कोरोनाको सङ्क्रमण: जाडोमा झन् जोखिम

डा. शेरबहादुर पुन

विश्वमा कोरोनाभाइरस (कोभिड– १९) बाट मृत्यु हुनेको सङ्ख्या साढे सात लाख र सङ्क्रमित सङ्ख्या दुई करोड नाघिसकेको छ । उसो त सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पनि कम छैन । नेपालमा पनि कोभिड– १९ का सङ्क्रमित र मृत्युदर बढिरहेको छ । विश्वलाई नै त्रसित बनाएको यो भाइरस तुरुन्तै पूर्णरूपमा नियन्त्रणमा आउने कुनै सङ्केत देखिँदैन । नियन्त्रणमा आएका केही मुलुकमा समेत सङ्क्रमण पुनः फैलिएको देखिन्छ ।
भारतमा सङ्क्रमण फैलने दर बढिरहेकै छ । छिमेकी मुलुक भएको नाताले भारतमा कोरोना सङ्क्रमण नियन्त्रण नभएसम्म नेपालमा सजिलै नियन्त्रण भइहाल्ने अवस्था छैन ।

सुरुआत जाडोबाटै, जोखिम बढी जाडोमै

कोरानाभाइरस जाडो महिनाबाटै फैलिएको थियो । गतवर्ष डिसेम्बरको अन्त्यमा चीनको वुहानबाट चिसो मौसमसँगै कोरोनाभाइरस फैलन थालेको हो । गर्मी मौसममा भने यो नफैलिएला कि भन्ने आँकलन सुरुआती चरणमा थियो । तर, यो गर्मी मौसममा पनि उत्तिकै फैलियो ।
सामान्यतः गर्मी मौसम र वातावरणको तुलनामा चिसो मौसम र वातावरणमा जुनसुकै भाइरसको सक्रियता बढी हुने भएकाले कोरोनाभाइरसको जोखिम पनि जाडो मौसममा बढी नै हुन्छ । जाडो मौसममा कोरोनाभाइरस सङ्क्रमणको जोखिम बढ्ने केही अध्ययनहरूले पनि देखाएका छन् ।
नेपालमा असोजपछि जाडो मौसम सुरु हुन्छ । जाडो सुरु हुनुअगावै कोरोनाभाइरस नियन्त्रण भएन भने त्यसपछि त सङ्क्रमणको जोखिम झन् बढ्ने देखिन्छ । किनकि, जाडो मौसममा भाइरल सङ्क्रमण फैलने दर बढ्दै जान्छ ।
जाडो मौसममा कोरोनाभाइरसको सङ्क्रमण बढ्ने ठोस कारणबारे यकिनरूपमा भन्न नसकिए तापनि जाडो मौसममा नोरो, रोटा, रुघाखोकी गराउने भाइरसहरू सक्रिय हुने भएकाले कोरोनाको सङ्क्रमण पनि बढी नै सक्रिय हुने आँकलन गर्न सकिन्छ ।

शरीर पनि कमजोर हुन्छ जाडोमै

गर्मी मौसमको तुलनामा जाडोमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले जाडोमा भाइरसविरुद्ध लड्न बढी सङ्घर्ष गर्नुपर्ने हुन्छ । त्यसैले बेलैमा भाइरसको सङ्क्रमण नियन्त्रणका निम्ति ध्यान दिनु आवश्यक छ । पाको उमेर तथा दीर्घरोगीलाई सङ्क्रमणले अझ बढी प्रभाव पार्ने भएकाले यस्ता व्यक्तिले विशेष सावधानी अपनाउनु पर्छ ।

