कोरोनाविरुद्धको खोप: मिथ्या र तथ्य

डा. शेरबहादुर पुन

कोरोनाभाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेका बेला यसका विरुद्धको खोप कहिले बन्ला भन्ने व्यग्रतापूर्वक प्रतिक्षा भैरहेको थियो । अब भने खोप बनेको छ; बनेको मात्र छैन, नेपालमा समेत भित्रिएको छ र कयौं नागरिकले कोरोनाविरुद्धको खोप सेवा समेत पाइसकेका छन् । यतिबेला विश्वका कयौं देशहरूमा झैं नेपालमा पनि कोरोना विरुद्धको खोप अभियान सञ्चालन भैरहेको छ ।

फ्रन्टलाइनमा खटेका र जोखिम समूहको प्राथमिकता क्रमका आधारमा माघ दोस्रो साता (१४ गते) देखि ‘कोभिसिल्ड’ खोप लगाउने अभियान चलिरहेको छ हामीकहाँ । ‘अक्सफोर्ड एस्ट्राजेनेका’ ले विकास गरेको यो खोप ‘सेरम इन्स्टिच्युट अफ इन्डिया’ ले उत्पादन गरेको हो ।

कोरोनाभाइरस (कोभिड– १९) विरुद्धको यस खोपका बारेमा समाज र विज्ञजगत्मा विभिन्न खाले टीका–टिप्पणी र चर्चा–परिचर्चा चलिरहेका छन् । यसका सम्बन्धमा अनेकौं तथ्याङ्क र मिथ्याङ्क पनि सार्वजनिक भैरहेकै छन् । यस खोपबारेका केही तथ्य र केही मिथ्याबारे यहाँ चर्चा गर्ने जमर्को गरिएको छ ।

कोभिसिल्ड: केही मिथ्या

खोप भित्रनासाथ धेरैलाई यो सुरक्षित छैन भन्ने लागेको थियो । किनभने, यो अरु खोपहरूभन्दा निकै छिटो बनेको हो, त्यसैले सुरक्षित छैन भन्ने मिथ्या कयौंको मनमा उत्पन्न भएको थियो । र, त्यसै आधारमा चर्चा–परिचर्चा भएको थियो ।
केही समय अगाडि मात्रै कोभिड– १९ भएर स्वास्थ्यलाभ गरेकाहरूले ‘अब खोपको आवश्यकता छैन’ भन्ने द्विविधा पनि कयौंलाई परेको थियो ।

खोप लगाइसकेपछि स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्नु पर्दैन भन्ने अहिले पनि कयौंलाई लागेको हुन सक्छ । त्यस्तै, कुनै रोग भएकाहरूले खोप लगाउनु हुँदैन भन्ने धेरैलाई लागेको हुन सक्छ । कुनै दीर्घरोग भएकाले खोप लगाउँदा स्वास्थ्यमा झन् जटिलता थपिन्छ भन्नेजस्ता चर्चा पनि सुनिएका छन् ।

कोरोनाभाइरसको सङ्क्रमणले हालसम्म नेपालमा खासै ठूलो क्षति पुर्‍याएन, त्यसैले पनि खोप लगाउनु पर्दैन भन्ने चर्चा पनि यदाकदा सुनिन्छ ।

कोरोना खोप: केही तथ्य

यो खोप परीक्षणको तेस्रो चरण पार गरिसकेर नै आएको हो । त्यसपछिको आम प्रयोगबाट समेत यो खोप सुरक्षित र प्रभावकारी नै देखिएको छ । भारतमा कोभिसिल्ड खोप लगाउन नेपालमा भन्दा केही दिन अगाडि नै सुरु गरिसकिएको थियो । त्यहाँ पनि खोप लगाएकाहरूमा कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको छैन र यसैका कारण मृत्यु भएको पनि पाइएको छैन । निकै ठूलो भारतीय जनसङ्ख्याले लगाइसक्दा पनि कोभिसिल्ड सुरक्षित नै देखिएको छ । सामान्य खाले ‘एडभर्स रियाक्सन’ भने देखिन पनि सक्दछ ।

प्राकृतिकरूपमा संक्रमण भएकाहरूमा बनेको एन्टीबडी धेरै लामो अवधिसम्म नरहने अनुसन्धानहरूले देखाएका छन् । तसर्थ, एक पटक कोभिड– १९ भैसकेपछि पनि खोप लगाउनु पर्दछ ।

खोप लगाउँदैमा त्यसपछि चाहिँ सङ्क्रमण नै हुँदैन भन्ने होइन । कसै–कसैलाई खोप लगाएपछि पनि सङ्क्रमण हुने गरेका घटना अमेरिकाका केही राज्यहरूमा देखिएका छन् । खोप लगाएको व्यक्तिमा सामान्यतः कोरोनाको जटिल अवस्था नहुने भए तापनि सङ्क्रमित हुन सक्छन् ।

खोप नलगाएका र उच्च जोखिमयुक्त समूहका व्यक्तिहरूमा कोरोनाभाइरसको सङ्क्रमण हुन सक्छ । त्यसैले धेरैभन्दा धेरैलाई खोप नलगाएसम्म जनस्वास्थ्यका मापदण्डहरू अपनाउने कुरालाई निरन्तरता दिनुपर्छ । जनस्वास्थ्य मापदण्ड अपनाउने कुरामा हेलचेक्र्याइँ गर्नु हुँदैन ।

कोरोनाभाइरसको सङ्क्रमण हुँदा पाको उमेरका तथा दीर्घरोगीहरूको मृत्यु बढी भएको कुरा यथार्थ हो । त्यसैले पाको उमेरका तथा दीर्घरोगीहरूलाई झन् उच्च प्राथमिकतामा राखेर खोप लगाउनुपर्छ । यसै तथ्यलाई हृदयङ्गम गरेर नेपालमा पनि पाको उमेरकालाई खोप लगाउने सूचीको प्राथमिकतामा राखिएको छ ।

कोरोना सङ्क्रमणको स्थितिमा समेत उतार–चढाव देखिइरहेकाले नेपालमा पनि कोरोनाको फेरि अर्को लहर देखिएमा पाको उमेरका तथा दीर्घरोगीहरूकै थप मृत्यु हुने बढी सम्भावना हुन्छ । एक वर्षको अनुभव र तथ्याङ्कले पनि यही देखाउँदछ । त्यसैले सचेत बन्नुपर्छ र खोप लगाउनुपर्छ ।

वास्तवमा कोरोनाभाइरसले कसैलाई पनि भेदभाव गर्दैन; यो जसलाई पनि सर्न सक्छ । कोरोना सङ्क्रमण भइहालेमा कसैलाई जटिल स्वास्थ्य समस्या निम्तन्छ भने कसैलाई खासै जटिलता नहुन पनि सक्छ । त्यसैले सबैले खोप लगाउनु उपयुक्त हुन्छ ।

निष्कर्षतः कोरोनाभाइरसप्रति कसैले पनि हेलचेक्र्याइँ गर्नै हुँदैन । खोपका सम्बन्धमा पनि भ्रम पाल्नु हुँदैन । कुनै आशङ्का वा द्विविधा भएमा चिकित्सकसँग सल्लाह लिनुपर्छ । र, खोप लगाइसकेपछि पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्छ ।

डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्