सङ्गीत–यात्रामै बाँधिएको अर्जुन–दुर्गाको जोडी
भोला अधिकारीनेपाली गीत–सङ्गीतका क्षेत्रमा आफूलाई लोकप्रिय सङ्गीतकारका रूपमा चिनाउन सफल छन् अर्जुन पोखरेल । कलिलै उमेरदेखि गीत–सङ्गीतमा आफूलाई समर्पित गरेका अर्जुनले सयौं गीतको शब्दरचना, सङ्गीत सिर्जना र स्वराङ्कन गरिसकेका छन् ।
‘सानी मोरी’ नामक एल्बममा २०६१ मा अर्जुनको लोकगीत पहिलो पटक रेकर्ड भएको थियो । उक्त गीत निकै हिट भयो । उनले ‘दिलमाया’ नामक फिल्ममा पहिलो पटक सङ्गीत भर्ने अवसर पाए । ‘दिलमाया’ को ‘टाइटल गीत’ मै सङ्गीत भर्ने अवसर पाएका अर्जुनले पहिलो पटक सङ्गीत सिर्जना गरेको चलचित्रको पहिलो गीत पनि हिट भयो । फिल्ममा सङ्गीत भरेको पहिलो गीत नै हिट भएपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । त्यसपछि त उनले सयौं गीतमा सङ्गीत भर्ने अवसर लगातार पाई नै रहे ।
अर्जुनको सङ्गीत–यात्रा
वि.सं. २०५८ देखि सङ्गीत–यात्रामा लागेका अर्जुनले हरेक गीतमा नयाँपन दिँदै आएका छन् । यसैकारण उनका गीत सधैं चर्चामा रहने गरेका छन् । २०६१ मा लोकगीत रेकर्ड गराएर उनी गायन–यात्रामा समेत अघि बढे । ‘सानी मोरी’ ले नेपाली साङ्गीतिक क्षेत्रमा व्यापक चर्चा त कमायो नै, अडियो क्यासेट पनि राम्रै बिक्री भयो । पहिलो गीतले नै अर्जुनलाई ‘कालिका एफएम अवार्ड’ दिलायो । अर्जुन नामकै अर्का साथीसँगको सहकार्यमा उनले उक्त एल्बम निकालेका थिए ।
‘पहिलो एल्बम मेरा मितज्यू अर्थात् अर्जुन भन्ने मेरा साथीसँगको सहकार्यमा निकालेका थियौं,’ सङ्गीतकार अर्जुनले सुनाए– ‘ती साथी पनि मेरै नामका हुनुहुन्थ्यो, एउटै नाम परेकाले हामी एक–अर्कालाई मितज्यू भन्थ्यौं ।’
‘मेरो स्वरमा रेकर्ड भएको पहिलो गीत (लोकगीत) निकै राम्रो पनि भयो र त्यसले मलाई कालिका एफएमबाट स्थानीय लोकगायकको अवार्ड समेत दिलायो,’ विगत सम्झेर दुःखित हुँदै अर्जुन भन्छन्– ‘तर, अर्का अर्जुनले भने अवार्ड थाप्नै पाउनुभएन; दुर्घटनामा परेर मेरा मितज्यूको निधन भैसकेको थियो; एक्लै स्टेजमा गएर अवार्ड स्वीकार्न मलाई निकै गाह्रो भयो, तैपनि समालिएर लिएँ ।’
अर्जुनले सङ्गीत भरेका प्रायः सबै गीत राम्रै चर्चा कमाउन सफल छन् । उनले सङ्गीत भरेको चलचित्र ‘ऐश्वर्य’ को गीत ‘तिमी रोएको पल’ सर्वाधिक चर्चामा रह्यो; ‘भन्छु आज मनका कुरा’ गीत पनि निकै हिट भयो । उनले सङ्गीत भरेका दर्जनौं गीत हिट–लिस्टमा रहेका छन् भने अरु सयौं गीत राम्रै चर्चामा छन् ।
लकडाउनभित्रै गायिकासँग विवाह
