चर्चा कम, महत्व धेरै भएका वनस्पति !
होलिस्टिक संवाददाताकफी
भुटेको कफीको दानाबाट तयार गरिएको तातो पेय संसारभर प्रशिद्ध छ । बगानमा फल्ने क्रममा कफीको दाना हरियोबाट रातो भएपछि त्यो पाकेको मानिन्छ । तिनै दानालाई टिपेर प्रशोधन गरेपछि तयारी कफीका रूपमा बजारमा आइपुग्छ ।
प्रशोधित कफीका दानालाई रुचिअनुसारको स्वादमा ढाल्न सकिन्छ । तिनै दानालाई पिसेर धुलो बनाई तातो पानीमा घोलेपछि पिउनयोग्य कफी तयार हुन्छ ।
सामान्यतः दुई प्रजातिका कफी खेती गरी उपभोग गर्न योग्य हुन्छन्– एरेबिका र रोबुस्टा । अहिले संसारका ७० भन्दा बढी राष्ट्रमा कफीखेती गरिन्छ । ब्राजिल संसारमा सबैभन्दा बढी कफी उत्पादन गरेर निर्यात गर्ने राष्ट्र हो ।
कफीको दानाको भित्री भागलाई विभिन्न चरणमा प्रशोधन गरेपछि उपभोगयोग्य कफी तयार हुन्छ ।
कफी उपभोग थालनीको कथा
इथियोपियाको एउटा उच्च पहाडी भूभागबाट कफी उत्पादनको थालनी भएको मानिन्छ ।
कफीखेती थालनीका सन्दर्भमा एउटा रमाइलो इथियोपियन कथा छ । एक गोठालाले जङ्गलमा चराइरहेका बाख्रा कफीका दाना खानासाथ एकाएक खुशी भएर उफ्रन थालेपछि कल्दी नामका ती गोठालाले कफी मानवका लागि समेत खान योग्य हुन सक्ने अन्दाज गरी यसको खोज सुरु गरेका थिए । उनले त्यहाँको एक स्थानीय गुम्बाका भिक्षुहरूलाई कफीका दाना खान दिएपछि उनीहरू लामो समयसम्म स्फुर्तिसाथ साधना गरिरहन सक्षम भएपछि कफी स्वास्थ्यवद्र्धक भएको पत्ता लागेको मानिन्छ ।
पाइने तत्वहरू
कफीमा मानव शरीरका निम्ति लाभदायक अनेकौं पोषण तत्वहरू पाइन्छन् । यसमा रिबोफ्लाविन, प्यान्टोथेनिक एसिड, मेन्गानेज, पोटासियम, म्याग्नेसियम, नायसिन, क्याफिनजस्ता स्वास्थ्यवद्र्धक तत्व पाइन्छन् ।
फाइदाहरू
क्याफिन नामक तत्वले इन्हिबिटरी न्युरोट्रान्समिसन नियन्त्रण गर्दा दिमागी सक्रियता बढ्छ । यसबाट शक्ति, स्फुर्ति र सकारात्मक सोचको विकासमा सघाउ पुर्याउँछ ।
क्याफिन तत्वले शरीरमा बोसो घटाएर पाचन शक्ति समेत वृद्धि गराउँछ । यसले शारीरिक सक्रियता र स्फुर्ति बढाउनुका साथै बोसीय तन्तुहरूबाट फ्याटी एसिडहरू निकासमा मद्धत पुर्याउँछ ।
कफी पिउनेहरूमा मधुमेह, अल्जाइमर्स, पार्किन्सन्स्, सिरोसिस, कोलोरेक्टल क्यान्सरको जोखिम कम हुने तथ्य विभिन्न अनुसन्धानहरूले पुष्टि गरेका छन् । कफीले डिप्रेसनको जोखिम घटाएर आत्महत्या दर समेत कम गर्ने बताइन्छ ।
डिक्याफ कफी
कफीमा दुईदेखि पाँच प्रतिशत क्याफिन पाइन्छ । सो क्याफिनलाई घटाएर करिव साढे एक प्रतिशतसम्ममा झारिएको कफीलाई डिक्याफ कफी भनिन्छ ।
कफीमा हुने क्याफिनका केही साइड–इफेक्ट समेत हुन सक्ने भएकाले क्याफिनको मात्रा सकेसम्म घटाउने प्रक्रियालाई नै ‘डिक्याफिनेसन’ भनिन्छ । कुनै स्वास्थ्य समस्या वा दीर्घरोग भएकाहरू र निरन्तर कफी पिइरहने बानी भएकाहरूलाई डिक्याफ कफीको उपभोग उत्तम हुन्छ ।
कफीमा उपलब्ध सबै तत्वहरूलाई यथावत कायम राखेर यसमा हुने क्याफिनको मात्रालाई मात्र नियन्त्रण गरिने भएकाले डिक्याफ कफी स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ । गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा र नियमित औषधि सेवन गरिरहेकाहरूका निम्ति समेत डिक्याफ कफी लाभदायक पेय हुने कुरा अध्ययनहरूले बताएका छन् ।
डिक्याफ कफीमा अरु विभिन्न स्वास्थ्यवद्र्धक जडीबुटीहरू समेत मिसाएर तयार पारिएका केही प्रशोधित कफीहरू बजारमा उपलब्ध छन् । यस्तो कफी सेवन स्थास्थ्यका निम्ति निकै लाभदायक हुन्छ ।
कडीपत्ता
एशियाली क्षेत्रमा प्रायः प्रयोग हुने विभिन्न मसलाहरूमध्येको एक हो कडीपत्ता । यसले भोजनलाई स्वादिष्ट तुल्याउनुका साथै स्वास्थ्यमा अनेकौं लाभ पुर्याउँछ ।
