कामको तनाव: व्यवस्थापनका विधि

गोपाल ढकाल
बढ्दो महँगी, असीमित इच्छा–आकाङ्क्षा, चाहना र  पारिवारिक आवश्यकता पूरा गर्न  दिन–रात नभनी गरिने कामको बोझले मानिसलाई असाध्यै थिचिरहेको हुन्छ । अतः सवैले आ–आफ्नो काम वा व्यावसायिक जीवनलाई व्यवस्थित र सन्तुलित बनाउन जान्नुपर्छ ।
शारीरिक तथा मानसिकरूपमा सबल रहनका लागि काम र व्यावसायिक दिनचर्यामा सन्तुलन कायम राख्नु अत्यावश्यक हुन्छ । कामको बोझ र निरन्तर तनावले ‘बर्न आउट’ को समस्या आउन सक्छ । निरन्तर अत्याधिक तनावले शारीरिक, मानसिक र भावनात्मक रूपमा पैदा गर्ने थकानयुक्त अवस्था नै ‘बर्न आउट’ हो ।
अव्यवस्थित किसिमबाट बोझ हुने गरी गरिने कामको अत्यधिक तनावले शारीरिक एवम् मानसिक हानि त पुर्‍याउँछ नै, साथसाथै काम वा व्यवसायमा समेत हानि पुर्‍याउँछ । त्यसैले कामको तनावलाई बेलैमा व्यवस्थापन गर्नु जरुरी हुन्छ ।

के हो कामको तनाव ?

दैनिक जीवनमा विभिन्न कुराका तनाव हुन्छन् । यीमध्ये कार्यबोझले पैदा गर्ने तनाव पनि एक हो । जीवनयापन गर्ने क्रममा जो–कोही व्यक्ति विभिन्न काम, व्यवसाय वा जागिरमा लागेको हुन्छ ।
घरयासी काम, खेतीकिसानी, सामाजिक काम, व्यवसाय इत्यादिमा बेलाबखत अनेकौं किसिमका अप्ठ्यारा वा  उल्झनहरू झेल्नुपर्ने हुन्छ । त्यसले मानसिक तनाव दिने गर्दछ ।

कामको तनावका कारणहरू

कामको चाप बढ्नु: कहिलेकही कामको चाप अत्याधिक हुन्छ । काममा बढी मेहनत गर्नुपर्ने वा सधैंको भन्दा बढी समय दिनुपर्ने हुन्छ । आफ्नो काममा सफल हुन तीव्र प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा कामको तनाव पनि बढ्दै जान्छ ।
काम गाह्रो हुनु: आफूले चाहेजस्तो र सजिलो काम नहुँदा पनि तनाव हुन्छ । धेरै शारीरिक तथा मानसिक बल लगाउनु पर्ने काम हुँदा पनि तनावको सामना गर्नुपर्ने हुन्छ  ।
रुचिको काम नहुनु: आफ्नो रुचि, क्षमता, दक्षता र  अनुभवभन्दा बाहिरको काम बाध्यताले  गर्नुपर्ने भएमा पनि तनावको अवस्था आउँछ  ।
काम गर्ने उपयुक्त वातावरणको अभाव: अफिस वा कम्पनीको भौतिक वातावरण उपयुक्त नहुँदा पनि तनावको अवस्था आउँछ । कार्यालयका सहकर्मी र हाकिमको व्यवहार तनावको कारण बन्न सक्छ । काममा टिमवर्क नहुनु, जस नपाउनु, हौसलाको कमी, असुरक्षा, प्रोत्साहनको कमी, हीनताबोध आदिले तनाव दिन सक्छ ।
परिवार र कामको दोहोरो भूमिका: घरपरिवार तथा अफिसको दोहोरो जिम्मेवारी, आफ्नो करिअर र घरपरिवारलाई सन्तुलनमा राख्न नसक्नुजस्ता कारणले  तनाव उत्पन्न हुन सक्छ । विशेषगरी कामकाजी महिलाहरूले घर र अफिस दुवैतिरको काम भ्याउनुपर्ने हुँदा थप तनावको सामना गर्नु पर्ने हुन सक्छ  ।
सेवा–सुविधाको कमी: जति मेहनत गरेर काम गर्दा पनि सोचेजस्तो प्रतिफल नआउँदा, भनेजस्तो आर्थिक लाभ हासिल गर्न नसक्दा, न्यूनतम तलब, बोनस तथा अत्यावश्यक सेवा–सुविधा नपाउँदा , पदोन्नति नहुँदा, रिफ्रेसमेन्टलगायतका तालिमको अभाव हुँदा पनि तनावको सामना गर्नुपर्ने हुन सक्छ । आवश्यक जनशक्ति र सरसामानको अभावले पनि काममा अवरोध तथा तनाव पुर्‍याउने अवस्था निम्तन्छ ।

