टिपटप बेनिसा

केदारनाथ गौतम / शङ्कर क्षेत्री

अभिनेतृ बेनिसा हमालले नौ वटा फिल्म र दुई सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । ‘झ्यानाकुटी’ र ‘ब्लाइण्ड रक्स’ बाट दर्शकको राम्रै तारिफ बटुलेकी उनी आफ्नो कला प्रस्तुतिमा जति ध्यान दिन्छिन्, स्वास्थ्यप्रति समेत त्यति नै सचेत छिन् ।

फिट–फाइन अभिनेतृ

शारीरिक तथा मानसिकरूपमा स्वस्थ (फिट–फाइन) रहन आफूले दैनिकरूपमा व्यायाम गर्ने गरेको अभिनेतृ हमाल बताउँछिन् । हेर्दा पनि उनको शरीर फिट–फाइन देखिन्छ । टिपटप देखिने उनको तौल ५४ किलोग्राम छ भने कद ५ फिट ५ इन्च अग्लो छ । शरीर जति फिट–फाइन देखिन्छ, अनुहारको चमक र सुन्दरता पनि त्यत्तिकै छ ।

शरीर र अनुहारको सुन्दरता मात्र होइन, अभिनेतृ बेनिसाको बोलीमा पनि मिठास छ । मिलनसार स्वभावकी उनी नम्र, भद्र तथा शिष्ट तरिकाले कुरा गर्छिन् ।

अभिनेतृ बेनिसा शारीरिक तथा मानसिक स्वास्थ्यप्रति निकै सचेत छिन् । ‘नर्मल्ली बिहान सात बजेसम्ममा उठिसक्छु,’ उनले सुनाइन्– ‘उठेपछि सबभन्दा पहिले कागती र पानी पिउँछु ।’ उम्लिएर सेलाएको मनतातो पानी र कागती पिइसकेपछि ब्रेकफास्टका रूपमा रोटी, उसिनेको अण्डा र ओट्स खाने गरेको उनको भनाइ छ । त्यसपछि व्यायामका लागि निस्कन्छिन् ।

दैनिक जिम


कोभिड– १९ (कोरोनाभाइरस) को महामारीका कारण बाहिर निस्केर व्यायाम गर्न असहज छ । आफू बस्ने पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको प्राङ्गणमा नै व्यायाम गर्छिन् । अपार्टमेन्टमै जिम हल छ तैपनि अहिले उनी त्यहाँ जिम गर्दिनन्, कारण हो– कोरोना सङ्क्रमणकै सन्त्रास ।

सामान्य अवस्थामा भने उनी नियमितरूपमा जिमहलमै व्यायाम गर्छिन् । नियमित जिम गर्ने अभिनेतृ हुन् बेनिसा । आफू भारतमा हुँदा पनि नियमतिरूपमै व्यायाम गर्ने गरेको उनले बताइन् ।

सामान्यतः बिहान आठदेखि साढे नौ बजेसम्मको व्यायाम उनको दैनिकी हो । कहिलेकहीं त दुई घन्टासम्म पनि व्यायाम गर्छिन् । दैनिक तालिकाअनुसार नै आफूले जिम गर्ने गरेको उनी बताउँछिन् । दिनहुँ उनी ‘स्ट्रेचिङ’, ‘वेट लिफ्टिङ’, ‘कार्डियो’ जस्ता व्यायाम गर्छिन् । व्यायाम सकेर करिव दस बजे फर्कन्छिन् । त्यसपछि नुहाइधुवाइ गर्छिन् ।

कहिलेकहीं भने उनी साह्रै व्यस्त हुन्छिन् । सुटिङको चर्को व्यस्तता हुँदा पनि त्यसलाई छिचोलेर हप्तामा तीन दिन मात्रै भए पनि व्यायाम गर्ने गरेको उनले सुनाइन् । नभ्याउँदा साताको तीन दिन मात्रै जिम गरे पनि पूरै शरीरलाई व्यायाम पुग्ने उनी बताउँछिन् ।

अण्डा र फलफूलको खाजा

जिम सकेर नुहाइधुवाइपछि खाजाका रूपमा सामान्यतः पाँच वटा अण्डा, फलफूल, उसिनेको तरकारी खान्छिन् । अण्डा कतिवटा खाने भन्ने कुरा सागसब्जी कति खाइन्छन् भन्ने कुरामा भर पर्ने उनले सुनाइन् ।

