शुद्ध माटोले चम्काउनोस् छाला, भगाउनोस् अनेकौं रोग

अनिता सुनुवार

पञ्च–तत्वमध्येको एक तत्व हो– माटो, जुन पृथ्वीमा सर्वत्र छ । पञ्च–तत्वका अरु चार तत्व हुन्– हावा, पानी, आगो, आकाश । यिनै चार तत्वसँग माटो पनि समेटिएर ब्रह्माण्डमा पाँच तत्व बन्न पुगेका हुन् ।
नेचुरोपेथीअन्तर्गतको एउटा पुरानो विधि हो, माटोका माध्यमबाट गरिने उपचार । चिकित्सा विधिका आधुनिक पद्धति सुरु हुनु अगाडि नै यो विधि अपनाइएको देखिन्छ । शुद्ध माटोको प्रयोगद्वारा करिव २ सय ५० वर्ष अघिदेखि उपचार गरिँदै आएको पाइन्छ । ग्रीसलगायतका मुलुकमा प्रसिद्ध यो उपचार विधि युरोपमा मात्र होइन, विश्वभर नै प्रचलित देखिन्छ ।
रोगको उपचारका लागि आदिवासीहरूले परम्परागतरूपमा माटोको प्रयोग गरेको देखिन्छ । दक्षिण एसिया, अफ्रिका, दक्षिण अमेरिका, अस्ट्रेलिया आदि राष्ट्रका आदिवासी–जनजातिले यो विधि रुचाएको पाइन्छ । यसको अर्थ अन्य जातिले प्रयोग गरेनन् भन्ने होइन । तुलनात्मकरूपमा हेर्दा भने आदिवासीले नै यो उपचार विधि बढी रुचाएको देखिन्छ । माटोद्वारा गरिने प्राकृतिक उपचारात्मक विधिबारे आयुर्वेदमा समेत व्याख्या गरिएको छ ।

‘डेड सी’ को आनन्द

माटोको एउटा रमाइलो प्रसङ्ग छ । इजरायलमा एउटा बडो अनौठो समुद्र छ । त्यो समुद्रको नाम हो ‘डेड सी’ अर्थात् ‘मृत सागर’ । त्यही सागरको माटो ‘डेड सी मड’ को नामले चिनिन्छ । यो उपचार पद्धतिका क्रममा त्यही समुद्रकोे पिँधमा रहेको लेसाइलो माटोको लेप शरीरमा लगाइन्छ । नेचुरोपेथी उपचारात्मक विधिका लागि त्यहाँको माटो अत्यन्तै लोाकप्रिय छ । छालामा हुने विभिन्न रोगको उपचारका लागि सागरको त्यो माटो उपयोगी भएकाले अन्य मुलुकहरूमा समेत त्यसको माग हुन्छ; बिक्री हुन्छ ।
नेचुरोपेथी विधिमा विशेषतः छालाजन्य समस्याको समाधानका लागि ‘डेड सी’ को माटो प्रयोग गरिन्छ । अनुहारको सुन्दरताका लागि समेत यो झन् बढी प्रभावकारी मानिन्छ । अनुहारको चमक बढाउन यसबाट राम्रो सहयोग मिल्ने विश्वास गरिन्छ । डेड सीको माटो प्रयोग गर्नाले छालामा घाउ–खटिरा आउने समस्याबाट बच्न सकिन्छ । यो सागरमा नुहाएपछि छाला स्वस्थ रहने आम विश्वास छ ।
डेड सीको माटो शरीरमा लगाउँदा हल्का चहर्याउँछ, हल्केला पोल्छ । नुहाइसकेको केही मिनेटपछि भने शरीरको स्फुर्ति बढ्छ; शरीर हल्का अनुभूति हुन्छ । डेड सी संसारभरकै सबैभन्दा होचो स्थानमा पर्छ ।
डेड सी यति रमाइलो छ कि समुद्रको बीच भागमा पुग्दा पनि मानिस डुब्दैन । गहिरो भागमा पुग्दा पनि मान्छे पानीमाथि तैरन्छ । यसरी नडुब्नुको पनि खास कारण छ । समुद्रमा नुनीलो पानीको मात्रा धेरै छ । यो समुद्रमा प्राकृतिकरूपमै नुनको मात्रा रहेको छ । नुनमा हुने सोडियम तत्वका कारण मान्छे समुद्रको गहिराइमा पुग्दा समेत शरीर पानीमाथि तैरिइरहन्छ ।

