सुन्दर गुलाफ, शान्त मन

शङ्कर क्षेत्री

गुलाफ अत्यन्तै सुन्दर फूल हो । बगैंचा तथा गमलामा गुलाफ फुल्दा मनै आनन्दित हुन्छ । बिहानै बगैंचामा गुलाफको फूल फुलेको देख्दा नलोभिने को हुन्छ होला र ! सुन्दर गुलाफ फुल्दा मनै शान्त हुन्छ ।

नेपालको अधिकाङ्श ठाउँमा गुलाफ पाइन्छ । व्यावसायिक हिसाबले हेर्ने हो भने पनि यो फूलको खपत प्राथमिकतामा नै पर्छ । ‘प्रणय दिवस’ का दिन त झन् एकापसमा प्रेमभाव प्रकट गर्दा गुलाफको फूल उपहार दिने चलन बढ्दो छ । विशेषगरी युवा–युवतीहरूबीच गुलाफ दिएर आपसमा प्रेमभाव प्रकट गर्ने चलन बढ्दो छ ।

बगैंचा तथा घरमा रङ्गीचङ्गी गुलाफ फुलेको देख्दा आहा, क्या आनन्द ! गुलाफका डाँठमा तीखा काँडा हुन्छन् । तर, तिनै तीखा काँडामाथि फुल्ने सुन्दर फूल गुलाफ । गुलाफको इतिहास पनि लामै देखिन्छ । यो फूल करिव चार हजार वर्ष अघिदेखि बगैंचामा फुलाउन थालिएको पाइन्छ । इशापूर्व करिव ६ सय वर्षअघि ग्रीक कवयित्री सफाले गुलाफलाई ‘फूलहश्रकी रानी’ को उपमा दिएको पाइन्छ ।

प्राचीन समयमा पनि फूलका शौखिनहरूले बगैंचामा गुलाफको फूल फुलाएर आनन्द लिने गरेको पाइन्छ । नेपालमा घर तथा बगैंचा सजाउन बिरुवा रोप्ने चलन कम छैन । त्यति मात्र होइन, विभिन्न उत्सव तथा कार्यक्रमहरूमा समेत गुलाफको फूल प्रयोग हुन्छ । कसैलाई उपहार दिने बुकी बनाउन होस् वा सजावटका लागि नै किन नहोस्, यो फूलको प्रयोग बढ्दै गएको देखिन्छ ।

कट र पट गरी सामान्यतः दुई भेराइटीका गुलाफ हुन्छन् । कट भेराइटीको गुलाफ फूल काटेर सजाइन्छ भने पट भेराइटीको गुलाफ गमलामा रोपिन्छ र फुलाएर सजाइन्छ ।

रातो, पहेंलो, पिङ्क, कलेजी, रातोमा सेतो मिसिएको, छिर्बिरे आदि रङ्गका गुलाफहरू नेपालमा बढी पाइन्छन् । र, यस्ता फूल नै बढी मन पराउने गरेको पाइन्छ ।

सामान्यतः न्यानोे वातावरणमा यो फूललाई राम्रोसँग फुलाउन सकिन्छ । सफा हावापानीमा स्वस्थ र आकर्षक गुलाफ फुलाउन सकिन्छ । नेपालमा यो फूल गर्मी लागेपछि (फागुनदेखि) राम्ररी फुलाउन सकिन्छ । यो फुलेपछि राम्रोसँग टिक्ने फूल हो ।