आर्मी बन्ने प्रयासले स्वस्थ रहेका गायक

होलिस्टिक संवाददाता

दस वर्ष अघिदेखि गायनयात्रामा लागेका कृष्ण काफ्ले यतिबेलाका सफल गायक हुन् । उनले गाएका सयौं गीतमध्ये ‘मङ्गलम्’ चलचित्रको ‘पर्ख–पर्ख मायालु’ दर्शकको मन जित्न सफल छ । दिपकराज गिरी र दिपाश्री निरौलाको फिल्म ‘छक्कापञ्जा’ का लागि गाएका सुन न चम्पा, देख न चम्पा, तम्रा त हम्रा बाहेक को छ र’ बोलका गीतहरु पनि अत्यधिक रुचाइए । उनका प्रायः सबै गीत हिट छन् । यहाँ प्रस्तुत छ, उनै गायक कृष्ण काफ्लेसँग होलिस्टिककर्मी भोला अधिकारीले गरेको कुराकानीका सम्पादित स्वरूप–

बिहानदेखि बेलुकीसम्मको दैनिकी बताइदिनोस् न !
बिहान उठ्नासाथ म योगालगायतका व्यायाम गर्छु । त्यसपछि रियाज गर्छु । दैनिक सेड्युलअनुसारका काममा लाग्छु । स्टुडियो जानुपर्ने हो या अन्यत्र कतै, त्यही अनुसारको काम गर्छु । ठ्याक्कै यही नै गर्छु भन्ने त हुँदैन ।

बिहान कति बजे उठ्नुहुन्छ र बेलुकी कति बजे सुत्नुहुन्छ ?
बिहान ६–७ बजे उठिसक्ने बानी छ । यो मेरो सानैदेखिको बानी हो । बेलुका सुत्नेचाहिँ ९–१० बजेको हाराहारीमा हो ।

बिहानको कार्यसूची अलि प्रष्ट्याइदिनोस् न !
उठ्नासाथ योगा गर्ने बानी भएकाले त्यो समयमा कसैले मलाई बोलायो भने पनि जान्नँ । त्यो शरीरलाई फिट राख्ने समय हो । गायक भएको हिसाबले केही समय रियाज गर्नु पनि अनिवार्य कर्म नै भैहाल्यो । लकडाउन अघिसम्म जिम जान्थें, अहिले भने त्यो क्रम टुटेको छ । त्यसपछि खाना खाएर के–कता लाग्नु छ, त्यतैतिर लाग्छु ।

कुन–कुन समयमा के–के खानुहुन्छ ?
बिहान उठेपछि मनतातो पानी पिउँछु । ९–१० बजेतिर खाना खान्छु । त्यसपछि भने कहाँ, कतिबेला, के खाइन्छ भन्ने कुराको लेखाजोखा नै हुँदैन । साँझमा भात खाने कुरा त भइहाल्यो ।

खानपानका क्रममा कत्तिको सजगता अपनाउनुहुन्छ ?
स्वास्थ्यप्रति एकदमै ख्याल गर्ने मान्छे हुँ । सकेसम्म र पाएसम्म अग्र्यानिक खाने कुरा नै रोजाइमा पर्छन् । बाहिर निस्कँदा पनि सकेसम्म चाउचाउ, बिस्कुटजस्ता पदार्थ खाँदिन । बाध्यता नै परेको छ भने बेग्लै कुरा भो । शरीर र दिमागलाई हानि पुर्याउने खाले खाने कुराबाट मचाहिँ अलग नै छु ।

कुनै रोगबाट पीडित हुनुहुन्छ ?
अहिलेसम्म त्यस्तो केही भोग्नुपरेको छैन ।

खाना घरमै खानुहुन्छ कि बाहिर ?
यो कुरा समयअनुसार हुन्छ । प्रायः घरमा नै खाने गर्छु । कार्यक्रमका लागि बाहिर हुँदा त खाना खानकै लागि घरमा आइपुग्ने कुरा भएन । काठमाडौंमा हुँदा त घरमा नै खान्छु ।

खाना आफैं बनाउनुहुन्छ कि अरु कसैले ?
पहिले–पहिले आफैं पकाउँथें, अहिले चाहिँ पकाउने मान्छे अरु नै हुनुहुन्छ ।

अग्र्यानिक र हाइजेनिक खानपानमा कत्तिको सचेत हुनुहुन्छ ?
एकदमै सचेत छु । अघि नै पनि भनिसकें कि खाने कुरामा म एकदमै सजग छु । बाहिर निस्कँदा पनि खाने कुरामा ध्यान दिन्छु । अमिलो, पिरो अलिक कम खान्छु । शरीरलाई हानि पुर्याउने चाउचाउ, बिस्कुटजस्ता सामग्री खाँदिनँ । हाइजेनिक खाने कुराको लिस्ट मसँग छैन भन्दा हुन्छ ।

