परिकार बनाऔं, मजाले खाऔं

होलिस्टिक संवाददाता

चिकेन छोयला

आवश्यक सामग्री

हड्डी निकालेको चिकेन– आधा किलो (ब्रेस्ट भए राम्रो, मसिना क्युब आकारमा काटेको), बेसार– आधा (सानो) चम्चा, खुर्सानीको धुलो– १ (सानो) चम्चा, जिराको धुलो– १ (सानो) चम्चा, अदुवा–लसुनको पेस्ट– १ (सानो) चम्चा, कागती– आधा दाना, गोलभेंडा– २ वटा (सानो साइजका), हरियो खुर्सानी– एउटा, हरियो प्याज (साना झुरा पारी काटेको)– एउटा, धनियाँको पत्ता– १ (ठूलो) चम्चा, तेल– २ (ठूलो) चम्चा, नुन– स्वादअनुसार ।

बनाउने तरिका
एउटा प्यानमा तेल तताउने । तातेको तेलमा चिकेन क्युब राख्ने । बेसार राखेर त्यसलाई सुनौलो भैन्जेलसम्म फ्राई गर्ने । अब त्यसलाई एउटा बटुकामा राख्ने ।
त्यसमाथि खुर्सानीको धुलो, जिराको धुलो, नुन, अदुवा लसुनको पेस्ट, मसिनो गरी काटेको अदुवा–लसुन, कागतीको रस, काटेको गोलभेंडा राखेर मजासँग मोल्ने । अन्त्यमा धनियाँको पत्ता राखेर सर्भ गर्ने ।

भेज कार्बोनारा पास्ता

आवश्यक सामग्री
पेन्ने पास्ता– २ कप (२०० ग्राम), नुन– स्वादअनुसार, सुकेको खुर्सानीका दाना– आधा (सानो) चम्चा, हब्र्स सिजनिङ– आधा (सानो) चम्चा, मरिचको धुलो– एक (सानो) चम्चा, तेल (जैतुन वा सूर्यमुखीको)– आधा (ठूलो) चम्चा, जैतुन– ८–१० दाना, लसुन– २ दाना (ठूलो साइजको),
प्याज (ठीक्क खालको)– आधा (मसिनो गरी काटेको), गाजर (सानो खालको)– एउटा, क्याप्सिकम–आधा ( मसिनो गरी काटेको), भुजा पारिएको चिज– ४–५ (ठूलो) चम्चा, बटर– ३ (ठूलो) चम्चा, मैदा– ३ (ठूलो) चम्चा, दूध– २०० मिलिलिटर ।

बनाउने तरिका
पहिले पानी उमाल्ने । उम्लेको पानीमा पास्ता राखेर २ देखि ३ मिनेटसम्म छोपेर फेरि उमाल्ने ।
त्यसबाट पानी फाल्ने र चिसो पानीले पखालेर एउटा बटुकोमा राख्ने । कराईमा तेल तताउने र मधुरो आगोको रापमा बसाउने । त्यसमा जिरा पड्काउने । मसिनो गरी काटेको लसुन र प्याजलाई हल्का खैरो हुन्जेलसम्म फ्राई गर्ने ।
त्यसमा मैदा राख्ने र त्यसलाई पनि केहीबेर चलाउँदै हल्का खैरो पार्दै भुट्ने । यसमा दूध राख्ने अनि चलाउँदै–चलाउँदै डल्ला नपर्ने गरी पकाउने । हल्का उम्लन थालेपछि त्यसमा क्याप्सिकम राख्ने अनि पानी त¥याएर राखेको पास्ता हाल्ने । त्यसपछि केहीबेर पकाएर त्यसमा चिज राख्ने र केहीबेर फेरि पकाउने । अब हब्र्स सिजनिङ राखेर मजाले चलाउने । त्यसपछि जैतुनका दाना र मरिचको धुलो राख्ने । अन्तमा फेरि छोपेर मधुरो आँचमा पकाउने । पाकिसकेपछि स्वादअनुसार आवश्यक नुन हाल्ने ।