उनको प्राथमिकतामा पर्ने फलफूल स्याउ, सुन्तला, एभोकाडो आदि हुन् । मौसमअनुसारका फलफूल खानमा उनी जोड दिन्छिन् ।

खाना घरकै मिठो

खाना भने उनी ढिलै खान्छिन् । दिउँसोको दुई बजेतिर मात्रै हुन्छ बेनिसाको खाना खाने समय । खानाका रूपमा उनी दाल–भात (ब्राउन राइस) र तरकारी खान्छिन् । भरसक भातसँग साग खान नछुटाउने उनले सुनाइन् । खानपानपछि दैनिक काममा व्यस्त रहन्छिन् ।

सामान्यतः साँझ आठ बजेभित्रै बेलुकीको खाना खाइसक्छिन् । रोटी, सागसब्जी र दाल उनको बेलुकीको खानाका परिकार हुन् । कहिलेकहीं भने उनी बेलुकीको खानामा कुखुराको उसिनेको मासु पनि खान्छिन् । सामान्यतः राति ११ बजेभित्र आफू सुतिसक्ने उनी बताउँछिन् ।

अभिनेतृ हमाल आफ्नै घरमा बनाइएको खाना नै रुचाउँछिन् । बाहिरको खानपानमा उनलाई खासै रुचि हुँदैन । भन्छिन्– ‘मलाई त घरमै बनाएको खाना मन पर्छ, बाहिरतिर खान खासै मन लाग्दैन ।’

अर्ग्यानिकमा जोड


उनी हाइजेनिक तथा अर्ग्यानिक खानपान गर्न रुचाउँछिन् । स्वस्थ खानपानप्रति उनी निकै सचेत छिन् । सहरी क्षेत्रमा शतप्रतिशत अर्ग्यानिक खाद्य सामग्री नपाइए तापनि आफूले सकभर अग्र्यानिकमै जोड दिने गरेको उनले सुनाइन् । फलफूलजस्ता काँचै खाइने सामग्री पनि आधा घन्टाजति पानीमा भिजाएर मात्रै खान्छिन् उनी ।

अभिनेतृ बेनिसा जङ्कफुड खानमा जोड गर्दिनन् । आफूलाई जङ्कफुड मन नपर्ने उनले बताइन् । ‘मलाई चाउचाउ त मन नै पर्दैन,’ उनी भन्छिन्– ‘तर, हतार भयो र अन्य खाना केही पाइएन भने कहिलेकहीं खानैपर्ने हुन्छ र खाइन्छ पनि ।’

जन्डिसले अस्पताल

उनी हरेक वर्ष होलबडी चेकअप गराउँछिन् । स्वास्थ्य समस्याका कारण भोगेको एउटा तीतो अनुभव छ उनीसँग । दस वर्षअघि उनलाई जन्डिस भएको रहेछ । त्यसबेला अस्पताल नै भर्ना हुनुपरेको बेनिसाले सुनाइन् ।

त्यसपछि भने स्वास्थ्य समस्याका कारण अस्पताल बस्नु परेको अनुभव उनीसँग छैन । सामान्य रुघाखोकी लागेमा सोझै मेडिकलबाट औषधि किनेर सेवन गर्छिन् । रुघाखोकी अलि बढेमा भने विशेषज्ञ चिकित्सकको परामर्शमा औषधि खान्छिन् ।

ब्राण्ड हेरेर मात्रै कस्मेटिक्स


कस्मेटिक्स सामग्री किन्दा उनी राम्रै ब्राण्ड हेर्छिन् । अनलाइनमा ‘सर्च’ गरेर समेत कस्मेटिक्स सामग्रीको गुणस्तरीयता यकिन गरी खरिद गर्ने गरेको उनले बताइन् ।

बेनिसा कहिलेकहीं भने सौन्दर्य तथा छालारोग विशेषज्ञको परामर्शमा समेत कस्मेटिक्स प्रयोग गर्छिन् । पिम्पल्स, स–साना दाग वा छालासम्बन्धी केही समस्या देखापर्न थालेमा विशेषतः कला क्षेत्रकाहरूका निम्ति विशेषज्ञको परामर्शमा कस्मेटिक्सको प्रयोग जरुरी हुन्छ ।

