिर, निःसन्तान दम्पतिलाई सन्तान प्राप्तिको उपाय पहिल्याउने उद्देश्यका साथ आफ्नै पहलमा नेपालमै टेस्टट्युब बेबी जन्माउने प्रविधिको सुरुआत गरिएको बताउँदै उनले भने– ‘नेपालमा वि.सं. २०६० देखि टेस्ट्युब बेबी जन्माउने सेवा ॐ अस्पतालबाटै सुरु भयो ।’ नेपालमा पहिलो टेस्टट्युब बेबी जन्माउने श्रेय डा. रिजालले नै पाए ।

उसो त नेपालमा पहिलो पुरुष गाइनोकोलोजिस्ट पनि आफू नै भएको डा. रिजाल बताउँछन् । अहिले नेपालमा निःसन्तान समस्या समाधानका निम्ति अनेकौं उपचार सेवा र प्रविधि पनि उपलब्ध छन् । सुरक्षित गर्भपतन सेवा समेत व्यापक भैसकेको उनको भनाइ छ ।

देश–विदेश जता पनि आफूलाई धेरैले श्रद्धाभाव प्रकट गर्ने, आदर र सम्मान गर्ने अनि आशीर्वाद दिने गरेकामा उनी सन्तुष्ट छन् । ‘विदेश पुग्दा समेत ‘म त तपाईंले बचाएको मान्छे’ भन्नुहुन्छ; आदर, सम्मान र आशीर्वाद दिनुहुन्छ; यो नै मेरा निम्ति सबैभन्दा ठूलो आत्मसन्तुष्टिको विषय र जीवनको सर्वोत्कृष्ट प्राप्ति हो’– डा. भोला रिजालले सुनाए ।