शाही पनीर

आवश्यक सामग्री
पनीर– २५० ग्राम, दही– ५० ग्राम, अदुवा–लसुनको पेस्ट– १ (सानो) चम्चा, रातो खुर्सानीको धुलो– एक चिम्टी, बेसार– एक चिम्टी, नुन– स्वादअनुसार, घ्यु– २ (ठूलो) चम्चा, पानी– १५० मिलिलिटर, जिरा– आधा (सानो) चम्चा, ल्वाङ– २–३ वटा, दालचिनी– २–३ टुक्रा, काजु– १० दाना, बदाम– ७–८ दाना, अलैंची– ३ वटा, हरियो खुर्सानी– एउटा (बीचबाट चिरेको), प्याज– २ वटा (मध्यम साइजका, क्युब आकारमा काटेको), गोलभेंडा– एउटा (मध्यम साइजको, क्युब आकारमा काटेको) ।

बनाउने तरिका
एउटा प्यानमा एक चम्चा घ्यु राखेर तताउने । काजु र बदामलाई हल्का सुनौलो रङ्गको हुन्जेलसम्म फ्राई गर्ने । त्यसपछि प्याज र खुर्सानी राखेर त्यसलाई पनि खैरो हुन्जेल फ्राई गर्ने । अब काटेको गोलभेंडा राख्ने र त्यसलाई लेदो भइन्जेल पकाउने, अनि एउटा बटुकामा राख्ने र सेलाउन दिने ।
अब सोही प्यानमा बाँकी घ्यु राखेर तताउने । जिरा, ल्वाङ, दालचिनी राखेर बासना नआउन्जेल फ्राई गर्ने । त्यसपछि अदुवा–लसुनको पेस्ट राख्ने र १–२ मिनेटसम्म फ्राई गर्ने । अब पहिले बनाएको पेस्ट थप्ने र ३–४ मिनेटसम्म फ्राई गर्ने ।
एउटा कचौरामा दही फिट्ने । आगो सानो पारेर प्यानमा दही राख्ने । सबै सामग्रीलाई मजाले मिक्स गर्ने र केही बेरसम्म पकाउने । अब पानी थप्ने । यसमा थोरै केसर पनि थप्न सकिन्छ । त्यसपछि सबै सामग्रीलाई बाक्लो नभइन्जेलसम्म पकाउने । अन्त्यमा स्वादअनुसार आवश्यक नुन थप्ने । त्यसपछि तयार पारी राखिएको पनीर राख्ने र करिव २ मिनेटसम्म सानो आगोमा पकाउने ।
शाही पनीर तयार भयो । कचौरामा राख्ने । यसलाई रोटी वा भातसँग खान सकिन्छ । माथि उल्लेखित मात्रामा सामग्री प्रयोग गरी बनाइएको पनीर करिव चार जनाका लागि पर्याप्त हुन्छ ।

आलु–तामा

आवश्यक सामग्री
तामा– १ कप (२०० ग्राम), आलु– २ कप (क्युब आकारमा काटेको), बोडी– १ कप (भिजाएको), गोलभेंडा– १ कप, प्याज– आधा कप (मसिना टुक्रा पारेको), खुर्सानीको धुलो– १ (सानो) चम्चा, अदुवा–लसुनको पेस्ट– १ (सानो) चम्चा, बेसार– आधा (सानो) चम्चा, रातो खुर्सानी– २ वटा, जिरा–धानियाँको धुलो– १–१ (सानो) चम्चा, मरिचको धुलो– आधा (सानो) चम्चा, तेल– २ (ठूलो) चम्चा, नुन– स्वादअनुसार, धनियाँ (मसिनो गरी काटेको)– २ (ठूलो) चम्चा ।

बनाउने तरिका
एउटा गहिरो भाँडो (कसौंडी आकारको) मा तेल तताउने । रातो खुर्सानी, मेथी, ज्वानो, सौफ राखेर तार्ने । हल्का डढेपछि प्याज राख्ने । प्याज खैरो भएपछि आगो मसिनो पार्ने । बोडी र गोलभेंडा राख्ने र हल्का चलाउने । काटेर राखेको आलु हाल्ने र करिव ५ मिनेटजति फ्राई गर्ने ।
त्यसपछि तामा राखेर केहीबेर पकाउने । धनियाँ, जिरा, मरिच राख्ने । अन्त्यमा धनियाँको पत्ता राखेर चलाउने अनि २ मिनेटजति पकाउने । त्यसपछि पानी राखेर उमाल्ने । उम्लेपछि आलु–तामा तयार भयो । यसलाई चिउरा वा रोटी या भातसँग खान सकिन्छ ।