सङ्क्रमणको अवस्थामा तनावको व्यवस्थापन

करुणा कुँवर

दुई महिना अघिको कुरा हो, ६५ वर्षकी मनमाया बस्नेत (परिवर्तित नाम) मनोपरामर्शका लागि आएकी थिइन् । उनमा डाइबिटिजको समस्या रहेछ । कोरोना लाग्यो भने त मरिहाल्छु भन्ने चिन्ताले उनलाई सताउन थालेछ । मरिन्छ भन्ने चिन्ताले मुटु ढुक–ढुक हुने, छटपटी हुने, निद्रा नलाग्ने जस्ता समस्या भएछन् ।
०००

नेपालमा पहिलो पटक लकडाउन सुरु भएको एक महिना पछाडि १६ वर्षका रमेश कार्की (परिवर्तित नाम) मकहाँ आए । उनमा राति पनि ब्युँझने र अकस्मात उठेर रातमै हात धुनेजस्ता लक्षण थिए । परामर्श र उपचारपछि मनमाया र रमेशका समस्या समाधान भए ।
०००

व्यवसाय गर्ने मेरी एक आफन्तले दैनिक तीन लाख रुपैयाँ घाटा भैरहेको एक महिना अघि सुनाइन् । कमाइ शून्य भैरहँदा पनि दैनिक तीन लाख रुपैयाँ खर्च हुन्छ, पैसा कहाँबाट ल्याएर व्यवहारको व्यवस्थापन गर्नु भन्दै चिन्ताग्रस्त मनस्थितिमा उनले फोन गरिन् ।
कोरोनाको भय तथा सन्त्रासका समस्या लिएर परामर्श तथा उपचारका लागि अनेकौं व्यक्तिहरू दैनिकजसो हामीकहाँ आउने गरेका छन् ।
०००

सन्त्रास र चिन्ताको अर्को एउटा उदाहरण दिऊँ । मकहाँ नियमित आई काम गर्ने एक मालीलाई महामारीको अवस्थामा काममा आउँदा केही भन्ने पो हुन् कि भन्ने चिन्ता लागेछ । सन्त्रासका बेला काममा आउन उनी आफैंले नचाहेका हुन् कि भन्ने हामीलाई लाग्यो । उनले पछि आएर आफूलाई पैसाको अभाव भएको सुनाए । काममा नियमित आउँदा हुन्छ भनियो । त्यसपछि नियमित आउन थाले र उनलाई पैसाको अभाव पनि टर्यो । यो त एउटा उदाहरण भयो, यस्ता द्विविधा, सन्त्रास र चिन्ता छन् भने आपसी सल्लाहमा समाधान गर्नुपर्छ । यसो गर्दा विषम परिस्थितिमा जीवनशैली सहज बन्दछ । कुनै पेशा नचलेमा कुनै अर्को पेशा गरेर भए पनि तत्कालका लागि आर्थिक व्यवस्थापन गर्न सकिन्छ/सक्नुपर्छ ।
०००

