परिकार बनाउनोस्, मिठोसँग खानोस्

होलिस्टिक संवाददाता

मटन कबाब

आवश्यक सामग्री

खसीको मासु १ केजी, तोरीको तेल १०० मिलि, घ्यु १०० ग्राम, जिराको धुलो २५ ग्राम, धनियाँको धुलो २५ ग्राम, गरम मसलाको धुलो १ चम्चा, लसुन ६ केस्रा, अदुवा २५ ग्राम, तेजपत्ता ५ वटा, मेथी आधा चम्चा, बेसार आधा चम्चा, नुन स्वादअनुसार, खुर्सानीको धुलो स्वाद अनुसार, हिङ ३ ग्राम, कालो जिरा ४ ग्राम ।

बनाउने विधि

एउटा बाटामा मटन राख्ने । मेथी र घ्युबाहेक सबै मरमसला, नुन र तेल राखेर करिव १० मिनेटजति राम्रोसँग मोल्ने । आधा घन्टाजति छोपेर फ्रिजमा राख्ने । फ्रिज नभएमा चिसो ठाउँमा छाड्ने । एउटा बाक्लो पिँध भएको भाँडोमा घ्यु राखेर आगोमा बसाल्ने । घ्यु तातेपछि मेथी पड्काउने । मोलेको मटनलाई घ्युमा ओइरिदिने ।


पहिले ठूलो आगोमा र पछि सानो आगोमा मटनलाई चलाउँदै पकाउने । पानी नाराखिकन पकाउनुपर्छ । बिस्तारै बाफिएपछि यसमा स्वादअनुसार नुन–खुर्सानी थप्न सकिन्छ । बाफिएर नरम भएपछि आगोबाट निकालेर खान सकिन्छ । कवाफलाई अचारसँग चोबेर खान सकिन्छ ।

केराको रोटी

आवश्यक सामग्री

मैदा १ कप, चिनी १ चम्चा, बेकिङ पाउडर २ चम्चा, नुन १ चिम्टी, फिटेको अण्डा एउटा, दुध १ कप, सनफ्लावरको तेल २ चम्चा, मध्यम पाकेको (म्यास गरिएको) केरा २ वटा ।

बनाउने विधि

पिठो, चिनी, बेकिङ पाउडर र नुनलाई एउटा भाँडामा मोल्नुहोस् । एउटा छुट्टै कचौरामा अण्डा, दूध, तेल र म्यास गरिएको केरासँग मिक्स गर्नुहोस् । केराको मिश्रणमा पीठाको मिश्रणलाई मिलाउनुहोस् । ब्याटर अलि नरम हुन्जेल मुछ्नुहोस् ।
मध्यम तातो रापमा तेल राखेर प्यान हल्का तताउनोस् । आवश्यकताअनुसारको ब्याटर प्यानमा राखेर दुवैतर्फ हलुका खैरो नहोउञ्जेल पकाउनोस् । यति सामग्रीले ४/५ वटा रोटी बनाउन सकिन्छ । केराको रोटीलाई तात्तातो नै खानु उपयुक्त हुन्छ । बिहानका खाजाका रूपमा यो रोटी खानु स्वास्थ्यका निम्ति अत्यन्तै लाभदायक हुन्छ ।

चिउराको पकौडा

आवश्यक सामग्री

चिउरा २५० ग्राम, आलु ठीक्क खालका २ वटा, प्याज (मसिनो टुक्रा पारेको) एउटा, धनियाँ (मसिनो गरी काटेको) एक चम्चा, हरियो खुर्सानी (मसिनो गरी काटेको) एउटा, बेसार एक चिया चम्चा, नुन स्वादअनुसार, खुर्सानी एक चिया चम्चा, गरम मसला एक चिया चम्चा, जिरा, धनियाँको धुलो एक चिया चम्चा, जिराको दाना एक चिम्टी, वीरेनुन आधा चिया चम्चा, सनफ्लावरको तेल २५० मिलिलिटर ।

बनाउने विधि

चिउरालाई एउटा बाटामा राख्ने । त्यसमा थोरै मनतातो पानी राखेर करिव पाँच मिनेटजति भिजाउने । पाँच मिनेटपछि पानी तर्काएर चिउरालाई हल्का सुक्खा बनाउने ।
अब ओसिलो चिउरालाई मजासँग हातले मुछ्ने । त्यसमा दुई वटा उसिनेका आलु राख्ने र राम्रोसँग मिक्स गर्ने । अब मसिनो पारी काटेको प्याज, धनियाँ, हरियो खुर्सानी हाल्ने ।
अब बाँकी रहेका अन्य मसलाहरू पनि हालेर त्यसलाई मजाले मोल्ने, स–साना लाम्चा आकारका डल्लो बनाएर त्यसलाई सेपिङ गर्ने । एउटा भाँडोमा तेल तताउने । तेल खारिएपछि ती डल्लालाई त्यसमा हालेर डिप फ्राई गर्ने । रातो–रातो हुञ्जेल फ्राई गर्ने । अन्त्यमा, तेल तर्याएर पकौडालाई छुट्टै भाँडामा राख्ने । यसरी बनाइएको पकौडालाई खाजाका रूपमा टमेटो केचप वा अचारसँग खान सकिन्छ ।

कर्कलो करी

आवश्यक सामग्री

कर्कलाको डाँठ र पत्ता करिव ३०० ग्राम, आलु एउटा, प्याज (ठीक्क पारेर काटेको) एउटा, लसुन अदुवाको पेस्ट १ (ठूलो) चम्चा, केराउ (भिजाएको) ५० ग्राम, नुन स्वादअनुसार, बेसार आधा चिया चम्चा, खुर्सानी आधा चिया चम्चा, धनियाँ र जिराको धुलो १ चिया चम्चा, गरम मसला आधा चिया चम्चा, टिम्मुर (पिसेको) आधा चिया चम्चा, तेल ३० मिलिलिटर ।

बनाउने विधि

पहिले कर्कलोको पत्तालाई राम्रोसँग सफा गर्ने । डाँठलाई पनि पखालेर बाहिरको भाग फालेर स–साना टुक्रामा भाँच्ने, पत्तालाई पनि च्यातेर स–साना टुक्रा पार्ने । आलुलाई ताछेर साना टुक्रा पार्ने । प्याजलाई साना टुक्रामा काट्ने । अदुवा, लसुन र टिम्मुरलाई सिलौटामा पिस्ने, केराउलाई केलाएर राख्ने ।


एउटा कुकरमा तेल तताउने । तेल खारिएपछि मेथी–ज्वानो पड्काउने । प्याजलाई फुराउने, अदुवा, लसुन र टिम्मुरलाई पनि त्यसमा राखेर खैरो बनाउने । त्यसपछि आलु राख्ने र केराउ पनि हालेर केही बेर चलाउँदै पकाउने ।
अन्त्यमा, कर्कलाको पात र डाँठलाई हालेर केही बेर बफ्याउने । अब मरमसला, नुन, बेसार हालेर बिर्को लगाइदिने । २–३ सिट्टी लगाएपछि कर्कलो करी तयार हुन्छ । यसलाई भात वा रोटीसँग खान सकिन्छ । कर्कलामा प्रचूर मात्रामा फाइबर हुने भएकाले यस खालको तरकारीले पाचन प्रक्रियामा सहयोग पुर्याउँछ ।