जनावरको उपचारमा माटो

अनुभवको आधारमा भन्न सकिन्छ कि माटोबाट उपचार गरिने विधि अवश्य नै महत्वपूर्ण छ ।’ त्यसैले त आधुनिक चिकित्साशास्त्रको पाठ्यक्रममा समेत ‘माटो चिकित्सा’ समेटिएको छ । यो विषय आधा शताब्दी अघिदेखि नै पाठ्यक्रममा समेटिँदै आएको हो ।
गाउँघरमा हामी गाई–गोरु तथा भैंसी–राँगाजस्ता जनावरलाई खुरमा कीटाणु लागेर सताएकोे देख्छौं । जनावरको खुरमा कीटाणु लाग्ने रोगलाई खोरेत भनिन्छ । यस्तो अवस्थामा जनावरलाई उसको खुर डुब्नेगरी हिलोमा राखिन्छ । शुद्ध माटो भएको हिलोमा खुर डुबाउँदा माटोमा हुने तत्वले कीटाणु मर्छन् र खुरको घाउ निको हुन्छ । यसर्थ, भन्न सकिन्छ– माटोबाट गरिने उपचार विधि मान्छे र जनावर दुवैका निम्ति लाभदायक छ ।

शुद्ध माटोको शरीरमा लेपन

नेचुरोपेथी विधिबाट उपचार विधि अपनाउँदा शुद्ध माटो आवश्यक हुन्छ । शुद्ध माटो निकाल्नका लागि जमिनको माथि (बाहिरी सतह) बाट पाँच फिट गहिराइसम्म खन्नुपर्छ । रासायनिक तथा अम्लीय तत्व नमिसिएको माटो पाँच फिटभन्दा तलबाट चिम्टिया (लेसाइलो) माटो निकालिन्छ । यसरी निकालिएको माटोलाई सुकाएर धुलो बनाइन्छ । माटोमा कुनै जीवाणु तथा कीटाणु भएमा पनि धुलो बनाएर सुकाउँदा नष्ट हुन्छन् र माटो शुद्ध हुन्छ ।
यसरी धुलो बनाएको माटोलाई चालेर ढुङ्गा तथा बालुवाको भाग छुट्याइन्छ । छानेर मैदाजस्तै धुलो माटो तयार गरिसकेपछि आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ । शारीरिक समस्या र उपचारको प्रकृतिअनुसार धुलो माटोलाई विभिन्न आकारमा तयार पार्न सकिन्छ । कुनै समस्याको उपचारका लागि माटो–पानी मिसाएर राम्रोसँग माडेर रोटी आकारको बनाइन्छ भने कतिपय रोगको उपचारका लागि पोखरीमा माटोको धुलो हालेर लेदो बनाइन्छ । त्यस्तै, कतिपय समस्यामा चाहिँ भाँडामा माटो र पानी फिटेर लेदो बनाई शरीरमा लेपन लगाइन्छ ।
पाचन प्रक्रियाको समस्याका कारण ग्यास्ट्रिक हुने, पेट पोल्ने, खाना नपच्ने, अल्सरजस्ता पेटसम्बन्धी समस्या हुन्छन् । यस्ता समस्या समाधानका लागि समेत माटोबाट गरिने उपचार विधि अपनाइन्छ । पेटसम्बन्धी समस्या भएकाको उपचारका लागि माटोलाई पानीमा घोलेर लेदो बनाइन्छ । त्यसपछि पातलो कपडामा माटोको लेदो फिँजाएर रोटीजस्तै बनाइन्छ अनि पेटसम्बन्धी समस्या भएका व्यक्तिलाई उत्तानो परेर सुत्न लगाइन्छ । त्यसपछि कपडासहित त्यसमा फिँजाइएको माटो पेटमाथि राखिन्छ र शरीर ढाक्ने गरी कम्बल वा बाक्लो कपडा ओढाइन्छ ।
उपचारका क्रममा बाह्य वातावरणमा हुने जीवाणुको सङ्क्रमणबाट बच्नका लागि राम्रोसँग कपडा ओढ्नु जरुरी हुन्छ । पेटमाथि करिव २० मिनेट माटो राखिसकेपछि ओढेको कपडालाई बिस्तारै निकालिन्छ र शरीरबाट माटो हटाइन्छ । माटोको सहायताले उपचार गर्दा पेटमा प्राकृतिकरूपमा शीतलता मिल्छ, जसले पेटको समस्या कम भई पाचन प्रक्रिया सहज बन्छ । यो उपचार विधि छाती, ढाड, कम्मर, काँधलगायतका अङ्गको समस्या समाधानका लागि समेत लाभदायक हुन्छ ।