महामारीको अवस्थामा जुनसुकै उमेरसमूहका व्यक्तिमा पनि तनाव उत्पन्न हुन सक्छ । कोरोनाभाइरस (कोभिड– १९) को महामारीले प्रायः सबैमा अन्योलता र सन्त्रास उत्पन्न भएको छ । सङ्क्रमणका कारण सबै उमेरसमूह र पेशा–व्यवसायका व्यक्तिमा तनाव र चिन्ता बढेको छ; कयौंको मनमा अन्योल र अनिश्चितताले घर गरेको छ ।
यो महामारी चीनमा सुरु हुँदा अब नेपालमा पनि सङ्क्रमण हुने भयले डेरा जमाएको थियो । डरैडरबीच पनि कतै नेपालमा यो महामारी आउँदैन कि भन्ने आशा समेत गरिँदै थियो । तर, कोरोना अरु मुलुकमा पनि बिस्तारै फैलँदै गयो । अन्त फैलिए पनि नेपालमा चाहिँ आउँदैन कि त भन्ने आशा धेरैका मनमा देखिन्थ्यो ।
नेपालभित्र दोस्रो व्यक्तिमा सङ्क्रमण पुष्टि, लकडाउन र सङ्क्रमितहरूको सङ्ख्यामा निरन्तर वृद्धि हुन थालेपछि व्यक्ति र समाज सङ्क्रमणसँग भन्दा पनि मान्छेसँगै पो डराउन थाले । मान्छेदेखि मान्छे टाढिन थाले; एकापसमै सशङ्कित हुन थाले ।
सङ्क्रमणको अवधि यति लामो समयसम्म नरहला भन्ने धेरैमा आशा थियो । लकडाउन, निषेधाज्ञा र विभिन्न क्रियाकलापहरूमाथिको सरकारी बन्देज लामो समयसम्म कायम नरहला भन्ने आम अपेक्षा थियो । तर, अनुमानविपरीत ती सबै स्थिति लम्बिइरहँदा यो महामारी अब कहिले अन्त्य होला भन्ने चिन्ताले सबैलाई झन् बढी सताइरहेको छ । हुनेखानेहरूको अवस्था बेग्लै होला तर हुँदाखाने या दैनिक आर्जनबाट गुजारा चलाउनेहरूमा बिहान–बेलुकाको छाक नै कसरी टार्ने भन्ने चिन्ता व्याप्त छ । व्यापार–व्यवसाय गर्नेहरूलाई पनि अनेकौं व्यावहारिक समस्या र तनावले सताइरहेको छ । कोभिड महामारीले सबैमा तनाव सिर्जना गरिरहेको छ ।
परिवारका सदस्यहरूसँगै भेट्न नपाउँदा थप चिन्ताले सताउने नै भयो । टाढा रहेको आफन्तसँग भेट्न नपाउँदा नैराश्यता बढ्ने नै भयो । कयौंलाई त आफन्त नै नभेटी पो मर्ने भइयो कि क्या हो भन्ने चिन्ताले समेत सताएको देखिन्छ ।

बालबालिकामा तनाव

कतिपय बालबालिकामा डराउने, आत्तिने, आफूलाई माया गर्ने व्यक्ति गुमाउँछु कि भन्नेजस्ता चिन्ता देखियो । किशोर–किशोरीहरूलाई भविष्यप्रतिको चिन्ताले बढी सताएको देखियो ।
विद्यालय तहको परीक्षा सकिएपछि लकडाउन भएकाले एक–डेढ महिना त बालबालिका शान्त नै रहे । तर, लामो समय स्कुल नलाग्दा बालबालिकामा यो महामारी त निकै ठूलै पो रहेछ भन्ने मनोविज्ञान विकसित भएर भय बढ्न थाल्यो । कतिपय बालबालिका अनलाइन कक्षामा जोडिए । प्रविधिको पहुँचबाट टाढा रहेका बालबालिका अनलाइन कक्षाको पहुँचबाट टाढै रहे । पढाइ तथा साथीभाइबीच भेटघाट नहुँदा बालबालिकामा पनि चिन्ता बढ्न थाल्यो । बालबालिकाको भविष्यको चिन्ताले अभिभावकलाई समेत सताउनु स्वाभाविकै हो । अनलाइन कक्षा लिइरहेका बालबालिकाका अभिभावकले त्यसको समेत ‘फि’ तिर्नुपर्दा यो पनि एक प्रकारको तनावकै विषय बन्यो ।
अभिभावक नै डर–त्रासमा पर्दा बालबालिकामा डर–त्रास झन् बढी हुन्छ । बालबालिका मोबाइल, कम्प्युटर तथा टिभीमा रमाउँदा एकै छिनका लागि ‘बोरिङ’ हटे तापनि बालबालिका प्रविधिमा धेरै झुमेको स्थितिले अभिभावकमा भने अर्को चिन्ता थपेको छ । बालबालिकाले परिवार तथा समाजसँग अन्तरक्रिया गर्न नपाउनु अभिभावकका निम्ति थप चिन्ताको विषय भएको छ ।

पाको उमेर: अकालमै मर्ने डर

ज्येष्ठ नागरिक (सामान्यतः ६० वर्ष माथिका) लाई कोरोनाबाटै पो मरिन्छ कि भन्ने चिन्ताले बढी सताएको देखिन्छ । परिवारमा पाको उमेरका अग्रज भएकाहरूका आफन्तमा आफूले अग्रजलाई गुमाउनुपर्ने पो हो कि भन्ने चिन्ता व्याप्त छ ।
सरकारले निरन्तर ‘जो जुन ठाउँमा छ, त्यही ठाउँमा बस्नू’ भनिरहेकाले धेरै व्यक्तिहरू आफन्त, परिवारजन र मान्यजनबाट टाढा रहनुपरेको छ । यो स्थितिले तनाव झन् बढाएको छ ।