फुर्सदमा पुस्तक

अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर बेनिसा पुस्तक पढ्न रुचाउने अभिनेतृ हुन् । फुर्सदको समयमा फिल्म हेर्छिन् र पुस्तक पढ्छिन् । ‘फुर्सदको बेला पुस्तक पढ्छु,’ उनले भनिन्– ‘पछिल्लो समय मैले पढेका पुस्तकमध्ये ड्यानिल स्टिलको ‘ड्याडी’ असाध्यै मन पर्‍यो ।’

अभिनय यात्रा

गीतानगर (चितवन) मा जन्मिएकी अभिनेतृ हमालले नौ वटा फिल्ममा अभिनय गरिसकेकी छन् । उनले खेलेका फिल्ममध्ये ‘झ्यानाकुटी’ र ‘ब्लाइण्ड रक्स’ ले नै उनलाई सबभन्दा बढी चिनाए । ‘अहिले पनि झ्यानाकुटीका बारेमा मलाई धेरैले म्यासेज पठाउनुहुन्छ,’ उनले भनिन्– ‘ब्लाइण्ड रक्सले भने मलाई स्थापित नै बनाइदियो ।’

यी दुवै फिल्ममार्फत उनले दर्शकको मन जितिन् । र, राम्रो लोकप्रियता कमाउन सफल भइन् । तर, उनी आफैंलाई भने अभिनेतृ बन्ने रहर थिएन; न त यस्तो उद्देश्य नै थियो । संयोगले उनी अभिनय क्षेत्रमा छिरिन् ।

बेनिसाले चितवनस्थित कालिका एफएमबाट मिडिया–जर्नी सुरु गरिन् । त्यसपछिको केही समय च्यानल नेपाल र नेपाल टेलिभिजनमा समेत काम गरिन् । र, त्यसपछि भने उनी कला क्षेत्रमा छिरिन् । ‘कला क्षेत्रको पनि अनुभव चाहिँ लिऊँ न त…’ भनेर फिल्मीयात्रा सुरु गरेकी उनलाई कलाक्षेत्रकै रसले निरन्तर तानिरह्यो । उनको कला दर्शकले मन पराउँदै गएपछि फिल्म तथा म्युजिक भिडियो खेल्ने अफर लगातार आउन थाले । त्यसपछि भने आफूले यही क्षेत्रमा भविष्य खोज्न थालेको उनी बताउँछिन् । अब त उनी अभिनय क्षेत्रकै दैनिकीमा व्यस्त छिन् ।

भारतमा फिल्म मेकिङ पढ्दै

भारतमा रहेर ‘फिल्म मेकिङ’ अध्ययन गरिरहेका बेला विश्वव्यापी कोरोना महामारी फैलिएकाले यहाँ लकडाउन हुनुभन्दा केही अघि उनी नेपाल फर्किइन् । दुईवर्षे कोर्षमध्ये छ महिना मात्र अध्ययन गरेर फर्कनुपरेको उनले बताइन् । कोरोना महामारी नियन्त्रण हुँदै गए फेरि भारत फर्किएर उक्त कोर्ष पूरा गर्ने योजनामै छिन् बेनिसा ।

यसबीच कोरोना महामारीलाई छल्दै सुटिङ हुन थालेको उनले बताइन् । ‘म्युजिक भिडियोहरूको काम भैरहेको छ,’ उनले भनिन्– ‘व्यक्तिगत दूरी कायम गर्दै यतिबेला पनि सुटिङ गरिरहेकै छौं ।’

कला पनि, कमाइ पनि

सुरु–सुरुमा सोख र चर्चा–प्रतिष्ठामा मात्र सीमित रहेको कला क्षेत्र पछिल्लो समय भने जीविका र प्रगतिको पेशा समेत बन्न थालेको छ । अब भने कलाकारिता गरेरै आर्थिकरूपमा सबल हुन सकिने बेनिसाको अनुभव छ । कला प्रस्तुतिको माध्यमका हिसाबले फिल्म नै राम्रो भए पनि आर्थिक उपार्जनका हिसाबले चाहिँ म्युजिक भिडियो राम्रो भएको उनको तर्क छ ।

‘म्युजिक भिडियोमा पैसा पनि राम्रै पाइन्छ,’ बेनिसाले सुनाइन्– ‘तर, फिल्म र म्युजिक भिडियो दुवै नै आफ्नो कला पस्कने सशक्त माध्यम हुन् । र, म पनि अब यही पेशालाई निरन्तरता दिने योजनामा छु ।’