पशुपक्षीको चालमा व्यायामको रिदम

अनिता सुनुवार

‘परिस्थिति प्रतिकूल भएको समयमा मनस्थितिलाई अनुकूल बनाउनुपर्छ ।’
प्रतिकूल परिस्थितिले तनाव बढाउँछ । तनाव व्यवस्थापन नहुँदा जीवन नीरस हुन्छ । तनाव बढ्दै गए दिक्दारीपन बढ्दै जान्छ, जसले जीवनलाई नै नकारात्मकतातिर धकेल्छ । बारम्बार नकारात्मक सोच दोहोरिँदा जीवन घातक तथा डरलाग्दो मोडमा पुग्न सक्छ ।
तर, चिन्ता नलिनोस् । परिस्थिति र मनस्थितिलाई अनुकूल बनाउन सकिने होलिस्टिक व्यायाम विधिहरू छन्, तिनै विधिहरूबारे यहाँ चर्चा गराैं ।

होलिस्टिक पञ्च–तत्व

हावा, पानी, माटो, आगो र आकास– यी पाँच तत्वका आ–आफ्नै विशेषता र महत्व छन् । र, यिनै तत्वका आधारमा होलिस्टिक विधि तयार भएको छ । पञ्च–तत्वको अस्तित्वको आधारमा नै हाम्रो अस्तित्व निहित छ । जसरी पञ्च–तत्वहरूमध्ये एकले अर्कालाई निर्मित र नियन्त्रित गर्दछन्, ठीक त्यसरी नै हाम्रो मानसिक अवस्थाले शारीरिक अवस्थालाई निर्मित र नियन्त्रित गर्दछ ।
कुनै पनि क्रियाकलाप गर्नुभन्दा पहिले मनमा कुरा उब्जन्छ । मनमा कुरा उब्जिएपछि नै मस्तिष्कले निर्देशन गरेबमोजिम क्रियाकलाप गरिन्छ । मस्तिष्कको विश्वासका आधारमा शारीरिक अवस्थालाई नियन्त्रित र मानसिक अवस्थालाई सन्तुलित राखिन्छ । अङ्गहरूलाई चलायमान बनाएर कलात्मक तरिकाले मानसिक अवस्थालाई स्वस्थ र स्वच्छ राख्न सकिन्छ । शरीर र मन स्वस्थ तथा स्वच्छ राख्नका लागि केही पशुपक्षीका व्यायाम विधि अङ्गीकार गर्न सकिन्छ । चरा, माछा, हरिण, भालु र बाघको आकृतिलाई नियालेर व्यायाम गर्न सकिन्छ ।

चराको चाल

व्यायामको सुरुआतमा चराको चालका बारेमा चर्चा गरौं । ‘चरा’ सननन… हावामा उड्ने जीव हो । लाग्छ, चराजत्तिको स्वच्छन्द र स्वतन्त्र सायदै अरु जीव होलान् ।
व्यायामका क्रममा अब हामी पनि चराको चाललाई पछ्याऔं । चरा आसनमा व्यायाम गर्दा सबैभन्दा पहिले शरीरलाई सरल अनि सहज बनाऔं । श्वास–प्रश्वासमा ध्यान केन्द्रित गरौं । ध्यानका हरेक चालमा शरीरका अङ्ग फुक्दा सास तानौ र खुम्चँदा छाडाैं ।
चरा उड्न तर्खर गरेजसरी, सहजरूपले दुवै हातलाई हल्कासँग माथितिर लगौं । त्यसपछि माथिबाट तल झारी तलबाट माथितर्फ उचाल्दै लैजाऔं । हात तल–माथि गरिरहँदा हातबाट शरीरमा ऊर्जा खन्याएजस्तो गरिन्छ । त्यसपछि उड्ने बेलामा चराले पँखेटा फट्याक–फट्याक गर्दै चलाए जसरी हात फैलाउँदै छाड्दै गरौं ।
सहजरूपले शरीरलाई आराम अवस्थामा ल्याउँदै बिस्तारै हातलाई दुवैतर्फ फैलाउँदै चराले पँखेटा हल्लाएजस्तो गर्नुपर्छ । खुट्टा तन्याकतुनुक पार्ने, मुन्टो हल्लाउने, पँखेटा फिँजाएर घाम तापेजस्तो चराले गर्ने विभिन्न क्रियाकलाप चराको चालकै आधारमा हामीले पनि व्यायाम गर्न सक्छौं ।

