कोरोना महामारी र चाडपर्व
केदारनाथ गौतमविश्वव्यापीरूपमा आतङ्क नै बनेर फैलिएको कोरोनाभाइरस महामारीले अन्यत्र झैं नेपाल राष्ट्र, नेपाली समाज र जनताको दैनिकी, जीवनशैली र व्यवहार नराम्ररी खल्बल्याइदियो । यसले उद्योगव्यवसाय, पठनपाठन र कामकाज मात्र होइन; रीतिरिवाज, चाडपर्व र रहनसहन समेतलाई नराम्ररी प्रभावित तुल्याइदियो । महामारीबाट बच्ने र बचाउने सिलसिलामा अधिकाङ्श राजनीतिक क्रियाकलाप; खेलकुदका अभ्यास र प्रतियोगिता, धर्मसंस्कृतिसँग सम्बन्धित अनुष्ठान, कर्म र दर्शन/भ्रमण तथा प्रायः सामाजिक–सांस्कृतिक क्रियाकलापहरू समेत अवरुद्ध छन् ।
कोभिड– १९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि ११ चैत, २०७६ मा जारी गरिएको लकडाउन केही महिनापछि खुले तापनि त्यसै सिलसिलामा व्यक्तिगत एवम् सामाजिक जीवनका कयौं क्षेत्र र क्रियाकलापमा लगाइएका अनेकौं प्रतिबन्धहरू अझै पनि कायम छन् । भर्चुअल माध्यमबाट अध्ययन–अध्यापन र अरु विभिन्न कामकाज गर्न अनुमति दिइए तापनि अझैसम्म विद्यालय–विश्वविद्यालय, ट्युसन–तालिम, व्यायाम केन्द्र, सभा–सम्मेलन, धार्मिक–सांस्कृतिक कर्म र जमघटलगायतका थुप्रै व्यवहार निषेधित छन् । लकडाउन खुलेयता पनि विभिन्न क्षेत्र, जिल्ला र स्थानीय तहमा आ–आफ्नै तरिकाले निषेधाज्ञा लागू हुने, हट्ने र फेरि लागू हुने क्रम अझैसम्म चलिरहेकै छन् ।
यही अस्तव्यस्तताका बीच घोडेजात्रा, महिला दिवस, फागु पूर्णिमा, नयाँ वर्ष, मजदुर दिवस, उभौली, गणतन्त्र दिवस, ईद, गाईजात्रा, तीज, गौरा, इन्द्रजात्रा, जितिया, रथजात्रा, संविधान दिवसजस्ता पर्व र दिवसहरू आए र उल्लासपूर्वक मनाउन नपाइकनै गए । अब दसैं, तिहार, छठ, क्रिसमस, उधौली, माघे सङ्क्रान्ति, ल्होछार, शिवरात्रिजस्ता पर्वहरू आउँदैछन् । चाडबाडमा हुने जमघटबाट कोरोनाभाइरसको सङ्क्रमण झन् तीव्र हुने भन्दै आ–आफ्नै घरभित्र सीमित रहेरै यसपालिका चाडपर्व मनाउन सरकार र अभियन्ताहरूले बारम्बार सुझाव दिँदै आइरहेका छन् । दसैंमा टीका नलगाउन, पिङ नखेल्न र मान्यजनकहाँ नजान समेत सरकारले आग्रह गरिरहेको छ ।
यस्तो परिवेशका बीच दसैं, तिहार, छठ, क्रिसमस, ल्होछार, उधौलीजस्ता चाडपर्व हाम्रा सामु क्रमशः उपस्थित हुँदैछन् । महामारीका नाममा र त्यसैको भयका कारण युगौंदेखि मनाउँदै आइएका चाडपर्वहरूलाई पूरै बेवास्ता वा अस्वीकार गर्ने कुरा हुँदैन । चाडपर्व मनाइन्छन्, मनाउनुपर्छ । यद्यपि आफू, परिवार, समाज र राष्ट्रलाई महामारीबाट बचाउनु पनि सबैको कर्तव्य हो । यसर्थ, महामारीका विशेषता र खतराहरूलाई मध्यनजर गर्दै सचेततापूर्वक चाडपर्व मनाएर सभ्यता र संस्कृतिको जगेर्ना गर्नु आजको चुनौती हो ।
यथासम्भव भव्यतापूर्वक र उल्लासमयरूपमा चाडपर्वहरू मनाउनु तर कोभिड– १९ को महामारीमाथि विजय हासिल गर्ने उपायहरू समेतको अवलम्बन गरी विजय हासिल गर्नु आज सबैको दायित्व हो । जमघट, हिँडडुल वा यात्रा, भेटघाट, खानपान, सरसफाइ र सतर्कताबारे यथेष्ट ध्यान पुर्याउन सकियो भने कोरोनाबाट बच्न खासै गाह्रो छैन ।
भनिन्छ– कोरोनाले लखेट्दै आउँदैन, आफैंले खोजेर ल्याई भित्र्याउँदा चाहिँ त्यसले ज्यानैसम्म पनि लिन सक्ने हो । व्यवस्थित जीवनशैली, स्वस्थ–चुस्त एवम् पौष्टिक खानपान, नियमित व्यायाम नै कोरोना जित्ने ‘मन्त्र’ हुन् । सङ्क्रमितमा रहेका भाइरसहरू नाक, मुख र आँखाका माध्यमबाट सङ्क्रमणरहित व्यक्तिमा जे–जसरी भए पनि प्रवेश गर्न नदिए कुरै सकियो । यिनै यथार्थतामा ध्यान दिऔं, भव्यतापूर्वक चाडपर्व मनाऔं !