लकडाउनपछिको जीवनशैली !
होलिस्टिक संवाददाताकोरोनाभाइरसको सङ्क्रमणबाट उत्पन्न हुने कोभिड– १९ को विश्वव्यापी महामारीलाई रोकथाम र नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले नेपालमा लागू गरेको चार महिना लामो राष्ट्रव्यापी लकडाउन हटेयता पनि जनजीवन सामान्य भएको छैन । लकडाउन हटेयता पनि सङ्क्रमण दर उच्च भएका कतिपय जिल्ला र क्षेत्रमा स्थानीय प्रशासनमार्फत निषेधाज्ञा जारी गर्ने र हटाउने क्रम अहिले पनि चलिरहेको छ । राजधानी उपत्यकामा लगाएको झन्डै एक महिना लामो निषेधाज्ञा निकै खुकुलो पारिए तापनि पूर्णरूपमा हटिसकेको छैन ।
मुख्यतः ¥याल, सिँगान र थुकको छिटा (ड्रपलेट्स) को माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने कोरोनाभाइरसबाट जोगिन र जोगाउनका निम्ति उच्च सावधानी अपनाउने क्रममा नै लकडाउन र निषेधाज्ञा गरिएको हो । तर, राष्ट्र, समाज र जनजीवन ठप्प भएर झन्डै आधा वर्ष ‘स्टे होम’ को अवस्था भोगिसक्दा समेत यो महामारी नियन्त्रणमा आउनुको सट्टा दिनानुदिन झन्–झन् फैलिइरहेको स्थितिमा लकडाउन हटाइएको छ र निषेधाज्ञा खुकुलो तथा साँघुरो पारिएको छ । धेरै लामो समयसम्म निकै कडा लकडाउन वा निषेधाज्ञा कायम राख्नु पनि व्यावहारिक र सम्भव कुरा होइन । यद्यपि लकडाउन लगाउने र हटाउने समय–सन्दर्भ चाहिँ ठीक या बेठीक के भयो, त्यो समीक्षा र मूल्याङ्कनको बेग्लै पाटो हो ।
नेपालमा जम्मा दुई जनामा सङ्क्रमण पुष्टि भएको र एक जना मात्र सक्रिय सङ्क्रमित रहेको अवस्थामा राष्ट्रव्यापी लकडाउन गरिएको थियो । तर, राष्ट्रव्यापी लकडाउन तथा उपत्यकाव्यापी निषेधाज्ञा हटाइएका बेला भने यी पङ्क्ति लेखिँदासम्म कूल सङ्क्रमित सङ्ख्या ६६,६३२, मृत्यु भैसकेका सङ्क्रमितको सङ्ख्या ४२९ र आइसोलेसनबाट डिस्चार्ज हुनेको सङ्ख्या ४८,०६१ तथा सक्रिय सङ्क्रमितको सङ्ख्या १८,१४२ रहेको छ भने यतिबेला कुन स्तरको सतर्कता र सावधानी अपनाउनु जरुरी छ, सबैले सहजै बुझ्न सक्ने र बुझ्नुपर्ने कुरा हो । यस सन्दर्भमा राज्य, सरकार र सम्बन्धित निकाय तथा संस्थाहरूको भूमिका र जिम्मेवारी आफ्नै ठाउँमा छ; नागरिक स्वयम्ले नै उच्च सतर्कता र गम्भीर सावधानी अपनाएर आफू बच्नु तथा अरुलाई बचाउनु समेत यसबेलाको सर्वोत्तम उपाय हो ।
कोरोना महामारीको त्रासदी र यसबाट बच्ने उपायहरूलाई ध्यानमा राखेर नै कामकाज, हिँडडुल, खानपान, रहनसहन, सभ्यता–संस्कृति र समग्र जीवनशैली अपनाउनु नै कोभिड– १९ बाट बच्ने एक मात्र उपाय भएको कुरामा सरकार, स्वास्थ्यकर्मी र विज्ञहरूले जोड दिएका छन् । विश्वका विभिन्न मुलुकमा कोभिडविरुद्धका खोप र औषधिहरूको विभिन्न चरणमा परीक्षण भैरहे तापनि प्रामाणिक एवम् आधिकारिक हिसाबले ती बजारमा आएका छैनन् । हालसम्मको अवस्था हेर्दा अझै कयौं महिना वा वर्ष कुर्नुपर्ने देखिन्छ । लक्षणका आधारमा उपचार गर्ने सिलसिलामा विभिन्न औषधि र जडीबुटीको सकारात्मक प्रभाव देखिए तापनि तिनको पूर्ण प्रभावकारिता र सार्वभौमिकता पुष्टि हुन सकेको छैन । यो अवस्थामा कोरोना महामारीबाट बच्ने उपाय भनेकै सचेतता र सतर्कता मात्र हुन् । कोभिडको सङ्क्रमण हुनबाट बच्न सक्नु नै हालसम्मको सबैभन्दा भरपर्दो उपाय हो ।
सार्वजनिक यातायात, बन्द–व्यापार, उद्योग–धन्दा, कलकारखाना, सरकारी तथा निजी कार्यालयलगायत अधिकाङ्श क्रियाकलाप खुला भएको र यत्रतत्र भीडभाड बढिरहेको वर्तमान सन्दर्भमा सामाजिक या व्यक्तिगत दूरी कायम गर्नु कठिन काम भएको छ । तर, यो अनिवार्य नै छ । त्यस्तै, मास्क, स्यानिटाइजर, पञ्जा, चश्मा, फेसशिल्ड आदिको सही प्रयोग गर्नु तथा बाहिरी वातावरणको सम्पर्कलगत्तै साबुन–पानीले राम्ररी हात धुनु सङ्क्रमणबाट बच्नका निम्ति गर्नुपर्ने अर्को महत्त्वपूर्ण कर्म हो ।
रचनात्मक–सिर्जनात्मक भएर, सकारात्मक सोचेर, सफा–सुग्घर तथा पोषणयुक्त खाने कुरामा जोड दिएर, आहारपूरक एवम् औषधिजन्य खाद्य सामग्रीको सेवन गरेर, स्वास्थ्यवर्द्धक जडीबुटीहरूको उपभोग गरेर तथा शरीरलाई पुग्ने गरी व्यायाम गरेर रोग प्रतिरोधात्मक क्षमता बढाउनु कोभिड– १९ लगायत सबैखाले महामारीबाट बच्ने अर्को महत्त्वपूर्ण उपाय हो । यी र यस्ता पक्षमा ध्यान दिऊँ, महामारीबाट बचौं र बचाऔं !