माछाको चाल

चौबीसै घन्टा स्वच्छ पानीमा पौडने माछाको चाल हेर्दा लाग्छ, म पनि यसैगरी पानीमा पौडिरहुँ । पानीमा पौडिइरहेको माछाको चालअनुसार व्यायाम विधि अपनाउन सकिन्छ ।
यस विधिमा पानीमा तैरने माछा जसरी नै व्यायाम गर्न सकिन्छ । माछाको चाल विधिमा शरीरलाई हल्का बनाई हल्का किसिमले हात हल्लाइन्छ । शरीरलाई बिस्तारै बटारिन्छ । आँखा चनाखो बनाइन्छ । मानौ– यतिबेला म पनि पानीमै तैरिइरहेको छु ।
यो व्यायाम विधिमा माछा पानीमा पौडिएकै जसरी हाउभाउ गरिन्छ । शरीरलाई सहज र हल्का किसिमले चलाएर गरिने यो विधिमा पूरै शरीरको व्यायाम हुन्छ । माछा चालको विधि अपनाउँदा शरीर त मजबुत हुन्छ नै, मन पनि स्वच्छ र स्वस्थ हुन्छ ।

हरिणको चाल

जङ्गलमा छनमन गर्दै नाच्ने सुन्दर प्राणी हो हरिण । यसको शारीरिक बनावट बडो सुन्दर हुन्छ । शाकाहारी प्राणी हरिण हेर्दै मनमोहक देखिन्छ । यसका सिङ आकर्षक हुन्छन् । हरिणले आफ्नो सिङ ठाडो पारी सिँगौरी हान्छ ।
व्यायामका क्रममा यसैगरी सिँगौरी हानेकै हाउभाउमा दुवै हात फैलाएर हातको आकृति बनाई अगाडि दबाब दिइन्छ । हरिण सिङ र खुट्टाको चालमा दगुर्छ । यसले पछाडि फर्केर हेर्नु खतराको सङ्केत हो । यही चाललाई आधार मानेर हातलाई अगाडि फैलाउँदै पछाडि लाँदै व्यायाम गरिन्छ । यस किसिमको व्यायाम गर्दा काँध, हातका हाडजोर्नी तथा कम्मर लचिलो हुन्छन् ।

भालुको चाल

भालु पनि सुन्दर जनावर हो । भालुका हाउभाउ पनि बडो रोमाञ्चक र सुन्दर देखिन्छन् । सुस्त चालमा हल्लँदै हिँड्ने भालु कसैलाई झम्टनु प¥यो भने चाहिँ निकै आक्रामक हुन्छ ।
भालु हिँड्ने तथा खेल्ने चाललाई आधार मानेर पनि व्यायाम गर्न सकिन्छ । भालुको चाललाई आधार मानी व्यायाम गर्दा सुरुमा शरीरलाई सहज र हल्का रूपमा छाड्नुपर्छ । त्यसपछि दुवै हातलाई भालुले उसका हात चलाएजस्तै गरी तल–माथि, दायाँ–बायाँ चलाउनु पर्छ; हात झड्कार्दै अगाडि–पछाडि लानुपर्छ । सानो बच्चा टुकु–टुकु हिँडेजसरी खुट्टा पनि हल्का तरिकाले, सुस्तरी दायाँ–बाँया अगाडि–पछाडि सार्दै पाइला चाल्नुपर्छ । व्यायामका क्रममा विश्राम लिँदा हात र खुट्टाको गति बिस्तारै स्थिर पार्नुपर्छ ।
भालु हाउभाउको आधारमा गरिने यो व्यायामले शरीरका अधिकाङ्श भागको व्यायाम हुन्छ । गर्धन, टाँटी, कम्मर, हात–खुट्टाका लागि यो व्यायाम प्रभावकारी हुन्छ । यो व्यायाम गर्दा शरीरका प्रत्येक अङ्ग–प्रत्यङ्ग चलायमान (फ्लेक्जिबल) हुन्छन् ।

बाघको चाल

बाघको हाउभाउलाई पछ्याएर गरिने व्यायाम विधिमा बिस्तारै दुवै हात माथि उचालिन्छ । हातका पञ्जालाई बाघको नङ्ग्रा जस्तो गरी फिँजाइन्छ । बाघको आँखाजस्तो हाउभाउमा सास लिने र फाल्ने गरिन्छ । र, खुट्टा उचाल्ने, अगाडि सर्ने र हातलाई पछाडि तान्ने गरिन्छ ।
बाघले झम्टे जसरी हात–खुट्टा तथा शरीर चलाउँदा शरीरका बाहिरी अङ्ग मात्र नभई भित्री अङ्गमा समेत व्यायाम पुग्छ । यो व्यायामले विशेषतः फोक्सो स्वस्थ रहन मद्धत पुर्याउने भएकाले स्वास–प्रश्वासमा हुने समस्याबाट बच्न सकिन्छ ।
यी पाँच जीवका कलात्मक विधि अपनाएर व्यायाम गर्दा शरीर र अङ्ग–प्रत्यङ्ग चलायमान हुन्छन्; शरीर लचिलो बन्छ । यसबाट मन–मस्तिष्क स्वच्छ र स्वस्थ हुन्छ ।