सङ्गीतकार अर्जुन पोखरेल लकडाउनकै बीच गायिका दुर्गा खरेलसँग विवाह–बन्धनमा बाँधिए । गायिका खरेल भने ‘नेपाली तारा’ नामक ‘रियालिटी सो’ मार्फत साङ्गीतिक दुनियाँमा उदाएकी हुन् । करिव डेढ वर्ष लामो प्रेम–सम्बन्धलाई विवाहमा परिणत गरेका अर्जुन र दुर्गा दुवै नै साङ्गीतिक क्षेत्रका सफल साधक हुन् ।
उनले गाएको ‘त्यो काले काले केटो’ बोलको गीतले दुर्गालाई चर्चाको शिखरमा पुर्याएको थियो । त्यसो त फिल्म ‘दिलमाया’ को टाइटल सङमै आवाज भर्ने अवसर उनले पाएकी थिइन् । श्रोता–दर्शकले उक्त गीत अत्यधिक रुचाए ।
‘काले केटा– २’ एल्बममा समावेश उनको नयाँ गीत ‘म हिँड्दाखेरी’ हालै मात्र बजारमा आएको छ । भर्खरै रिलिज भए तापनि उक्त गीतलाई यी पङ्क्ति लेखिँदासम्म ३० लाखभन्दा बढीले हेरिसकेका छन् । दुर्गाले गाएका दर्जनौं आधुनिक एवम् फिल्मी गीत राम्रै चर्चामा छन् ।
सङ्गीत–यात्रामै चिनजान
‘हामीबीच भेटघाट र देखादेख त ८–९ वर्षदेखि नै थियो तर हामी प्रेमी–प्रेमिका थिएनौं,’ अर्जुनले सुनाए– ‘उनलाई देखें, भेटें र बुझें; यत्तिकी मान्छे भएपछि जीवन काट्न सक्छु भन्ने लागेर मैले नै प्रेम–प्रस्ताव राखें ।’
‘मेरो प्रस्तावलाई उनले पनि सहजै स्वीकारिन्,’ उनले भने– ‘दुवै जना राजी भएपछि दुवैका परिवारमा कुरा राख्यौं र डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा बदलेर घरजम बसायौं ।’
रियालिटी सो भिड्दै गरेकी दुर्गा र सङ्गीत साधना गरिरहेका अर्जुन एकै ठाउँमा सङ्गीत सिक्थे । उनीहरूबीच त्यहीं नै दैनिकजसो भेटघाट भैरहन्थ्यो । अर्जुनले बिस्तारै दुर्गालाई मन पराउन थाले । तैपनि, ‘माया गर्छु’ भनिहाल्ने आँट गर्न चाहिँ उनले सकेका थिएनन् ।
बिस्तारै भेटघाट बाक्लिँदै गयो । अर्जुन सङ्गीत–यात्रामा क्रमशः सफल हुँदै गैरहे । चिनजान र भेटघाटको लामो समयपछि अर्जुनले प्रस्ताव राखे, दुर्गाले नकारिनन् । आफूहरू प्रेम–सम्बन्धमा रहेको कुरा दुवैले आ–आफ्नो घरपरिवारलाई भने । दुवैतिरबाट मञ्जुरी पाएपछि चितवनका पोखरेल र झापाकी खरेलले २९ असारमा लगनगाँठो कसे ।
कोरोना महामारीकै बीच, लकडाउन समेत पूरा नखुलेका बेला परिवारजन र साथीभाइ गरी थोरै मात्र सहभागीका बीच स–सानो जमघटमा उनीहरूको विवाह सम्पन्न भयो । त्यसो त चलचित्र एवम् आधुनिक गीत–सङ्गीतको क्षेत्रमा चर्चित र सफल सङ्गीतकार अर्जुन तथा आफ्नै कर्मद्वारा स्थापित भइसकेकी गायिका दुर्गाबीचको प्रेम–सम्बन्धबारे चर्चा चाहिँ अलिक अघिदेखि नै चलेकै थियो ।
सङ्गीतकार पोखरेलले राजधानीको पुतलीसडकमा ‘अनुराग सङ्गीत विद्यालय’ समेत सञ्चालन गर्दै आएका छन् । दुर्गा भने आधुनिक एवम् चलचित्रका गीत गाउँछिन् । दुर्गा सङ्गीत सिक्ने सिलसिलामा दुर्गा ‘अनुराग सङ्गीत पाठशाला’ मा आएपछि नै अर्जुनसँग उनको सामिप्यता बढेको थियो ।
