‘जेन्टल ड्रेसले कन्फिडेन्स बढ्छ’
होलिस्टिक संवाददाता
डा. नवीन दर्नाल रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (अस्पताल प्रमुख) का रूपमा सेवारत छन् । यो जिल्ला अस्पताल हो । स्त्री तथा प्रसूती रोग विशेषज्ञ समेत रहेका उनी अस्पतालको कोरोना विशेष व्यवस्थापनमा तल्लिन छन् ।
पाँच फिट चार इन्च (५ः४) उचाई भएका उनको तौल ६७ किलोे छ । ३४ वर्षीय उनले चिकित्सकीय पेशामा प्रवेश गरेको ११ वर्ष भयो । उनी आफ्नो पेशामा जति सचेत छन्, लगाउने पोशाकमा त्यत्तिकै सचेत छन् । पोशाकले व्यक्तित्व झल्कने भएकाले चिकित्सकीय पेशा अँगालेका व्यक्तिले पोशाकमा ख्याल गर्नुपर्र्ने कुरामा आफू सचेत रहेको डा. दर्नालको तर्क छ । कलिलै उमेरमा अस्पतालको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेकाले उनी व्यस्त रहन्छन् । उनै डा. नवीन दर्नालले होलिस्टिकसँग गरेको पोशाक–संवाद ।
पोशाकमा कत्तिको सचेत हुनुहुन्छ ?
हुनैपर्छ । सचेत छु । मैले लगाउने पोशाकले मेरो व्यक्तित्व झल्कन्छ । त्यसैले म आफूले लगाउने पोशाक अत्यन्तै सोच–विचार गरेर लगाउँछु ।
कस्ता पोशाक लगाउन मन पर्छ ?
परिस्थिति अनुसारको लगाउँछु । अस्पतालमा हुँदा फर्मल ड्रेस नै लगाइन्छ । सामान्य हिँडडुल गर्दा पाइन्ट र सर्ट लगाइन्छ ।
तपाईंको पोशाकका धेरैजसो ‘आइटम’ के–के हुन्छन् ?
फर्मल ड्रेसबाहेक धेरैजसो टिसर्ट, जिन्स र कट्राइज पाइन्ट छन् ।
गर्मी मौसममा कस्ता किसिमका पोशाक छनौटमा पर्छन् ?
गर्मी मौसममा धेरैजसो कटनको नीलो हाफ सर्ट र पाइन्ट लगाउन मन पर्छ । गर्मीमा प्रायः हल्का किसिमका ड्रेस लगाउँछु । गर्मीमा हल्का किसिमको टिसर्ट खुब मन पर्छ ।
पोशाक किन्न कत्तिको शौख लाग्छ ?
कपडा किन्ने सवालमा शौखिन नै छु । कामकाजमा जिल्लाबाहिर जाँदा पनि किनिन्छ । म कपडाको शौखिन भए पनि धेरैजसो त म्याडम (श्रीमती) ले नै किनिदिन्छिन् ।
लगाउने पोशाकमा वार्षिक कति खर्च गर्नुहुन्छ ?
जाडो र गर्मीका गरी झन्डै ४५ हजारजति त खर्च हुन्छ ।
त्यसो भए कपडा त टन्नै होलान् नि ?
आफूलाई अलि मन परेन र पुरानो हुँदै गए भने ती कपडा फटाएर फाल्दिनँ । धेरैजसो पुराना कपडा ‘कपडा बैंक’ मा दिन्छु । कपडाको अभाव भएका वा लगाउन आवश्यक भएका व्यक्तिले कपडा बैंकबाट लिएर लगाउन सक्नुहुन्छ ।
एक जोर लुगा कति दिनसम्म लगाउनुहुन्छ ? दैनिक फरक–फरक लुगा लगाउनुहुन्छ ?
अहिले त गर्मी ठाउँमा छु । पसिना आउँछ । त्यसैले दैनिक नुहाएर दैनिक ड्रेस चेन्ज गर्छु । तर, जाडो मौसममा २/३ दिनसम्म पनि लगाइन्छ ।
कस्तो रङ्गका कपडा मन पर्छन् ?
माथि लगाउने कपडा नीलो रङ्गको नै बढी मनपर्छ । प्रायः नीलो सर्ट, टिसर्ट मेरो छनौटमा पर्छन् । पाइन्ट ब्राउन कलरको मन पर्छ ।
प्रायः नेपाली ब्रान्डका कपडा लगाउनुहुन्छ कि विदेशी ?
धेरैजसो त ब्रान्डेड ड्रेस नै लगाइन्छ । धेरैजसो कपडा विदेशी ब्राण्डका नै किनिन्छ । तर, धेरै महँगा चाहिँ किन्दिनँ, ठीक्क दामका नै किन्छु । विशेषगरी अफिसियल ड्रेसका लागि ब्रान्ड हेर्छु ।
चिकित्सक पेशामा रहेका व्यक्तिले ‘ड्रेस सेन्स’ मा कत्तिको ध्यान दिनुपर्छ जस्तो लाग्छ ?
यो पेशा अँगालेका व्यक्तिले आफूले लगाउने ड्रेसमा बडो ख्याल गर्नुपर्छ । आफूले लगाउने पोशाकले नन्भर्बल कम्युनिकेसन झल्किन्छ । भद्दा र हेर्दै असहज हुने किसिमका पोशाक लगाउनु उचित हुँदैन जस्तो लाग्छ । बिरामीको मन जित्न पनि जेन्टल पोशाक लगाउनु आवश्यक हुन्छ ।
चिकित्सकीय पेशा अँगालेका व्यक्तिले कस्ता पोशाक लगाउनु उचित ठान्नुहुन्छ ?
चिकित्सकीय पेशा अँगालेकाले जेन्टल र भद्र किसिमका फर्मल ड्रेसअप गर्नु नै उचित हुन्छ । मर्यांदित किसिमका ड्रेस लाउनुपर्छ । आफूलाई सहज हुने र चटक्क देखिने ड्रेस लगायो भने पेशामा कन्फिडेन्स पनि बढ्छ । तर, भद्दा र रफ किसिमका ड्रेस लगाएर बिरामीको सेवामा जाँदा कामभन्दा आफैंलाई पनि असहज हुने भएकाले आफूले लगाएको पोशाकमा बढी ध्यान जान सक्छ । त्यसले सहज सेवामा समेत बाधा पुग्न सक्छ ।
जुत्ताको पनि कुरा गरौं, जुत्ता कस्तो मन पर्छ ?
आफूले लगाएको ड्रेस सुहाउँदो जुत्ता लगाउँछु । फर्मल ड्रेसमा प्रायः लेदरको ब्ल्याक जुत्ता लगाउँछु । जिन्स पाइन्ट लगाउँदा वा बाहिर हिँडडुल गर्दा ‘कन्भर्स सुज’ लगाइन्छ ।
त्यसोे भए, जुत्ताचाहिँ कति जोर होलान् ?
लेदरका दुई जोर र कपडाका दुई जोर छन् । चप्पल दुई जोर छन् ।
वर्षमा कति जोर जुत्ता किन्नुहुन्छ ?
पाँच जोर त किनिन्छ ।