घरमै बनाउनोस्, आरामले खानोस्
होलिस्टिक संवाददातामटन तास
आवश्यक सामग्री
हड्डीविनाको मटन १ किलो, हरियो प्याज २० ग्राम, धनियाको पत्ता ५ ग्राम, तेल २० मिलिलिटर ।
म्यारिनेटका लागि आवश्यक मसलाहरू
अदुवा–लसुन पिसेको १५ ग्राम, मसिनो टुक्रा पारिएका ३ वटा हरियो खुर्सानी, जीरा–धनियाँको धूलो ५ ग्राम, बेसार १ ग्राम, टिमुर ०.५ ग्राम, रातो खुर्सानीको धूलो २ ग्राम, कागतीको रस १० मिलिलिटर, नुन स्वाद अनुसारको, तेल १० मिलिलिटर ।
बनाउने टेक्निक
मटनको टुक्रालाई एउटा सफा भाँडामा राख्ने । त्यसमा माथि उल्लेखित सबै मसलाहरू राखी हल्का तेल लगाएर मजाले मोल्ने । बिर्को लगाउन मिल्ने एउटा बट्टामा राखेर ६–८ घन्टासम्म फ्रिजमा राख्ने । त्यसपछि फ्रिजबाट निकालेर केही बेर बाहिर राख्ने अनि एउटा तावामा तेल राखेर मन्द आगोमा तताउने । तेल तातेपछि त्यसमा म्यारिनेट गरिएको मटन राख्ने र आगो केहीबेर सानो पारिदिने । मासुलाई झुरुम–झुरुम हुने गरी (३० मिनेटसम्म) तेलमा चलाई–चलाई पकाउने । मासु पाकिसकेपछि त्यसमा हरियो प्याज राखेर करिव दुई मिनेटसम्म चलाउने ।
अन्त्यमा, तेल तर्याएर मासु झिक्ने र एउटा भाँड़ामा राखेर त्यसमाथि मसिना टुक्रा पारिएका धनियाँको पत्ता राखिदिने । यसरी तयार पारिएको मासुलाई भुजा वा चिउरासँग सलाद राखेर खान सकिन्छ ।
फ्रेन्च–फ्राइज्
आवश्यक सामग्री
ठूलठूला आकारका आलु, बदाम वा सूर्यमुखीको तेल, नुन, मसला (स्वाद अनुसार) ।
बनाउने टेक्निक
आलुको बोक्रा ताछेर सफा पानीले पखाल्ने । त्यसपछि लाम्चा–लाम्चा ठाडा टुक्राहरूमा (लौरोका आकारमा) काट्ने । त्यसपछि ती टुक्रालाई ठूलो भाँडामा राख्ने र चिसो पानीले डुबाउने । २–३ घन्टासम्म पानीमा डुबाइरहने वा ७–८ घन्टा फ्रिजमा यसै रखिदिने ।
फ्राईज् बनाउन तयार भएपछि आलुका टुक्रालाई पानी सोस्ने कागजमा राख्ने । बढी भएको पानी सोसिसकेपछि आलुका ती टुक्रालाई ठूलो भाँडामा करिव १५० डिग्री सेल्सियसमा तताइएको तेलमा ४–५ मिनेटसम्म (हल्का खैरो खैरो हुने गरी) तार्ने ।
तारेको आलुलाई फेरि पेपरमा राखेर बढी भएको तेल सोस्न दिने । त्यसमा हल्का नुन छर्केपछि तयार हुन्छ फ्रेन्च फ्राईज् । यसलाई ससमा चोबेर खान सकिन्छ ।
पालक पनीर
आवश्यक सामग्री
पनीर १५० ग्राम, पालक १०० ग्राम, तेल वा बटर १० ग्राम, बियाँ निकालेका दुई वटा खुर्सानी, मसिनो गरी काटेको सानो एउटा प्याज, बियाँ निकालेको एउटा सानो गोलभेंडा, नुन आवश्यकता अनुसार, गरम मसला १ ग्राम, जीरा–अलैंची–दालचिनी–ल्वाङको दाना मिसाएर दुई ग्राम ।