अर्जुन–दुर्गाको दैनिकी
अर्जुन र दुर्गा बिहान सबेरै उठ्छन् । ५–६ बजेसम्ममा दुवै जना उठिसक्छन् । बिहान उठेपछि दुर्गा भान्सातिर लाग्छिन् भने अर्जुन चाहिँ अरु नै कामतिर । चिया–नास्ताको काम सकेपछि दुर्गा योगा तथा डान्स गर्न थाल्छिन् । तन्दुरुस्तीका निम्ति दुर्गालाई योगा मन पर्छ, नाच्नु त उनको सानैदेखिको रुचि हो । त्यसपछि दुवै जना गीत–सङ्गीतको अभ्यास र रियाज गर्न थाल्छन् । प्रायः १० बजेको आसपासमै बिहानको खाना खाइसक्छन् । अर्जुनचाहिँ खाना खाइसकेपछि आधा घन्टाजति आराम गर्छन् ।
‘खाना खाएर केही बेर आराम गरिसकेपछि सङ्गीत सिर्जना गर्ने काममा लाग्छु,’ अर्जुन भन्छन्– ‘रेकर्डिङ छ भने स्टुडियोतर्फ लाग्छु र त्यसपछिको समयमा भने साथीभाइसँग भेटघाटलगायतका काम गर्छु; सेड्युल हेरेर नै दिनभरिका काममा लाग्छु ।’
घरमै खानपान, बाध्यतामा चाहिँ नाइँनास्ती छैन
दुर्गा–अर्जुन दुवैलाई दाल–भात र तरकारी नै मन पर्छ । दुवैलाई अमिलो–पिरो मन पर्दैन । घरमै बनाएको खानाका अतिरिक्त आवश्यकताअनुसार बाहिरका खाने कुरा पनि खान्छन् । काठमाडौं बसाइको सुरुआतताका अर्जुन आफैं खाना पकाउँथे । बुबा–आमा काठमाडांै आएपछि चाहिँ आमाले नै पकाउन थालेको उनले बताए । अहिले भने दुर्गाले पकाउन थालेकी छन् ।
श्रीमतीले पकाएको खान थालेपछि अर्जुनलाई आजकल बाहिरका खाने कुरा खानै मन लाग्दैन । उसो त दुर्गालाई पनि बाहिरका खाने कुराहरू मन पर्दैनन् । ‘बाध्यता नै परेका बेला त खानुपरिहाल्यो नत्र खाँदिन’– दुर्गा भन्छिन् । ‘काठमाडौं आएलगत्तै सुरु–सुरुमा आफैंले खाना पकाएँ, पछि आमाले पकाउनुभयो, अहिले त दुर्गाले नै पकाउँछिन्’ अर्जुन भन्छन्– ‘दुर्गाले सबैभन्दा मिठो त अचार बनाउँछिन् ।’
चाउचाउ, बिस्कुटजस्ता जङ्कफुड खाँदैनन् अर्जुन । स्वास्थ्यलाई असर पार्ने खालका खाने कुराहरू उनलाई मन पर्दैनन् । ‘सङ्गीतकार भएकाले गायक–गायिकाजस्तो कार्यक्रममा बाहिरफेर हिँडिराख्नु पर्दैन, गीत गाए तापनि म गायकभन्दा सङ्गीतकारकै रूपमा परिचित छु,’ उनले सुनाए– ‘त्यसकारण पनि बाहिर खासै खानुपरेको छैन, खानैपर्ने स्थिति आउँदा त खानु परिहाल्यो नत्र खासै बाहिर खाइँदैन ।’
अर्जुन–दुर्गा दुवैले बेला–बेलामा स्वास्थ्य परीक्षण गराउने गरेका छन् । ‘आफ्नो स्वास्थ्यभन्दा ठूलो त अर्को के होला र,’ दुर्गा भन्छिन्– ‘समय–समयमा स्वास्थ्य जाँच गराउँदै आएका छौं, जाँच गराउँदा होलबडी चेकअप नै गराउँछौं ।’
