घरमै बनाउनोस्, स्वादले खानोस्
होलिस्टिक संवाददातामटन कोर्मा
यो खसीको मासु (मटन) सँग दही, दाना मसला र मसलाको धुलो मिलाएर बिस्तारै पकाई बनाइने परिकार हो । यसलाई विभिन्न तरिकाबाट बनाउन सकिन्छ । यहाँ उल्लेखित तरिकाबाट बनाउँदा अझ स्वादिलो र पोषणयुक्त हुन्छ ।
आवश्यक सामग्रीहरू
मटनः आधा केजी, दहीः १ कप, अदुवा र लसुनको पेस्टः १ (ठूलो) चम्चा, नुनः आधा (सानो) चम्चा वा स्वादअनुसार, रातो खुर्सानीः १ (सानो) चम्चा, धनियाँ पाउडरः १ (सानो) चम्चा, बेसारः चौथाई (सानो) चम्चा, टुक्रा पारिएको हरियो खुर्सानीः एउटा, प्याजः ३ वटा (मध्यम आकारका), घ्युः आधा (ठूलो) चम्चा, मसलाहरूः ल्वाङ ४ देखि ६ वटा, दालचिनी २ देखि ४ टुक्रा, सुकुमेल ६ दाना, अलैंची २ वटा, मरिच ५ देखि ६ दाना (पिसेको), एउटा जाइफलको ८ भागको १ भाग ।
बनाउने विधि
म्यारिनेसन
मटनलाई राम्ररी सफा गर्ने र पानी तर्याएर एउटा भाँडामा राख्ने । मटनमाथि दाना मसलाहरू सिङ्गै राख्ने । त्यसपछि मसलाको धुलो राख्ने अनि अदुवा–लसुन को पेस्ट राखेर दही राख्ने । त्यसमाथि हरियो खुर्सानी राख्ने र मजाले मोल्ने अनि २–३ घन्टा वा रातभर फ्रिजमा राख्ने ।
त्यसपछि प्याजलाई मसिनो गरी काट्ने अनि तेलमा फ्राई गर्ने । तेल तर्याएर त्यसलाई ग्राइन्डरमा पिस्दै मसिनो बनाउने । अब म्यारिनेट गरिएको सामग्रीमा माथिबाट थोरै घ्यु राख्ने र सो भाँडो बसाली चर्को आगोमा १० मिनेटसम्म पकाउने ।
अब मासुबाट पानी निस्कन थाल्छ । आगो घटाएर करिव ३० मिनेटसम्म सानो आगोको रापमा पकाउने । पाकेपछि त्यसमा पिसेको प्याज राख्ने । १०० मिलिलिटर जति पानी राख्ने र त्यसलाई मजाले चलाउँदै सानो आगोमा पकाउने । अब जाइफल राख्ने र अन्त्यमा धनियाँको धुलो राखेर चलाउने ।
लेदो भैसकेपछि मटन कोर्मा तयार हुन्छ, आगो बन्द गरिदिने । त्यसलाई करिव १ घन्टासम्म त्यत्तिकै छोपेर राखिदिने । हल्का सेलाएपछि रोटी, परौठा, पुुलाउ वा भातसँग खाने ।
डिटक्स जुस
आवश्यक सामग्रीहरू
सुपको गानोः (फिनेल हेड) एउटा, हरियो स्याउः (मध्यम आकारको) एउटा, किबी फलः एउटा, केलको सागः १५० ग्राम ।
बनाउने विधि
पहिले सबै सामग्री तयार पार्ने र सफा पानीले राम्ररी पखाल्ने । सबै सामग्रीलाई स–साना टुक्रा पारी काट्ने । त्यसलाई मिक्सरमा राख्ने र करिव ५० मिलिलिटर पानी हालेर मसिनो नहुन्जेल पिस्ने ।
यति सामग्री प्रयोग गरेर बनाइएको जुस दुई जनालाई पिउन पुग्छ । बिहान सबेरै डिटक्स जुस पिउनाले पेटसम्बन्धी विभिन्न समस्याहरूबाट छुटकारा पाउन सकिन्छ ।
