कोभिडसँग जुधिरहेका नर्सको जीवनशैली र खानपान

होलिस्टिक संवाददाता

पार्वती चौधरी

सारथि हस्पिटल, धनगढी

अस्पतालमा काम गरिरहेका बेला खानाको कुनै टुङ्गो नै हुँदो रहेनछ । घर नजिकै अस्पताल भएकाले प्रायः घरबाटै खाना लगेर समय भएपछि खान्छु । कहिलेकहीं घरबाट लान नभ्याइएका बेला भने अस्पतालकै क्यान्टिनमा खान्छु ।

क्यान्टिनमा खान खासै मन लाग्दैन, घरबाटै लिएर जानु उचित लाग्छ । तर, सोचेजस्तो हुँदो रहेनछ । क्यान्टिनमा खाँदा प्रायः समोसा र चाउमिन खाइन्छ । मलाई भने अस्पतालले राम्रो प्राथमिकता नै दिएको छ । कोरोना महामारीको यो समयमा अस्पतालले मलगायत अन्य कर्मचारीलाई आर्थिकरूपमा राम्रो ख्याल गरेको छ ।

ज्वरो आएको मान्छे अस्पतालमा प्रवेश गर्दा पनि मन चिसो हुन्छ । कोरोना नलागेकै भए तापनि ज्वरो आएकाजति सबैलाई मनले कोरोना सङ्क्रमित नै पो हुन् कि भनेजस्तो ठान्दो रहेछ । ‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ काम गरिरहेकी छु र नै अस्पतालले पनि राम्रै पारिश्रमिक दिएको छ । पारिश्रमिक राम्रै पाएपछि दिनचर्या र जीविका पनि राम्रैसँग चल्ने नै भयो ।

खाना र खाजाको अतिरिक्त पोषिला फलफूल, दूध इत्यादि नियमितरूपमा खाने गरेकी छु । खासै मेअकप गरेर हिँड्न मन लाग्दैन । आफ्नो शरीर स्वस्थ राख्न नियमितरूपमा व्यायाम गर्छु ।

——

रविना थापा

मेडिकेयर हस्पिटल, काठमाडौं

बाहिरी संसारबाट देखिएजस्तो सजिलो कहाँ छ र ! नर्सिङ पेशा दैनिक ड्युटीमा मात्र सीमित रहने पेशा नभई बिरामीको स्वास्थसँग प्रत्यक्षतः गाँसिएको पेशा हो । यो पेशा निकै चुनौतीपूर्ण र समवेदनशील छ ।

आफ्नो सुख–सुविधा बिर्सिएर दिन–रात बिरामीको सेवा गर्नु हाम्रो कर्तव्य हो । झन् कोभिड– १९ को महामारी चर्किरहेको अहिलेको अवस्था त अझ चुनौतीपूर्ण र जोखिमयुक्त छ । कामकै सिलसिलामा कतै आफैं पो सङ्क्रमित भइन्छ कि भन्ने त्रास मनमा रहिरहन्छ । आफ्नो कारणले अरु बिरामी वा घरपरिवारलाई समेत पो सर्छ कि भन्ने चिन्ताले पनि सताइरहेको छ ।

बिरामीको सेवा र महामारीसँग जुध्ने कामलाई आफ्नो कर्तव्य र जिम्मेवारी सम्झेर निरन्तर खटिरहेकी छु । महामारीको यो समयमा हामीजस्ता स्वास्थ्यकर्मीको आवश्यकता र भूमिका झन् बढी छ । त्यसैले आफ्नो समय बिरामीको सेवामा बढीभन्दा बढी सदुपयोग होओस् भनेर खाना पनि घरैबाट टिफिन बक्समा प्याक गरेर लाने गरेकी छु । कहिलेकहीं घरबाट नलाँदा हस्पिटलको क्यान्टिनमै खान्छु ।

खाजाका रूपमा फलफूल, जुस, मःमः,चाउमिन इत्यादि खाने गरेकी छु । दैनिकरूपमा काम गर्दा निकै थाकिन्छ र गाह्रो पनि हुन्छ । त्यसैले आफूलाई स्वस्थ राख्न बिहान योगालगायतका शारीरिक अभ्यास र मर्निङ वाक समेत गर्ने गरेकी छु । फुर्सद मिलाएर परिवारसँग पनि समय बिताउने नै गरिन्छ ।

पारिश्रमिकको हकमा त के कुरा गर्ने र खै ! जीविका चलाउन र परिवार पाल्न जसोतसो पुगेको छ । आफूले रोजेको काम गर्न र बिरामीको सेवामा खट्न पाउँदा मनैदेखि खुशी र आनन्दित छु । यही खुशी नै सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने लाग्दछ ।