स्वास्थ्यप्रति सचेतता अपनाउनुपर्छ भन्ने चाहिँ कसरी लाग्यो ?
स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्ने ज्ञान ममा सानैदेखि थियो । अझ अर्को कुरा त म आर्मी हुने तर्खरमा लागेको थिएँ । त्यसबेला स्वास्थ्यमा झनै ध्यान दिन थालें । मलाई आर्मी बनाउने सपना घरपरिवारले साँचेको थियो । आर्मी बन्छु भनेर २०६२/६३ मा आवेदन पनि दिएँ । त्यसबेला बिहान–बिहान भारी बोकेर कुद्ने, दौडने, प्रोटिनयुक्त खाने कुरा खाने गर्थें । यस्ता कुरा त निकै अगाडिदेखि नै खान्थें, त्यो बेलामा भने झन् विशेष खाइयो । आर्मीको ट्रेनिङमा भाग लिएँ, सबै कुरामा पास पनि भएँ । दौडमा पनि अगाडि नै हुन्थें । कुनै–कुनै कुराले भने म फालिन्थें । नवौं पटकमा भने पास भएको थिएँ ।
त्यसबेला आर्मी र माओवादीबीच युद्ध चर्किरहेको थियो । घरबाट ‘भो नजा आर्मीमा, के हो–के हो, ज्यानकै पो भर छैन’ भन्नुभयो । मैले पनि ‘हुन्छ नि त त्यसो भए’ भनेर छाडिदिएँ । यो प्रक्रियाले त मलाई कसरी स्वस्थ रहने भन्ने कुरामा झन् अगाडि बढायो । त्यसैले म अहिलेसम्म स्वास्थ्यप्रति उत्तिकै सचेत छु ।

जङ्कफुडको विषयमा तपाईंको धारण के छ ? कत्तिको खानुहुन्छ ?
म त जङ्कफड खाने चिज नै होइन भन्छु । यसले न भोक मेट्छ न त स्वास्थ्य नै बचाउँछ । त्यसैले यस्ता सामग्री निकै न्यून मात्रामा मात्र खान्छु । समयमा खाने कुरा पाइएन र अरु खानाका निम्ति अनुकूल भएन भने मात्र बाध्यतावश खाइन्छ ।

शारीरिक–मानसिक फिट रहन व्यायाम कसरी गर्नुहुन्छ ?
शारीरिकरुपमा स्वस्थ्य रहनका लागि सबभन्दा पहिले मानसिकरुपमा स्वस्थ्य हुनुपर्यो । त्यसका निम्ति सोचाइ सकारात्मक हुनुपर्यो । यी सबै कुरामा ठीक छु भन्नेमा मलाई लाग्छ । मान्छेको विचार नै नेगेटिभ भयो भने, मनमा कुरा खेलाइरह्यो भने, ऊ स्वस्थ्य रहनै सक्दैन नि, होइन र !

बेला–बेलामा स्वस्थ्य जाँच गराउनुहुन्छ कि गराउनुहुन्न ?
मैले शरीरमा कुनै शङ्का लागेका बेला स्वास्थ्यपरीक्षण गराउँछु । यसबाहेक हरेक वर्ष होलबडी चेकअप गराइरहेको हुन्छु ।

कुनै औषधि खाइरहनु भएको छ कि ?
अहँ, त्यस्तो केही छैन ।

स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना हुनुपरेको छ कि ?
त्यो पनि छैन । आफूले आफैंलाई केयर गरेकाले होला, अहिलेसम्म अस्पताल भर्ना हुनुपरेको छैन ।

सामान्य ज्वरो, रुघा–खोकीजस्ता समस्या हु“दा के–कस्ता उपचार विधि अपनाउनुहुन्छ ?
घरमै तातो पानी, बेसार–पानी खाएर ठीक बनाउँछु । त्यतिले मात्र होलाजस्तो देखिएन भने चाहिँ औषधि खान्छु । सकेसम्म घरायसी औषधि नै प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

औषधि खानुपर्दा सोझै मेडिकलबाट किन्नुहुन्छ कि विशेषज्ञ/चिकित्सकसँग जाँच गराएर मात्रै खानुहुन्छ ?
औषधि नै खानुपर्दा चाहिँ स्वास्थ्य जाँच गराएर डाक्टरको सल्लाहअनुसार नै किन्नुपर्छ । मैले त खासै किन्नुपरेको छैन; किन्नैपर्दा चाहिँ औषधिजस्तो कुरा जाँच नगराई कसरी खानु ? शरीरलाई एकथोक भएको छ, अर्कैथोक औषधि खाइएला ! अनि तनाव हुँदैन ?

स्वास्थ्य समस्याका कारण कुनै नमिठो अनुभव छ त ?
खासै छैन । युरोपमा कार्यक्रमका बेला यता र उताको समय फरक भएकाले सुत्ने र खाने समय नमिल्नाने केही समस्या पर्ला–पर्लाजस्तो भएको थियो । तर, पछि समय मिल्न थाल्यो । अमेरिकामा पनि त्यस्तै भएको थियो । यताको जस्तो ‘एक छिनमा जाऊँ न, निद्रा पुगेको छैन; एक छिन बढी सुत्छु नि’ भन्न नपाइने रहेछ त्यता । तर, समस्या नै चाहिँ परेन ।

तपाईंको शरीर पनि सुन्दर र आकर्षक देखिन्छ, सुन्दरताका लागि चाहिँ के गर्नु हुन्छ ?
जतिसक्दो पानी पिउँछु । छोरा मान्छेले अनुहारमा लगाउने भन्ने खास केही पनि हुँदैन । पानी पिएर नै अनुहार चम्किलो हुनेरहेछ, यसबाहेक खासै केही गर्दिनँ ।