कोभिड– १९ र सन्तुलित खानपान
भूपाल बानियाँचिनियाँ सहर वुहानबाट सुरु भई विश्वव्यापीरूपमा फैलिएको कोभिड– १९ ले आजसम्म संसारका विभिन्न ठाउँमा गरी लाखाैं मानिसको ज्यान लिइसकेको छ । कोभिड सङ्क्रमण भई निको भएकाहरूको अनुभव र मृत्यु भएकाहरूको विवरण हेर्दा लक्षणसहित र लक्षणरहित गरी यो रोग दुई किसिमका देखापरेका छन् । लक्षणरहितका सङ्क्रमितलाई त्यसले खासै असर पुर्याएकाे देखिँदैन भने लक्षणसहितका सङ्क्रमितलाई ज्वरो आउने, पखाला लाग्ने, खोकी लाग्ने, जिउ दुख्ने, टाउको दुख्ने र स्वास–प्रश्वाससम्बन्धी समस्या आउने गरेको देखिन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार नेपालमा पनि यस रोगका सङ्क्रमितहरूको सङ्ख्या दुई लाख नाघिसकेको छ । करिव डेढ हजार नागरिकको त यसबाट मृत्यु समेत भैसकेको छ ।
विश्वमा दैनिक हजारौं नागरिकको ज्यान लिइरहेको यस महामारीलाई न्यूनीकरण गर्न स्वास्थ्यसम्बन्धी काम गर्ने विभिन्न संस्था र सरकारी निकायबाट अनेकौं उपाय अवलम्बन गरिँदै आएको देखिन्छ । खोप र नयाँ–नयाँ औषधिहरूको परीक्षण गर्ने काम पनि तीव्र गतिमा भैरहेकै छ । बेलायत, अमेरिका, जर्मनी, रसिया, चीन तथा भारतमा भएका खोपको परीक्षण आशाको किरणका रूपमा देखापरेका छन् ।
खोप र औषधिहरूको परीक्षण हुँदै गरे तापनि यस रोगले अझै विकराल रूप लिन सक्ने र थप हजारौंको ज्यान जान सक्ने सम्भावना टरिसकेको छैन । यस रोगसँग लड्न नेपाली समाजमा पनि विभिन्न कोणबाट सुझावहरू आएका र अनेकौं पहल भैरहेका देखिन्छन् । कसैले गुर्जो, बेसार, अदुवा तथा अन्य जडीबुटी सेवन गर्ने सल्लाह दिएको पाइन्छ भने विधिन्न खाद्य पदार्थको अत्यधिक सेवन गरेर पनि यसबाट बच्ने कोसिस हुँदै आएको देखिन्छ । यद्यपि यो सिलसिलामा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समेत देखापरेको कुरा सञ्चार माध्यममा आएका छन् ।
यसर्थ, कोभिड– १९ बाट बच्न के–कस्तो खानपान गर्ने र के–कस्तो नगर्ने भन्नेबारे निकै सचेत हुनु जरुरी छ । युरोपियन सोसाइटी फर प्यारेन्टल एन्ड इन्टर्नल न्युट्रिसन (इस्पेन) र नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस रोगसँग लड्न पोषणसम्बन्धी निर्देशिका नै तयार पारेका छन् । पोषणका सम्बन्धमा वुहानका मानिसले सँगालेका अनुभवहरूलाई समेटेर ‘इस्पेन निर्देशिका’ ले सम्पूर्ण विश्वलाई नै पोषणसम्बन्धी ज्ञान दिन प्रयास गरेको देखिन्छ ।
कोभिड– १९ को सङ्क्रमण भएको खण्डमा विभिन्न खनिज पदार्थ; जस्तै– जिङ्क, कपर, सेलेनियम, क्याल्सियम र भिटामिनयुक्त खानाहरू; जस्तै– भिटामिन– ‘सी’, भिटामिन– ‘डी’, भिटामिन– ‘ए’ र भिटामिन– ‘बी कम्प्लेक्स’ युक्त खाने कुुराहरू समावेश गरी खान यस निर्देशिकाले सल्लाह दिएको छ ।
यी र यस्ता खनिज पदार्थ र भिटामिनयुक्त खाने कुराहरू हाम्रै आँगन र करेसाबारीमै पाइन्छन् । जस्तै– हरिया सागपात र अन्य तरकारी तथा फलफूलमा यी तत्व प्रशस्तै पाइन्छन् । प्रोटिनयुक्त खाने कुरा; जस्तै– गेडागुडी, अण्डा, दूध, माछा र मासुका परिकार उचित मात्रामा सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ र सङ्क्रमणबाट बच्न सकिन्छ । त्यसैगरी, भिटामिन– ‘सी’ पाइने खाद्य पदार्थ; जस्तै– कागती, सुन्तला, मौसम र टमाटर तथा भिटामिन– ‘डी’ युक्त खाने कुराहरू; जस्तै– दूध र दूधजन्य परिकार, अण्डा, च्याउ र कलेजो आदि हुन् ।
यसका साथै विभिन्न हर्बल चिया, गुर्जो–पानी र ग्रीन टी उचित मात्रामा (दिनमा एकदेखि दुई पटकसम्म) सेवन गर्दा सङ्क्रमणबाट जोगिन फाइदा पुग्ने देखिएको छ ।
कोभिडका सङ्क्रमितले होम वा अस्पतालको आइसोलेसनमा बस्दा सामान्यतः निर्धारित मेन्युअनुरूप खानपान गर्नु उचित हुने सल्लाह सम्बन्धित निकायहरूले दिएका छन् । आइसोलेसनमा बस्नेहरूले प्रतिदिन २,४०० क्यालोरी/८० ग्राम प्रोटिन प्राप्त गर्नका निम्ति निम्नानुसार खानपान गर्नु उचित हुन्छ–