यसरी बनाउनोस् मिठा परिकार

होलिस्टिक संवाददाता

बटर चिकेन

आवश्यक सामग्रीः

म्यारिनेटका लागिः चिकेन– स–साना टुक्रा पारेर छाला र हड्डी निकालिएको फिला वा छातीको भाग, दही– आधा कप (करिब १०० ग्राम), अदुवा– डेढ चम्चा (ठूलो चम्चा, मसिनो गरी पिसेको), लसुन– एक ठूलो चम्चा (मसिनो गरी काटेको वा पिसेको), गरम मसलाको धुलो– २ सानो चम्चा, बेसार– १ सानो चम्चा, जिराको धुलो– १ सानो चम्चा, रातो खुर्सानीको धुलो– १ सानो चम्चा, नुन– १ सानो चम्चा ।

ससका लागिः जैतुनको तेल– २ ठूलो चम्चा, घ्यु– २ ठूलो चम्चा, प्याज– एउटा, (ठूलो, मसिनो गरी काटेको), अदुवा– डेढ ठूलो चम्चा (मसिनो गरी पिसेको), लसुन– एक (ठूलो) चम्चा ( मसिनो गरी काटेको वा पिसेको), जिराको धुलो– डेढ (सानो) चम्चा, गरम मसला– डेढ (सानो) चम्चा, धनियाँको धुलो– डेढ (सानो) चम्चा, गोलभेडा– ५ वटा (ठिक्क साइजको, काटेर पिसेको), रातो खुर्सानीको धुलो– १ (सानो) चम्चा, नुन– स्वाद अनुसार, क्रिम– १ कप (२०० ग्राम), चिनी– १ (ठूलो) चम्चा, मेथी– आधा (सानो) चम्चा ।

बनाउने तरिकाः

म्यारिनेटका लागि तयार पारिएका सामग्रीहरू राखेर मजाले मोल्ने अनि करिब एक घन्टा म्यारिनेटका निम्ति छाडिदिने । त्यसपछि एउटा गहिरो भाँडामा तेल तताउने, तेल तातेपछि मध्यम आगो बनाएर म्यारिनेट गरिएको चिकेनका टुक्रालाई त्यसमा राख्ने । सबै टुक्रा एकैसाथ नराख्ने, थोरै–थोरै गर्दै करिब ३ पटकमा सकिने गरी तताइएको तेलमा चिकेन राखिसक्ने ।

त्यसपछि खैरो नहुन्जेलसम्म (करिब ३ मिनेट) फ्राई गर्ने । फ्राई गरेपछि त्यसलाई निकालेर एउटा छुट्टै भाँडामा राख्ने । अब त्यही प्यानमा घ्यु तताउने र मसिनो आगोमा (करिब ६ मिनेट) प्याज तार्ने । त्यसपछि भाँडाको पिँधमा टाँसिन नदिने गरी चलाउँदै फ्राई गर्ने ।

अब अदुवा र लसुन राख्ने अनि करिब एक मिनेटसम्म (बासना नउन्जेलसम्म) पकाउने । त्यसपछि धनियाँ, जिरा र गरम मसला (धुलो) राख्ने करिब २० सेकेन्डसम्म (बासना आउने गरी) चलाउँदै पकाउने ।

अब पिसेको गोलभेंडा, खुर्सानीको धुलो र नुन राख्ने । त्यसपछि १० देखि १५ मिनेटसम्म (फत्कने गरी) चलाउँदै गाडा रङ्गको नभइन्जेल पकाउने । त्यसपछि आगोबाट झिक्ने अनि मसिनो हुने गरी पेल्ने । ग्राइन्डरको सहायताले पनि पेल्न सकिन्छ । बाक्लो भएमा थोरै पानी पनि मिलाउन सकिन्छ ।

अब यो ससलाई प्यानमा राख्ने अनि त्यसमा क्रिम, चिनी अनि पिसेको मेथी राख्ने । त्यसपछि सुरुमा तयार पारिएको चिकेन राख्ने अनि ८–१० मिनेटसम्म पकाउने । यति गर्दासम्म चिकेन पूरै पाकिसक्छ र सस पनि बाक्लो हुन्छ ।

बटर चिकेन तयार भयो, त्यसमाथि थोरै धनियाँको पत्ता राखेर आगोबाट झिक्ने । यसलाई भात वा रोटीसँग खान सकिन्छ ।

कुल्फी

आवश्यक सामग्रीः

दूध– ४ कप (८०० मिलिलिटर), पाउरोटी– १ स्लाइस, कर्नस्टार्च– एक (सानो) चम्चा, चिनी– ५० ग्राम, अलैंची– आधा (सानो) चम्चा, पिस्ता– १० वटा (टुक्रा पारेको) ।

बनाउने तरिकाः

पाउरोटीको छेउको खैरो भाग हटाउने र बीचको भागलाई मसिनो गरी काट्ने । पाउरोटीका टुक्रा, कर्नस्टार्च अनि आधा कप दूधलाई ब्लेन्डरमा राखेर मसिनो हुने गरी पेल्ने । बाँकी दूधलाई फ्राई प्यानमा राखी मध्यम रापको आगोमा उमाल्ने ।

त्यसपछि दूधलाई चलाउँदै पकाउने । त्यसपछि पनि भाँडामा नटाँसिने गरी चलाउँदै १२–१५ मिनेटसम्म दूधलाई पकाउने । त्यसपछि भने आगो थोरै घटाउने ।

अब अघि तयार पारिएको पाउरोटीको पेस्टलाई सोही प्यानमा थप्ने अनि करिब ४ मिनेटजति फेरि पकाउने । त्यसपछि चिनी अनि पेस्ता थप्ने र २ मिनेटजति अझै पकाउने । अब आगो बन्द गर्ने र माथिबाट अलैंचीको धुलो थप्ने । त्यसपछि यसलाई सेलाउन दिने । पूरै सेलाएपछि बटुकोमा राख्ने र स–साना कुल्फी बनाउने हो भने त्यहीअनुसारका भाँडामा राख्ने ।

अब यसलाई हावा नछिर्ने गरी प्लास्टिकले मोड्ने । त्यसपछि फ्रिजरमा राख्ने । करिब ७ घन्टा फ्रिजरमा राखेपछि कुल्फी तयार हुन्छ ।

प्यान केक

आवश्यक सामग्रीः

मैदा– डेढ कप, बेकिङ पाउडर– ३ (सानो) चम्चा, नुन– १ (सानो) चम्चा, चिनी– १ (ठूलो) चम्चा, दूध– १ कप, अण्डा– एउटा, बटर (पगालेको)– ३ (ठूलो) चम्चा ।

बनाउने तरिकाः

एउटा ठूलो भाँडामा, मैदा, बेकिङ पाउडर, नुन अनि चिनी राख्ने र मजाले मिक्स गर्ने । बीचमा खाल्डो बनाउने अनि त्यसमा दूध, अण्डा र बटर राख्ने । त्यसपछि एकैनासको हुने गरी मोल्ने । एउटा फ्राइङ प्यानमा थोरै तेल लगाउने अनि त्यसलाई तताउने ।

अब माथि तयार पारिएको ब्याटर राख्ने । केहीबेर पकाएपछि त्यसलाई फर्काउने । प्यान केक तयार भयो । यसलाई तात्तातै खान राम्रो हुन्छ । माथि तयार भएको ब्याटरबाट ८ वटा प्यान केक बनाउन सकिन्छ ।