बनाउने टेक्निक
ताजा पालकको पत्ता लिने र त्यसलाई सफा पानीले राम्ररी पखाल्ने । एउटा प्यानमा ३ ग्रामजति तेल वा बटर तताउने । पानी तर्याएपछि हरियो खुर्सानीसँगै पालकको पातलाई प्यानमा राखेर ३–४ मिनेटसम्म (ओइलाउने गरी) फ्राई गर्ने ।
बाँकी तेल/बटरलाई प्यानमा तताउने र त्यसमा जीरा, अलैंची, दालचिनी, ल्वाङ पड्काउने अनि प्याज हाल्ने । रातो हुने गरी फ्राई भइसकेपछि अदुवा–लसुनको पेस्ट हालेर फ्राई गर्ने । त्यसमा गोलभेंडा हालेर मसिनो हुने गरी चलाउँदै फ्राई गर्ने ।
अन्तिममा थोरै गरम मसला हाली पानी राखेर बाक्लो लेदो हुने गरी पकाउने । आगो सानो बनाएर त्यसमा माथि उल्लेख गरेअनुसार तयार पारिएको पालक हाल्ने । अन्तिममा स–साना टुक्रा पारेर काटिएको पनीर हाल्ने र त्यसलाई ५ मिनेटसम्म सानो आगोमा पकाउने । यसरी तयार भएको पालक पनीरलाई नान, रोटी वा भुजासँग खान सकिन्छ ।
जिन्जर चिकेन सुप
आवश्यक सामग्री
सात टुक्रा पारिएको एउटा सिङ्गै चिकेन (दुई वटा छाती, दुई वटा फिलासहितका खुट्टा, दुई वटा पँखेटा र एउटा ढाड), टुक्रा पारिएको एउटा मध्यम खालको प्याज, मसिना टुक्रा पारिएका तीन वटा ज्वानोका डाँठ, दुई केस्रा पिसेका लसुन, बोक्रा नताछी सफा गरिएका आधा इन्च मोटाइमा काटिएका टुक्रा अदुवा २०० गाम, मरिच १० गेडा, नुन (आयोडिन नभएको) स्वाद अनुसार, धनियाँको पत्ता ३–४ वटा ।
बनाउने टेक्निक
प्याज, ज्वानो, अदुवा, लसुन, र मरिचलाई ठूलो भाँडामा राख्ने । माथिपट्टि छाती र अरु तल पर्ने गरी मासुका टुक्रा राख्ने । त्यसमा मूलको वा फिल्टर गरिएको करिव ६ लिटर पानी थप्ने । त्यसलाई छोपेर उमाल्ने ।
मध्यम रापको आगोमा करिव ३० मिनेट बिस्तारै–बिस्तारै पकाएपछि त्यसबाट मासुका टुक्राहरू झिकेर एउटा प्लेटमा राख्ने अनि छोपेर सेलाउन दिने । सुपलाई नछोपीकनै करिव दुई घन्टासम्म (मिठो वासना नआउञ्जेल) मन्द आगोमा उमाल्ने ।
अन्त्यमा, करिव ५ मिनेटजति सुपमा तताउनका लागि मासुका टुक्राहरू राखिदिने । मासुलाई सुपबाट झिकेर सेलाएपछि केस्रा–केस्रा छुट्टिने गरी हातैले टुक्रा पार्ने । छाला र हड्डी झिकेर फालिदिने । अब बाँकी रहेको सुपबाट अरु टुक्राहरूलाई छानेर हटाइदिने । त्यसमा आवश्यकता वा स्वाद अनुसार नुन हाल्ने र हल्का तताउने ।
टुक्रा पारिएको मासुलाई ५–६ वटा बटुकामा बराबरी भाग लगाउने । तताएको तातो सुप त्यसमाथि राखिदिने । यसरी तयार भएको सुपमा माथिपट्टि हल्का धनियाँको पत्ता राखेर खान वा खुवाउन सकिन्छ ।