चकलेट मफिन
आवश्यक सामग्रीहरू
मैदाः २५० ग्राम, नुनः आधा (सानो) चम्चा, बेकिङ पाउडरः २ (सानो) चम्चा, कोका पाउडरः ५० ग्राम, धुलो चिनीः १०० ग्राम, ब्राउन सुगरः ६० ग्राम, अण्डाः २ वटा, दूधः १८५ मिलिलिटर, तेलः १०० मिलिलिटर, भेनिला एक्स्ट्राक्टः १ (सानो) चम्चा, मिल्क चकलेटको टुक्राः १५० ग्राम ।
बनाउने विधि
१८० डिग्री सेल्सियसमा बेकिङ ओभन तताउने । १२ वटा मफिन अट्ने ट्रे सफा गरी तयार पारेर राख्ने । एउटा भाँडामा पिठो, नुन, बेकिङ पाउडर, कोका पाउडर र चिनी मोल्ने । राम्ररी मोलेपछि बीचमा खाल्डो बनाएर सोही भाडामा राख्ने ।
त्यसपछि अण्डालाई फुटाएर एउटा कचौरामा राम्ररी फिट्ने । त्यसमा दूध पनि मिसाएर फेरि फिट्ने । पिठोमा बनाइएको खाडलमा सो मिश्रणलाई राख्ने । त्यसमा तेल र भेनिला एक्स्ट्राक्ट पनि राख्ने । अब पीठोलाई तरल पदार्थको मिश्रणसँग राम्ररी मोल्ने । ब्याटर तयार भएपछि चक्लेटका केही टुक्रा पनि राखेर मोल्ने ।
तयार पारेर राखिएको ट्रेमा बटर पेपर वा हल्का तेल राखेर ब्रस गर्ने । तयार भएको ब्याटरलाई सोही ट्रेमा राख्ने र माथिबाट चक्लेटका टुक्राहरू छरिदिने । त्यसपछि ट्रेलाई तातिरहेको ओभनमा राखेर २० मिनेटसम्म बेक गर्ने । राम्ररी फुलेपछि ट्रेलाइ निकाल्ने र सेलाउन दिने । यसरी तयार भएको मफिनलाई ब्रेकफास्ट वा खाजाका रूपमा खान सकिन्छ ।
भण्टाको अचार
आवश्यक सामग्रीहरू
भण्टाः ३ वटा (ठीक्क आकारका), नुनः १ (सानो) चम्चा वा स्वादअनुसार, कागतीः २ दाना (रस मात्र), अदुवा–लसुनको पेस्टः १ (सानो) चम्चा, मरिचको धुलोः १० ग्राम, खुर्सानीः ३ वटा (स–साना टुक्रा पारिएको), भटमासको तेलः १ (ठूलो) चम्चा, मेथीः सानो एक चम्चाको एक तिहाईजति, बेसारः सानो एक चम्चाको एक तिहाईजति ।
बनाउने विधि
भण्टालाई सफा पानीले पखाल्ने र सुख्खा बनाउने । त्यसलाई आगोमा पोल्ने । सबैतिरबाट एकनासले ओल्टाइपल्टाई पोलेपछि केही बेर सेलाउन दिने । अब ताछेर बोक्रा निकाली फाल्ने अनि भित्री भागलाई मसिनो गरी सिलौटामा पिस्ने ।
त्यसपछि फ्राई प्यानमा तेल तताउने र मेथी पड्काउने । अदुवा–लसुन अनि खुर्सानीलाई फ्राई गर्ने । त्यसमा बेसार राख्ने र लगत्तै पिसेको भण्टा राखिदिने । त्यसपछि मरिच र कागतीको रस राखेर एकछिन चलाउने । थोरै भाङको धुलो राखेर स्वाद बढाउन सकिन्छ र यो नराख्दा पनि हुन्छ ।
अब एक छिन चलाउने र केही बाक्लो भएपछि आगो बन्द गरिदिने । यसमा थप अमिलो वा पिरो राखेर आफ्नो स्वादअनुसार खान सकिन्छ ।