छालामा चमक

छालाको समस्या हुँदा भिजाइएको माटोको लेपन प्रभावित भागमा ब्रसले लगाउन सकिन्छ । आवश्यकताअनुसार शरीरभरि पनि लगाउन सकिन्छ । शरीरमा गरिएको लेपनलाई करिव १५ मिनेट सुक्न दिनुपर्छ अनि मनतातोे पानीले नुहाउनुपर्छ । तातो पानीले नुहाउँदा छालामा भएको सङ्क्रमण समेत हट्छ र शरीर सफा तथा सुन्दर बन्छ ।
शरीरमा माटोको लेपन लगाउँदा छालामा भएका कीटाणु मर्छन् । माटोमा हुने तत्वले छालाको रोग प्रतिरोधात्मक क्षमता समेत बढ्छ, जसका कारण छालामा हुने सङ्क्रमणबाट बच्न सकिन्छ । माटोको प्रयोग गरी गरिने नेचुरोपेथी उपचार विधिले छालाको दुर्गन्ध, काखी गन्हाउने, खुट्टा गन्हाउनेजस्ता समस्याबाट समेत छुटकारा पाउन सकिन्छ ।
हाडजोर्नी, बाथ, युरिक एसिडजस्ता समस्या समाधानका लागि पनि यो विधि अपनाउन सकिन्छ । टाउकामा माटो लगाउनाले तनाव व्यवस्थापनमा मद्धत पुग्छ । सन्तुलितरूपमा यो उपचार विधि अपनाउनाले शारीरिक तथा मानसिकरूपमा स्वस्थ र फुर्तिलो रहन सकिन्छ ।
‘मुलतानी’ नामक माटोलाई फेसियलका रूपमा पनि प्रयोग गरिन्छ । नेपालमै यस्तो माटो बनाएर फेसियलका रूपमा प्रयोग गर्न सकिन्छ । यो विधि अपनाउँदा छाला चिलाउने, लुतो आउने, घाउ–खटिरा आउने समस्या समाधान हुनुका साथै सुन्दरता समेत बढ्छ । छालाको चमकका निम्ति यो विधि प्रभावकारी छ ।