पत्ता, पाउडर वा जुस
खानाका परिकारमा कडीपत्तालाई विभिन्न स्वरूपमा प्रयोग गरिन्छ ।
प्रायः पत्ताकै रूपमा प्रयोग हुने यो मसलालाई पाउडर वा जुसका रूपमा समेत प्रयोग गर्न थालिएको छ ।
बिहान निरन्तर कडीपत्ताको जुस पिउँदा शारीरिक तौल घटाउन र शरीरमा जम्मा भएका विकार तत्वहरूको निष्काशनमा राम्रो मद्धत पुग्छ ।
पाइने तत्वहरू
कडीपत्तामा कार्बोहाइड्रेड र फाइबरजस्ता तत्वहरू पाइन्छन् । यसमा क्याल्सियम, फस्फोरस, आइरन, म्याग्नेसियम, कपर, एन्टिअक्सिडेन्टस, एमिनो एसिडजस्ता विभिन्न सूक्ष्म पौष्टिक तत्वहरू समेत पाइन्छन् । त्यस्तै, कडीपत्तामा निकोटिनिक एसिड, भिटामिन– सी, भिटामिन– ए र भिटामिन ईजस्ता भिटामिनहरू समेत पाइन्छन् ।
यी तत्वहरूले मुटुको कार्यप्रणाली मजबुत बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउँछन् । यसमा पाइने भिटामिन– सी र भिटामिन– ईले छाला र कपालमा समेत पोषण पु¥याउने भएकाले शारीरिक सुन्दरता वृद्धिमा योगदान पुर्याउँछन् ।
फाइदाहरू
रक्तअल्पता नियन्त्रणमा सघाउनु कडीपत्ताको मुख्य लाभ हो । र, कलोजो स्वस्थ राख्न समेत यसबाट महत्वपूर्ण मद्धत मिल्छ । रगतमा ग्लुकोजको मात्रा सन्तुलित रूवमा कायम राख्न पनि यसले सघाउँछ । मह र कडीपत्ताको धुलो मिसाएर खाँदा श्वास–प्रश्वासको अवरोध हटेर घाँटीको घ्यार्घ्यार्/ख्याँसख्याँस रोक्न सहयोग मिल्छ ।
यसले पाचन प्रणालीका विभिन्न अङ्गहरूलाई मजबुत तुल्याउने भएकाले पाचन प्रक्रियामा समेत मद्धत मिल्छ । यसमा पाइने तत्वहरूले शरीरलाई हानिकारक ब्याक्टेरियाबाट बचाउन पनि मद्धत मिल्छ ।
हिङ
नेपाली समाजमा एउटा उखान नै छ– ‘हिङ नभए पनि हिङ बाँधेको टालो त छ नि !’ यसबाट पनि स्पष्ट हुन्छ, यो सामग्री कति महत्वको छ !
हिङको वैज्ञानिक नाम फेरुला एसाफोइटिडा हो । हिङलाई अङ्ग्रेजीमा एसाफोइटिडा भनिन्छ । हिङ फेरुला जातको वनस्पतिको जराबाट निकालिन्छ । दक्षिण एशियाली खानाका परिकारहरूमा हिङको प्रयोग हुन्छ । प्रायः भारतीय परिकारमा हिङको प्रयोग छुट्दैन ।
खानालाई स्वादिष्ट तुल्याउनु हिङको मुख्य काम हो । तर, यो स्वादमा मात्र सीमित छैन, स्वस्थ जीवनका निम्ति यसका अनेकौं फाइदा छन् । यसमा पाइने विभिन्न सल्फरयुक्त तत्वका कारण यसको बासना अलि कडा नै हुन्छ । कसैलाई भने यो गन्हाएको महसुस पनि हुन सक्छ । पकाएपछि भने यसको स्वाद र बासनाको परिष्कृत संयोजन उत्पन्न हुन्छ ।
पाइने तत्व
हिङमा रेजिन, इन्डोजिनियस गम, बासनादार तेलजस्ता तत्व पाइन्छन् । रेजिनअन्तर्गत फेरुलिक एसिड र अम्बेलिफेरोन हुन्छन् भने बासनादार तेलअन्तर्गत डाइएलाइल सल्फाइड, डाइएलाइल डाइसल्फाइड र डाइएलाइड ट्राइसल्फाइड पर्दछन् । यी तत्वले पकाइएको प्याजको जस्तै बासना प्रदान गर्दछन् ।
फाइदाहरू
पाचन प्रणाली मजबुत बनाउने र एन्टिमाइक्रोबियल प्रभावहरू उत्पन्न गरी ब्याक्टेरिया–भाइरसको सङ्क्रमणबाट बचाउनु हिङको मुख्य फाइदा हो । रक्तचाप नियन्त्रण र ब्लडसुगरको नियन्त्रण यसको अर्को महत्वपूर्ण विशेषता हो ।
हिङले मगज स्वस्थ तुल्याई मानसिक स्वास्थ्यमा समेत महत्वपूर्ण सघाउ पुर्याउँछ । दम रोगबाट बचाउन पनि यसले सघाउँछ र यो एन्टिअक्सिडेन्टको समेत राम्रो स्रोत भएकाले शरीरबाट विकार तत्वहरूको निष्काशनमा राम्रो मद्धत मिल्छ ।
हिङलाई पाउडरका रूपमा खानाका परिकारहरूमा प्रयोग गरिन्छ ।
यो डाइटरी सप्लिमेन्टका रूपमा क्याप्सुल स्वरूपमा समेत बजारमा उपलब्ध हुन थालेको छ । दिनमा दुई पटक २५० मिलिग्रामका क्याप्सुल सेवन गर्दा अपचको समस्याबाट पनि बच्न सकिन्छ ।