भाइरस पनि बढ्ता बाँच्छ जाडोमै

गर्मी मौसमको तुलनामा जाडोमा भाइरस बढी समयसम्म बाँच्न सक्ने भएकाले पनि जाडोमा सङ्क्रमणको बढी जोखिम हुन्छ । कोरोनाभाइरस जाडो मौसमबाटै सुरु भएकाले नेपालमा जाडो मौसमको सुरुआतसँगै कोरोनाभाइरसको दोस्रो तरङ्ग आउने अनुमान गर्न सकिन्छ । जाडो बढ्दै जाँदा सङ्क्रमणदर बढेर नेपालमा भयावह स्थिति निम्तने त होइन भन्ने प्रश्न उब्जनु स्वाभाविकै हो । नेपालमा कोरोना भाइरसको पहिलो तरङ्ग देखिसकेकाले दोस्रो तरङ्ग फैलन नदिन प्रभावकारी ढङ्गले काम गर्नुपर्ने अवस्था छ ।
सन् १९१८ को स्पेनिस फ्लुको दोस्रो तरङ्ग फैलँदा पनि कयौं व्यक्तिको ज्यान गएको थियो । त्यसैले कोरोनाभाइरसको दोस्रो तरङ्ग फैलन नदिन सबै पक्ष सजग हुनु आवश्यक छ ।

एन्टिबडी अर्थात् रोग प्रतिरोधात्मक क्षमता

यसर्थ, जाडो मौसममा कोरोनाभाइरसको चुनौती थपिने सम्भावना छ । प्रारम्भिक अनुसन्धानअनुसार सामान्यतः कोरोनाभाइरस सङ्क्रमण भएर निको भैसकेका व्यक्तिमा कोरोनाविरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) बढ्छ । एन्टिबडीका कारण पुनः सङ्क्रमण हुने सम्भावनाबाट बच्न सकिन्छ । तर, सङ्क्रमणपछि बनेको रोग प्रतिरोधात्मक क्षमता करिव ६० दिनपछि कमजोर हुँदै जान्छ । यस्तो अवस्थामा पुनः सङ्क्रमण हुन सक्ने जोखिमको आँकलन वैज्ञानिकहरूले गरेका छन् ।

अपनाऔं सावधानी, नगरौं हेलचेक्र्याइँ

नेपालमा पुष्टि भएका कोरोनाभाइरसका सङ्क्रमितमध्ये अधिकाङ्शमा लक्षण नदेखिनुमा यहाँको वातावरण तथा खानपान र जीवनशैलीले पो प्रभाव पारेको हो कि भन्ने अनुमान नगरिएको होइन । तर, नेपालमा कोरोनाभाइरस कमजोर नै भएको भन्ने चाहिँ कुनै आधार छैन ।
यहाँ पुष्टि भएको कोरोनाभाइरस कमजोर छ वा छैन भन्नेबारे परीक्षण नै नभएको अवस्थामा अन्दाजकै भरमा ‘कमजोर छ’ भन्न मिल्दैन । समुदायस्तरमा फैलिएर यसले प्रभाव पार्दै जाँदा मात्र यो भाइरस कमजोर वा शक्तिशाली– कस्तो छ भन्ने विषय थाहा पाउन सकिन्छ । त्यसैले, ‘नेपालमा कोरोनाभाइरसको जिन परिवर्तन भएर कमजोर भएको’ निष्कर्ष निकालिहाल्नु हतारको काम मात्र हुन्छ । त्यसैले पर्याप्त सावधानी अपनाउनु, यथासम्भव उपचारमा ध्यान दिनु र जोगिन हरसम्भव प्रयास गर्नु जरुरी छ; हेलचेक्र्याइँ गर्नु हुँदैन ।
युवावर्गमा मृत्युदर कम देखिए पनि युवा नै बढी सङ्क्रमित देखिएकाले कोरोनाभाइरस समुदायस्तरमा फैलँदै गएमा नियन्त्रण गर्नु चुनौतीपूर्ण काम हुनेछ । त्यसैले जनसाधारण र सम्बद्ध सबै पक्ष बेलैमा सजग बन्नैपर्छ ।
डा. पुन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्