सङ्क्रमणमा उपचार

शुद्ध माटोमा नाइट्रोजन, फस्फोरस, पोटोसियम, क्याल्सियम, म्याग्नेसियम, सल्फर, आइरन, बोरन, कपर र जिङ्कजस्ता तत्व पाइन्छन् । माटोमा पाइने यस्ता तत्वले छालामा हुने सङ्क्रमणबाट बचाउँछन् । छालामा सङ्क्रमण भएमा माटोको उपचार विधिबाट सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ । यो उपचार विधि वयस्क तथा पाको उमेरका व्यक्तिका लागि प्रभावकारी हुन्छ । स्वस्थ व्यक्तिले महिनामा एक पटक यो विधि अपनाउन सकिन्छ । ‘माटो फेसियल’ गर्नाले अनुहारको छालामा हुने विकार तत्व बाहिर जान्छन्, जसले गर्दा छालामा चमक आाउँछ । माटोको माध्यमबाट विभिन्न किसिमका नेचुरोपेथी उपचार विधि अवलम्बन गर्न सकिन्छ । आयुर्वेदिक, होमियोपेथी, टीसीएम र एलोपेथीको विभिन्न विधि अपनाएर छाला स्वस्थ र चम्किलो राख्न सकिन्छ ।

छाला चम्काउने चार विधि

आयुर्वेदिक

वनस्पतिजन्य तथा जडीबुटीजन्य आयुर्वेदिक विधि अपनाएर छाला स्वस्थ राख्न सकिन्छ । यस विधिमा जडीबुटी खाएर वा लगाएर छालाको उपचार गरिन्छ; छालामा चमक ल्याइन्छ ।

होमियोपेथी

सूक्ष्म जीवाणुका कारण छालामा सङ्क्रमण हुन्छ । यस्ता जीवाणुविरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमताको विकास गरी छाला स्वस्थ राख्न सकिन्छ । औषधि, व्यायाम तथा सन्तुलित खानपानले रोग प्रतिरोधी क्षमता विकास हुन्छ ।

टीसीएम

यो विधिका विभिन्न उपाय अपनाई छाला स्वस्थ राख्न सकिन्छ । छाला स्वस्थ राख्न ‘घ्युकुमारी’, ‘नोनी,’ ‘स्पिरिलुना’, ‘निमको साबुन’ जस्ता वनस्पति तथा जडीबुटी प्रयोग गर्न सकिन्छ ।

एलोपेथी

आधुनिक उपचार पद्धति अर्थात् एलोपेथी विधि अपनाएर छालामा चमक ल्याउन सकिन्छ । औषधि लगाएर वा खाएर छाला स्वस्थ राख्न सकिन्छ । छाला स्वस्थ र चम्किलो बनाउनका लागि सर्जरी विधि अपनाउन वा विभिन्न कस्मेटिक्स प्रयोग गर्न सकिन्छ ।

खानपानशैली

छाला स्वस्थ राख्नका लागि खानपानमा एकदमै ख्याल गर्नुपर्छ । स्वस्थ रहनका लागि सामान्यतः दैनिक दुई लिटर पिसाब आउनुपर्छ । दुई लिटर पिसाब आउनका लागि करिब पाँच लिटर पानी पिउनु आवश्यक हुन्छ । धेरै घाम लाग्ने मौसममा शरीरले बढी पानी सोस्छ, त्यसैले पिसाब कम हुन्छ । पिसाब कम हुन नदिन प्रशस्त पानी पिउनुपर्छ ।
पिसाबको माध्यमबाट शरीरमा भएका विकार तत्व बाहिर जान्छन्, त्यसैले शरीर स्वस्थ हुन्छ । शरीर स्वस्थ हुँदा छाला स्वस्थ रहन मद्धत मिल्छ । छाला स्वस्थ राख्नका लागि हरिया सागपात तथा तरकारीहरूमा जोड दिनुपर्छ; सन्तुलित भोजन गर्नुपर्छ ।

होलिस्टिक दृष्टिकोण

सुरुआतदेखि पछिल्लो समयसम्म विकसित भएका उपचार विधिलाई एकीकृतरूपमा अपनाएर स्वस्थ र सुन्दर रहन सकिन्छ । सबै विधि अपनाउँदा उपचारको छनोट बढी हुन्छ । होलिस्टिक अवधारणा भनेकै यही हो । यो दृष्टिकोणअनुसार आवश्यकताअनुसारका सबै चिकित्सकीय विधि अपनाएर उपचार गरिन्छ । छाला स्वस्थ तथा चम्किलो बनाउन पनि होलिस्टिक विधि उचित हुन्छ ।