रुघा–खोकी लाग्दा भने उनीहरू घरायसी विधि नै अपनाउँछन् । अलि बढी गाह्रो भएमा चाहिँ डाक्टरको सल्लाहबमोजिम औषधि खान्छन् । स्वास्थ्य समस्याका कारण १५ वर्ष अगाडि भने अर्जुनले अस्पताल नै बस्नु परेको थियो, त्यसयताचाहिँ कुनै पनि जटिल स्वास्थ्य समस्या भोगेका छैनन् ।
चकचकेपनले निम्त्यायो स्वास्थ्य समस्या
सानो छँदा अर्जुन एकदमै चकचके थिए । साथीहरूसँग घरछेउको नहरमा पौडी खेल्न गैरहन्थे । अनेकौं चकचक गरेर गाली खाने काम गरिरहन्थे । ‘सानोमा म निकै चकचके थिएँ, कसैले भनेको पनि टेर्दैनथें,’ उनले सुनाए– ‘स्कुलबाट भागेर घरछेउको नहरमा पौडी खेल्न गइन्थ्यो, माथिबाट नहरमा हामफाल्ने बेलामा एक दिन त दोधारे मन भयो, तैपनि हामफालिहालें । के गर्ने–के गर्ने भएँ, टाउको सीधै तल गएर ढुङ्गामा ठोक्कियो । म त निकैबरे बेहोस भएँ, साथीहरूले बाहिर निकाले ।’
‘आज नै पो मेरो जीवनकै अन्तिम दिन हो कि जस्तो लाग्यो, टाउको ठोक्किएको दुखाइ छँदै थियो, पौडी खेलेको थाहा पाएर आमा–बुबाले गर्ने गालीको डर अर्कातिर थियो,’ उनले ती दिन सम्झिए– ‘पौडी नै नखेल्नू भन्दै बुबा–आमाले दिँदै आएको निर्देशनको उल्लङ्घन त गरियो–गरियो, झन् त्यही पौडी खेलेर नै बेहोस भएर बौरिएको अनि टाउको ठोक्काएर हैरानी भोगेको देख्दा बा–आमाको मनमा पर्ने चोट अनि त्यसले खुवाउने गालीको झमेला बेग्लै थियो ।’
‘अर्जुन त यस्तो अवस्थामा पो पुग्यो है भनेर साथीहरूले घरमा सुनाइहालेछन् । घर पुग्नासाथ गाली नखाइने कुरै भएन । मलाई देखेरै मैले पौडी खेलें या खेलिनँ भन्ने कुरा चाल पाउनुहुने बुबा–आमाबाट यो हालतमा घर पुग्दा त झन् कति गाली खाइयो होला !’
त्यो घटनापछि भने उनी कहिल्यै पौडी खेल्न गएनन् । आफ्नो चकचके जीवनको अन्त्य पनि त्यही दिनदेखि भएको सम्झना उनलाई अहिले पनि ताजै छ ।
पौडी खेल्दाको त्यो उपद्रो उनका निम्ति अझ महँगो पर्यो । टाउकाको नसा च्यापिएर अस्पताल नै भर्ना हुनुपर्यो । ‘शायद त्यही कारणले होला, एमआरआई गर्दा थाहा भयो, मेरो त ढाडदेखि टाउकासम्मको नसा च्यापिएको रहेछ,’ आफ्नो नमिठो अनुभव सुनाउँदै अर्जुनले भने– ‘त्यसपछि उपचार गर्नतिर लागियो । आजभन्दा १५ वर्षअघिको कुरा हो यो ।’
‘नसा च्यापिएपछि दुखाइ सहन निकै गाह्रो हुने रहेछ । नेपालमा भर्खर अकुपञ्चर–अकुपेसर पद्धतिको सुरुआत भएको थियो,’ उनले सुनाए– ‘अप्रेसन गर्ने कि नगर्ने भन्ने लामै बहस चल्यो, अन्ततः अप्रेसन नगर्ने भन्नेमा पुगियो र अकुपञ्चर पद्धति अपनाएरै मेरो उपचार गरियो । अप्रेसन सक्सेस हुन्छ कि हुँदैन भन्ने भयो । यही पद्धति अपनाएर नै ढाडदेखि टाउकासम्म नसा च्यापिएको मेरो समस्या ठीक भयो । मेरो नसा ठीक पार्न करेन्ट लगाएर समेत उपचार गरियो ।’