कोरोना महामारीबीच नर्सको जीवनशैली
सागर दाहाल/ होलिस्टिक संवाददाताकोरोना महामारीले विश्वसँगै नेपाललाई पनि आक्रान्त पारेको छ । यो महामारीसँग जुध्ने अग्रमोर्चामा छन् स्वास्थ्यकर्मीहरू । स्वास्थ्यकर्मीहरूमध्ये नर्स त बिरामीसँग सबैभन्दा बढी सङ्गतमा रहनुपर्छ/रहन्छन् । यो स्थितिमा नर्सहरूको मनमा डर पलाए–नपलाएको जिज्ञासा राख्दै होलिस्टिककर्मी सागर दाहालले उनीहरूको खानपान तथा जीवनशैलीबारे सङ्क्षिप्तमा खोतल्ने जमर्को गरेका छन् ।
ज्वरोका बिरामी देख्दै डर लाग्छ
कोरोनाभाइरस महामारीका कारण आजकल अस्पतालमा काम गर्न पनि जोखिमपूर्ण स्थिति छ । आफ्नो अगाडि ज्वरो आएको मान्छे देख्दा समेत डर लाग्छ । तर, यस्तै महामारीहरूको सामना गर्नु र बिरामीहरूको सेवा गर्नु नै हाम्रो कर्तव्य हो । आफ्नो भूमिका निर्वाह गर्न दत्तचित्त भएर लागेका छौं ।
अस्पताल आउँदा नियमितरूपमा फलफूल खाने गर्छु । खाजाका रूपमा प्रायः क्यान्टिनमा समोसा, मःमः खाइन्छ । सम्भव भएसम्म घरमै बनाएर ल्याइएको खाजा खाइन्छ ।
मास्क र ग्लोब्सले नै झस्काउँछ
अस्पतालले उपलब्ध गराएको सर्जिकल मास्क र ग्लोब्सहरू लगाउँदा पनि एक किसिमको डर लागिरहन्छ । यतिबेला अस्पतालले नै खाना–खाजाको व्यवस्था गरेको छ । कहिलेकहीं बाहिर खान मन लाग्दाचाहिँ अस्पतालकै क्यान्टिनमा गएर चाउमिन खाइन्छ ।
नर्सिङ पेशा व्यवसाय मात्र नभएर सेवा समेत हो । महामारी चल्दा होस् वा अरु कुनै सङ्कट पर्दा, पेशाबाट विमुख हुन र ड्युटी नगरिरहन सकिँदैन; मिल्दैन । यस्तो बेला जहाँ पायो त्यहीं र जे पायो त्यही खाइहाल्नु हुँदैन । सकेसम्म घरमै नत्र अस्पतालको मेस वा अस्पतालकै क्यान्टिनमा मात्र खाजा–खाना खाइन्छ ।
अभर पर्दा मात्रै क्यान्टिनमा
कोभिड– १९ को महामारीका कारण मनमा डर त उत्पन्न भएकै छ । बिरामी देख्दा पनि यो पेशा त नगर्नुपर्ने रहेछ कि क्या हो भनेजस्तो पनि लाग्छ । तर, सबै पेशाका आ–आफ्नै समस्या छन्÷हुन्छन् र हाम्रा पनि छन् । सामना गरेरै सचेततापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्छ; गरिरहेका छौं ।
यस्तो बेला मैले चाहिँ खाना घरबाट नै बनाएर बोक्ने अनि समय भएपछि खाने गरेकी छु । फलफूल अलि बढी नै खाने गरेकी छु । साह्रै अभर नै पर्दा मात्र क्यान्टिनमा खाने गरेकी छु ।
क्यान्टिनमा खानु त के, जानै डर लाग्छ
कोभिड– १९ बाट धेरै नै डर लाग्छ तर के गर्नु ! स्वास्थ्यकर्मी भएपछि र यसैमा जागिर खाएपछि आफ्नो कर्तव्य निर्वाह गर्नैपर्यो । आफूलाई र सँगै काम गर्ने साथीलाई सामान्य खोकी मात्रै लाग्दा पनि मनमा डर पलाउँछ ।
आजकल मैले घरमै बनाएर ल्याइएको खाना मात्र खाने गरेकी छु । क्यान्टिनमा खानु त के, त्यहाँ जान मात्रै पनि डर लाग्छ ।