जवानी फर्काउने एन्टलर
डा. डीबी सुनुवारसुन्दर मिर्गको कलिलो सिङ्बाट तयार पारिन्छ ‘भाल्बेट एन्टलर’ । मिर्गको विनाजस्तै महत्वका साथ लिइने भाल्बेट एन्टलरमा प्राकृतिक औषधीय गुण हुन्छ, जुन मानव स्वास्थ्यका लागि निकै लाभदायक छ ।
अस्ट्रेलिया–न्युजिल्याण्डमा यसको व्यावसायिक खेती नै गरिन्छ । जसरी भेडाको ऊन काढेर (मुण्डन गरेर) विभिन्न वस्त्र तयार गरिन्छ, सोही प्रकृतिले मिर्गको कलिलो सिङलाई ‘ट्रिम’ गरेर निकालिन्छ । यसरी ट्रिम गर्दा मिर्गको स्वास्थ्यमा कुनै असर पर्दैन, त्यस्तो सिङ फेरि पलाइहाल्छ ।
ट्रिम गरेर निकालिएको मिर्गको सिङलाई सुकाइन्छ । त्यसपछि आवश्यकताअनुसार प्रशोधन गरेर पाउडर बनाइन्छ । सिङलाई यसरी प्रशोधन गरी बनाइएको पाउडर अर्थात् ‘भाल्बेट एन्टलर’ लाई आवश्यकताअनुसार प्रयोग गरिन्छ ।
प्राकृतिक चिकित्सकीय विधि अपनाउने कतिपय वैद्यहरूले मिर्गको सिङलाई सोझै विभिन्न औषधिका रूपमा समेत प्रयोग गर्ने गरेको पाइन्छ । हामीमध्ये कतिपयले देखेका वा थाहा पाएका हुन सक्छौं, ज्वरो आएका बेला वैद्यहरूले मिर्गको सिङलाई घोटेर निधारमा लेप लगाउने चलन छ । यसो गर्दा ज्वरो कम हुन्छ । प्राकृतिक चिकित्सकीय उपचार पद्धतिमा भाल्बेट एन्टलरलाई शरीरमा लगाएर वा खुवाएर उपचार गरिन्छ ।
कहाँ–कहाँ पाइन्छ ?
मिर्ग संसारभरकै प्रायः मुलुक या स्थानमा पाइन्छन् । प्राकृतिक औषधीय गुणका हिसाबले न्युजिल्याण्ड, चीन, अस्ट्रेलियन मिर्गको सिङ बढी महत्वपूर्ण मानिन्छन् । मिर्ग नेपालमा पनि पाइन्छ र यहाँका मिर्गको सिङ पनि प्राकृतिक औषधीय गुणका हिसाबले गुणस्तरीय नै मानिन्छन् ।
तर, यसबारे भने नेपालमा खासै अध्ययन भएको देखिँदैन । व्यावसायिक खेतीका लागि केही अध्ययन भए तापनि यसबारे सम्बन्धित निकायले पर्याप्त चासो दिएको छैन र ठोस कानुनी व्यवस्था समेत भैसकेको छैन ।
पाइने तत्व
भाल्बेट एन्टलरमा ग्लाइकोसामिनोग्लाइक्यान, सेलेनियम, प्रोटिन, एन्टीएजिङ प्रोपर्टीजस्ता प्राकृतिक औषधीय गुण भएका सक्रिय तत्व पाइन्छन् । यी तत्वका कारण शारीरिक एवम् मानसिकरूपले स्वस्थ, तन्दुरुस्त र मजबुत रहन मद्धत मिल्छ ।
के–के छन् फाइदा ?
प्राचीन समयमा प्रायः राजघरानिया तथा ‘शक्तिशाली’ व्यक्तिहरूले भाल्बेट एन्टलर प्रयोग गर्थे । वैज्ञानिक तवरबाट यसबारे अध्ययन–अनुसन्धान भएपछि यसको व्यावसायिक रूपमा समेत उत्पादन गर्न सकिने कुरा बिस्तारै थाहा भयो । त्यसपछि व्यावसायिक उत्पादन सुरु भएको पाइन्छ । प्राकृतिक हिसाबले होस् वा आधुनिक प्रविधिको प्रयोग गरी प्रशोधन गरेर नै किन नहोस्, भाल्बेट एन्टलरको प्रयोग बढ्दै गएको छ ।
आधुनिक प्रविधिको विकास हुनुअघि यसलाई प्राकृतिक रूपमा खसीको खुट्टाको सुप पकाएर खाएजस्तै गरी खाने परम्परा देखिन्छ । आधुनिक प्रविधिको विकास भएसँगै प्रशोधन गरेर भाल्बेट एन्टलर क्याप्सुल तथा ट्याब्लेटका रूपमा समेत प्रयोगमा आएको छ ।
भाल्बेट एन्टलरको सन्तुलित तथा नियमित प्रयोगले शरीरका अङ्ग–प्रत्यङ्ग जवान राख्न मद्धत मिल्छ । यसको नियमित प्रयोग गर्दा शरीरमा भएका विकार तत्व बाहिर जान्छन्, जसले गर्दा रक्त–प्रवाह सहज हुन्छ । शरीरमा रक्त–प्रवाह सहज हुनेबित्तिकै व्यक्ति स्वतः स्वस्थ र मजबुत बन्छ । यसको प्रयोगबाट रोग प्रतिरोधात्मक क्षमता बढ्छ, जसले गर्दा रोग लाग्ने सम्भावना त कम हुन्छ नै, जवान रहन समेत मद्धत मिल्छ ।
उमेर पाको हुँदै गएकाहरूलाई एन्टलरको प्रयोगले जवान जस्तै महसुस गराउँछ र शारीरिक मात्र होइन, मानसिकरूपमा समेत स्वस्थ र स्फूर्त गराउँछ । यसले स्मरणशक्ति तीक्ष्ण गराउन सहयोग पुर्याउँछ । विभिन्न कारणले यौन–दुर्बलता भएकाहरूमा यौन क्षमता बढाउन पनि भाल्बेट एन्टलरले मद्धत गर्छ । यसर्थ, एन्टलर पाको उमेरकाहरूका निम्ति निकै लाभदायक छ ।
साथमा यी जडीबुटी पनि…
भाल्बेट एन्टलर विशेषतः जवान र पाको उमेरकाहरूका निम्ति बढी लाभदायक छ । जापान, कोरिया, चीनजस्ता मुलुकमा पाको उमेरकाहरूले जवान रहनका लागि भाल्बेट एन्टलरको प्रयोग गर्ने गरेको पाइन्छ । पाको उमेरमा समेत जवानी कायम राख्नका लागि भाल्बेट एन्टलर मात्र होइन, बर्डनेस्ट, जिन्सेङ, कर्डिसेप, गानोदर्माजस्ता प्राकृतिक जडीबुटी तथा वनस्पतिको प्रयोग लाभदायक हुन्छन् ।