यात्रा गर्दा यसरी जोगिऔं कोरोनाबाट
डा. शेरबहादुर पुन
कोरोना महामारी चलिरहेका बेला सार्वजनिक यातायात प्रयोग गरेर यात्रा गर्दा विशेष ध्यान पुर्याउनु पर्दछ । लकडाउन अघिदेखि नै बन्द रहेका लामो दूरीका सार्वजनिक यातायात चाडपर्वको पूर्वसन्ध्यामा भने चल्ने भएका छन् । कोरोना सङ्क्रमण फैलने मुख्य माध्यमहरूमध्ये सार्वजनिक यातायात पनि एक हो । धेरै मानिस जम्मा हुने भएकाले सार्वजनिक सवारी साधन उच्च जोखिमका माध्यमअन्तर्गत पर्दछन् ।
कोरोनाभाइरस नफैलियोस् भन्ने उद्देश्यले यात्रु स्वयम् र बस सञ्चालक दुवै पक्ष उत्तिकै सतर्क र जिम्मेवार हुनु जरुरी छ । यात्रु चढाउने र ओरोल्ने ठाउँमा धेरै मानिस जम्मा भई ठूलो भीड लाग्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । यस क्रममा सबभन्दा पहिलो कुरा त आफैंले एक–अर्कासँग दूरी कायम गर्नुपर्छ । यात्राका क्रममा व्यक्तिगत दूरी कायम गर्ने कुरामा निकै ध्यान दिनु आवश्यक छ । नचिनेका मानिससँग त झन् दूरी कायम गर्नैपर्यो । अहिले पनि अधिकाङ्श सङ्क्रमितहरू लक्षणबिहीन भएकाले पनि सङ्क्रमणबाट बच्नका निम्ति दूरी कायम गर्नु अझ बढी जरुरी छ । दुई मिटरको दूरी कायम गर्न सके कसैले खोक्दा या हाच्छ्युँ गर्दा कोरोनाको सङ्क्रमण आफूूसम्म आइपुग्ने सम्भावना धेरै कम हन्छ ।
सङ्क्रमणबाट बच्ने दोस्रो उपाय भनेको मास्कको सही प्रयोग हो । यात्रा गर्दा जनस्वास्थ्य मापदण्डसम्बन्धी निर्देशिका अनिवार्यतः पालना गर्न सरकार र सरोकारवाला निकायहरूले बारम्बार भनिरहे तापनि प्रायः सवारी साधनमा सिट खालि नहुने गरी यात्रु राख्ने गरेको देखिन्छ । चाडपर्वमा धेरै मानिस आफ्नो थातथलो फर्कने भएकाले सो निर्देशिका पूर्णरूपमा लागू हुने कुरामा ढुुक्क हुन सक्ने अवस्था छैन । यस्तो अवस्थामा मास्कको झन् ठूलो भूमिका हुन्छ ।
विदेशमा भने मास्कलाई खोपसरह नै मानी विज्ञहरूले तुलना गर्ने गरेको पाइन्छ । दूरी कायम गर्ने सम्भावना कम रहेको अवस्थामा मास्ककै भूमिका मुख्य हुन्छ । सङ्क्रमितले बोल्दा वा कराउँदा सङ्क्रमण रोक्न मास्कले नै मद्दत गर्छ । तर, मास्कलाई घरिघरि हातले छुनु हुँदैन । यसो गर्दा हातको सङ्क्रमण मुखमा र मुखको सङ्क्रमण हातमा सर्न सक्छ ।
यातायातका साधनको सिटमा बसेपछि हातले सिट, डन्डी, झ्याललगायत विभिन्न सतहमा छुँदा सङ्क्रमणको सम्भावना हुन्छ । त्यसैले सकभर सतहमा छुनु हुँदैन, छोइहाले हातमा स्यानिटाइजर लगाउनुपर्छ । घरि–घरि अनुहारमा हात पुर्याउने गर्नु हुँदैन । कोरोनाभाइरस केही घन्टासम्मा सतहमा पनि सक्रिय रहने सक्ने अनुसन्धानहरूबाट देखिएकाले नै मुखमा घरि–घरि हात नलान भनिएको हो । र, यसैकारण कुनै पनि सतहमा छोएपछि हातमा स्यानिटाइजर लगाउनु आवश्यक भएको हो । स्यानिटाइजर नभए र साबुन–पानीले हात धुने अवस्था समेत छैन भने आफ्नो गन्तव्यमा नपुगेसम्म हातलाई अनुहारमा लानै हुँदैन र पुग्नेबित्तिकै सबभन्दा पहिले साबुन–पानीले हात धुनु पर्दछ ।
कोरोना सङ्क्रमण नफैलियोस् भन्नेमा बसका चालक र सहचालकको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । उनीहरू आफैं समेत सङ्क्रमित हुने सम्भावना उच्च भएकाले उनीहरू स्वयम्ले समेत राम्रो सतर्कता अपनाउनु जरुरी छ । चलाउनुभन्दा पहिले नियमितरूपमा बस सफा गर्नुपर्छ । त्यसपछि बसमा यात्रु चढ्ने बेला दूरी कायम गरे–नगरेको हेरेर दूरी कायम गराउनुपर्छ । यात्रुले मास्क नलगाएको भए लगाउन प्रेरित/निर्देशित गर्नुपर्छ । मास्क सही तरिकाले लगाएको छ वा छैन भन्ने पनि हेर्नु पर्दछ । यदि यात्रु सङ्क्रमित रहेछन् र सही तरिकाले मास्क लगाएका रहेनछन् भने सहचालक स्वयम् नै सङ्क्रमणको उच्च जोखिममा पर्दछन् ।
बसको झ्याल हमेसा खुला हुनु पर्दछ । झ्याल खुला राखेपछि हावाबाट कोरोना सर्ने सम्भावना न्यून हुन्छ । हावाबाट पनि कोरोना सर्न सक्ने प्रमाण केही समय अगाडि मात्र वैज्ञानिकहरूले देखाएका छन् । र, विश्व स्वास्थ्य सङ्गठनले पनि सो कुरालाई स्वीकार गरिसकेको छ ।
बसका सहचालकले पैसा (नोट) को कारोबार निरन्तर गरिरहनुपर्ने हुन्छ । यस्तो अवस्थामा घरि–घरि औंला मुखमा चोब्दै थुक लगाएर पैसा गन्ने गन्ने बानी धेरैमा देखिन्छ । सङ्क्रमणका दृष्टिले यस्तो व्यवहार अत्यन्तै जोखिमयुक्त हुन्छ । बस रोक्न्ने या यात्रु चढाउने ठाउँमा पुगेपछि सहचालकले ठूलो स्वरमा कराउँदै यात्रुलाई जानकारी दिने चलन छ । ठूलठूलो स्वरमा कराउन मास्कले अवरोध गर्ने भएकाले मास्क खोलेरै बोल्ने सम्भावना रहन्छ । यसो गर्दा सङ्क्रमणको जोखिम हुन्छ ।
बस गन्तव्यमा पुगिसकेपछि व्यक्तिगत दूरी कायम गरेर मात्र यात्रुलाई झार्नुपर्छ । त्यसपछि फेरि बसमा यात्रु चढाउनुअघि बस सफा गरी डिसइन्फेक्ट गर्नुपर्छ । यसो गर्दा कोरोना सङ्क्रमणको जोखिम कम हुन्छ । सार्वजनिक यातायातबाट यात्रा गर्दा विशेष सावधानी अपनाउनु अत्यावश्यक हुने कुरामा सचेत बनौं ! कोरोनालाई हेल्चेक्र्याइँ नगरौं !!
डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्