कामको तनाव घटाउने उपाय

श्वास–प्रस्वासको अभ्यास: आफ्नो ढाडलाई सिधा राखी आँखा बन्द गर्ने र गहिरो, लामो श्वास लिने अनि गहिरो, लामो श्वास छाड्ने गर्दा तनाव घटाउन सकिन्छ । यसो गर्दा शरीरलाई समेत आराम मिल्छ, शरीर र मन  शान्त हुन्छ, तनाव कम भएर जान्छ ।
गीत–सङ्गीत सुन्ने: काम गर्दागर्दै पनि अनुकूलता मिलाएर आफूलाइ मन पर्ने गीत–सङ्गीत सुन्न सकिन्छ । सङ्गीतले मानसिक तनाव कम गर्छ, मन र शरीरलाई शान्त गराउँछ ।
केही समय बिदा लिने: आफ्नो दौडधूपपूर्ण दिनचर्याबाट केही समय छुट्टी लिनाले कामको तनाव कम भएर जान्छ । सधैं एकैनास काम गर्दा काम गर्ने क्षमता र सिर्जनशीलता घट्छ, काम पनि राम्रो हुँदैन । तनाव लिई–लिई काम गर्नुभन्दा केही समय छुट्टी लिई आराम गर्नु बेस हुन्छ । बिदामा बसेका बेला कामको तनाव लिनु हुँदैन । बिदाको समयमा साथीभाइ र परिवारसँग समय बिताउने तथा मनोरञ्जनात्मक कार्यमा सहभागी हुने गर्नुपर्छ ।
पानी प्रशस्त पिउने: काम गर्दा प्रशस्त पानी पिउनु पर्दछ । शरीरमा पानीको मात्रा कम भयो भने पनि थकाइ लाग्ने, आलस्य हुने, तनाव बढ्ने समस्या हुन्छ ।
योग–ध्यान गर्ने: योग– ध्यान गर्दा मानसिक तनाव कम हुन्छ । व्यस्त जीवनमा त योग–ध्यान गर्नु अति नै जरुरी हुन्छ । कामको जति नै व्यस्तता भए पनि नियमित सात घन्टा सुत्नुपर्छ । निद्राले शरीर र मनलाई आराम तथा शक्ति प्रदान गर्छ ।
बीच–बीचमा विश्राम लिने:  लामो समयसम्म लगातार काम गर्नाले शरीर त थाक्छ नै, मनमा समेत आलस्यता हुने, झर्को लाग्ने, रिस उठ्ने समस्या हुन सक्छ । काम गर्दा बीचमा केही समय निकालेर विश्राम गर्ने, साथीहरूसँग रमाइलो कुराकानी गर्ने, अनुभवहरू सुन्ने–सुनाउने गर्नुपर्छ । आफूलाई मन पर्ने क्रियाकलापमा सहभागी हुनाले पनि तनाव कम भएर जान्छ । जति नै व्यस्त भए पनि समय निकालेर खाजा खान भुल्नु हुँदैन ।
चिया पिउने: चियाले पनि मानसिक तनाव र थकावट हटाउन मद्दत गर्छ  । चिया पनि सकेसम्म ‘ग्रीन टी’ नै पिउनु उत्तम हुन्छ ।
प्रकृतिसँग रमाउने: आफ्नो कार्यव्यस्ततावाट एकैछिन समय निकालेर बाहिर, खुला ठाँउमा निस्कने र प्रकृतिसँग रमाउने गर्नुपर्छ । हल्का व्यायाम गर्ने, जिउ तन्काउने, यताउती– चारैतिर हेर्ने, नीलो आकाश, हरिया रुखहरू, फूलहरू, चरा–चुरुङ्गीहरू इत्यादि प्रकृतिसँग एकैछिन समय बिताउनाले  पनि तनाव कम भएर जान्छ । यस्तो प्रकृतिक ठाउँ नहुँदा शान्त ठाँउमा बसी आफू पुगेको कुनै राम्रो तथा सुन्दर ठाउँको कल्पना गरेर पनि रमाउन सकिन्छ ।
समस्याहरूको समाधान खोज्ने: काम गर्ने क्रममा समस्याहरू पनि आउन सक्छन् । समस्याले ठूलै तनाव सिर्जना गराइदिन सक्छ । समस्याबारे साथीभाइ, सहयोगी तथा सहकर्मीहरूसँग छलफल गर्ने, आफ्नो अवस्था र समस्याको बारेमा जानकारी गराउने र सहयोग लिने गर्नुपर्छ । सिर्जनशील र रचनात्मक रूपमा समस्याको समाधान खोज्नुपर्छ । कामलाई सहज बनाउनेतर्फ लाग्नुपर्छ । समस्याको समाधानका लागि नयाँ केही गर्नुपर्ने छ भने पनि आवश्यक कदम चाल्नुपर्छ ।
कामसँग सम्बन्धित नयाँ कुरा सिक्ने: आफ्नो काम वा व्यवसायसँग सम्बन्धित केही नयाँ ज्ञान, सिप, तालिम वा जानकारी लिने गर्नुपर्छ । आफूलाई सधैं अपडेट गर्दै लानुपर्छ । यसले काममा परिपक्वता ल्याउँछ, सिर्जनशील बनाउँछ र कामप्रतिको रुचि बढ्दै जान्छ । यसो हुँदा कामको थकान र तनाव पनि कम हुन्छ ।
घरलाई ‘घरजस्तै’ र कार्यालयलाई ‘कार्यालयजस्तै’ बनाउनेः कतिपय मानिसहरू घरको कुरालाई लिएर कार्यालयमा तनाव लिने वा कार्यालयको कामलाई लिएर घरमा तनाव लिने गर्दछन् । समयको व्यवस्थापन गरी घरको काम घरमै र कार्यालयको काम कार्यालयमै सम्पन्न गर्ने गर्नुपर्छ । आफूले गर्न नसक्ने वा नभ्याउने कामको जिम्मा लिनु हुँदैन । योजना वा तालिका बनाएर काम गर्नाले कार्यसम्पादन सहज हुन्छ  ।
मनोपरामर्श सेवा लिनेः कामको तनाव झेल्न गाह्रो भएमा वा कामको तनावले दैनिक जीवनमा असर पर्न थालेमा वा अन्य मानसिक स्वास्थ्य समस्या देखा परेमा आवश्यकताअनुसार साइकोलोजिस्ट वा काउन्सेलरको सहयोग लिनुपर्छ ।
मनोविद् ढकाल ‘मार्क नेपाल मनोसेवा केन्द्र’ का सञ्चालक हुन्