धैर्यता आवश्यक

महामारीको अवस्थामा आत्तिनु हुँदैन । सबैले धैर्यता कायम गर्नुपर्छ । आफन्तजन वा अभिभावक टाढा रहेकाहरूले पनि प्रविधिको प्रयोग गरी कुराकानी गर्न सकिन्छ, चिन्ता लिनु हुँदैन ।
हरेक व्यक्तिसँग चुनौतीको सामना गर्ने शक्ति हुन्छ । आफूले आफैंलाई, आफ्नो क्षमतालाई चिनेर चुनौतीको सामना गर्न सिक्नुपर्छ ।
आफूलाई जहिल्यै सकारात्मक राख्यो र आफैंलाई विश्वास ग¥यो भने आत्मविश्वास बढ्छ । आत्मविश्वास बढेपछि धैर्यता बढ्छ । धैर्य हुँदा तनाव व्यवस्थापन गर्न सहज हुन्छ । त्यसैले जहिल्यै सकारात्मक सोच राख्नुपर्छ । भनिन्छ नि– ‘वनको बाघले खाओस्–नखाओस्, मनको बाघले खायो ।’ मनमा डर बढ्यो भने आत्मबल कमजोर हुन्छ, त्यसैले डर पाल्नु हुँदैन । तनावका कारण विभिन्न शारीरिक तथा मानसिक रोग लाग्न सक्ने भएकाले तनाव व्यवस्थापनमा ध्यान दिनु जरुरी छ ।
हतास त हुनै हुँदैन । योगा तथा व्यायाम गर्नाले पनि सकारात्मक बन्न सहयोग पुग्छ । राति राम्रोसँग सुत्नुपर्छ । दिउँसो सुत्दा रातको निद्रालाई असर गर्छ, मनमा अन्योल बढ्छ । तनावको ८० प्रतिशत औषधि निद्रा हो । राम्ररी निदाउँदा नयाँ किसिमका आइडिया आउँछन् । बिहानको घाम ताप्नुपर्छ । घाम ताप्दा मस्तिष्क सक्रिय हुन र तनाव व्यवस्थापन गर्न सहयोग मिल्छ ।

खानपिनको व्यवस्थापन जे छ त्यही राम्रो

सन्तुलित र नियमित खानपानमा त सधैं नै ध्यान पुर्याउनैपर्छ र महामारीका बेला यसमा थप सजग हुनैपर्छ । प्रशस्त हुनेले मात्रै सन्तुलित खाने होइन । आफूसँग जे छन्, तिनै खाद्य पदार्थलाई सन्तुलितरूपमा, सफा–सुग्घर तरिकाले र समय मिलाएर खान सक्यो भने स्वस्थ रहन सकिन्छ । समय मिलाएर खाँदा ग्यास्ट्रिक, टाउको दुख्नेजस्ता विभिन्न स्वास्थ्य समस्या निम्तन पाउँदैनन् ।

सचेत रहौं

सचेततापूर्वक स्वास्थ्य सुरक्षाका उपाय अपनाएर जीवनशैली अपनाउनुपर्छ । महामारीका बेला घरेलु हिंसा, बलात्कारजस्ता अपराध समेत हुन सक्ने भएकाले विशेष सचेत हुनुपर्छ । हिंसा गर्ने व्यक्ति आफ्नै वरिपरि हुन सक्ने कुरामा पनि सचेत हुनुपर्छ ।
परिवारजन तथा आफन्तबीच एकापसमा कुराकानी गर्नाले र बालबालिकासँग समय बिताउनाले तनाव व्यवस्थापनमा सहयोग मिल्छ । आफूले पनि मोबाइललगायतका प्रविधि कम चलाउँदा बालबालिकाले पनि कम चलाउँछन् । सकारात्मकताका साथ रमाउन सिक्नु नै महामारीमा जीवनशैली व्यवस्थापनको अचूक उपाय हो ।